माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै


नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका ६ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो । जनताको उल्लेख्य सहभागिता रहेको भन्दै माओवादी केन्द्रले अभियान एक महिना थप गरेको थियो ।

अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसहित नेता∕कार्यकर्ता गाउँगाउँमा खटिएका थिए । चार महिनासम्म सञ्चालित उक्त अभियानको आज सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन गरिने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । अभियान समापनका क्रममा पार्टीको गतिविधिको समीक्षा, वर्तमान स्थिति तथा आगामी कार्ययोजनाका बारेमा स्थानीयस्तरमा छलफल हुने उनको भनाइ छ ।

गत साउनमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीलाई रुपान्तरण गर्न विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार र पार्टीभित्रको समस्या तथा अन्तर्विरोधको पहिचान, नेता र कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिएको माओवादी केन्द्रले जनाएको छ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइने लक्ष्य राखिएको थियो । अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिएको थियो ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तर्क्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तर्क्रिया तथा तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिएको सो पार्टीले जनाएको छ ।

file photo