भैरहवामा आज राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिँदै

भैरहवामा आज राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिँदै


  • विशेष प्रतिनिधि, बुटवल

भैरहवालाई मुकाम बनाएर दुई सातादेखि यस क्षेत्रमा रहनुभएका राजा ज्ञानेन्द्र शाहले रुपन्देहीमा आफ्नो सक्रियता बढाउनुभएको छ । दुई साताको समय लिएर यहाँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किनुभएका उहाँले रुपन्देहीमा आएर भेटघाट तथा गतिविधिलाई सक्रिय बनाउनुभएको हो ।

यसक्रममा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितले पूर्व श्री ५ ज्ञानेन्द्रलाई भैरहवा आएर भेट गरेका छन् । भेटका लागि लिङ्देन र मिश्रसहित राप्रपा महामन्त्री धवलशमशेर जबरा, बुद्धिमान तामाङ, सांसद दीपक सिंह सहभागी थिए । उक्त भेटका क्रममा पूर्वराजा शाहले आफूले ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्दै आएको बताउनुभएको बुझिएको छ ।

उक्त भेटपछिको तस्बिर राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले बुधबार नै सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका थिए । मिश्रका अनुसार राजा ज्ञानेन्द्रले उक्त भेटका क्रममा सबैलाई एकताको सूत्रमा बाँध्ने आफ्नो काम भएको सन्देश पनि दिनुभएको छ । ‘हामी सबैले धेरै देख्यौँरबुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु, मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरा लागि बराबर छन्’, पूर्व श्री ५ को भनाइ उद्धृत गर्दै मिश्रले बताएका छन् ।

राजा ज्ञानेन्द्र गत पुस ८ गते दुई साताका लागि भैरहवा आइपुग्नुभएको हो । अनौपचारिक भेटघाटमा व्यस्त रहनुभएका उहाँले विभिन्न व्यक्तिहरूलाई सामूहिक र एक्लाएक्लै भेट दिनुभएको छ । त्यहीक्रममा राप्रपा नेतृत्वसँग पनि उहाँले संवाद गर्नुभएको हो ।

गत शनिबार राजा ज्ञानेन्द्रले शिवराज नगरपालिका-३ खरेन्द्रपुर चोक कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभएको थियो । नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको शालिक शिवराज नगरपालिकाले निर्माण गरेको छ।

यसैगरी आज बिहीबार भैरहवामा राजाको नागरिक अभिनन्दन कार्यक्रम छ । नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार राजा ज्ञानेन्द्रलाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी भएको हो । पूर्व श्री ५ ज्ञानेन्द्र, रानी कोमल र नाति युवराज हृदयेन्द्रसहित भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा रहनुभएको छ ।