कांग्रेस बलियो भए मात्रै संविधानको रक्षा हुने देउवाको दाबी

कांग्रेस बलियो भए मात्रै संविधानको रक्षा हुने देउवाको दाबी


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने जिकिर गरेका छन् । नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा बिहीबारदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले संघीयता, समावेशिता र पछिल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने तर्क गरे ।

पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको धारणा राखे । उनले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने पनि बताए ।

सो अवसरमा पार्टीका उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेशलगायत प्रदेश सरकारले सङ्घीयताको कार्यान्वनका सन्दर्भमा व्यक्त भएका असन्तुष्टि सम्बोधन गर्न कांग्रेससहितको वर्तमान सरकारले छिट्टै आवश्यक प्रक्रिया टुङ्गोमा पुऱ्याउने बताए । उनले विगतमा मधेशवादी दलहरुले संविधान संशोधनका लागि उठाएका माग सम्बोधन गर्न कांग्रेसले दोस्रो पटक संविधान संशोधनको प्रस्ताव पेश गरे पनि अन्य दलका कारणले सफल नभएको स्मरण गर्दै फेरि पनि कांग्रेसले नै मधेसका चिन्ता र चासो सम्बोधन गर्न नेतृत्व गर्ने अभिव्यक्ति दिए ।

महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने धारणा राखे भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा सङ्घीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा सङ्घीयता आएको भन्दै गौरवभाव प्रकट गरे ।

पार्टीका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आम्दम्बे, महेन्द्र यादव, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्यहरु मिनाक्षी झा, अजयकुमार चौरसिया, किरण यादव, पद्मनारायण चौधरी, रमेश रिजाल, पार्टीका प्रदेश सभापतिरू वीरबहादुर बलायर (सुदूरपश्चिम), इन्द्र बानियाँ (बागमती), अमर सिंह पुन (लुम्बिनी) लगायतले आआफ्ना धारणा राखेका थिए ।

तस्बिर : रासस