‘डन्ट यु थिङ्क आइएम म्यान्ली ?’

‘डन्ट यु थिङ्क आइएम म्यान्ली ?’


केन्यामा पुरुषहरूले पनि ‘सर्कम्साइज्ड’ गर्नु राम्रो भनेर ठाउँ-ठाउँमा साइनबोर्ड नै राखिँदोरहेछ । अस्पताल र क्लिनिकहरूमा पनि ‘सर्कम्साइज्ड सर्भिस’ भनेर लेखेको पाइयो । महिला र पुरुषको सर्कम्साइज्ड गर्नुको उद्देश्य ठीक उल्टो छ- पुरुषहरूलाई यौन चाहना होस् भनेर, महिलालाई नहोस् भनेर !
✍ बबिता बस्नेत

सन् २००९ को अप्रिलमा गरिएको पूर्वी अफ्रिकी मुलुक केन्याको भ्रमण मेरो दोस्रो अफ्रिकी यात्रा थियो । ६ महिनाअघि वासिङ्गटनडिसीमा भएको कार्यक्रमको फलोअप भएकोले साथीहरू सबै परिचित थिए । होटेल पुगेको केही क्षणमै उनीहरूले भने- हिँड जाऊँ नेसनल पार्क सफारी वाक । सुटकेस बाटैमा छुटेकाले आफ्नो एकजोर कपडा सफारीमा धुलैधुलो हुने निश्चित भएपछि मैले नै पछि जाने प्रस्ताव राखेँ । तर, मेरो सामान भने चार दिनपछि मात्रै आइपुग्यो । पोसाक सभ्यतासँग जोडिएको कुरा मात्रै नभएर आत्मविश्वास पनि हो भन्ने कुराको जानकारी भए पनि कतिसम्म हो भन्नेचाहिँ त्यतिबेलै थाहा भयो । आफू बसेको होटेलकै पसलमा लुगा किन्न खोजेको पनि हो, तर साइज र रङ दुवै आफ्नो चाहनाअनुरूप नभएपछि किन्नलाई खासै उत्साह जागेन ।

सुरक्षाका कारणले हामीलाई एक्लै-दुक्लै नहिँड्न भनिएको थियो, नाइरोबीस्थित फेयरभ्यु होटेलको सुरक्षा-व्यवस्था हेर्दा जो-कोही पनि झस्किनु स्वाभाविकै थियो । ठूला-ठूला फलामे पर्खाल र तारहरूबीच जताततै विद्युतीय लकसिस्टम फिट गरिएको थियो । सामुन्ने इजरायली र अन्य राजदूतावासहरू भएकोले त्यहाँको सुरक्षा तामझाम ‘वार जोन’मै पुगेजस्तो थियो । विशेषगरी इजरायली एम्बेसीको सुरक्षाका लागि बाटामा फलामका सुइरा, काँडेतारलगायतका हेर्दै जिउ सिरिङ्ग हुने कुराहरू बाटामा स्पिडब्रेकरका रूपमा बिछ्याइएका थिए । त्यसो त, नाइरोबी शहरका प्रायः सबै घरमा अग्ला-अग्ला फलामे पर्खाल लगाइएको देखियो । कतिसम्म भने अस्पताल, क्लिनिक, सरकारी कार्यालय सबैतिर नै ।

त्यतिबेला करिब ३८ मिलियन जनसङ्ख्या भएको केन्याका वरिपरिका छिमेकी मुलुकहरू इथियोपिया, सोमालिया, तान्जानिया, युगान्डा र सुडान हुन् । विभिन्न धर्म र सम्प्रदायका मानिसहरू बसोवास गर्ने त्यहाँको सरकारी कामकाजको भाषा अङ्ग्रेजी र स्वाहिली हो । पहिला ब्रिटिस कोलनी भएकाले प्रायः मानिसहरू अङ्ग्रेजी बोल्छन् । अङ्ग्रेजी अफिसियल भाषा बन्नुको कारण पनि यही नै हो । गरिबी, असुरक्षा, एचआइभी/एड्स, मलेरिया र डरलाग्दो पितृसत्ता त्यहाँका प्रमुख समस्या हुन् । गरिब र धनीबीचको खाडल यति धेरै छ कि धनीहरू अथाह धनी छन्, केन्यामा मात्रै नभएर विभिन्न मुलुकमा सम्पत्ति र लगानी छ, गरिब यति गरिब छन् कि एक छाक खानलाई लुटपाट नै गर्नुपर्छ ।

त्यहाँ पितृसत्ताका अनेकौँ अभ्यासहरू जारी छन्, जसमध्ये सबैभन्दा डरलाग्दो र पीडादायी योनिको भङ्गाकुर छेदन हो, जसबाट बर्सेनि हजारौँ युवती र बालिका पीडित बन्दै आएका छन् । महिलालाई यौनचाहना नहोस् भन्ने उद्देश्यले योनिभित्रको भङ्गाकुर निकालेर बाहिरको भाग सिलाई योनिलाई बन्द गरिनु नै योनिछेदन हो जसलाई अङ्ग्रेजीमा फिमेल जेनिटल म्युटिलिएसन (एफजिएम) भनिन्छ । जसमा पिसाब फेर्नका लागि सानो प्वाल छोडिएको हुन्छ । महिनावारी हुँदा रगत पनि त्यहीँबाट बाहिर निस्किन्छ । यो पीडादायी वास्तविकता भोग्नेहरूसँग भेटेर कुराकानी गरेको रात सुत्न पनि सकिनँ । लाग्यो- आफ्नोे देशमा पीडादायी दृश्यहरू हेर्न र मन दुःखी बनाउनलाई के कमी थियो र यहाँसम्म आएर यस्तो देख्नुप¥यो । त्यहाँको दृश्य हेरेपछि नेपाली महिला त निकै भाग्यमानीजस्तो पनि लाग्यो ।

केन्यामा पुरुषहरूले पनि ‘सर्कम्साइज्ड’ गर्नु राम्रो भनेर ठाउँ-ठाउँमा साइनबोर्ड नै राखिँदोरहेछ । अस्पताल र क्लिनिकहरूमा पनि ‘सर्कम्साइज्ड सर्भिस’ भनेर लेखेको पाइयो । महिला र पुरुषको सर्कम्साइज्ड गर्नुको उद्देश्य ठीक उल्टो छ । पुरुषहरूलाई यौन चाहना होस् भनेर, महिलालाई नहोस् भनेर । त्यसो गर्दा पुरुषमा एचआइभीको जोखिम कम हुने मान्यता पनि रहेछ ।

अफ्रिकन देशहरूमा लोग्नेमान्छेहरूले चारवटीसम्म महिलालाई विवाह गर्न पाउँछन्, तर यो चलन आ-आफ्नो संस्कृतिअनुसार फरक छ । जति बढी विवाह गऱ्यो त्यति म्यान्ली मानिँदोरहेछ । हामी यस्तै कुरा गरेर बसिरहेको बेला होटेलकै रेस्टुराँमा चिनजान भएका एक केन्यान व्यापारीसँग कुरा गर्ने क्रममा एक साथीले भनिन्- हामीलाई आशा छ तपाईंको त एउटै श्रीमती होलिन् । उनले आफूलाई निकै इन्सल्ट फिल गरेछन्, कुर्सीमा यसो पछाडि ढल्कँदै भने, ‘डन्ट यु थिन्क आइएम म्यान्ली ?’ उनका चारवटी श्रीमती रहेछन् ।

त्यहाँ पितृसत्ताका अनेकौँ अभ्यासहरू जारी छन्, जसमध्ये सबैभन्दा डरलाग्दो र पीडादायी योनिको भङ्गाकुर छेदन हो, जसबाट बर्सेनि हजारौँ युवती र बालिका पीडित बन्दै आएका छन् । महिलालाई यौनचाहना नहोस् भन्ने उद्देश्यले योनिभित्रको भङ्गाकुर निकालेर बाहिरको भाग सिलाई योनिलाई बन्द गरिनु नै योनिछेदन हो जसलाई अङ्ग्रेजीमा फिमेल जेनिटल म्युटिलिएसन (एफजिएम) भनिन्छ ।

यौनजन्य हिंसामा दण्डहीनता यति धेरै कि बलात्कारीहरूलाई सजाय भएका कमै उदाहरण भेटिने रहेछन् । विश्वमा जहाँसुकै जन्मिएको भए पनि बाबु केन्यन भए उसले नागरिकता पाउँछ, तर यो नियम महिलामा लागू हुँदैन । बाराक ओबामाले चाहे भने अहिले पनि त्यहाँको नागरिकता लिन र चुनाव लड्न सक्छन् किनभने उनका बाबु केन्यान हुन् । केन्यामा त्यतिबेला धेरै कुरामा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको उदाहरण दिएको पाएका थियौँ । जस्तो समुदायको कुरा गर्दा ओबामाको भन्ने, ठाउँको कुरा गर्दा ओबामाको गाउँको नजिक भन्ने । त्यही गाउँको भए त झन् कुरै भएन । एचआइभी/एड्सका विरुद्ध जनचेतना जगाउन विभिन्न सेलिब्रेटीहरूको रगत जचाएर त्यसको प्रचारप्रसार गरिँदोरहेछ । प्रायः सार्वजनिक ठाउँहरूमा लेखिएको थियो, ‘डु यु नो द योर एचआइभी स्टेटस ?’ ओबामा सिनेटर हुँदैखेरि श्रीमती मिसेलसहित नाइरोबी गएका बेला एचआइभी स्टेटस जाँच गराएका रहेछन् । त्यसलाई उदाहरण मान्दै होर्डिङ बोर्डहरूमा राखेर मानिसहरूलाई जँचाउन उत्साहित बनाइँदोरहेछ ।

प्राकृतिक रूपले सुन्दर केन्या हरियालीले भरिएको छ । जताततै गुलाफ र अन्य विभिन्न जातका बहुरङ्गी फूलहरू छन् । बाटाहरू फराकिला र घरहरू युरोपियन स्टायलका । तर, सडकहरू जतिसुकै फराकिला भए पनि ट्राफिकजाम त्यहाँको पनि ठूलै समस्या हुँदै गएको थियो । काठमाडौं छोड्दा गरेको कल्पनाभन्दा निकै फरक लाग्यो नाइरोबी ।

बिरानो शहरमा नेपाली भेट्दा

प्रायः विदेश जाँदा उक्त देशमा बस्ने कुनै न कुनै नेपालीका बारेमा जानकारी हुन्छ नै । तर, विमेन एडिसनका कार्यक्रममा केन्या जाँदा भने नेपालीहरू छन्-छैनन् कुनै अत्तोपत्तो थिएन । नाइरोबीस्थित फेमिली हेल्थ इन्टरनेसनलको कार्यालयबाट फर्कन लाग्दा एउटा कोठामा झुन्ड्याइएको नेमप्लेटमा झट्ट आँखा गए, लेखिएको थियो- भोला श्रेष्ठ । हिँड्दाहिँड्दै सिनेमामा झैँ टक्क रोकिएँ र कोठाभित्र चिहाएँ । कोठा खाली देखेर त्यहाँ काम गर्ने स्टाफहरूलाई सोधेँ- खोइ त भोला श्रेष्ठ ? बडो उत्साहित भएर उनीहरूले खोजे । देख्नेबित्तिकै भोलाजीले भन्नुभयो, ‘ल कसरी तपाईं यहाँ ?’ नेमप्लेट हेर्दा मसँग परिचित व्यक्ति हुनुहोला जस्तो लागेको थिएन । नेपाली नाम देखेर मैले उहाँलाई भेट्न खोजेकी थिएँ, तर परिचित भोलाजी हुनुहुँदोरहेछ । उहाँ सोही अफिसको काठमाडौंस्थित कार्यालयमा काम गर्नुहुन्थ्यो, केही वर्षदेखि नाइरोबीमा हुनुहुँदोरहेछ । सबै अफ्रिकन स्टाफहरूका बीचमा भोलाजीलाई त्यहाँ भेट्दा अचम्मै लाग्यो । भनेँ, ‘म एउटा कार्यक्रमको सिलसिलामा आएकी । मसँगै अन्य १३ वटा देशका विभिन्न सञ्चारमाध्यममा काम गर्ने साथीहरू छन् ।’ उहाँसँग कुरा गरेर तल झर्दा साथीहरू गाडीमा मलाई नै पर्खिरहेका थिए । मैले अकस्मात् भोलाजीलाई भेटेको बताएपछि उनीहरूले भने ‘स्मल वर्ल्ड ।’

त्यतिबेला नाइरोबीमा आठ परिवार नेपाली रहेछन्, कोही युएनमा र कोही अन्य अन्तर्राष्ट्रिय जागिरमा । शुक्रबारको साँझ उहाँहरू सबै एकै ठाउँ भेला हुने चलन नै बनेको रहेछ । त्यस दिन योगेन्द्र राईजीको घरमा (जो युनिसेफमा काम गर्नुहुँदोरहेछ) भेट्ने योजना रहेछ, मलाई पनि बोलाउनुभयो । योगेन्द्रजीकी श्रीमती रेखा, भोलाजीकी श्रीमती कृष्णा, मनिषा ढुङ्गाना पहिला आइएलओमा काम गर्थिन् त्यतिबेला श्रीमान्को जागिरसँगै उहीँ रहिछिन्, राजदरबारका पूर्वसचिव ईश्वरीमान श्रेष्ठ र उहाँकी पत्नी छोराको जागिरका सिलसिलामा त्यहीँ हुनुहुँदोरहेछ । बेइजिङस्थित युनिसेफमा काम गर्ने राजु श्रेष्ठ पनि केही दिनको कार्यक्रमका लागि त्यहीँ पुग्नुभएको रहेछ । पटलक डिनर असाध्यै रमाइलो भयो । भोलाजी र कृष्णाजीसँग आफू बसेको होटेलतिर फर्कंदै गर्दा म सोचिरहेकी थिएँ- साँच्चै विश्व धेरै सानो छ, आखिर नेपाली कहाँ पुगेका छैनन् ?

(‘समय साक्षी’ बाट)