प्राचिन पलान्चोक नगर तथा पाँचखाल क्षेत्रका कोट र दुर्गहरू

प्राचिन पलान्चोक नगर तथा पाँचखाल क्षेत्रका कोट र दुर्गहरू


(प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व-३)

✍ श्रीकृष्ण धिमाल
४.३ कोटहरूको ऐतिहासिकता :

लिच्छविकालका अभिलेखमा आएका किँराती भाषाका शब्दहरूको आधार लिएर, ऐतिहासिक धनबज्र बज्राचार्यको विचारमा पलाञ्चोक प्रदेशमा किरातकालिक विकसित बस्ती थियो । नाला, पनौती, कुशेश्वर, भकुण्डेबेसी, दाप्चा, तिमालबेसी, पलाञ्चोक, खोपासी, दुग्धेश्वर, गढीघाङ, नमोबुद्ध क्षेत्रहरूमा लिच्छविकालदेखिका प्रमाणहरू पाइएका छन् । पलाञ्चोकमा मानदेवका पालाको संवत् ४२५ तदनुसार वि.सं. ५६० को विजयस्वामिनीको अभिलेख, दुम्जा कुशेश्वरमा अशुंवर्माको अभिलेख, खोपासीमा शिवदेव र अंशुवर्माको संवत् ५२० तदनुसार वि.सं. ६५५ को अभिलेख, नालामा द्वितीय शिवदेवको संवत् ११८ तदनुसार वि.सं. ७५३ को अभिलेख भण्कुण्डेबेसीमा द्वितीय शिवदेवको संवत् १३१ तदनुसार वि.सं. ७६४, को अभिलेख प्राप्त भएका छन् ।

मध्यकालमा उपर्युक्त अधिकांश बस्तीहरू नगरमा विकसित भएका थिए । नेपाल संवत् ५३५ तदनुसार वि.सं. १४७२ आषाढ शुक्लदशमीको दिनमा चीनका बादशाहबाट शक्तिसिंहरामलाई लिखित पत्रमा पलाञ्चोक शहरको उल्लेख परेको छ । मध्यकालिक नेपालको शासन व्यवस्थामा महत्वपूर्ण स्थान ओगटेका ऐतिहासिक पात्र शक्तिसिंहरामको गृहस्थानको नाम चीनका बादशाहको पत्रमा उल्लेख हुनुले पलाञ्चोक शहर त्यो समयमा निकै विकसित रहेको तथ्य खुल्दछ ।

दुर्ग, किल्ला, कोट, गढी, गढ, क्वाठ, राजधानी सुरक्षावाचक पर्यावाची शब्द हुन् । आजभोलि कोट र गढी शब्द नै बढी प्रचलित छन् । जसको सम्बन्ध युद्धसँग हुन्छ । दुर्गद्वारा राजा, जनता र धनको सुरक्षा हुन्छ । जहाँ शत्रु सेनाहरू पुग्न कठिन हुन्छ । एक धनुषधारीद्वारा सय धनुषधारी र सय धनुषधारीद्वारा सहस्र धनुषधारीलाई मार्न सकिने सिद्धान्तमा आधारित भइ दुर्गको निर्माण गरिएको हुन्छ । कौटिल्यले चार प्रकारका दुर्गहरूको उल्लेख गरेका छन्-

१. औदक- चारैतिरबाट जलले घेरिएको द्वीप जस्तो ।
२. पार्वत- पहाड तथा गुफा ।
३. वनदुर्ग- वनजंगल घेरिएको, जल-जनावर ।
४. धान्वन- मरुभूमि, जलविहीन भूमि, अनुर्वर भूमि ।

मनु, शान्तिपर्व, विष्णुधर्मसूत्र, मत्स्यपुराण, विष्णुधमोत्तर, शुक्रनीतिसारले ६ प्रकारका दुर्गहरूको वर्णन गरेका छन् ।

(१) धान्व दुर्ग- जलविहीन दुर्ग
(२) महीदुर्ग- स्थल दुर्ग, प्रस्तर तथा इटाबाट निर्माण गरिएका जुन १२ फुटभन्दा अधिक चौडार चौडाइभन्दा दुई गुणा लामो हुन्छ ।
(३) जलदुर्ग- चारैतिर जल आवृत्त भएको ।
(४) वनदुर्ग- चारैतिरबाट एक योजन जंगल (ठूला वृक्ष, झाँडीबाट आवृत्त ।
(५) नृदुर्ग- कुशल सैन्यबलबाट चारैतिरबाट सुरक्षित ।
(६) गिरिदुर्ग- पहाडको टाकुरा अथवा शिखरमा बनाइएको, कठिन परिश्रमले मात्रै जान सकिने, एउटा मात्रै बाटो भएको ।

मनुस्मृतिले गिरिदुर्गलाई सर्वश्रेष्ठ भनेका छन् भने शान्तिपर्वमा नृदुर्गलाई सर्वोत्तम मानिएको छ । दुर्गभित्र प्राचिन ग्रन्थहरूमा दुर्गमा पर्याप्त आयुध, अन्न, औषधि, धन, घोडा, शिल्पकार, हतियार, पानी, सुरङ मार्ग (आकस्मिक सुरक्षासहित निसक्नका लागि) र अत्यावश्यक सामग्रीहरूको व्यवस्था गरिएको हुन्छ । गढीमा आउन जान विशेष नियम हुन्थ्यो अर्थात् पूर्वनिधारण गरिएका कुनै चिन्ह, संकेत र हुलिया आश्वयक हुन्थ्यो । जहाँ सुरक्षासम्बन्धी कडा नियमहरू बनाइएका हुन्थे ।

४.४ प्राचीन नेपालमण्डलमा कोटको स्थापत्य :

नेपाल उपत्यकाका स्वयम्भूनाथ, आदिनाथ, चाँगुनारायण, बज्रयोगिनी आदि प्रसिद्ध देवस्थलहरू वनदुर्ग रूपका थिए । प्रसिद्ध देवमन्दिरहरूमा भक्त राजा प्रजाले चढाएका कोष जम्मा हुन्थे । सुरक्षाको प्रबन्ध नगरे देवस्व लुटिने डर हुन्थ्यो । सुरक्षाका लागि वनदुर्ग रूपका स्थानमा देवताहरू स्थापना गरिएका देखिन्छन् । कोटभित्र बस्ती पनि हुन्थ्यो, खेतीपाति पनि हुन्थ्यो । कोटको सीमा निश्चित हुन्थ्यो । कोटको सीमामा बस्नेका लागि विशेष सुविधा दिइन्थ्यो । कोट कायम गरिएको क्षेत्रबाट वन नास्न मास्न पाइँदैन थियो । वनदुर्गको समेत रक्षा प्रबन्धका विशेष व्यवस्था गरिएको ब्यहोरा चाँगुको शिवदेव र अंशुवर्माको अभिलेखमा उत्कीर्ण छ ।

४.५ पलाञ्चोकका कोटहरू :

प्राचीनकालदेखि नै शत्रुको आक्रमणबाट बच्नको लागि राज्यको चारैतिर कोटको निर्माण गर्ने प्रचलन चलेको देखिन्छ । यही सिलसिलामा पलाञ्चोक क्षेत्रमा समेत विभिन्न कोटहरूको उल्लेख पाइन्छ । अहिलेसमेत धेरै कोटहरूको नाम पुरानै नामबाट उल्लेख भएको पाइन्छ । कोट दूर्ग आदि प्राचीनकालमा शक्तिशाली राजाहरूले आफनो सुरक्षाको लागि खडा गर्ने संरचनाहरू हुन् । पलाञ्चोक क्षेत्रमा रहेका कोटहरू- नगरकोट, काभ्रेकोट, होक्सेकोट, ठूलीकोट, तेमालकोट, अनैकोट, भमरकोट, फूलबारीकोट, पृथ्वीकोट, शारदाकोट, पलाञ्चोककोट, चौकोट, नालाकोट, फस्कोट, बुचाकोट, कास्कोट, लास्कोट, सल्लेकोट, गोल्माकोट, घ्याङगढी, मेथिनकोट, धुवाँकोट, कोटखेल, बखुण्डोल, नागीडाँडा, बेथानकोट, दाप्चाकोट, रानोकोट, कोटकालिका, सुलिकोट, ज्यामिरकोट, नाल्दुमकोट, अग्लेकोट, बेलाकोट आदि कोटहरू रहेका छन् ।

प्राचिन पलाञ्चोक प्रदेशका ऐतिहासिक कोटहरू गिरि दुर्ग र वन दुर्गको मिश्रित वास्तु सिद्धान्तमा स्थापत्य भएका छन् । पहाडको माथिल्लो भागमा र वनजंगलको बीचमा छन् । अधिकांशमा ५/६ फिट चौडा ८/१० फिट गहिराईका वृत्ताकार स्वरुपमा छन् । कोटको माथिल्लो भागमा प्रस्तर एवं इटाका संरचनाहरू भग्नावशेषहरू छन् । कुनै पनि स्थानमा समीपमा दुई, तीन वटासम्म कोटहरू स्थापत्य छन् । कतिपय कोटका वरपरका जगसहितका भौतिक अवशेषहरूले पुरानो बस्ती समेत रहेको आभास हुन्छ ।

प्राचीन पलाञ्चोक प्रदेश अन्तर्गत नगरकोट, काभ्रेकोट, होक्सेकोट, ठूलीकोट, तेमालकोट, अनैकोट, भमरकोट, फुलबारीकोट, काभे्रकोट, पृथ्वीकोट, शारदाकोट, पलाञ्चोककोट, चौकोट, नालाकोट, फस्कोट, बुचाकोट, कास्कोट, लास्कोट, सल्लेकोट, घ्याङगढी, मेथिनकोट, धुवाँकोट, कोटखेल, बखुन्डोल, नागीडाँडा, बेथानकोट, दाप्चाकोट, रानीकोट, कोटकालिका, सुलिकोट, ज्यामिरकोट, नाल्दुमकोट, अग्लेकोट आदि कोटहरू रहेका छन् ।

भमरकोट :

भमरकोट गिरिदुर्गको रुपमा स्थापत्य छ । स्थानीयका अनुसार यहाँ किँरात राजाको दरबार थियो । वि.स. १८२४ माघ ३ गते पृथ्वीनारायण शाहको भमरकोटका महादेवलाई गुठी थामि पत्र लेखिदिएको समेत पाइएको छ । पत्रमा महादेवको पुजा गर्न,देवल पाटी हेर्न,विग्रँदा बनाँउन र यो बेचविखन गरि नखानु तथा अंशबण्डा नगर्नु भनि गुठी राखिएको पाइएको छ ।

यसको नाम भमरकोट कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न तथ्यहरू रहेका छन् । कृष्णप्रसाद पराजुलीद्धारा लिखित पुस्तक ‘पूर्व एक नम्बर’मा पहिले यसको नाम भ्रामरिकोट, भ्रमपुर वा भ्रमरकोट हुँदै भमरकोट भएको हुनसक्ने तर्क प्रस्तुत गरेका छन् । तर यसबारेकोे कुनै विवरण पाउन सकिएको छैन । भमरकोटको इतिहास आज पनि अज्ञात छ । स्थानीयका अनुसार बारी खन्ने क्रममा भमरकोट पर्वतको चारैतिर ठूलो संख्यामा इटाका अवशेषहरू भेटिएका छन् । इटाका अवशेषको प्राप्तिले यहाँ कुनै बेला सम्भ्रान्त बस्ती थियो भन्ने रहस्य खुल्दछ । कोटको शिरानमा देवीको साधारण मन्दिर स्थापत्य छ । यस कोटभन्दा तल मध्यकालमा निर्माण भएको गणेश मन्दिर र भीमसेन मूर्ति (पाटी नाश भइसकेको) महत्वपूर्ण सम्पदा हुन् । यस कोट वरपर स्थानीयहरूले चाँदीका मल्कालिक मुद्राहरू भेटाएका छन् । प्राप्त इटाका भग्नावशेषहरूले मध्यकालमा भमरकोटको प्रसिद्धि झल्किन्छ ।

हाल यस कोटमा भ्यू टावर र खानेपानी ट्याङ्की निर्माण गरिएका छन् । भ्यू टावर र खानेपानी ट्याङ्कीको जग खन्दा ढुंगा र इटाको भौतिक संरचनासहित पर्खाल भेटिएता पनि त्यसलाई समेत बिगारेर निर्माणकार्य सम्पन्न गरिएका थिए । भमरकोटको पश्चिम सम्मुखमा रहको अर्को शिखरमा देवी मन्दिर रहको छ । दुःखको कुरा ! स्थानीयका अनुसार देवी मन्दिरको मूल मूर्ति तीन दशक अगाडि चोरी भएको थियो । पछि नयाँ मूर्ति राखी आधुनिक शैलीमा मन्दिरको निर्माण गरिएको छ ।

ज्ञातव्य छ, नेपालका राष्ट्रिय विभुति वीर बलभद्र कुँवरको जन्मथलो पनि काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा अङ्क ६ भमरकोट हो । उनका उनको पिताको नाम चन्द्रवीर कुँवर र हजुरबुबा जयकृष्ण हो । उनी अमरसिंह थापाका नाति तथा काजी रणजोर थापाका भान्जा हुन् । सन् १८७१ देखि १८७२ को बीचमा चलेको गोरखा युद्धपछि उनी प्रसिद्ध भएका थिए ।

पलाञ्चोक कोट :

पलाञ्चोक भगवतीबाट पूर्व कालिका मन्दिरबाट पश्चिम बीचको सबैभन्दा अग्लो थुम्कोलाई नै पलाञ्चोक कोटको रुपमा चिनिन्छ । सम्राट गृहपतिकी पत्नी विजयास्वामिनीले राजा मानदेवका पालामा पलाञ्चोक विजयश्वरी देवीको प्रतिष्ठा गरेकी थिइन् । गोपालवंशालवीमा वर्णित घटनामा पलाञ्चोक क्षेत्र सांग्रामिक दृष्टिकोणले महत्वपूर्ण रहेको थियो । पलाञ्चोक भगवती र काठमाडौं इटुम्बहालको मदनरामको वि.सं. १४३९ को शिलालेखमा श्रीपलखोच गिरि शिखर राजदुर्ग स्थान भनिएको छ । भगवती मन्दिरको स्थापना र अभिलेखको उपलब्धताले प्राचीनदेखि यस स्थानमा कोट रहेको संकेत गर्दछ । अहिले कोटको अस्तित्व खानेपानी ट्याङ्की र टेलिकमका टावर निर्माण भइ नासिन गएको छ । यस क्षेत्रमा टावर र ट्यांकि निर्माणका क्रममा फेला परेका पुरातात्विक सामग्रीहरु अझैपनि स्थानीयसँग सुरक्षित रहेका छ । यस क्षेत्रको थप उतखननको आवश्यकता देखिन्छ ।

घ्याङगढी (अनैकोट) :

तामाङ भाषामा डाँडालाई घ्याङ भनिन्छ । डाँडामा भएकोले यसलाई घ्याङगढी भनिएको छ । घ्याङगढी पाँचखाल नगरपालिका वडा नं. १ (साविक अनैकोट गाविस) पर्छ । काठमाडौंबाट भोट जादा राजकीय सुरक्षाका लागि यो घ्याङगढी निर्माण गरिएको देखिन्छ । यसदेखि पश्चिमतिर तिरतिरे धारा थियो । बाटो निर्माणको क्रममा यो धारा मासिएको छ । स्थानीयका अनुसार मेलापात÷चरिचरन गर्न जाँदा तिरतिरे धाराभन्दा माथि काठमाडौं उपत्यका निस्कने उकालो बाटोमा ठाउँठाउँमा इटाको विछ्याइएका देखिन्थे । घ्याङगढीमा सँगसँगै दुई वटा कोट रहेका छन् ।

कोटमा ढुंगा निर्मित संरचनाका अवशेषहरु देखिन्छन् । दुवै कोट राम्रो अवस्थामा छन् । कोटभन्दा उत्तरतिर केही तल डोजरले मोटरबाटो खन्ने क्रममा एउटा माटोको भाडामा दुई पाथी लिच्छविकालिक मुद्रा भेटिएका थिए । स्थानीयका अनुसार मुद्राको भाडा जमिनबाट करीब ६-७ फिट तल गाडिएको अवस्थामा थियो । मुद्राको प्राप्तिले समेत घ्याङगढी लिच्छविकालदेखि नै अस्तित्वमा थियो भन्ने बल पुग्दछ । यस स्थानबाट १ किमि उत्तरपूर्व गुम्बाघ्याङ र १.५ किमिमा मानेघ्याङ रहेका छन् । गुम्बाघ्याङमा खानेपानी ट्याङ्की बनाएर अवशेष नामेट भइसकेको छ । अतिक्रमणले मानेघ्याङमा सानो थुम्को मात्र बाँकी छ ।

मानेघ्याङको नामबाट बस्तीको नाम मानेगाउँ रहन गएको छ । यस मानेगाउँमा थुप्रै मूर्तिहरु रहेकोमा अहिले एउटा मात्र मूर्ति देख्न सकियो । तथापि, यो देवताको नाम पहिचान गर्न सकिएन । यसै ठाउँबाट लगिएको भनिएको एउटा असाध्यै राम्रो मुख टुटिसकोको भैरव मूर्ति छ । प्राप्त मूर्तिहरु मध्यकालिक कला विशेषताले भरिएका छन् । धारा, मूर्ति तथा गुम्बाको अवस्थितिले मध्यकालसम्म यो गढी निकै चल्तीमा थियो भन्न सकिन्छ । मानेगाउँबाट दुई कि।मी। तल पाँचखाल नगरपालिका वडा नं. १ को कार्यालय रहेको स्थानलाई अनैकोट भनिन्छ । तर अनैकोटमा कोटको संरचना अहिले देखिँदैन । अर्थात् अनैकोट पनि मासिसकेको प्रतीत हुन्छ । (क्रमशः)

हेर्नुहोस् यसअघिको भाग-

नेपाल-चीन सम्बन्धमा पलाञ्चोकमा भेटिएको पहिलो प्रमाणिक दस्तावेज https://ghatanarabichar.com/292321