के नेपालमा ‘धर्म युद्ध’ होला ?

के नेपालमा ‘धर्म युद्ध’ होला ?


नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिने ब्यक्ति, संघ-संस्थाहरूलाई चाहिँ स-साना बहाना मिल्नेबित्तिकै कार्वाही गर्न पछि नहट्ने सरकारले ओहदामै रहेका मन्त्रीले क्रिश्चियनको भेलामा अतिथि बनेर अवान्छित अभिव्यक्ति दिँदा के हरेर बसेको छ ? किन प्रश्रय दिइरहेको छ ? यसले नै धेरै कुरा स्पष्ट गराउँछ ।
✍ राजेन्द्र राना

यो विषय उठान गर्नुअघि बडामहाराज पृथ्वीनारायण शाहको भनाइलाई उद्धृत गर्न चाहेँ- ‘चार जात छत्तिस वर्णको साझा फूलबारी’ भनेर एउटा सिङ्गो नेपाल एकीकरण गर्ने राजाको शालिक ढाल्ने, आफ्नो धर्म-परम्परा, संस्कृतिअनुसार विवाह गर्दा त्यसको विरोधमा जनयुद्धको नाममा आम नागरिकहरूको ज्यान लिने, धर्म गुरूको हत्या गर्ने, यस्ता थुप्रा घटनाहरू माओवादी जनयुद्धको कालमा भएका छन् । निरीह (सर्वहारा वर्ग) जनताको नाममा ठुल्ठूला सपना देखाउँदै सोझा-साधा जनतालाई युद्धमा सामेल गराउनुको मूख्य ध्येय के हो त ? अहिले लगभग छर्लङ्ग भइसकेको छ ।

अहिलेको जल्दोबल्दो विषय- मन्त्री सुदन किराँती राईले दिएको अवान्छित अभिब्यक्तिप्रति केही कुराहरू यहाँ राख्न चाहेको छु । हाल नेपालमा द्रूत गतिमा भइरहेको धर्मपरिवर्तनमा विशेषगरी क्रिश्चियानिटी बढ्नुमा किन, कसरी र कसको हात छ भन्ने कुरा सायद सबैलाई ज्ञात भइसकेकै होला । नत्र एउटा संस्कृतिमन्त्रीको ओहदामा बसेको मान्छेले किन यस्तो धारणा ब्यक्त ग¥यो भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो ।

हाल नेपालमा विभिन्न प्रक्रियाबाट कोरियन, अमेरिकन र अन्य देशका संस्थाहरू भित्रिएका छन्, जसले नेपाली जनतालाई सित्तैमा पढाइदिने, विदेशमा जागिर लगाइदिने, विभिन्न विषयमा अध्ययन गर्न आउने विद्यार्थी, ब्यापारी नेपालमा लगानी गरेर ब्यापार व्यवसाय गर्ने बहानामा भित्रभित्रै इसाई मिशिनरीहरू धर्म परिवर्तन गराउन सक्रिय रूपमा लागिपरिरहेका छन् । विदेश जान पाइने, डलर कमाउन पाइने, राम्रा-राम्रा केटाकेटीहरू विवाह गर्न पाइने, सित्तैमा विदेश भ्रमण गर्न पाइनेलगायतका गाँस बास कपासको प्रलोभनमा पारेर विशेषगरी दूर्गम भेगका अति विपन्न परिवारको पहिचान गरी, त्यस्ता ब्यक्ति, समाज र सिङ्गो गाउँमा ८०-९० प्रतिशतले धर्म परिवर्तन गराइरहेका छन् । नेपालको भाषा, संस्कृति मात्रै नभएर जातजातिमाथि पनि यूरोपियन यूनियनका भक्त डलरेहरूले आफ्नो कूल, धर्म सबै बिर्सेर समाजमा विसंगतिहरू फैलाइरहेका छन् ।

पङ्क्तिकारको ब्यक्तिगत मानसपटलले पनि के भन्छ भने यस कार्यमा विशेषतः सरकारमा बसेका मन्त्रीस्तरदेखि ठुल्ठूला एजेण्टहरूकै हात रहेको छ । नत्रभने नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिने ब्यक्ति, संघ-संस्थाहरूलाई चाहिँ स-साना बहाना मिल्नेबित्तिकै कार्वाही गर्न पछि नहट्ने सरकारले ओहदामै रहेका मन्त्रीले क्रिश्चियनको भेलामा अतिथि बनेर अवान्छित अभिव्यक्ति दिँदा के हरेर बसेको छ ? किन प्रश्रय दिइरहेको छ ? यसले नै धेरै कुरा स्पष्ट गराउँछ ।

परापूर्व कालदेखि केही ईशाइ धर्म मान्दै आएका समाजले कहिले पनि यस्ताखाले धर्म परिवर्तन गराउने र समाजलाई खलल पुऱ्याउने खालका विसंगतिहरू फैलाएको पाइँदैन । उनीहरूलाई न डलर चाहिएको छ न धर्मप्रचार, कुनै मतलब नै राख्दैनन् । उनीहरू वैदिक सनातन हिन्दू धर्मप्रति प्रगाढ आस्था र विश्वास पनि राख्छन् । सरकार स्वयम्ले यसलाई टेवा दिइरहेको छ भन्ने उदाहरण हेर्दा स्वतः स्पष्ट हुन्छ ।

एकपटक एउटा चित्रकलासम्बन्धी प्रशिक्षणको सिलसिलामा नेपालको विकट र दूर्गम ठाउँको भ्रमण गर्ने मौका पाइयो । ३५००-४००० मिटर उचाईमा अन्नबाली राम्ररी उब्जनी नहुने र भए पनि खानलाई धौ-धौ हुने ठाउँमा शिक्षाको त कुरै भएन । सरकारी तहबाट कुनै किसिमको सेवा त्यहाँ देखिएन । सबै विदेशी एनजीओ/आइएनजीओले लगानी गरेको देखियो । जस्तै करेसाबरीको अवधारणा, फलफूल तथा तरकारी खेती, शिक्षा, स्वास्थ्य, खानेपानी सबैमा एनजीओ/आइएनजीओ लगानी रहेको छ । पञ्चायतकालिन कुनै समय त्यहीँका स्थानीय एक ब्यक्ति मन्त्री भएको बेलामा गरेको विकास भनेको आफ्नो राम्रो भब्य घर, विजुली र अलि-अलि बाटोघाटो बनाउने बाहेक केही देखिएको छैन । जबकि मट्टितेल किन्नु पऱ्यो भने पनि बजारसम्म पुग्न एक दिन लाग्छ र, किनमेल गरेर भोलिपल्ट मात्रै घर फर्किन्छन् । बिरामीलाई सेवा दिने एउटा स्वास्थ्यचौकीको त्यस्तै हालत छ । एउटा वडापालिकाबाट अर्को वडा जानुपऱ्यो भने कम्तिमा ३-४ घण्टा लाग्छ । प्रत्येक वडामा एक-एक उच्च माध्यमिक विद्यालय छ तर कुनैमा केको कमी कुनैमा के ! ३-४ घण्टै हिँडेर विद्यालय पुग्नुपर्छ, न बेलामा पाठ्यपुस्तक पाइन्छ न अन्य सुविधा नै । अहिले त्यो ठाउँमा सेन्ट जेभियर्सको ‘प्लस टू’सम्मको शिक्षा निशुःल्क पढाइदिने विद्यालय खोलेको छ । यसरी विभिन्न किसिमका अति आवश्यक आधारभूत सुविधा यदि सरकारले व्यवस्था गरिदिएको भए बाध्यात्मक परिस्तिथिको फाइदा उठाउँदै पैसा र आधारभूत आवश्यकताका विषयको सुविधासहित धर्मपरिवर्तन गराउने इसाई मिसिनरीहरूले स्थान लिने थिएनन् कि ? विधर्मीजन सक्रिय हुने अवस्था हुँदैनथ्यो कि ? यस्ता थुप्रै विकट र दूर्गम गाउँहरू जिल्ला जिल्लामा छन्, जहाँ धर्मपरिवर्तनको अवान्छित गतिविधि चलिरहेको छ ।

नेपालमा एनजीओ र आइएनजीओ अभिसापको रूपमा देखिएको छ भन्दा अतिशयोक्ति नहोला । यिनीहरूको उद्देश्य अर्कै थियो कि गाउँ-गाउँमा विकास गरिदिने, सहयोग गरिदिने आश्वासन र पैसाको प्रलोभनमा पारेर नेपालको भौगोलिक र भूगर्वको अध्ययन गरेर नेपालका खानीहरूको एक-एक दस्तावेज तयार गरी सङ्कलन गर्ने । जति पनि नेपालको अमूल्य जडिबुटी र पुरातात्विक सामानहरू छन् त्यो पनि आफ्नै मुठ्ठीमा पार्ने, जस्तोकि ऐतिहासिक मूर्ति, पाण्डुलिपी, जडिबुटी, ढुङ्गा जस्ता धेरै सामानहरू विदेशिएका छन् । कत्तिको साँचो हो, सुनिन्छ- मछिन्द्रनाथको सक्कली भोटो पनि बेलायतको म्यूजियममा छ अरे । शिक्षाकै कुरा गर्ने हो भने संस्कृत भाषामाथि किन डलर खुवाएर ध्वस्त पार्न लागिपरे ? धर्मको नाममा हिन्दू धर्म र धर्मग्रन्थमाथि किन खनिए ? यत्तिकै नसकिने भएपछि माओवादीको नाममा डलर लगानी गरेर भाषा, धर्म, संस्कृति सबै ध्वस्त पार्न लगाए । यदि होइन भने माओवादीकै सरकार भएको बेलामा कुनै कतै पनि, जनताले/आन्दोलनले नउठाएको कुरा धर्मनिरपेक्ष राष्ट्र किन घोषणा गऱ्यो त ? सर्वहारा वर्गको नाममा आम जनतालाई सुख-सुविधा, आधारभूत आवश्यकता, रोजगार दिलाउँछु भनेर जनयुद्धमा संलग्न गराएको होइन र ? आफू सत्तामा आएपछि गरेको काम भनेको नेपालको शिक्षा नीति नै काम नलाग्ने र विश्वका हरेक देशमा गएर नेपालीलाई रोजगारीको नाममा युवाहरूलाई विदेशीको गुलामी गर्नका लागि सम्झौता गर्नेबाहेक अरु के देखियो ? के यसलाई मानवतस्करी नभन्ने ? राष्ट्रको जिम्मेवार व्यक्तिहरूबाटै यस्तो भएपछि, आफ्नो स्वार्थको लागि जे गर्न पनि पछि नपर्ने यस्ता राजनीतिजीवी भएपछि जनताले के आश राख्ने ? यिनीहरूको नजरमा आम जनता त जनता नै होइनन्, जो पार्टीको पछि लाग्छ त्यो मात्रै जनता ! हुँदा-हुँदा बदमासी गऱ्यो, भ्रष्टाचार गऱ्यो भनेर भन्दा जनताले नचाहिने बोल्यो भनेर अङ्कुश लगाउने यो कहाँको वाक् स्वतन्त्रता भयो ? चोर खुट्टा तान् भन्दा थुतेजस्तै भयो !

जनतालाई एउटा-एउटा बहानामा अलमलाएर अर्कै मिसन लाद्ने ?! कहाँ गयो सुनकाण्ड, कता बिलायो भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्ड ? यता हेऱ्यो काण्ड, उता हे¥यो काण्ड, नाम लिँदा पनि पापै लाग्ने… मुख कुल्ला गर्नुपर्ने अवस्था छ । गृहमन्त्रीज्यूले भ्रष्टाचार नियन्त्रण गर्नुहोला जस्तो लागेको थियो, तर उहाँकै हात बाँधिएको छ कि भन्ने आशङ्का उब्जिएको छ । समाजको लागि काम गर्ने राजनीतिकर्मी भन्दा पनि आफ्नै हितका लागि मात्र मरिमेट्ने राजनीतिजीविले गर्दा इशाई मिशिनरीहरूले प्रश्रय पाएको अनुभूति हुन्छ ।

देशलाई अत्यन्त माया गर्ने कलाकार पीटर खालिङ राई कुनैबेला पाश्चरलाई पढाउने विसप थिए, यसरी कुनै समयमा पाश्चरहरूको माथिल्लो पोष्टमा रहेर काम गरेको, विभिन्न विदेशी-स्वदेशी क्रिश्चियन संघ-संस्थाहरूको सदस्यता लिएको व्यक्ति अहिले चर्चमा जान छोडेको अभिव्यक्ति दिनुहुन्छ । किन त ? – यस सवालमा उहाँ बाइबलमा लेखिएको भनाइलाई नै उद्धृत गर्दै भन्नुहुन्छ- ‘जब तैँले देखेको भाइ, आमा-बा, श्रीमतीलाई त प्रेम गर्न सक्दैनस् भने नदेखेको इश्वरलाई कसरी विश्वास गरेर प्रेम गर्छस् ?’ हो यही कुरा नबुझेकोले कसैको लहैलहैमा लागेर क्रिश्चियन बनेको उहाँको भनाइ छ । एउटा घटनालाई लिने हो भने आजभन्दा १२-१३ वर्षअगाडि एउटा कोरियन इशाई मिशिनरीले घरमा काम गर्ने केटीलाई औषधी खुवााएर बलत्कार गऱ्यो । कति वर्षसम्म भित्रभित्रै गुपचुप रह्यो, जबसम्म कोरियन इशाई मिशिनरीबाट नेपाली पाश्चरले फाइदा लिँदै गयो । फाइदा लिन नपाएपछि घटना बाहिरियो । त्यसपछि सक्दो सरकारी निकायलाई किन्न पैसा खर्च गरे, तर पिटर खालिङ राईले त्यसलाई माफी माग्न लगाएर, क्षतिपूर्ति समेत तिराउन सफल भए । यस्ता ढोंगी विदेशी र विदेशीको इशारामा धर्म प्रचार गर्ने इशाइ मिशिनरीहरूलाई सरकारले नै संरक्षण गरेको हो र यिनलाई नलखटे धर्मयुद्ध हुने आँकलन उहाँको रहेको छ । (यो लिंकलाई क्लिक गरेर हेर्नुहोस्, धेरै बुझ्न सकिन्छ) –

http://www.youtube.com/watch?v=tvKBpHmr0tM

तसर्थ, आम वैदिक सनातन धर्म मान्ने सम्पूर्ण नेपालीहरू बेलैमा सतर्क नभए भोलिको दिन यस्तो भयावह स्थिति सिर्जना हुन सक्छ कि सम्हालेर सम्हाल्न सकिन्न । यदि धर्मयुद्ध भयो भने इशाइ मिशिनरीहरूले किनेका नेता, प्रशासनका व्यक्तिहरू नेपालबाट भाग्नेछन् । सोझासाधा नेपालीले दुःख पाउने पक्का छ । सबैले हेरेर मनन् गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । जय मातृभूमि !