हामी

हामी


✍ उपेन्द्र त्रिपाठी

कहिल्यै सन्देह गरेनौँ
हामीलाई बन्दुक थमाउने हात
झेली पनि हुन सक्छ
कहिल्यै प्रश्न गरेनौँ
हामीलाई घोकाइएको कखरा
गलत पनि हुन सक्छ
कहिल्यै बुझ्न चाहेनौँ
हामीलाई देखाइएको क्षितिज
छल पनि हुन सक्छ
जहाँ सन्देह मऱ्यो
जहाँ प्रश्न मऱ्यो
जहाँ बुझाइ मऱ्यो
हामी, कुनै रामको इशारामा
लङ्का जलाउँदै हिँड्ने
हनुमानमात्रै बनिरह्यौँ
हामी, कुनै सपनाको ब्यापारीको
गुन्टा बोकिहिँड्ने
भरिया मात्रै भैरह्यौँ
हामी, कुनै विचारको बगरेको पसलमा
झिँगा धपाउँदै बस्ने
कमारो मात्रै रहिरह्यौँ
दुई बीस दसको सङ्घार नाघ्नै लाग्दा
बल्ल आएर बुझ्दैछु
हरेक यात्राको शुरुवात
सन्देह, प्रश्न र बुझाइको त्रिचोक टेकेर
गर्नुपर्ने रैछ
नत्र फेरि पनि हामी
कसै न कसैको हनुमानमात्रै बनि नै रहनेछौँ
कसै न कसैको भरियामात्रै भइ नै रहनेछौँ
कसै न कसैको कमारोमात्रै रहि नै रहनेछौँ ।