देउवा र ओलीलाई बालुवाटार बोलाएर प्रचण्डले गरे छलफल

देउवा र ओलीलाई बालुवाटार बोलाएर प्रचण्डले गरे छलफल


तीन प्रमुख राजनीतिक दलका शीर्षनेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डबीच भेटघाट तथा छलफल भएको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेतको सहभागिता रहेको सो भेटघाटमा प्रधानमन्त्री प्रचण्डले मूलतः सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयलाई छलफलको विषय बनाएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नेताहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । सोमबार पुनः बैठक बस्ने सहमति भएको पनि उनले जानकारी दिएका छन् ।

ज्ञातव्य छ, बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन अवस्थामा छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ ।

सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको सन्दर्भमा तीन शीर्षनेताहरुबीच भेटवार्ता भएको हो ।

photo: rss