‘लाइक र कमेण्टले पार्टी कमजोर भयो’ : मुख्यमन्त्री कार्की

‘लाइक र कमेण्टले पार्टी कमजोर भयो’ : मुख्यमन्त्री कार्की


प्रदेश सरकारलाई जनताको सरकार बनाउने प्रतिबद्धता

कोशीका मुख्यमन्त्री केदार कार्कीले नेताहरू समाजिक सञ्जालमा ‘लाइक’ र ‘कमेण्ट’का लागि मात्रै बोल्ने गरेकाले राजनीतिक दल कमजोर भएको बताएका छन् ।

नेपाली कांग्रेस उदयपुरको कटारीमा आयोजित जिल्ला सम्मेलनमा मुख्यमन्त्री कार्कीले पार्टीका नेतृत्व तहका नेताहरू भोट लिएर जाने तर फर्केर नआउने, जे मन लाग्यो त्यो बोल्यो तर त्यसलाई पूरा नगर्ने गरेकाले अहिले कार्यकर्ता माझ पार्टी कमजोर भएको बताएका हुन् ।

‘पार्टीका जिम्मेवार पदमा बस्नेहरूले नै अहिले पार्टी सकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएकोले पनि पार्टीलाई कमजोर बनाइरहेको छ, जनतालाई सपना देखाएर पूरा नगर्ने जिम्मेवार पदमा बसेका चटके नेताहरूका कारण पार्टी पङ्क्ति नै बदनाम भइरहेको छ’– उनले भने ।

मुख्यमन्त्री कार्कीले पार्टीलाई कमजोर बनाउने नेताहरूले दिँदै आएको अभिव्यक्ति जस्तो तल्लो तहमा अवस्था नभएको सबैलाई बुझ्न जरूरी रहेको बताएका हुन् । ‘जिम्मेवार नेताहरूको चटकले आजित भएका जनताको सपना कोशी प्रदेश सरकारले पूरा गर्ने प्रक्रिया सुरू गरिसक्यो ।’

क्रमभंग गरेर बनेको प्रदेश सरकारलाई जनताको सरकार भएको अनुभूति गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए । ‘मानवीय विकासबाट कोशी प्रदेश सरकारले काम सुरू गरेको छ, मान्छे नै बाँचेन भने सडक कसका लागि बनाउने त्यसैले २५ लाखमुनिका योजना कटाएर १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार प्रदेश सरकारले सुरू गरेको छ’– मुख्यमन्त्री कार्कीको भनाइ छ ।

आफ्ना छोराछोरीको वास्ता नगरी समुदायभरिका बच्चा जन्माउन र खोप लगाउन खटिने महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका साथै नगद प्रदान गर्न बजेट ल्याएको उनले बताए । प्रदेश सरकारले सुशासन र गुणस्तरीय काममा कुनै सम्झौता नगर्ने उल्लेख गर्दै उनले भने– ‘प्रदेश सरकारलाई जनताको सरकार बनाउँछु, जिम्मेवार पदमा बसेका नेताहरूले लाइक कमेन्टका लागि मात्रै नबोलिदिनुस्, संघीय सरकारले वर्षाैंदेखि निर्माण गरिरहेको कटारी–घुर्मी सडक जनताको दुःख सम्झेर बनाइदिन दुवै हात जोड्छु ।’

पुर्व–पश्चिम मध्यपहाडी लोकमार्ग र तराई मधेस र हिमाल जोड्ने कटारीमा प्रदेशस्तरीय अस्पताल प्रदेश सरकारले निर्माण गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् । समस्यामा परेका जोसुकै प्रदेशवासीको साथमा प्रदेश सरकार उभिने प्रतिबद्धता उनले जनाए ।

उदयपुर २(ख) बाट निर्वाचित प्रदेश सांसद रामकुमार खत्रीले नेतृत्व तहको नेता सुध्रिन आवश्यक भएको बताएका छन् । उनले नेतृत्व तहका नेता इमानदार भइदिए यश क्षेत्रमा ५ हजार जनालाई पार्टी प्रवेश गराएर पार्टीमा उर्जा भर्ने प्रतिबद्धता जनाए ।