चीनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, सय जनाभन्दा बढीको मृत्यु

चीनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, सय जनाभन्दा बढीको मृत्यु


चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको बताइएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसूस गरिएको थियो ।

गान्सु प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १०० नाघेको र दुई सयभन्दा बढी घाइते भएका एएफपीले जनाएको छ ।

भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि धेरै भवनहरु ध्वस्त भएका छन् । भवनहरु ध्वस्त भएका कारण धेरै मानिसहरु भग्नावशेषमा पुरिएका समाचारमा जनाइएको छ।

योसँगै छिङहाइ प्रान्तको मिन्हे काउन्टी र झुनुआ सालार स्वायत्त काउन्टीमा दुई जनाको मृत्यु भएको छ ।

एस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको लान्झाउबाट १०२ किलोमिटर दक्षिणपश्चिममा ६ माइल गहिराइमा थियो ।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार छिङहाई प्रान्तको हाइडोङ शहरमा पनि ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

राज्य समाचार एजेन्सी सिन्ह्वाले भूकम्पले भत्किएका घरहरूलगायत व्यापक क्षति पुऱ्याएको र मानिसहरु सुरक्षाका लागि सडकमा भागिरहेको बताएको छ ।

भूकम्पपछि मंगलबार बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट प्रभावित जनताको जीवन बचाउन र राहत उपलब्ध गराउन हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।