राजतन्त्र, गणतन्त्र अनि तानाशाही, लोकतन्त्र

राजतन्त्र, गणतन्त्र अनि तानाशाही, लोकतन्त्र


लोकतन्त्र निःसन्देह नै उच्चतम शासन व्यवस्था हो जो विधिअनुसार चल्दछ । जब शासकले विधि नाघेर चलाउन खोज्छ वा आफ्नो मर्जीलाई वृत्ति बनाउँछ भने त्यो लोकतन्त्र रहन्न तानाशाहीमा परिणत हुन्छ ।
✍ स्वयम्भुनाथ कार्की

लोकतन्त्र र राजतन्त्रलाई एकअर्काको विरोधिको रूपमा चित्रित गरिँदै आएको छ । राजतन्त्र र लोकतन्त्र भनिने प्रजातन्त्र एकअर्काका विलोम होइनन् । अनि लोकतन्त्र र राजतन्त्र एकअर्काका विकल्प पनि होइनन् । नेपालको परिप्रेक्ष्यमा राजतन्त्र कहिल्यै पनि लोकतन्त्रको विरोधमा भएन । १ सय ४ वर्षे जहानियाँ शासनले बनाएको अलङ्कारिक राजतन्त्र आफै नजरबन्दमा थियो । त्यही अवधिमा जनताका अभिमतहरू बन्देज भएका उदाहरणहरू नभएका हैनन् । चाहे बडामहाराजा पृथ्वीनारायण शाहले विराज बखेतीलाई मन पराए पनि जनताको इच्छाको सम्मान गर्दै कालु पाण्डेलाई सुम्पेको कज्याइँ (सो बेलाको प्रधानमन्त्री) दिएको इतिहास छँदैछ । चार हजार भन्दा ज्यादा इकाइ र प्रत्येक एकाइबाट कम्तीमा ११ जनताबाट निर्वाचित प्रतिनिधिलाई शासन व्यवस्थामा भागिदारी गराउनु प्रजातान्त्रिक अभ्यास नै हो । यसरी कुल जनसङ्ख्या ५६ लाख भएको अवस्थामा मुलकको कुना-कुनाबाट ४४ हजार भन्दा धेरैको शासनमा प्रत्यक्ष भागिदारी थियो ।

यो भागिदारी सङ्ख्या जनताको मतबाट छानिएकाहरूको हो । त्यसबेला स्थानीय निकायमा ४४ हजार भन्दा धेरै जनताबाट निर्वाचित हुनुपर्ने पदहरू थिए । चुनाव जित्ने ४४ हजार अनि एक पदमा दुई मात्र उम्मेदवार मान्दा त्यति नै अर्थात् ५६ लाखमा झण्डै एक लाख त राजाका आसेपासे कार्यकर्ता नै मान्नुपर्छ । कुल जनसङ्ख्याको झण्डै २ प्रतिशत जनताले पदमा बसेर चलाउने व्यवस्था तानाशाही हो त भन्ने प्रश्न अनुचित हैन । उसै पनि यिनीहरू कसैको ह्वीपको अधीन थिएनन् । आफू नै स्वनिर्णय गर्न सक्ने थिए । ५६ लाख त्यति बेलाको मतदाता सङ्ख्या हैन कुल जनसङ्ख्या हो, पछि त प्रत्येक इकाईमा कम्तीमा ५४ जना जनप्रतिनिधि पुगे । यति विशाल जनसहभागिता र टाउको गनेर नेताहरूले बहुमत, या दुई तिहाईको दम्भ देखाउन पाउने प्रणाली किसिमको फरकबाहेक लोकतन्त्र नै हुन भनेर मान्नुपर्ने हुन्छ ।

निकोलाई चाउचेस्कु जस्ता तानाशाह हुन् वा हिटलर जस्ता पात्र- राजतन्त्र भएको व्यवस्थाका थिएनन् । उनीहरू गणतन्त्रिक प्रणालीमा नै विकशित भएका थिए । गणतन्त्र र राजतन्त्र दुवै अलग-अलग घडेरी जस्ता हुन् भने प्रजातन्त्र वा लोकतन्त्र अनि तानशाही त्यस घडेरीमा निर्मित घर जस्ता हुन् ।

जनता सहभागिताको अवस्थाले लोकतन्त्रको मात्रा कसैले निर्धारण गर्छ भने त्यो अलग कुरा हो । तर राजतन्त्र र लोकतन्त्रलाई एक अर्काको विलोमको रूपमा देखाउने मान्यता यति बलवान छ कि स्वयम् राजावादीहरू नै राजालाई लोकतन्त्रको विकल्पको रूपमा व्याख्या गर्दछन् । आफूअनुकुल हुँदा संसद्को सर्वोच्चता र आफू प्रतिकुल हुँदा संसद्को अधिकार केवल सुझाव दिनेमात्र हो भन्नेहरू आफै लोकतन्त्रको परिभाषा जान्दैनन् भन्न सकिन्न तर बुझपचाएको हो भन्न हिचकिचाउनुपर्ने अवस्था छैन । जनताको रगत पसिना निचोरेर जम्मा गरेको राजश्व आफूखुशी बक्सिस दिने, योग्यताले भन्दा चाकरीले नियुक्ति दिने वर्तमान परिपाटी छ । भित्रीमनले माने पनि प्रकटमा वफादारी देखाएर लाभ लिनेहरूले राजतन्त्रलाई लोकतन्त्रको विलोम मान्नु कुनै आश्चर्य हैन । तर आफूलाई राजावादी भनाउनेहरूलाई कुन कुराले लोकतन्त्रको परिपुरक तथा संरक्षक नेपालको राजसंस्थालाई लोकतन्त्रको विपरीत तानाशाह देख्ने बनाएको छ ?

तानाशाही भनिने गरेको त्यो अवस्थामा जातिय, क्षेत्रिय सन्तुलन कुनै रडाको नै नगरी र आपसी वैमनश्यता हुन नै नदिइ कायम गरिएको थियो । त्यसबेलाका नियुक्ति, प्रतिनिधित्व आदिको सूची हेर्ने हो भने यो प्रष्ट हुन्छ । लोकतन्त्रको अर्को विषेशता समानुपातिक र सहभागितामुलक प्रतिनिधित्व हो । त्यसको वर्तमान अवस्था र पहिलेको अवस्था तुलना गर्दा पनि यो विषेशतामा वर्तमानभन्दा कम थिएन बरु बेसी नै थियो । बरु वर्तमानमा रडाको नगरी यो प्राप्त नभएका कयौँ उदाहरणहरू पाइन्छ । आफ्नो कुल परम्परा अनुसारको धार्मिक, सांस्कृतिक अभ्यास गर्न हिन्दु अधिराज्य भनिएको सनातनी नेपालमा बन्देज भएका उदाहरण पाइन्न । किंवदन्तीका रूपमा केही घटनाहरू भने अहिले सतहमा ल्याउने गरिएको छ । तर त्यो घटनाको विस्तृत विवरण न कसैले सोधेको पाइन्छ न कसैले दिएको नै पाइन्छ ।

सारसंक्षेपमा भन्ने हो भने तानाशाही र लोकतन्त्र भने एकअर्काका विलोम हुन् । त्यस्तै, राजतन्त्र र गणतन्त्र एक अर्काका विलोम हुन् । राजतन्त्रमा लोकतन्त्र मज्जाले अटाउने हुन्छ त्यस्तै तानाशाही गणतन्त्रमा पनि पाइन्छ । निकोलाई चाउचेस्कु जस्ता तानाशाह हुन् वा हिटलर जस्ता पात्र- राजतन्त्र भएको व्यवस्थाका थिएनन् । उनीहरू गणतन्त्रिक प्रणालीमा नै विकशित भएका थिए । गणतन्त्र र राजतन्त्र दुवै अलग-अलग घडेरी जस्ता हुन् भने प्रजातन्त्र वा लोकतन्त्र अनि तानशाही त्यस घडेरीमा निर्मित घर जस्ता हुन् । शासन व्यवस्थाका सबै रूप राजतन्त्रमा पनि हुनसक्छ अनि गणतन्त्रमा पनि । लोकतन्त्र निःसन्देह नै उच्चतम शासन व्यवस्था हो जो विधिअनुसार चल्दछ । जब शासकले विधि नाघेर चलाउन खोज्छ वा आफ्नो मर्जीलाई वृत्ति बनाउँछ भने त्यो लोकतन्त्र रहन्न तानाशाहीमा परिणत हुन्छ ।