संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काङ्ग्रेसले दोस्रोपटक तय गरेको मितिमा पनि महासमितिको बैठक हुने सम्भावना क्षीण भएको छ । मध्येमङ्सिरमै गर्न तय भएको बैठक आगामी पौष १६ गतेदेखि गर्ने भनिएको थियो । बीपी कोइराला भारतबाट राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्किनुभएको ऐतिहासिक दिन पारेर सुरु गर्ने भनिएको बैठकको अहिलेसम्म कुनै तयारी गरिएको छैन र, नेताहरू बैठकको मुडमा पनि देखिएका छैनन् । काङ्ग्रेसको चौधौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पूरा हुन लाग्दा पनि अहिलेसम्म महासमितिको बैठक सम्पन्न हुन सकेको छैन । निर्धारित बैठक पनि राष्ट्रियसभा सदस्यको निर्वाचनलाई निहुँ बनाएर पुनः पछि सारिने सम्भावना देखिएको छ ।
महासमितिको बैठक जहिले भएपनि यसपटक उक्त बैठकमा केही राजनीतिक मुद्दामा पुनर्विचारको विषयले बलियो प्रवेश पाउने सम्भावना देखापरेको छ । खासगरी धर्मनिरपेक्षताको खारेजी तथा हिन्दूराष्ट्रको स्थापना र प्रदेश खारेजीको विषय महासमितिमा जोडतोडका साथ उठ्ने भएको छ ।
यसअघि केन्द्रीय समितिका बैठकहरूमा युवा नेता एवम् सांसद शङ्कर भण्डारीले मात्र उल्लिखित मुद्दा बलियो ढङ्गले उठाउँदै आउनुभएको थियो । तर अब उक्त मुद्दामा धेरै काङ्ग्रेस नेताहरूले सहमति जनाउने स्थिति बनेको छ । स्वयम् पार्टीसभापति शेरबहादुर देउवाले पनि सार्वजनिक समारोहमै नेपाललाई हिन्दूराष्ट्रको पहिचान दिन सकिने सङ्केत दिइसक्नुभएको छ । देउवाको अभिव्यक्तिले काङ्ग्रेस हिन्दुराष्ट्रको एजेण्डामा सहमत हुनसक्ने सन्देश प्रवाह भएको छ । यो मुद्दाको विपक्षमा काङ्ग्रेसभित्रका केही ‘पश्चिमा लगानीका नेता’हरू मात्र उभिने सम्भावना छ । खासगरी महामन्त्रीद्वयले हिन्दुराष्ट्रको पक्षमा जानबाट काङ्ग्रेसलाई रोक्न खोज्ने अनुमान गरिन्छ ।
जे होस्, काङ्ग्रेस महासमितिको बैठक जहिले भएपनि यो ऐतिहासिक हुनसक्ने सम्भावना बढेको छ । काङ्ग्रेस हिन्दूराष्ट्र र प्रदेश खारेजीको पक्षमा उभियो भने यसले मुलुकको ‘कोर्स करेक्सन’ गराउन निर्णायक भूमिका निर्वाह गर्ने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया