संकल्प यात्रा सकिएपछि प्रचण्ड सरकार ढल्ने दाबी

संकल्प यात्रा सकिएपछि प्रचण्ड सरकार ढल्ने दाबी


एमाले सांसद कोइरी भारतमा पक्राउ परे पनि छोडिएको खुलासा

  • विशाल बस्नेत, महोत्तरी

नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवले ५ पुसपछि वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मूल नाराका साथ झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा सकिएपछि प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन् ।

संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाइ दिएपछि महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेश प्रदेशका एमाले संसदिय दलका नेतासमेत रहेका यादवले ५ पुसपछि सरकार ढल्ने र नयाँ सरकार बन्ने ठोकुवा गरेका हुन् । बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदैछ ।

‘संकल्प यात्राबारे पुष ५ गते पत्रकार सम्मेलन गरेपछि यो सरकारको खुट्टाहरु भत्किन्छ’, यादवले भने, ‘सरकार ढल्ने निश्चित छ ।’ उनका अनुसार सरकारले जनताको मनोभावनाअनुसार काम नगरेको हुनाले पनि नयाँ बन्ने सरकार केपी शर्मा ओलीकै नेतृत्वमा बन्नेछ ।

अदालतले सफाइ दिनुभन्दा अगाडि फरार रहेका कोइरीलाई समेत एमालेले नै संरक्षण गरेको बताउँदै भारतमा पक्राउ गर्दा पनि नेपाल प्रहरीले छाडेर आएको उनले खुलासा गरेका छन् । पक्राउ परेपछि के गर्ने भन्ने सम्बन्धमा माओवादी केन्द्रका प्रदेश संसद भरत साहसँग समेत सल्लाह गरेको खुलासा गर्दै जिल्ला अदालतको निर्णय सत्यको पक्षमा भएको उनले जिकिर गरे ।