‘देशभरका थारू एक हुनु पऱ्यो’ : सांसद चौधरी

‘देशभरका थारू एक हुनु पऱ्यो’ : सांसद चौधरी


नेकपा (एमाले) की सांसद भगबती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनु पर्ने बताएकी छन् । थारु कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्ने बताउँदै उनले पुरानो संस्था भएपनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन् ।

सुनसरीको गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीको ९औं जिल्ला अधिवेशनमा बोल्दै थारू अगुवा नेतृसमेत रहेकी चौधरीले थारू कल्याणकारी संस्था स्थापना भएको ७५ वर्ष भइसक्दा पनि समयअनुसार चल्न नसकेको बताउँदै समग्र थारूको विकास, उत्थानका लागि अब समयअनुसार थारूको पहिचान जोगाउँदै प्रविधियुक्त बन्नुपर्ने बताइन् ।

थारू समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र योग्य नेतृत्व पहिचान गरी अगाडि बढाउँन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सांसद चौधरीको जोड छ ।

‘थाकसको पहिलो दायित्व भनेको आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्नु हो, दोश्रो राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारूलाई सक्षम र योग्य बनाउनु हो, यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ ।’ उनले भनिन् ।

नेपाली काङ्ग्रेस, नेकपा एमालेजस्ता राजनीतिक दलहरूसँगै स्थापना भएको संस्थाले थारू समुदायमा सक्षम नेतृत्व बनाउने सवालमा काम गर्नुपर्ने बताउँदै चौधरीले राज्य सत्तामा थारू समुदायको उपस्थिति बढाउन सकेमात्र थारू समुदायको हक अधिकार सुनिश्चित हुने जिकीर गरिन् ।

उनले संविधानमा थारूहरूको छुट्टै अधिकार सुनिश्चित गरेको जनाउँदै थारूहरूको विकास, उत्थानका लागि थारू आयोग, लोक सेवा आयोगजस्ता स्थानमा थारूहरूको सहभागिता सुनिश्चित गरेको भएपनि थारू जातिको सहभागिता र उपस्थिति कमजोर रहेकोमा थाकसले राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा नेतृत्व जन्माउन लाग्नुपर्ने बताइन् ।