रैथाने बालीको महत्त्व खाद्य सुरक्षा, बाली जैविक विविधता, पोषणदेखि स्वस्थ जीवनयापनसम्म रहेको हुन्छ । रैथाने बालीमा पाइने पौष्टिक तथा औषधिजन्य महत्त्वबारे प्रचारप्रसार गरी उपभोक्तामा जागरूकता ल्याउनु आवश्यक छ ।
✍ शर्मिला सुवेदी
नेपालका प्रमुख खाद्य बालीहरू धान मकै गहुँ आदि मानिन्छन् । खाद्य तथा पोषण सुरक्षामा यसका अलावा अन्य बालीहरू कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे, मार्सी आदिको पनि विशेष भूमिका तथा महत्व रहेको पाइन्छ । सामान्यतया कृषकहरूले सदियौँदेखि लगाउँदै एवम् संरक्षण गरी आएका बालीहरूलाई रैथाने वा स्थानीय बाली भनिन्छ । जुन स्थानीय हावापानी अनुकूल जस्तै; सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि रोग, किरा सहन सक्ने खालका हुन्छन् । रैथाने बालीमा जलवायु परिवर्तनको असर अन्य उन्नत बाली तथा जातको तुलनामा स्थिर रहेको अध्ययनबाट पाइएको छ । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये करिव-करिव ३ लाख ५० हजार हेक्टर भूमिमा रैथाने जातका बालीहरू उत्पादन हुने गरेको तथ्याङ्कले देखाउँछ ।
कृषि विकास तथा व्यवसायीकरणको प्राथमिकतामा रैथाने बालीहरू नपर्दा नेपालको आनुवांशिक स्रोत नै हराएर जाने तथा देशका विकट क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा झन् जटिल बन्ने खतरा पैदा भएको छ । विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले २०औं शताब्दीमा मात्र विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिनेगरी करिब ७५ प्रतिशत बाली नाश भइसकेको उल्लेख गरेको छ । नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको हुनसक्ने नेपाल कृषि अनुसन्धान परिषद्को आँकलन छ । तथापि, विभिन्न बालीका केही रैथाने जात अझै नेपाली माटोमा बाँकी रहेको पाइन्छन् ।
नेपालमा कृषि विकासको चौधौँ योजनादेखि रैथाने बालीहरूको प्रवर्द्धन गरी तत्स्थानमा खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने लक्ष्य लिएको छ । त्यस्तैगरी स्वास्थ्य तथा पोषणसम्बन्धी सचेतनासँगै शहरी क्षेत्रमा रैथाने परिकारहरूको उपभोग गर्ने क्रम बढ्दो रहेको छ । विभिन्न स्थानीय तहबाट सो क्षेत्रको पहिचान झल्काउने किसिमको रैथाने बालीलाई ब्राण्डिङसहित बजारमा पुऱ्याउने, विभिन्न होटेल र रेष्टुराँहरूमा रैथानेबालीको परिकार थप गरी ग्राहकलाई आकर्षण गर्ने गरिएको गरिएबाट आगामी दिनमा रैथाने बालीको महत्व अझ बढ्ने आँकलन गर्न सकिन्छ । पछिल्लो समयमा रैथाने बालीहरूको बजार माग बढ्दो रहेको छ ।
रैथाने बालीहरू लामो समयसम्म भण्डारण गर्न सकिने, चाँडै नबिग्रने रखानमा पनि स्वादिला हुन्छन् । यस्ता बालीहरूमा रोगकीरा कम लाग्ने भएकाले प्राङ्गारिक पद्दतिअनुसार उत्पादन गर्न सकिन्छ । यी बालीहरू अन्य बालीहरूको तुलनामा धेरै पटक उत्पादन लिन सकिने र लामो समयसम्म उत्पादन दिइरहने खालका हुन्छन् र, समुदायमा धार्मिक तथा साँस्कृतिक महत्व पनि रहेको हुन्छ । अन्य बालीहरूको तुलनामा रैथाने बालीहरू बहुउपयोगी हुन्छन् । यस्ता बालीहरूमा मानवशरीरमा चाहिने पौष्टिक तत्वको मात्रा बढी हुन्छ ।
रैथाने बालीहरू लामो समयसम्म भण्डारण गर्न सकिने, चाँडै नबिग्रने रखानमा पनि स्वादिला हुन्छन् । अन्य बालीहरूको तुलनामा रैथाने बालीहरू बहुउपयोगी हुन्छन् । यस्ता बालीहरूमा मानवशरीरमा चाहिने पौष्टिक तत्वको मात्रा बढी हुन्छ ।
सन् १९६० को दशकमा शुरू भएको हरित क्रान्तिले अधिक उत्पादनकेन्द्रित एकल बालीलाई प्रश्रय दिँदा उन्नतजातको बीउ भित्रिएको पाइन्छ नेपालमा भने वर्णशंकर (Hybrid) बीउ देखिन थालेको १९९० देखि मात्र हो । यी बीउहरू भित्रिएसँगै स्थानीय तथा रैथाने बीउहरू प्रतिस्थापन हुँदै गएका हुन् । रैथाने बालीको उत्पादकत्व कम भएकाले कृषकहरू खेति गर्न अनिच्छुक देखिन्छन् । उत्पादन लागत बढी, थोरै फल्ने, पाक्नलाई बढी समय लाग्ने, बजारीकरणको ज्ञान, क्षमता र पहुँचको कमी, बिउ पाउन मुस्किल हुने आदिले गर्दा यसको अतित्वमाथि नै सङ्कट देखापरेको हो । पौष्टिक तत्वका सम्बन्धमा चेतनाको कमी, बदलिँदो आहार व्यवहारले गर्दा रैथानेका परिकारको उपभोगमा कम प्रयोग हुनेगरेको हो ।
मुख्य बालीहरू कम उत्पादन हुने वा नहुने देशका उच्च तथा मध्यपहाडी जिल्लामा खाद्य तथा पोषण सुरक्षामा टेवा पुऱ्याइरहेका रैथाने बालीको संरक्षण र सम्वर्द्धन मात्र होइन, विकास तथा व्यवसायीकरण पनि गरिनुपर्छ । यसका लागि रैथाने बालीमा पाइने पौष्टिकतत्व तथा औषधिजन्य महत्वबारे उपभोक्तामा सचेतना अभिवृद्धि गरिनु आवश्यक छ ।
रैथाने बालीको व्यवसायीकरण गर्दा वातावरण, खाद्य तथा पोषण सुरक्षा, मानव स्वास्थ्य तथा माटोमा पर्न सक्ने सकारात्मक प्रभावका बारेमा चेतना अभिवृद्धि गरिनुपर्छ । साथै उक्त बालीको विकास तथा व्यवसायीकरणका लागि क्षेत्रसुहाउँदो बाली छनौट गर्ने तथा बाली श्रृङ्खलाका हरेक तहमा आवश्यक प्राविधिक तथा आर्थिक तथा पहुँच सुनिश्चितताको लागि सहयोगको व्यवस्था मिलाउनु पर्छ । जस्तै, उत्पादन सामग्री आपूर्ति तथा प्रविधि अवलम्बनका लागि सहयोग, उत्पादनको दिगो तथा नाफामूलक बजारीकरणमा सहयोग, दिगो बजारीकरका लागि उपयोगसम्बन्धी सचेतना अभिवृद्धि आदि ।
रैथाने बालीको महत्त्व खाद्य सुरक्षा, बाली जैविक विविधता, पोषणदेखि स्वस्थ जीवनयापनसम्म रहेको हुन्छ । रैथाने बालीमा पाइने पौष्टिक तथा औषधिजन्य महत्त्वबारे प्रचारप्रसार गरी उपभोक्तामा जागरूकता ल्याउनु आवश्यक छ । खाद्य तथा पोषण सुरक्षा, कृषि वातावरणको विविधीकरण गरी दुर्गम क्षेत्रका समुदायमा कुपोषण र गरिबी उन्मूलन गर्नका लागि रैथाने बालीहरूको उपयोगको राम्रो विकल्प हुन सक्छ ।
प्रतिक्रिया