गगनहरू अझै दाउ हेर्दै !

गगनहरू अझै दाउ हेर्दै !


काङ्ग्रेस पार्टीको सम्पूर्ण सत्ता कब्जा गर्न सरकार बदल्नुपर्ने निष्कर्षमा पुगेका काङ्ग्रेस महामन्त्री गगन थापाले एकसाथ अनेक चाल चल्न खोजेका छन् । प्रचण्डलाई निरन्तरता दिँदासम्म शेरबहादुर देउवा बलियो रहिरहने र, देउवा नै पुनः प्रधानमन्त्री बने भने काङ्ग्रेसको आगामी महाधिवेशन पनि देउवाकै पक्षमा जाने गगन टोलीको ठहर छ ।

गतवर्ष निर्वाचन सकिएलगत्तै देउवाका विरूद्ध काङ्ग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएर गगनले आफ्नो हतारो प्रकट गरेका थिए । कोइराला र देउवालाई एकैपटक बढार्ने महत्वाकाङ्क्षाका साथ दलको नेतामा उम्मेदवारी दिएका उनले पच्चीस सांसदको मात्र मत पाएका थिए । त्यसपछि कोइराला पक्षलाई गाली गर्दै हिँडेका गगनले अहिले आएर डा. शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । जबकि यसबीचमा गगन उपसभापति पूर्णबहादुर खड्कालाई आगामी पार्टी सभापति र प्रधानमन्त्री बनाउनुपर्छ भन्दै खड्कालाई चक्मा दिइरहेका थिए ।

वर्षदिनभित्र गरिएका प्रयासहरूबाट घ्यू नलाग्ने देखिएपछि गगन पश्चिमाहरूको आड लिएर डा. शेखरलाई चक्मा दिने चालबाजीमा छन् । पार्टीमा पूर्णबहादुर खड्काको बेग्लै प्रभाव रहेको र खड्काले आगामी महाधिवेशनमा सभापतिका रूपमा आफैलाई प्रस्तुत गर्ने भएपछि गगनले आफ्नो चाल बदलेका हुन् ।

महासमितिको बैठकबाट काङ्ग्रेस नेतृत्वमा नै सरकार गठन गर्ने प्रस्ताव पारित गराएर गगनले देउवालाई रक्षात्मक अवस्थामा पुऱ्याइदिने खेल त खेलेका छन्, तर देउवाले फेरि पनि महासमितिको बैठक स्थगित गरिदिए भने उनको सपना के होला, जिज्ञासाको विषय बनेको छ । राष्ट्रियसभाको चुनावलाई देखाएर काङ्ग्रेसले फेरि पनि महासमिति बैठक सार्ने सम्भावना रहेको छ ।