यो पङ्क्तिकार प्रजातान्त्रिक समाजवादका आदरणीय नेता विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी हो र, आदर्श एवम् सिद्धान्त बीपीकै अपनाउने हुँदा म सङ्घीयता एवम् प्रदेशको विरोधमा स्पष्ट उभिने व्यक्ति हुँ । यसर्थ, वर्तमानमा स्वतः अरुभन्दा केपी ओलीलाई नै नेता मान्न योग्य सम्झन्छु ।
✍ मुक्तिनाथ खनाल
नेपालका ठूला पार्टी भनिएकामध्येको एक नेकपा एमाले सङ्घीयताको विरोधमा देख्ने ममात्र एक्लो रहनेछु, देशका ठूला नेताहरू पनि हुनुहुँदोरहेछ भन्ने विश्वास लाग्न थाल्यो । हुन त पहिल्यै संविधान निर्माणको क्रममा ‘गोरु गाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने हाम्रा आदरणीय नेता खड्गप्रसाद ओलीले त्यतिबेलै बुझेर बोल्नुभएको रहेछ । कहिलेकाहीँ ठट्यौली आख्यान पनि यथार्थ हुँदै जाँदोरहेछ ।
केही दिनअघि ‘लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउने काम कतैबाट नहोस्’ भनेर कसैलाई चेतावनी दिने शैलीमा ओलीको अभिव्यक्ति आएको थियो । तर, सुरुदेखि आफैंले पालनपोषण गर्दै आएको भक्तपुरतर्फका ‘अरिङ्गाल राजावादी’सँग भिड्ने बहानामा चेतावनीको भाषामा त्यस्तो अभिव्यक्ति दिइएपनि उल्टै भित्रभित्र उनीहरूलाई उक्साउने गरिएको हो कि भन्ने अरु पार्टीका नेताले अनुमान गरेको पाइयो । प्रतिष्पर्धी पार्टीका नेता-कार्यकर्ताले मात्र नभइ अन्य विश्लेषक एवम् सर्वसाधारणले पनि यस्तै आशङ्का नगरेका होइनन् । उहाँको राजनीति गर्ने शैली या ढङ्ग नै त्यस्तै छ, अनि विभिन्न अनुमान र आशङ्का त उठ्ने नै भए !
केपी ओलीको नेकपा एमाले पार्टीलाई पङ्क्तिकारले सङ्घीयताविरोधी पार्टी भनेर अभियोग लगाउन खोजेको होइन, बरु उहाँले मिसन‘८४ को अभियान भन्दै पूर्व-पश्चिम पदयात्राको क्रममा हरेक ठाउँमा बोल्दा सबैले सुन्नुभएको हुनुपर्छ- कहीँ पनि सङ्घीयताको समर्थन गर्नुभएको पाइँदैन । उहाँले आफ्ना शब्दमा ‘गणतान्त्रिक प्रजातन्त्र’ मात्र प्रयोग गरिरहनुभएको छ । उदाहरणस्वरुप एउटा प्रमाण, गत मङ्सिर ३ गतेको नयाँ पत्रिकामा केपी ओली र माधव नेपालको वक्तव्य एउटै पेजमा प्रकाशित गरिएको छ । त्यसमा माधव नेपालले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामी सबै उभिनुपर्छ, यदि कतैबाट त्यस्तो विरोध हुन्छ भने हामी मुकाविला गर्न तयार छौँ र रहनुपर्छ’ भनेका छन् भने सँगै प्रकाशित सामग्रीमा केपी ओलीले कहीँ पनि सङ्घीय भन्ने शब्द उल्लेख गरेका छैनन् । उनले बोल्दा पनि सङ्घीयता भन्ने शब्द उच्चारण नगरी ‘गणतान्त्रिक प्रजातन्त्र’ भन्ने गरेको देखिन्छ र, जतासुकै भ्रमणको क्रममा पनि यही भनाइ या बोलाइ रहने गरेको छ केपी ओलीको ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ भन्नु र केवल ‘लोकतान्त्रिक गणतन्त्र’ भन्नुमा धेरै फरक छ । ‘गणतान्त्रिक’ भन्नाले पहिल्यैको जिल्ला प्रशासन, पञ्चायती संघ-संस्थालाई पनि लिन सकिन्छ भने ‘सङ्घीयता’ले हाल भएका प्रदेशहरूलाई समेत समेटेर सम्बोधन गरिएको बुझिन्छ । यसरी यी दुई शब्दको अन्तर्यमा धेरै अन्तर छ । यो कुरा बुझेर नै केपी ओलीले कहीँ पनि बोल्दा/लेख्दा सङ्घीय भन्ने शब्द राख्ने वा बोल्ने गर्नुहुन्न । यसबाट प्रष्ट बुझिन्छ- उहाँबाट सङ्घीयताको समर्थन हुने छैन ।
यो पङ्क्तिकार प्रजातान्त्रिक समाजवादका आदरणीय नेता विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी हो र, आदर्श एवम् सिद्धान्त बीपीकै अपनाउने हुँदा म सङ्घीयता एवम् प्रदेशको विरोधमा स्पष्ट उभिने व्यक्ति हुँ । यसर्थ, वर्तमानमा स्वतः अरुभन्दा केपी ओलीलाई नै नेता मान्न योग्य सम्झन्छु । तथापि, केपी ओलीलाई कुनै सिद्धान्त एवम् आदर्शवादीको रूपमा ठान्न भने म सक्दिनँ ।
केपी ओली ठट्टा गर्न रुचाउनुहुन्छ, तर उहाँको ठट्टा पनि अलिक कठोर खालको हुन्छ । ब्यङ्ग्य पनि बेस्सरी निर्दयी भएर घोच्नेगरी गर्नुहुन्छ । आफूलाई मन नपर्नेलाई खेदो नै गर्नुहुन्छ । मौका पाएसम्म कतै टिक्न र बिक्न नदिनेगरी व्यवहार गर्नुहुन्छ । यो तहका राजनीतिकर्मीले यस्तो कठोर रवैया अपनाउनु ठिक होइन भन्ने लाग्छ । त्यसैले त उहाँको विरोध गर्नेले पनि भित्तै पुऱ्याएर गर्न खोज्छन् । ओलीको खेदो गर्नेले बेस्सरी नै गर्छन् र प्रशंस गर्नेले पनि अलिक बढी नै गर्न रुचाउँछन् ।
खैर ! आफ्नो सिद्धान्त या काम/कुराको निर्देशन दिनुभन्दा अरु पार्टी र नेतालाई ब्यङ्ग्य गर्न रुचाउने, नौटङ्की गर्ने, नवदुलाहा जस्तै दुबो/सयपत्रीको माला लगाउन रहर गर्ने र आफूलाई सधैं युवा सम्झने फुर्ति/जाँगर भएको अनि एमालेको मात्र नेता मानिनुहुने पात्र हुनुहुन्छ केपी ओली ! एमालेभित्र पनि अलग अतिवादीहरूको घेरामा बस्न रुचाउने, एमालेभित्रै पनि काखा-पाखा गरेर व्यवहार गर्ने किन होला भन्ने जिज्ञासा त जाग्छ, तैपनि सङ्घीयता नरुचाउने नेता ओलीलाई पङ्क्तिकारको प्रणाम छ !
प्रतिक्रिया