कसको शिक्षा, कस्तो शिक्षा ?

कसको शिक्षा, कस्तो शिक्षा ?


सबै धनहरूमध्ये विद्या धनलाई महत्तम धनका रूपमा लिइने हुनाले नै ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भन्ने भनाइ पनि चल्तीमा रहेको छ । कुनै पनि व्यक्तिले व्यक्त गर्ने अभिव्यक्तिहरू निजको शिक्षा, सङ्गत तथा पर्यावरणले निर्देशित गर्ने गर्दछ । त्यसैले शिक्षालाई विकासको साथसाथै व्यक्तित्वको समेत आधारशीलाको रूपमा लिने गरिन्छ ।
✍ केशव रिजाल

विकास भन्नाले सामान्यतया सकारात्मक परिवर्तनको अवस्थालाई लिइन्छ । शिक्षाको स्तर बढ्नु, स्वास्थ्य सेवाको पहुँच पुग्नु, सडक सञ्जाल बढ्नु, सञ्चारको विविधिकरण हुनु, विद्युतको सुविधा बढ्नु र नागरिकको आर्थिक सक्षमता बढ्नु जस्ता पक्षहरूले विकासको विविध रूपलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात तथा विद्युत् जस्ता पक्षहरूलाई विकासका पुर्वाधारको रूपमा लिइँदै आएको छ । अर्को तर्फबाट भौतिक विकास, आर्थिक विकास र मानवीय (सामाजिक) विकासका रूपमा विकासका विविध पक्षहरूलाई लिने गरिन्छ ।

विश्वको विकासको परिदृष्यलाई अवलोकन गर्ने हो भने, शुरुमा भौतिक विकासलाई जोड दिए तापनि मानवीय (सामाजिक) विकास त्यसमा पनि शिक्षाको विकासलाई सबै विकासको मुख्य आधारशीलाको रूपमा लिन सकिन्छ । सबै धनहरूमध्ये विद्या धनलाई महत्तम धनका रूपमा लिइने हुनाले नै ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भन्ने भनाइ पनि चल्तीमा रहेको छ । कुनै पनि व्यक्तिले व्यक्त गर्ने अभिव्यक्तिहरू निजको शिक्षा, सङ्गत तथा पर्यावरणले निर्देशित गर्ने गर्दछ । त्यसैले शिक्षालाई विकासको साथसाथै व्यक्तित्वको समेत आधारशीलाको रूपमा लिने गरिन्छ ।

शिक्षा शब्द ल्याटिन भाषाको educare शब्दबाट आएको हो जसको अर्थ ‘हामीलाई ल्याउनु’ भन्ने हुन्छ । हो, शिक्षाले हामीलाई समाजमा ल्याउँछ, चिनाउँछ र विकासको अवसर प्रदान गर्दछ । प्रो. हर्मन एच. हर्नका अनुसार ‘शिक्षा समायोजनको बाह्रमासी प्रक्रिया हो’ । हाम्रो जीवनमा शिक्षाको महत्व अपार छ । शिक्षा बिना जीवन सफल हुन सक्दैन । यस आधुनिक संसारमा, सफलता हासिल गर्न सुशिक्षित हुनु अति आवश्यक छ ।

शिक्षा औपचारिक वा अनौपचारिक तवरले प्राप्त गर्न सकिन्छ । औपचारिक शिक्षा विभिन्न स्वारूपका शिक्षालयहरूबाट विभिन्न तह पार गर्दै प्राप्ति हुने गर्दछ भने अनौपचारिक शिक्षा घर, परिवार, साथी, सङ्गी, समूह, प्रकृति तथा स्वअध्ययनबाट प्राप्ति हुने गर्दछ । आजको युगमा शिक्षाबिना सफलताको कल्पना गर्न सकिँदैन । राष्ट्रको सामाजिक-आर्थिक विकासका लागि शिक्षा महत्वपूर्ण हुन्छ नै साथै मानवीय विकासको मूल आधार शिक्षा नै हो भन्न सकिन्छ ।

सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बुझाइ वा ज्ञान शिक्षा हो । हाम्रो लागि शिक्षा प्राप्त गर्नु खाना, लुगा र आश्रय पाउनुजत्तिकै अति आवश्यक छ । त्यसले गर्दा नै गाँस, बास, कपास झैँ शिक्षा, स्वास्थ्य पनि आधारभूत अधिकारको सूचिमा राखिएको पाइन्छ ।

अर्कोतर्फ शिक्षा एउटा यस्तो धन हो, जसलाई न कसैले चोर्न सक्दछ न कसैले खोस्न सक्दछ । यो मात्र यस्तो धन हो जून बाँड्दा कहिल्यै कम हुँदैन र सकिँदैन, बरु बढ्दै जान्छ । तपाईं-हामीले देखिरहेका छौँ कि जुन शिक्षित व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको समाजमा मान-सम्मान र विशेष स्थान रहेको हुन्छ । हामीहरूलाई यो स्मरण हुनु आवश्यक छ कि शिक्षा हाम्रो जीवनको अभिन्न अङ्ग हो । शिक्षाले तपाईं-हामीलाई समाजमा अलग किसिमको मान-सम्मान दिनुको साथै समाजमा सिर उठाइ जीउन सिकाउने भएकोले असल शिक्षा लिन आवश्यक छ ।

शिक्षा मानव विकास र राष्ट्र विकासको आधार भएको हुनाले नै राज्य, सरकार, समाज, परिवार तथा संस्थागत लगानी भइरहेको हुन्छ । देशअनुसार शिक्षाका औपचारिक उद्देश्यहरू फरक-फरक देखिए तापनि मुलभूत रूपमा कर्तव्यनिष्ठ, सक्षम तथा निपुण नागरिक विकास गर्नु नै शिक्षाको मुलभूत उद्देश्य हो भनी भन्न सकिन्छ ।

नेपालको सन्दर्भमा शिक्षाका राष्ट्रिय उद्देश्यहरू निम्नानुसार रहेका छन्-

१. प्रत्येक व्यक्तिमा अन्तरनिहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गर्न सहयोग गर्ने,
२. प्रत्येक व्यक्तिमा निहित सार्वभौम मानवीय मूल्यका साथै राष्ट्रिय संस्कृति र अस्मिता, सामाजिक मान्यता र आस्थाहरूको सम्वर्द्धन गरी जीवन्त अनुभवहरू समेट्दै स्वस्थ सामाजिक तथा सामूहिक जीवन पद्धतिको विकास गर्न चरित्रवान् एवम् नैतिकवान नागरिक तयार गर्ने,
३. स्थानीय र राष्ट्रिय स्तरका पेसा, व्यवसाय एवम् रोजगारीका साथै आवश्यकतानुसार अन्तर्राष्ट्रिय रोजगारीतर्फ उन्मुख उत्पादनमुखी र सिपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने,
४. व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदृढ बनाउने,
५. समाजको आधुनिकीकरणमा सहयोग गरी देश निर्माणका निम्ति मानव संसाधनको विकास गर्ने,
६. प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्न सहयोग गर्ने,
७. सामाजिक समानता र न्यायबारे चिन्तन गर्दै तदनुरूपको आचरण विकास गर्ने र समावेशी समाज निर्माणमा मद्दत गर्ने,
८. स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुकूल शान्ति, मैत्री, सद्भाव, सहिष्णुता र विश्वबन्धुत्वको भावनाको विकास गरी तदनुरूपको आचरण गर्ने गराउने र हरेक प्रकारका द्वन्द्व व्यवस्थापनका लागि सक्षम नागरिक तयार गर्ने,
९. आधुनिक सूचना प्रविधिसँग परिचित भइ त्यसको प्रयोग गर्न सक्ने विश्व परिवेशसुहाउँदो दक्ष जनशक्ति तयार गर्ने,
१०. राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मानवअधिकारप्रति सम्मान गर्ने, समालोचनात्मक तथा रचनात्मक सोच भएका, स्वाभिमानी तथा अरूलाई सम्मान गर्ने र आफू नेपाली भएकामा गौरव गर्ने नागरिक तयार गर्ने,
११. नेपाली कला, सौन्दर्य, आदर्श तथा वैशिष्ट्यहरूको संरक्षण, सम्वर्द्धन र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्न मद्दत गर्ने,
१२. प्राकृतिक एवम् दैवीप्रकोपप्रति सचेत रही सम्भावित जोखिम न्यूनीकरण गर्न सक्षम नागरिक तयार गर्ने (रा पा प्रा ०६३, परिमार्जन ०७१),

उल्लेखित उद्देश्य बोकेको साथै राज्यको अर्बौं लगानी गरिएको शिक्षा प्राप्त गर्ने विद्यार्थीहरूले नै ठीक र बेठिक छुट्याउन नसक्नु, विवेक गुमाएर आवेग र सम्वेगको पछाडि लाग्नु, मुल्यहीन क्रियाकलापको पछाडि लाग्नु, अर्थहीन भीडलाई पछ्याउनु, समाजमा भ्रम निवारण गर्नुको सट्टा भ्रम फैलाउन उद्यत हुनु अनि मानवीय सम्वेदना र मूल्य बुझ्न नसक्ने हुनुले हाम्रो घर, परिवार, साथी, सङ्गी, समूह, प्रकृतिको दोष हो कि हाम्रो शिक्षा प्रणाली तथा यसका सञ्चालकहरूको पनि, गम्भीर समीक्षा, खोज, बुझाइ र सुधारको खाँचो देखिन्छ ।

  • बुद्धशान्ति-२, झापा