छिमेकी मित्रराष्ट्रबाट नेपाललाई हिन्दूरष्ट्र बनाउन विभिन्न प्रकारले विभिन्न स्तरमा दबाबपूर्ण आग्रह भइरहेको बुझिन्छ । काङ्ग्रेस, एमाले र माओवादीका नेताहरूसँग बेग्लाबेग्लै वार्तालाप गर्दा हिन्दूराष्ट्रको एजेण्डामा तीनवटै पार्टीका शीर्ष नेताहरू सहमत भएको बुझाई आग्रहकर्ता पक्षको छ ।
क्रमभङ्गलाई नै आफ्नो राजनीतिको एउटा महत्वपूर्ण अङ्ग बनाउँदै आउनुभएका वर्तमान प्रधानमन्त्री प्रचण्डले एकपटक फेरि क्रमभङ्ग गरिदिने उद्घोष गर्नुभएको छ । गतसाता एक समारोहलाई सम्बोधन गर्दै प्रचण्डले क्रमभङ्ग गरिदिने बताउनुभएको थियो । तर यसपटकको क्रमभङ्ग कसरी गर्न लागिएको हो त्यसको सङ्केत उहाँले दिनुभएको छैन । प्रचण्डको यस्तो अभिव्यक्ति सुन्नेहरू मध्ये धेरैले मन्त्रिमण्डल पुनर्गठनलाई क्रमभङ्ग गर्ने भनिएको हुनसक्छ भन्ने अनुमान गरेका छन् भने कतिपयले केही नयाँ राजनीतिक कदम चाल्न खोजेको हुनसक्ने अनुमान पनि गरेका छन । प्रचण्डको क्रमभङ्गताले मुलुकलाई विगतमा कुनै सकारात्मक देन दिएको महसूस नेपाली जनताले गरेका छैनन् भन्ने स्पष्ट हुँदाहुँदै पनि यतिबेला प्रचण्डको नयाँ क्रमभङ्गता हेर्ने प्रतीक्षा भने भइरहेको छ ।
यसैबीच कतै प्रचण्डले एमालेलाई समेत सरकारमा सामेल गराउने योजना बनाउनु भएको त होइन भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ । जसपा र माधव नेपालको पार्टीलाई बाहिर राखेर तीन पार्टीको सरकार गठन भएमा सरकार थप स्टेबल हुने, त्यस्तो सरकारमा विदेशी प्रभाव पनि कम पर्ने र, काम गर्न सजिलो हुने बुझाइ प्रचण्डको रहेको बुझिन्छ । फागुनमा अदृष्य शक्तिहरूको आड लिएर सुरु हुन लागेको सङ्घर्षलाई पनि तीन दलको सरकारले सजिलै परास्त गर्ने विश्वास संस्थापन पक्षमा देखिएको छ ।
त्यसैगरी विभिन्न स्टण्टबाजीमा रमाउँदै आएका ‘मसरुमी’ समूहहरूलाई निरुत्साहित र निस्तेज गर्न पनि एकथरीले तीन दलीय सहमतिको अपरिहार्यता देखेका छन् । सबैभन्दा महत्वपूर्ण कुराचाहिँ संविधान संशोधन गरी हिन्दूराष्ट्रको एजेण्डालाई सम्बोधन गर्नका निम्ति तीन दलको सहमति अपरिहार्य देखिन्छ । छिमेकी मित्रराष्ट्रबाट नेपाललाई हिन्दूरष्ट्र बनाउन विभिन्न प्रकारले विभिन्न स्तरमा दबाबपूर्ण आग्रह भइरहेको बुझिन्छ । काङ्ग्रेस, एमाले र माओवादीका नेताहरूसँग बेग्लाबेग्लै वार्तालाप गर्दा हिन्दूराष्ट्रको एजेण्डामा तीनवटै पार्टीका शीर्ष नेताहरू सहमत भएको बुझाई आग्रहकर्ता पक्षको छ । अब तीनवटै पक्ष एक ठाउँमा आइपुगे भने नेपाल संविधानतः हिन्दूराष्ट्र बन्ने र त्यसोभएमा वैकल्पिक मैदानको एउटा ठूलो एजेण्डा खोसिने निश्चित हुनेछ ।
विदेशीको इसारमा भएपनि र विदेशी प्रभावलाई न्यून गराउन प्रयोग भएपनि अहिलेको अवस्थामा प्रमुख दलहरूबीचको सहकार्यले मुलुकमा राजनीतिक स्थिरताको अवस्था पैदा गराउन सम्भव छ । यो साताभित्र प्रचण्ड, केपी र शेरबहादुरबीच पटक-पटक वार्तालाप भएका छन् । टीआरसीसम्बन्धी विषयलाई निहुँ बनाएर भेटवार्ता भइरहेको बताइएपनि त्यसक्रममा अन्य महत्वपूर्ण विषयले पनि वार्तामा प्रवेश पाएको बुझिएको छ । त्यसैले कतै त्रिपक्षीय गठबन्धनको सम्भावनालाई देखेर नै प्रचण्डले क्रमभङ्गताको कुरा गर्नुभएको त होइन भन्ने जिज्ञासा उत्पन्न भएको छ ।
आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने बताउन थालिएको छ । सम्भावित पुनर्गठनलाई विशेष बनाउन प्रचण्डले प्रयास गरिरहनुभएको बताइन्छ । तत्काल आफ्नो नेतृत्वमा कतैबाट चुनौती देखा नपरेकोले जनतामा जतिसुकै अलोकप्रिय भएपनि प्रचण्डको आत्मविश्वासचाहिँ बढेको पाइएको छ ।
प्रतिक्रिया