यस्तै छ यहाँको चलन !

यस्तै छ यहाँको चलन !


सर्वसाधारण प्रश्न गर्छन्, ‘नागरिक समाज, विद्यार्थी संगठनका नेता, सामाजिक अभियन्ताहरू कुन दुलोमा लुके ?’ हुन त नागरिक समाज, विद्यार्थी संगठनका नेता र सामाजिक अभियन्ता राजनीतिक दलकै ‘झोले’ हुन् भन्दा अतिशयोक्ति हुँदैन । आफ्नो पार्टीका नेताको विरोधमा यिनीहरूले चुइँक्क आवाज निकाल्न सक्दैनन् भन्ने सबैले बुझेकै कुरा हो ।

व्यापारीहरूको ठगीधन्दा, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने दम यिनीहरूमा छैन । प्रकारान्तरले देश बेचिसके नेताहरूले । विदेशबाट धमाधम पैसा ल्याएर नेताहरूले मोजमस्ती गरिरहेका छन् । यता, महँगीले जनताको ढाड सेकिएको छ । तर, नागरिक समाज, विद्यार्थी संगठनका नेता र सामाजिक अभियन्ता भनाउँदाहरू कता छन् ? अत्तोपत्तो छैन । देश धितो राखेर नेताहरूले झण्डै २५ खर्ब रुपैयाँ विदेशीबाट ल्याइसकेका छन् । ल्याउने क्रम जारी नै छ ।

२०४६ सालभन्दा अगाडि सरकारले कुनै सामानमा एक रुपैयाँ मात्र बढायो भने पनि यहाँ चर्को आन्दोलन सिर्जना गरिन्थ्यो । नागरिक समाज, विद्यार्थी संगठन र सामाजिक अभियन्ताहरू सडकमा आउँथे । टायर बाल्थे, विरोध जनाउँथे । बढेको मँहगी फिर्ता लिन सरकारलाई बाध्य बनाएरै छाड्थे । तर, अहिले त सबै राजनीतिक दलका झोले भए । त्यसैले त राजनीतिक दलले देश बेच्न लागिसक्दासमेत खबरदारी नगरेका हुन् । जनताले दुईटा कुराको खोजी कहिल्यै गरेनन् । पहिलो- आफूले तिरेको कर कहाँ गयो ? दोस्रो- विदेशीबाट ल्याएको खर्बौं रुपैयाँको के गरियो ? नेताले जेसुकै गरेपनि जनता मौन बस्छन् । जसको फाइदा नेताहरूले उठाएका हुन् । हुन त जनता पनि आफ्नो व्यक्तिगत स्वार्थमा रमाएका छन् । कसैलाई छोराछोरीको सरकारी जागिरका लागि नेताहरूको लबिङ गर्दै ठिक्क छ ।

कोही राजनीतिक पार्टीको झोले बन्न पाउँदा मख्ख छन् । कसैलाई आफ्नो सन्तान विदेश पठाएर ब्याकग्राउण्ड बनाउनु छ । देशको बारेमा सोच्ने केही देखिएनन् । देश तहसनहस पारेपछि श्रीलंकाका जनता केही वर्षअगाडि सडकमा आए । राजनीतिक दलहरू नै भाग्नुपऱ्यो । बंगलादेशमा हालैमात्र पनि सरकारको निर्णयको चर्को विरोध भयो । सो निर्णय त्यहाँको सर्वोच्च अदालतले बदर गरिदियो । जनतामा कति दम हुन्छ, जनता कति शक्तिशाली हुन्छन् भन्ने त यी दुई घटनाले देखाउँछ । तर, यहाँ त जनताले नै नेतालाई खुल्ला छोडिदिएका छन् । जे गर्न मनलाग्छ त्यही गर भनेपछि नेताहरूको हौसला बढिहाल्छ नि !

राजनीतिक दलले २००७, २०३६, २०४६ र २०६२/६३ सालमा आन्दोलन गरे । त्यतिबेला राजनीतिक दलहरूले राजा र पञ्चायती व्यवस्थाले देश सकाइयो, बर्बाद बनाइयो, देश विदेशीलाई जिम्मा लगाइने भो भनेर जनता उचाले । सर्वसाधारणले पनि ‘होला’ भन्ठाने । सडक संघर्ष गरे ।

तर, राजनीतिक दलको दाउ त बेग्लै रहेछ । आफू सत्तामा पुगेर राज्यको ढुकुटीलाई दुहुनो गाई बनाउन आन्दोलन गरिएको त प्रष्टै भएको छ । २०४६ सालपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्यो, ऋण बढ्यो । भारत र चीनले धेरै नेपालको भूभाग मिचिसकेका छन् । विदेशी ऋण २५ खर्ब पुगिसकेको छ ।

अब त जनताले बुझ्नुपऱ्यो कि हिजो आन्दोलन किन गरिएको रहेछ ? राजनीतिक दलको उद्देश्य के रहेछ ? यो त देखि नै सक्यो । २०४६ सालअघि नेपालीहरू कुनैपनि देशमा श्रम गर्न जाँदैनथे । पासपोर्ट बनाएर श्रमका लागि विदेश जाने चलन थिएन । पढ्नलाई चाहिँ जान्थे । कामका लागि भारत जाने गरिन्थ्यो । नभए सबैलाई आफ्नो खेतीपातीले पुगेको थियो । अहिले वार्षिक सात लाख नेपाली विदेशिन्छन् । पुरुष मात्र नभई महिला पनि वैदेशिक रोजगारीका लागि जान थालेका छन् । विदेशमा नेपालीले रगतपसिना बगाएर पठाएको रेमिट्यान्स खोइ ?

नेता र सरकारी कर्मचारीले मोजमस्ती गरेका होइनन् ? नेपालीहरू बाकसमा फर्किरहेका छन् । तर, सरकारलाई कुनै मतलब नै छैन । रेमिट्यान्स पाए भयो । नेताहरू देशमा विकास भयो भन्छन् । जतिबेला पनि विकासको नारा लगाउँछ । तर, विकास के हो ? नेताले बुझेका छन् ? कहाँ भएको छ विकास ? यो देखाउनु पर्दैन ?

आज पनि कतिपय ठाउँमा बाटो पुगेको छैन । पुल नहुँदा केही समयअघि दैलेखको झोलुङ्गे पुलमा खच्चड अड्किए । उद्धार गर्न ढिलो हुँदा केही खच्चडको ज्यान पनि गयो । केपी शर्मा ओलीको गृहजिल्लामा भ्यूटावर बन्दैमा विकास हुने त होइन होला । सरकारले काठमाडौंलाई हेरेर विकासको नारा घन्काइरहेको छ । तर, राजधानीमा पनि के विकास भएको छ र ? घरैघरको शहर बनेको छ । अस्तव्यस्त र दुर्गन्धित छ । योपनि विकास ? विकास हुनलाई त पहिले सरकारसँग योजना हुनुपर्छ । उद्योग, कलकारखानाको स्थापना गर्नुपर्छ । व्यवस्थित शहर बनाउनुपर्छ ।

राजनीतिक दलहरू जम्मै भ्रष्टाचारी भए, जसका कारण आज देश यो अवस्थामा पुग्यो । जनता ऋण तिर्न नसकेर आत्महत्या गरिरहेका छन् । विभिन्न मुद्धामा लाखौं नागरिक जेलमा छन् । बाटोमा माग्नेको संख्या बढेको छ । छिमेकीले नेपाललाई तहसनहस बनाउँदै छन् । जुनसुकै क्षेत्रमा मारवाडीहरू प्रवेश गरेका छन् ।

उनीहरूले नेपालको दोहन गरिरहेका छन् । नेपाली भने विदेशमा गएर रगतपसिना बगाइरहेका छन् । जति पनि प्राइभेट बैंक यहाँ छ, सबै मारवाडीको हो । नेपालीको त के छ ? केही न केही । जनता हिजो जहाँ थिए आज पनि त्यहीँ छन् । देशको अवस्था त झनै नाजुक बन्दै गएको छ ।

नेताहरूको मनोमानी र जनतामाथि ज्यादतीमाथि कलम चलाउन सञ्चारकर्मी पनि चुकेका छन् । हुन त पछिल्लो समय सञ्चारमाध्यम पनि राजनीतिक पार्टीसम्बद्ध बन्दै गएका छन् । जनताले त आँखामा पट्टी नै बाँधेका छन् । नेताहरूको कर्तुत देख्दैदेख्दैनन् । नेताहरूलाई त अझैपनि जनता भ्रममा पारेर हामी छिमेकीबाट पैसा ल्याएर खान सक्छौँ कि भन्ने छ । नेता, व्यापारी, सरकारी कर्मचारीले भ्रष्टाचार गरेको पैसा विदेशी बैंकमा छ । भोलि देशमा केही भयो भने उनीहरू विदेश टाप कसिहाल्छन् ।

वर्तमान नेताहरू अलिकति पेट दुख्यो भने उपचारका लागि विदेश पुगिहाल्छन् । विदेशमा गएर उपचार गर्ने नाममा अर्बौं रुपैयाँ राज्यको ढुकुटीबाट लिएका छन् । तर, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पतालमा उपचार गराइराखेका छन् । पटकपटक प्रधानमन्त्री भइसकेका उनी पनि विदेश जान सक्थे होला नि !

२०४६ सालअघि भारतले नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठले चीन र अन्य मुलुकबाट सामान ल्याएर नेपालीको आवश्यकता पूर्ति गरे । उनी भारतको सामुन्ने झुकेनन् । मूल्य नबढाइकन जनतालाई सामान दिइयो । त्यस्ता प्रधानमन्त्री मरिचमानको मृत्यु हुँदा सरकारले सलामी दिएन । दलाली गर्ने नेता भनाउँदाहरूको मृत्युमा चाहिँ अस्वाभाविक प्रकारले सलामी दिइन्छ । जनताको करमा खेलोफड्को गर्नेहरूलाई यहाँ सम्मान गरिन्छ । यस्तै छ आज यहाँको चलन !