गोरखदल गणको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

गोरखदल गणको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर


  • आरपी उपाध्याय, नवलपरासी

नेपाली सेना श्री गोरखदल गण पश्चिम नवलपरासीको आयोजना तथा देवदह मेडिकल कलेज र प्रतापपुर गाउँपालिकाको सहकार्यमा आयोजित एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर प्रतापपुरको जगन्नाथपुरमा सम्पन्न भएको छ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली सेना २२ नं. बाहिनी अड्डा बुटवलका सहायक रथी ललितबहादुर कुँवरले नेपाली सेनाले समय समयमा ग्रामीण भेग तथा स्वास्थ्य पहुँच कम भएका स्थानको छनौट गरी सिमा क्षेत्र नजिकमा विशेषज्ञ डाक्टरबाट जनताको आफ्नै घर आगनमा स्वास्थ्य सेवा पुऱ्याउँदै आएको बताउनुभयो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले स्वास्थ्य सेवा विकासको प्रमुख पुर्वाधार रहेकोले पालिकाअन्तर्गतका नागरिकलाई भरपर्दो र विश्वसनीय सेवा दिन पालिका सदैव क्रियाशिल रहने धारणा राख्नुभयो।

एकदिने निःशुल्क स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुबाट १३ किसिमको रोगको स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधि वितरण गरिएको नेपाली सेना श्री गोरख दलका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा प्रतापपुर गाउँपालिका, गोरखदल गण परासी, पृथ्वीचन्द्र अस्पताल परासी, आकाश मेडिकल हल भटौलियाको आर्थिक सहयोगमा वृहत् स्वास्थ्य शिविर सञ्चालन भएको बताइएको छ।

स्वास्थ्य शिविरमा विभिन्न रोग लागेका पुरुष १८२१ र महिला १३५९ गरि कुल ३१७० बिरामीको स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधि वितरण गरिएको थियो।

स्वास्थ्य शिविरमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, देवदह मेडिकल कलेज व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोख्रेल, निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यसपूर्व पनि श्री गोरखदल गण परासीले पाल्ही नन्दन गाउँपालिकामा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारीमा आएको छ।

निःशुल्क स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजलका २९ विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण कार्य गर्नुभएको स्त्री रोग विशेषज्ञ डा. अरुणा पोख्रेलले जानकारी दिनुभयो ।

सिमावर्ती क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भए लगत्तै जिल्लाको अर्को सिमावर्ती गाउँपालिका सुस्तामा पनि निःशुल्क स्वास्थ्य शिविरको माग उठ्न थालेको छ।