नागरिकको मुटुमा जहिलेसम्म राष्ट्र बस्छ तबसम्म त्यसको अस्तित्व रहन्छ । नेपाल धेरै भाग्यमानी राष्ट्र हो किनभने यसका सबै नागरिकले आफ्नो मुटुमा नेपाल बोकेका छन् ।
✍ स्वयम्भुनाथ कार्की
सामान्यतया राष्ट्रलाई त्यसले चर्चेको भूभाग, भौगोलिक अवस्थितिमात्र मान्ने गरिन्छ त्यसैले त फलाना छिमेकीले सिमाना मिच्यो त्यसैले राष्ट्रियता खतरामा छ भनेर भन्ने गरिन्छ । भौगोलिक क्षेत्र राष्ट्र हुनको निमित्त आवश्यक हुने एक तत्व हो । यो कुरा सर्वस्विकार्य तथ्य हो । तर, के भौगोलिक क्षेत्रले मात्र राष्ट्र हुन सक्छ भन्ने प्रश्नको उत्तरमा प्रष्ट भन्न सकिन्छ- भौगोलिक क्षेत्र मात्रले राष्ट्र बन्दैन ! राष्ट्र भौगोलिक क्षेत्र सँगसँगै रीतिरिवाज, परम्परा, जीवन पद्दति, संस्कृति आदि पनि हुन् भन्ने मान्यता पनि पाइन्छ । यो कुरा सत्य नै हो तर यही मात्र राष्ट्रको सम्पुर्ण अवधारणा भने हैन । यी सबै राष्ट्रको अस्तित्व राख्न आवश्यक पर्ने तत्वहरू हुन् । राष्ट्र यीमध्ये कुनैको अनुपस्थितिमा पनि कायम रहन सक्छ भन्ने कुरा अनौठो लागे पनि असत्य हैन ।
कुनै पनि मुलुकको राष्ट्रियता त्यसका नागकिहरूको मुटुमा बसेको हुन्छ । रीतिरिवाज वा भेषभूषा पनि कुनै अवस्थामा गौण बन्दछन् । यस्तो नभएको भए हमेशा विविध भेषभुषामा रमाउने विभिन्न रीतिरिवाज मान्ने नेपालीलाई आफू समग्ररूपमा चाहिँ नेपाली रहेको भावना आउने थिएन । भूगोलले मात्र राष्ट्रियता हुने हो भने विदेशमा बसेकाहरूले आफ्नो राष्ट्रियता बिर्सेका हुने थिए । तर यस्तो बिल्कुलै छैन, बरु उल्टै परागत भेषभुषामा रहने, आफ्नो भाषा बोल्ने अनि आफ्नै भूभागमा बस्ने भन्दा ज्यादा उनीहरू राष्ट्रको खुशीमा रमाउँछन, राष्ट्रको दुःखमा आँशु झार्छन् । हमेशा आमाको समीप रहनेलाई भन्दा आमाभन्दा टाढा भएकालाई आमाको महत्व धेरै हुन्छ । हो, कसैको सुषुप्त राष्ट्रप्रेम पराइमुलुकमा गएपछि जाग्रत हुन्छ । जुन दिन वा जुन पिँढीदेखि उसको मनमा आफू जन्मेको मुलुक भन्दा बसेको मुलुकप्रति ज्यादा माया पलाउँछ त्यसबेलादेखि उसको राष्ट्रियता बदलिन्छ ।
भूगोलले मात्र राष्ट्रियता हुने हो भने विदेशमा बसेकाहरूले आफ्नो राष्ट्रियता बिर्सेका हुने थिए । तर यस्तो बिल्कुलै छैन, बरु उल्टै परागत भेषभुषामा रहने, आफ्नो भाषा बोल्ने अनि आफ्नै भूभागमा बस्ने भन्दा ज्यादा उनीहरू राष्ट्रको खुशीमा रमाउँछन, राष्ट्रको दुःखमा आँशु झार्छन् ।
मान्छेको मुटुमा जुन राष्ट्र बसेको छ उ त्यो राष्ट्रले आफूलाई के दियो भनेर नखोजी राष्ट्रलाई माया गरिरहेको हुन्छ । यो नागरिक र राष्ट्रको प्रेम बन्धन हो, अपनत्व हो । केवल कुनै राष्ट्रको विधि कानूनले नागरिक भएको हुन्छ तर मुटुमा राष्ट्र हुन्न भने हमेशा राष्ट्रले आफूलाई के दियो भनेर खोजिरहेको हुन्छ । अर्थात् त्यहाँ राष्ट्र र त्यो व्यक्तिबीच प्रेम बन्धनको अभाव छ, अपनत्वको अभाव छ ! मुटुमा बसेको राष्ट्रको हितचिन्ता निःस्वार्थरूपले गरको हुन्छ भने प्रविधिकरूपले नागरिक भएको राष्ट्रबाट हमेशा केही लिन खोजिरहेको हुन्छ । यो कसैमा हुने वा कसैमा नहुने भन्ने कुरा हैन, हरेक मान्छेमा रहने स्वभाविक गुण हो । आधुनिक युगको शुरुवातसम्म पनि कुनै राष्ट्र बन्ने कुनै राष्ट्र समाप्त हुने प्रक्रिया निरन्तर चलिरहने गर्दथ्यो ।
एक देशको बासिन्दा अर्को देशमा जाने मात्र हैन एक मुलुकको शासकले त्यो मुलुक छोडेर अर्को मुलुकमा शासक भएका उदाहरणहरू पनि इतिहासमा प्रशस्त पाइन्छन् । मुलुक बन्ने र समाप्त हुने यो प्रक्रिया अति नै न्यून भए पनि यो युगमा पनि उपस्थिति छ । कसैले केही भनेर/गरेर न राष्ट्र एक भएर बस्छ न टुक्रेर जान्छ । नागरिकको मुटुमा जहिलेसम्म राष्ट्र बस्छ तबसम्म त्यसको अस्तित्व रहन्छ । विदेशको शहरको कुनामा बसेका नेपालीहरू जुन स्थानमा नेपाली भएर नेपाल राष्ट्र मुटुमा राखेर जम्मा हुन्छन् त्यो स्थान वैधानिकरूपमा जुन राष्ट्र भए पनि त्यहाँ नेपाल राष्ट्र प्रकट भएको हुन्छ । नेपालको कुनै भूभागमा यदि कुनै मुलुककाहरू मुटुमा आफ्नो राष्ट्र राखेर बस्छन् भने त्यहाँ उनीहरूको राष्ट्र नै प्रकट भएको हुन्छ ।
त्यसैले नेपालको राष्ट्रियताको रक्षा गर्नु भनेको नेपाल राष्ट्र बोक्ने मुटुको रक्षा गर्नु हो । यो कुनै जबर्जस्तीले गर्न सकिने कुरा होइन । जसले पनि आफ्नो मुटुमा नेपाल राष्ट्र बोक्छ त्यो नै नेपाल राष्ट्र हो । नेपाल धेरै भाग्यमानी राष्ट्र हो किनभने यसका सबै नागरिकले आफ्नो मुटुमा नेपाल बोकेका छन् ।
प्रतिक्रिया