नेपाल-चीन सम्बन्धमा पलाञ्चोकमा भेटिएको पहिलो प्रमाणिक दस्तावेज

नेपाल-चीन सम्बन्धमा पलाञ्चोकमा भेटिएको पहिलो प्रमाणिक दस्तावेज


प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व-२

✍ श्रीकृष्ण धिमाल

साहित्यिक प्रमाणमा पलाञ्चोक क्षेत्रको उल्लेख :

नेपाल संवत् ५३५ को आषाढ शुक्ल दशमीका दिन चीनका बादशाह तायीमिङले पलाञ्चोक क्षेत्रका राजा शक्तिसिंहरामलाई लेखेको पत्रमा पलाञ्चोक शहरको उल्लेख छ । वि.सं. १८२४ मंसिर ३ गते पृथ्वीनारायणशाहले भमरकोटका महादेवलाई गुठी थामी लेखेको पत्र पनि पाइएको छ ।

विभिन्न अभिलेखीय एवं साहित्यिक स्रोतको आधारमा साफल्य अमात्यले पनौतीको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि शीर्षकमा प्राचीन नेपाल (३०/३९/६)मा उल्लेख गरेअनुसार स्थितिमल्लका तीन छोराहरू जयधर्म मल्ल, जयज्योतिर्मल्ल र जयकीर्ति मल्लको संयुक्त शासनकालमा पनौतीका राजा रामवर्द्धनको परिवारले काठमाडौंको राजनीतिमा समेत बोलवाला चलाए ।

पन्ध्रौं शताब्दीको सुरु वि.सं. १४११ मा कर्नाटवंशीय स्थिति मल्लको विवाह रुद्र मल्लकी नातिनी राजल्लदेवीसँग भएपछि नेपाल उपत्यकाको इतिहासले बेग्लै मोड लिन पुग्यो । सुरुमा विरोधी पलाञ्चोक क्षेत्रका सामन्त शासक जयसिंहराम पनि उनको अधिनमा आएको भन्ने उल्लेख पाइन्छ । यद्यपि उनी र उनका भाइ रामवद्र्धनलाई बनेपावरपर र पूर्वी नेपालका केही भागमा सोझै शासन गर्ने अधिकार दिइएको थियो । स्थिति मल्लपछि फेरि सो परिवारले आफ्नो स्वतन्त्र शासनलाई अघि बढाए । जयसिंह रामका छोरा थिएनन् । उनको मृत्युपछि उनका भाइ मदनसिंहका छोरा शक्तिसिंहराम सामन्त भए । यक्षमल्लको उदयसँगै उनीहरूको शक्ति क्षीण भएको पाइन्छ । त्यस्तै, गोपालवंशावलीमा समेत मध्यकालीन समयमा पलाञ्चोक क्षेत्रको बारेमा उल्लेख भएको पाइन्छ ।

(खण्ड-४)

पाँचखालभित्र रहेका धार्मिक, पुरातात्विक तथा ऐतिहासिक विवरण तथा जानकारी :

४.१ नेपाल-चीन सम्बन्धमा पलाञ्चोकमा भेटिएको पहिलो प्रमाणिक दस्तावेज

नेपाल र चीनबीचको सम्बन्धबारे अनेक इतिहास छन् । इतिहासकारहरू यी दुई देशबीचको इतिहास चिनियाँ र तिब्बती वृतान्तमा मात्र आधारित रहने गरेको बताँउछन् । इतिहासकार दिनेशराज पन्त नेपालका प्रमाणिक दस्तावेजको अभावमा दुई देशबीचको सम्बन्धलाई भृकुटी र अरनिकोसँग मात्र जोडेर हेर्ने गरेको बताँउछन् । नेपाल र चीनबीचको सम्बन्ध यतिमै मात्र सीमित नरहेको इतिहासकारहरू बताउँछन् ।

नेपालमा पाइएको एउटा दस्तावेजले मात्र यसलाई प्रमाणित गर्दछ । विक्रम संवत् १४७२ मा चीनका बादशाह तायिमिङले कालको काभ्रेपलाञ्चोक जिल्लाअन्तर्गत पर्ने पलाञ्चोक उपत्यकामा राजधानी बनाई बसेका नेपालका राजा शक्तिसिंहरामलाई रञ्जना लिपि र संस्कृत भाषाको प्रयोग गरी पठाएको पर्वाना (पत्र) परराष्ट्र मन्त्रालयमा रहेको छ । जसलाई इतिहासकारहरू नेपालमै प्राप्त नेपाल-चीन सम्बन्धको पहिलो प्रमाणित दस्तावेजको रूपमा लिन्छन् । यो नै हालसम्म नेपालमै पाइएको एक मात्र प्रमाणित र सम्मानित दस्तावेज रहेको इतिहासकार पन्त बताउँछन् ।

‘त्यो समयमा नेपालकै रञ्जना लिपि र संस्कृत भाषा प्रयोग गरेर पठाएको पत्र नेपाल चीन सम्बन्धको महत्वपूर्ण दस्तावेज हो । चीन आफूलाई संसारकै शक्तिशाली मान्ने गर्थ्यो र महाचीनको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेको समय थियो’, पन्तले भने । यस क्रममा चीनले नेपालका राजालाई असर्फी पठाई वाङ (राजा)को उपाधि दिइएको देखिन्छ । चीन शक्तिशाली रहेको समयमा नेपालको भाषा र नेपाल संवत्को प्रयोग गरी नेपालको सम्मान गर्नुलाई दुर्लभ इतिहास रहेको इतिहासकारहरू बताउँछन् । यसैको आधारका चीनसँगको सम्बन्धको अन्य आधार खोजिनुपर्ने इतिहासकार पन्त बताउँछन् । जुन पर्वाना हाल परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको छ । पत्रमा रञ्जना लिपिमा संस्कृत भाषाको प्रयोग गरी लेखिएको छ । त्यस्तै, पत्रमा नेपाल संवत्लाई महाचीन संवत् भनेर उल्लेख गरिएको छ ।

– चीनका बादशाहले नेपालकै रञ्जना लिपि, संस्कृत भाषा र नेपाल संवत्को प्रयोग गरी पठाइएको पर्वाना नेपालमै भेटिएको नेपाल चीन सम्बन्धको पहिलो प्रमाणिक दस्तावेज,
– नेपालमै पाइएको एक मात्र प्रमाणित र सम्मानित इतिहासकोे दस्तावेज ।

‘आकाशसम्म पुगेको र सुमेरु पहाडदेखि दक्षिण समुद्रसम्म मेरो प्रभाव फैलिएको छ, पश्चिम दिशामा रहेको आर्यावर्त नेपालको पलाञ्चोक शहरमा शक्तिसिंहराम तिमी रहेका छौ, तापनि आकाश समान हाम्रो विशाल दरबारको छत्रछायामा रहेको छु भनी ठान, तिमी हामीमा भक्ति राख्नेछौ, हाम्रै (बौद्ध) धर्म मान्दछौ, आफ्ना प्रजाको पालना गर्छौ भन्ने कुरा मैले सुनेको छु, वर्षैंपिच्छे दूत पठाएर, सरसौगात पठाएर हाम्रो सम्मान गरेकोले तिम्रो मन मैले बुझेँ, तिम्रो र हाम्रो हितचित्त मिलेको छ, यसकारण तिमीलाई वाङ (राजा)को उपाधि प्रदान गरी पठाएको छु । सुवर्ण मुद्रा (असर्फी) सुवर्णपत्र (सुनमसीले लेखेको पर्वाना) साथ तिंतासी र रिजिन नामका दूतलाई तिमीकहाँ पठाएको छु, यो बुझ जस्तो हामी तस्तै तिमी भनी ठानेर हाम्रो आज्ञा पालन गर्ने गर ।’

पलाञ्चोकमा पछिल्लो समय पुरातत्व विभागले उत्खननका क्रममा दरबारको भग्नावशेष पत्ता लगाएको छ । उत्खननमा संलग्न पुरातत्वविद् उद्धव आचार्य उत्खननका क्रममा पत्ता लागेका तथ्य र प्राप्त इतिहासका आधारमा विभिन्न तथ्यले शक्तिसिंहरामको शासन रहेको देखिन आएको बताउँछन् ।

४.२ पाँचखाल नगरपालिका क्षेत्रभित्रका ऐतिहासिक कोटहरू :

पाँचखाल नगरपालिका क्षेत्रभित्र विभिन्न ऐतिहासिक कोटहरू रहेका छन् । यी कोटहरू नेपालको इतिहासका विभिन्न कालखण्डमा निर्माण भएका देखिन्छन् । प्राचीनकालदेखि नै शत्रुको आक्रमणबाट बच्नको लागि राज्यको चारैतिर कोटको निर्माण गर्ने प्रचलन चलेको देखिन्छ । यही सिलसिलामा पलाञ्चोक क्षेत्रमा समेत विभिन्न कोटहरूको उल्लेख पाइन्छ । अहिलेसमेत धेरै कोटहरूको नाम पुरानै नामबाट उल्लेख भएको पाइन्छ । कोट दूर्ग आदि प्राचीनकालमा शक्तिशाली राजाहरूले आफनो सुरक्षाको लागि खडा गर्ने संरचनाहरू हुन् । (क्रमशः)

पहिलो भाग हेर्नुहोस्-

प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व

www.ghatanarabichar.com/291847