आज सत्ताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका कम्युनिष्ट पार्टीहरू नेपाली काङ्ग्रेससँग मिलेका छन् । उनीहरू कसैमा पनि राष्ट्रिय एकता र मेलमिलाप भन्ने भावना छैन । देशमा कसरी बढीभन्दा बढी भाँडभैलो मच्चाउन सकिन्छ र, राष्ट्रलाई अलगथलग पार्न सकिन्छ भन्ने ध्याउन्न रहेको देखिएको छ । जसको भागिदार नेपाली काङ्ग्रेस पनि बनेको छ ।
✍ डा. केशव देवकोटा
नेपाली काङ्ग्रेसले यही पुस १६ गते ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो । तर, त्यो कार्यक्रम देख्ने र सुन्नेहरूका लागि ‘ब्यंग्य’ जस्तो देखिएको थियो । किनकि आजको अवस्थामा नेपाली काङ्ग्रेस राष्ट्रिय एकता र मेलमिलाप दुवै कुराको विपक्षमा रहेको अनुभूति गरिँदै छ, र यो कुरा १६ गतेको कार्यक्रमले पनि स्पष्ट गरेको छ । नेकांको कार्यक्रममा हाल जीवित रहेका पुराना काङ्ग्रेसी नेताहरू कोही पनि उपस्थित थिएनन्, बरु उनीहरूले अलग्गैरूपमा बिपीको सम्झना गरे ।
काङ्ग्रेस संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारतको प्रवासबाट स्वदेश फर्केको दिनलाई काङ्ग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा बनाउने गरेपनि पछिल्ला वर्षहरूमा त्यसको ओज पूरै घटेर गएको देखिएको छ । जतिबेला बीपी कोइराला स्वदेश फर्कनुभएको थियो, त्यतिबेला उहाँमाथि आठ वटा मुद्धा अदालतमा चलिरहेका थिए । कोइरालाको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं निलाम्बर पन्थीलगायतका नेता तथा कार्यकर्ता स्वदेश फर्कनुभएको थियो । त्यतिबेला उहाँहरू देशको सार्वभौमसत्ताको संरक्षणका लागि स्वदेश फर्कनुभएको भनिन्थ्यो । स्वदेश फर्केर पनि बिपी केही समय जेल बस्नुपरेको थियो ।
०३६ सालको जनआन्दोलन सफल भएर जनमत सङ्ग्रहको घोषणा भएपछि यो पङ्क्तिकारले उहाँलाई करिव दश पटक चाबहिलको मैजुबहालस्थित निवासमा भेटेको थियो । पछि थाहा भयो- त्यो निवास उहाँका भाइ तारिणीको थियो । सिन्धुलीको दुम्जाका बिपी कोइरालाले काठमाडौंमा रहेका सबै सिन्धुलीवासीहरूलाई छलफलका लागि बोलाउनुभएको थियो । विद्यार्थी आन्दोलनको बलमा २०३६ जेठ १० मा जनमत सङ्ग्रहको घोषणा भएको थियो । जेठ १० गते बिहान पौने ७ बजे तत्कालीन राजा वीरेन्द्रले नेपालमा नयाँ राजनीतिक व्यवस्था सम्बन्धमा नेपालभर बालिग मताधिकारका आधारमा सम्पूर्ण नेपालीको गोप्य जनमत लिने घोषणा गर्नुभएको थियो । जसमा ‘सुधारिएको पञ्चायत कि बहुदलीय शासन ब्यवस्था’ रोज्न सकिने भनिएको थियो । जनमत सङ्ग्रहका लागि २०३६ साल जेठ १६ मा भगवतीप्रसाद सिंहको अध्यक्षतामा १४ सदस्यीय राष्ट्रिय चुनाव आयोग गठन भएको थियो ।
२०३६ चैत २० मा राष्ट्रिय चुनाव आयोगले २०३७ साल वैशाख २० को बिहान ९.१५ बजेदेखि साँझ ५.१५ बजेसम्मका लागि समय तोकेको थियो । आयोगले जनमत लिने काम २०३७ जेठसम्ममा सम्पन्न गर्ने जानकारी त्यसअघि नै दिइसकेकोे थियो । मतदाता नामका लागि पञ्चायत क्षेत्रलाई आधार मान्ने गरी २०३६ जेठ १० गतेसम्म २१ वर्ष उमेर पूरा गरिसकेको नेपाली मतदाता हुन पाउने भनिएको थियो । त्यसै वर्षको १५ गतेदेखि मतदाता नाम सङ्ग्रह शुरुभएको थियो । राष्ट्रिय जनमत सङ्ग्रहको निर्वाचन प्रयोजनका लागि नेपालमा पाँच हजार ९१३ मतदान केन्द्र र चार हजार पाँच मतदान उपकेन्द्र तोकिएको थियो । मतदान केन्द्रमध्ये सबैभन्दा बढी एकहजार ६२७ मतदान केन्द्र र एक हजार ४८० मतदान उपकेन्द्र तोकिएका थिए । त्यतिबेलाको जनमत सङ्ग्रह मुख्यतः विद्यार्थीहरूका लागि गौरवको विषय थियो ।
जनमत सङ्ग्रहको घोषणा हुनासाथ शुरुमा यो पङ्क्तिकार संलग्न पार्टी नेकपा (चौम)ले चुनाव बहिष्कारको नारा दिएको थियो । त्यसैले हामी काठमाडौंका कैयन भवन तथा पर्खालका भित्तामा जनमत सङ्ग्रह बहिष्कार गरौँ भन्ने पोष्टर टाँस्नतिर लागेका थियौँ । पछि बिपी कोइरालालगायतको पहलमा कम्युनिष्टहरूबाट पनि जनमत सङ्ग्रहमा भाग लिने नीति आएको थियो । त्यसैले हामी नेकांका तत्कालीन युवा नेता विपिन कोइरालाको आग्रह र नेतृत्वमा बिपीकहाँ पुगेका थियौँ । भूपु प्रधानमन्त्री भएपनि उहाँका लागि कुनै पिएसओको ब्यवस्था थिएन । कुनै सुरक्षा प्रबन्ध पनि गरिएको थिएन । पञ्चायतका प्रखर विरोधी बिपी कोइराला बिनासुरक्षा आफन्तहरूका माझ बसिरहनुहुन्थ्यो । आजका कतिपय नेताहरूले आफ्नो निवासमा ६०-७० जना सुरक्षाकर्मी राखेको देखेर/सुनेर पङ्क्तिकार बिपीलाई सम्झन्छ ।
त्यसो त जनमत सङ्ग्रहकै सिलसिलामा यो लेखक जिउँदा शहीद टंकप्रसाद आचार्यको बानेश्वर हाइटमा रहेको निवासमा पनि तीन/चार पटक पुगेको थियो । नेपालका चर्चित विपक्षी नेता तथा भूपु प्रधानमन्त्री टंकप्रसादका लागि पनि त्यस्तो पिएसओ र कुनै सुरक्षा टोलीको ब्यवस्था गरिएको देखिएन । टंकप्रसादको निवासमा भित्रै आँगनमा बहुदलको पक्षमा आमसभा हुन्थ्यो, तर त्यहाँ प्रहरीले कहिल्यै पनि हस्तक्षेप गरेको देखिनँ । टंकप्रसाद तत्कालीन ब्यवस्था र राजाका विरुद्धमासमेत चर्कै भाषण गर्नुहुन्थ्यो, तर उहाँलाई तत्कालीन राज्य सत्ताले केही पनि गरेको थिएन ।
बिपी निवासमा आमसभा त भएन तर छलफलमा झण्डै १०० जनासम्मको जमघट हुन्थ्यो । उहाँले हामी विद्यार्थीहरूलाई भन्नुभएको थियो- ‘विद्यार्थी भाइहरू आ-आफ्नो पढाइ छाडेर बहुदलको प्रचारमा जाने । पछि बहुदलले जितेपछि तपाईंहरूको छुटेको पढाइ मिलाइदिउँला ।’ त्यतिबेला बिपी कोइराला बहुदलले जित्छ भन्ने कुरामा पूरै ढुक्क हुनुहुन्थ्यो । पछि ज्ञानेश्वरको स्कूलमा भएको एउटा बैठकमा नेकांका नेताहरूले ‘बहुदलीय ब्यवस्था भनेको नेपाली काङ्ग्रेसको ब्यवस्था हो’ भनेपछि सिन्धुलीका काङ्ग्रेस र कम्युनिष्टका बीचमा फाटो आएको थियो । त्यसपछि भने पङ्क्तिकार पनि बिपीको निवास जान छोडेको थियो ।
हामीले सिन्धुलीमा बहुदलको प्रचार र चुनावका लागि छुट्टै ब्यवस्थापन गरेका थियौँ । आज म सम्झन्छु कि त्यसपछि पनि बिपीलाई भेट्न गएको भए, तत्कालीन विवादको केही न केही समाधान हुन्थ्यो । करिव दशपटक उहाँसँग भएको सामुहिक भेटमा बिपीले ब्यक्त गर्नुभएका विचारले मलाई पछिसम्म पनि प्रभाव पारिरह्यो । त्यसैले उहाँको २०३९ साउन ६ गते निधन हुँदा उर्लिएको त्यो मानव सागरमा म पनि मिसिएको थिएँ ।
बहुदलको प्रचारका क्रममा म उहाँको गाउँ सिन्धुलीको दुम्जा पुगेँ । त्यतिबेलासम्म उहाँहरूको घर रहिरहेकै थियो । हामीले त्यहाँ कम्युनिष्ट पार्टीका तर्फबाट प्रकाशित पर्चा वितरण गर्नुका साथै पोष्टर टाँसेका थियौँ । मतदानका लागि कम्युनिष्टतर्फका एजेन्टको छनोट गरेका थियौँ । त्यहाँ पनि बिपीका बारेमा स्थानीय बुढापाकाहरूबाट धेरै कुराहरू सुनेका थियौँ । पछि बहुदलीय ब्यवस्थाले हारेको र सुधारिएको पञ्चायतले जितेको घोषणा गरियो । बहुदलीय शासन व्यवस्थाका पक्षमा कुल २० लाख सात हजार ९६५ (४५.२१५) मत खसेको भनियो । ७५ जिल्लामध्ये १९ जिल्लामा बहुदलीय पक्षमा धेरै मत आएको थियो । त्यसरी बढी मत आएका जिल्लामा मोरङ, सुनसरी, सिराहा, उदयपुर, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रौतहट, कास्की, रुपन्देही, पाल्पा, दाङ, बर्दिया, सुर्खेत, डोटी, कञ्चनपुर र डडेलधुरा थिए । हामीले बहुदलले हारेको विरुद्धमा एक–दुई सभा र प्रदर्शनहरू गऱ्यौँ । तर बिपी कोइरालाले सो परिणामलाई सहजै स्वीकार गरेको भन्ने कुरा बाहिर आएको थियो । त्यतिबेला सुधारिएको पञ्चायतले जितेको भनियो तर परिणामपछि पञ्चायती शासकहरू झन् क्रुर भएका थिए ।
०४६ सालको आन्दोलनमा काङ्ग्रेस र कम्युनिष्टका बीचमा बहुदलीय संसदीय ब्यवस्थाको पुनर्स्थापनाका लागि कार्यगत एकता भएको थियो । जसका लागि गणेशमान सिंहको ठूलो योगदान थियो । काठमाडौंको खिचापोखरीस्थित त्यतिबेलाको पारस होटलमा आयोजित एक कार्यक्रममा सिंहले भन्नुभयो- ‘राजाले जहिले पनि हामीलाई रोटी देखाएर लोभ्याए/झुक्याए, अब हामी नाङ्लाजत्रो रोटी देखाए पनि लोभिँदैनौँ/झुक्किँदैनौँ । बहुदल पुनः स्थापना गराएरै छाड्छौँ ।’ त्यहाँको हलमा भएको सो कार्यक्रममा भर्खर जेलबाट छुटेर आउनुभएका तत्कालीन मालेका नेता राधाकृष्ण मैनालीलगायतका अन्य नेताहरूको पनि उपस्थिति थियो । कार्यक्रम हुँदैगर्दा बाहिरबाट प्रहरीले घेरिसकेको थियो, तर त्यहाँ कुनै हस्तक्षेप भने भएन ।
पञ्चायती ब्यवस्था हुँदासमेत गणेशमानलाई जे बोल्न पनि छुट छ भनिन्थ्यो । उहाँ आफूलाई लागेका कुराहरू निर्भयका साथ बोल्नुहुन्थ्यो । त्यतिबेला पनि तत्कालीन माले र अन्य कम्युनिष्ट समूहहरूले नेपाली काङ्ग्रेससँग जनआन्दोलनका लागि कार्यगत एकता गरे । तर, नेकपा (चौम) बाट फुटेर बनेका समूहहरूले एकता गरेका थिएनन् । उनीहरूले छुट्टै राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएका थिए र पनि सबैको आन्दोलनमा सबैले सहभागिता जनाए ।
०४६ सालमा बहुदलीय ब्यवस्था पुनर्स्थापनापना भएपछि गणेशमान सिंहले नेपाली काङ्ग्रेस छाड्नु परेको थियो । पछि ०६३ पछि मुख्यतः देशमा गणतन्त्र घोषणा गरिएपछि कृष्णप्रसाद भट्टराईले नेपाली काङ्ग्रेस परित्याग गर्नुभएको थियो । आज सत्ताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका कम्युनिष्ट पार्टीहरू नेपाली काङ्ग्रेससँग मिलेका छन् । उनीहरू कसैमा पनि राष्ट्रिय एकता र मेलमिलाप भन्ने भावना छैन । देशमा कसरी बढीभन्दा बढी भाँडभैलो मच्चाउन सकिन्छ र, राष्ट्रलाई अलगथलग पार्न सकिन्छ भन्ने ध्याउन्न रहेको देखिएको छ । जसको भागिदार नेपाली काङ्ग्रेस पनि बनेको छ । यस्तो अवस्थामा नेकांले ‘श्राद्धमा बिरालो बाँध्ने’ शैलीले राष्ट्रिय एकता र मेलमिलापको नीतिका प्रवर्तक बिपीलाई सम्झनुको कुनै अर्थ छैन । नेकांले आफ्नो पुरानो सिद्धान्त र धरातलको सम्झना गरोस् ।
प्रतिक्रिया