तारजाली घेराबारको सुविधापछि किसान नगदे बालीतर्फ आकर्षित

तारजाली घेराबारको सुविधापछि किसान नगदे बालीतर्फ आकर्षित


  • डम्बर निदाल, डडेल्धुरा

परम्परागत कृषि प्रणालीमा खेती गरिआएका डडेल्धुराका किसानहरू नगदे बालीतर्फ आकर्षित भएका छन् । मौसमअनुसार धान, गहुँ खेतीमात्र गर्ने अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका कृषकहरूले आ-आफ्नो जग्गाजमिनमा नगदे बालीको रुपमा साधारण र मल्चिङ प्लाष्टिक प्रविधिमा आलु खेती गर्न थालेका छन् ।

‘अवस्थी परिवार समाज’को पहलकदमीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, आलु सुपर जोन कार्यालय डडेल्धुराले गत आर्थिक वर्षमा जंगली जनावर बँदेल तथा बाँदरबाट जोगाउन किसानहरूको करिव ११ सय मिटर जग्गामा व्यवस्थित रूपले तारजाली घेराबार लगाइदिएपछि २९ जना अगुवा कृषकले आलुखेती गर्दा गाउँ आलुमय नै भएको छ ।

कृषिकर्मको विकल्प नभएको भन्दै परम्परागत खेतीभन्दा आधुनिक प्रणाली र प्रविधिमा खेती गर्दा मनग्गे आम्दानी हुने यसअघिको परिणामले हौसिएका किसानहरूले धान काटेर असोज कार्तिकमा १६ क्विीन्टल बिउआलु लगाएका छन् भने माघमा लगाइने आलुका लागि आलु लगाउने क्षेत्रफल पनि बिस्तार गरिरहेका छन् ।

आलुका लागि माटो, हावापानी र सिंचाईंको सम्भावना पनि अत्यन्त राम्रो भएकोले अमरगढी-५ सेलागाउँमा कार्यालयले लगानी गरेको र किसानहरूले पनि अर्गानिक आलु उत्पादनबाट सोचेअनुरुप प्रतिफल प्राप्त गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, आलु सुपर जोन कार्यालय डडेल्धुराका कार्यालय प्रमुख ध्रुवराज जोशीले बताए । स्थानीय श्री असिग्राम कृषि तथा पशुपालन समूहमार्फत चालु आर्थिक वर्षमा किसानहरूको मागअनुसार बीउ, मल्चिङ प्लाष्टिक र हातेट्रेक्टरमा पनि ५० प्रतिशत अनुदान दिने बताउँदै किसानको उत्पादनका आधारमा बजारीकरण र भण्डारण लगायतका आवश्यकतामा पनि कार्यालयले आवश्यक सहयोग गर्ने उनले बताए ।

आलुखेतीसँगै किसानहरूले परम्परागत खेती विस्थापित गर्दै बँदेल, बाँदरलगायत जंगली जनाबरको कारण वर्षौंदेखि बाँझो रहँदै आएको करिब पाँच सय रोपनी जग्गाको खाली जमिनमा ताजा तरकारी रायो, पालुङ्गो, लसुन, प्याज सलगम जस्ता नगदेबाली लगाएर दैनिक आम्दानीको माध्यम पनि बनाउन सक्रिय भएका छन् ।

किसानहरूले गरेको लगानी र परिश्रमको अपेक्षित लाभ लिन स्थानीय सरकार अमरगढी नगरपालिका र सम्बन्धित सरोकारवालाको ध्यान गएमा तराई पलायन भइरहेको बसाइँसराइ रोकिनुका साथै पूर्वाधारको सुनिश्चितता भए दिगो रोजगारीको सम्भावना बढ्ने युवाहरूले आशा गरेको अमरगढी नगरपालिका वडा नं. ५ का निवर्तमान वडाअध्यक्ष खेमराज पाठकको भनाइ छ ।

कृषि कर्म विस्थापित तथा युवाहरू पलायन भइरहेको वर्तमान समयमा लगाएको बाली सुरक्षित हुने भएपछि युवा लगायतका किसानहरू उत्साहित भएर आलु खेतीमा लागेका छन् । दिनप्रतिदिन बाँझो रहँदै आएको जग्गा पुनः उत्पादिनशील हुँदै गएको अवस्थी परिवार समाजका अध्यक्ष तथा समाजसेवी यज्ञराज अवस्थीले बताए ।

गाउँमा सबै किसानहरूले आलु लगाउन थालेपछि अपूर्व परिवर्तन आएको बताउँदै गाउँमा एकअर्कामा सदभाव बढेको छ, सहयोग गर्ने भावना विकसित भएको छ, सहकार्य गरेर खेती गर्ने वानीको विकास भएको छ, आलु खेतीकै कारण समय समयमा हुने बैठकले गाउँ समाजमा भइरहने साना मसिना विवाद, मतभेद र समस्याहरू पनि छलफल गरी समाधानउन्मुख भएको उनको भनाइ छ ।

सदरमुकामको नजिकै विकास र बिस्तार भएको तरकारी पकेट क्षेत्रमा ताजा तरकारी उत्पादनका लागि खेतबारीकै मुहानतर्फ सिंचाई पोखरी भए पनि मर्मतसम्भारको अभावमा संचालनमा नआउँदा किसानहरूलाई आलु सिञ्चित गर्न भने समस्या भएको छ ।

अवस्थी परिवारका २३ जना, पाठक परिवारका ५ जना र ओझा एक जना गरी २९ जना कृषकले आलुखेतीसँगै उत्पादन सुरक्षाका लागि कृषक समूहको निर्णय र निगरानीमा घेराबारभित्र दैनिक २ जनाको नियमित पालो-पहरा पनि गर्दै आएका छन् ।