अरुभन्दा बेग्लै काङ्ग्रेस नेता !

अरुभन्दा बेग्लै काङ्ग्रेस नेता !


नेपाली काङ्ग्रेसले प्रजातन्त्रवाद छोडेर माओवादीसँगै ‘लोकतन्त्र’को यात्रा सुरु गरेको सत्र वर्ष पूरा भइसक्दा पनि एक नेता पुरानो प्रजातन्त्रवादी काङ्ग्रेसकै खुट्टा समातेर बसिरहेको अवस्थामा फेलापरेका छन् । काङ्ग्रेस मध्येमार्गी राजनीतिसहित प्रजातन्त्रको पक्षमा रहँदा उसले संवैधानिक राजतन्त्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो मूल आदर्श र लक्ष्य बनाएको थियो । बीपी, किशुनजी र गणेशमानद्वारा प्रतिपादित विचार परित्याग गर्दै माओवादीसँगको सहयात्रामा काङ्ग्रेस निस्किएपछि उसले लोकतन्त्र, राष्ट्रियता र समाजवाद लेख्दै आएको छ । तर, पुराना परिपक्व नेता शुक्रराज शर्माले भने अहिलेसम्म लोकतन्त्र शब्द प्रयोग गर्नुभएको छैन ।

कास्कीमा जन्मिनुभएका नेता शुक्रराज अहिले गण्डकी प्रदेश काङ्ग्रेसको सभापति पदमा हुनुहुन्छ । उहाँले आफ्नो कार्यालयको भित्तामा त्यस्तो बोर्ड राख्नुभएको छ, जुन अन्य कुनैपनि काङ्ग्रेस कार्यालयमा भेटिँदैन । आफूलाई बीपीको सच्चा अनुयायी दाबी गर्नुहुने नेता शुक्रराज माओवादीसँगको वैचारिक सहयात्राको विरूद्ध हुनुहुन्छ । उहाँले तीन तहको सरकार रहने सङ्घीयता, जातिवादी अवधारणा र धर्मनिरपेक्षताप्रति असहमति जनाउँदै आउनुभएको छ । उहाँले कहिल्यै पनि ‘लोकतन्त्र’ शब्द प्रयोग गर्ने गर्नुभएको छैन ।

काङ्ग्रेस बीपीकै मार्गमा हिँड्नुपर्छ भन्ने अडान शुक्रराज शर्माले राख्दै आउनुभएको छ । कम्युनिष्टसँगको सहकार्यले मुलुकको राष्ट्रियता, धर्मसंस्कृति, राष्ट्रिय एकता, प्रजातन्त्र र काङ्ग्रेसलाई दीर्घकालीन तथा गम्भीर क्षति पुऱ्याउने उहाँको धारणा छ ।