संविधानसभाले गणतन्त्र घोषणा गरेपछि संविधानमा राजा शब्द नै नरहेको डेढ दशकभन्दा ज्यादा भइसकेको छ । नेपाली काङ्ग्रेसले राजालाई काँधबाट उतारेपछि त्यसबेला ऋणात्मक लोकप्रियता रहेका राजाको लोकप्रियता बढ्दै गएको देखिन्छ, तर यो अवधिमा नेपाली काङ्ग्रेसको लोकप्रियताको मात्रा घटेको पाइन्छ ।
✍ स्वयम्भूनाथ कार्की
कायाकल्प जस्तो कुनै चमत्कार नभएमा नेपाली काङ्ग्रेसले लिएको हालको बाटोले छिट्टै ऐतिहासिक दल बन्ने सम्भावना बढेर गएको छ । भन्न खोजेको ऐतिहासिक भने इतिहासमा मात्र स्थान भएको र वर्तमानमा अस्तित्वको निमित्त सङ्घर्ष गर्दै रहेको भन्ने हो । तत्कालिक बहुदलीय संसदीय व्यवस्था भएको राज्यविरुद्ध सशस्त्र विप्लव गरेको समुहलाई शान्तिप्रक्रियामा ल्याउन नेपाली काङ्ग्रेसले चुकाएको यो मोल हो भन्न सकिन्छ ।
राजाले सक्रिय शासन सम्हालेको राजसंस्थाका अन्तिम दिनहरूमा लिएका कतिपय कदमले नेपालमा राजसंस्थाको भविष्य खतरामा पर्न सक्छ भन्ने आँकलन गर्नेहरूलाई अस्विकार गरिएको थियो । त्यसरी नै काङ्ग्रेसजनहरूले यो कुरा अस्विकार गरे भने अनौठो मान्नु आवश्यक छैन । त्यतिखेरका राजावादीहरूले जस्तै कुराले जित्न खोजेमा वा सम्भव भए बाहुबल नै प्रयोग गरेमा पनि भक्तिको, आस्थाको नेपाली स्वभावअनुकुल नै हुन्छ, तर यसले वास्तविकतामा कुनै असर पार्दैन । प्रतिनिधिसभामा दलगत शक्तिमा तेश्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) अहिले सत्तामा छ । अर्थात्, अल्पमतलाई धेरै सदस्य भएको दलले बोकेको छ ।
विसं २०८० मा रिक्त भएका राष्ट्रिय सभाका स्थानहरूमा हुने निर्वाचनमा दलीय भागबण्डाले अनौठो समिकरणको सङ्केत गरेको छ । प्रवाह भइरहेका सूचनाहरूलाई आधार मान्ने हो भने नेपाली काङ्ग्रेसको सदासयतामा माओवादी केन्द्र निर्वाचनपछि राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बन्ने तरखरमा छ । नेपाल जस्ता मुलुकहरूमा रहेको दलीय प्रणालीमा धेरै अवस्थामा परिणाम पहिले नै थाहा हुन्छ । दलीय आस्थाले जोडिएका मतदाताहरूको संख्याले सर्वसाधारणबाट हुने प्रत्यक्ष निर्वाचनको परिणाम त पूर्वनिर्धारित नै जस्तो हुन्छ भने दलका सदस्यहरू वा दलीय आधारमा निर्वाचितहरूले दिने मतदान त केवल विधि पु¥याउन मात्र हो । मत भने शीर्ष नेताहरूको भागबण्डामा आधारित हुन्छ । रोचक कुरा त के छ भने यस्ता निर्णय नआउञ्जेल स्वयम् मतदातलाई नै कसलाई मत दिने भन्ने थाहा हुँदैन । बालिग मताधिकारको मतमा भने केही नौलो विद्रोह देखिन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र केही पालिकाहरूमा स्वतन्त्र मेयरको विजयले यो विद्रोह शुरु भएको हो कि भन्ने छनकसम्म पाइन्छ ।
राष्ट्रिय मेलमिलापको अवधारणा लिएर ३३ साल पुष १६ गते बीपी नेपाल आउँदा त्यो नेपाली काङ्ग्रेस र राजसंस्थाबीचको मेलमिलाप थियो । राष्ट्रियता जोगाउने, मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना गर्ने र मुलुकको आर्थिक विकास गर्ने कार्य योजना लिएर बीपी नेपाल उत्रेका थिए । विगतका वर्षहरूमा राष्ट्रियताको अवस्था कस्तो छ भन्ने कुराको विवेचन नै आवश्यक छैन । किनभने वर्तमानमा हरेक राजनीतिकर्मी, नागरिक समाजका अगुवा भनिनेहरू, सञ्चारका दिग्गजलगायत सबैले नै राष्ट्रियता खतरामा परिराखेको कुरा गरिराखेको भेटिन्छ । जनधारणा बनाउने अनि समाजमा विचार पैmलाउने अभियन्ताका रूपमा जनताले मानेका यिनीहरूको कुराको उपेक्षा गर्नु त भएन । मुलुकमा बहुदलिय प्रजातन्त्र स्थापना भएको ३० वर्षभन्दा उकालो लागेको छ । मुलुकको आर्थिक विकासको अवस्था कस्तो छ भन्ने कुराको पनि विवेचन नै आवश्यक छैन । किनभने राष्ट्रसेवक भनिने कर्मचारीहरूको तलव, निवृत्तिभरण आदिको भुक्तानी नै हम्मेहम्मे परेको छ । सामाजिक सुरक्षा भनेर दिइने भत्ताको उपलब्धता पनि समयमा हुन सकको छैन ।
उसै पनि मेलमिलाप कुनै विवादमा विवादका विभिन्न पक्ष बीच हुने गर्दछ । कर्मकाण्डी रूपमा नेपाली काङ्ग्रेसले मनाउँदै आएको राष्ट्रिय मेलमिलाप दिवसमा एकपक्षिय सहभागिता गराइएको सूचनाहरू आएका छन् । यसो हो भने अब नेपाली काङ्ग्रेससँग केवल ऐतिहासिकताको पुँजी मात्र रहने सम्भावना बढ्दै गएको छ भन्न सकिन्छ । आफूले काँधमा बोकेको भनेर दाबी गरिएको राजा नेपाली काङ्ग्रेसले अब बोकेको छैन । ०६५ साल जेठ १५ गते संविधानसभाले गणतन्त्र घोषणा गरेपछि संविधानमा राजा शब्द नै नरहेको डेढ दशकभन्दा ज्यादा भइसकेको छ । नेपाली काङ्ग्रेसले राजालाई काँधबाट उतारेपछि त्यसबेला ऋणात्मक लोकप्रियता रहेका राजाको लोकप्रियता बढ्दै गएको देखिन्छ, तर यो अवधिमा नेपाली काङ्ग्रेसको लोकप्रियताको मात्रा घटेको पाइन्छ । निर्वाचनहरूमा ज्यादाजसो बहुमत ल्याउने नेपाली काङ्ग्रेस वर्तमान अवस्थामा कुनैबेला आफ्नै प्रमुख भुमिकामा बनाइएको संविधानको विरुद्ध हतियार उठाउने समुहसँगको गठबन्धन नभइ अस्तित्व नै कायम राख्न नसक्ने अवस्थामा पुग्दैगएको छ ।
वर्तमान अवस्थामा गणतन्त्र नफापेकोे नेपाली काङ्ग्रेस हो भन्न सकिने अवस्थाहरू देखापर्दै गएका छन् । गद्दी नै नभएका राजाका गतिविधिले सबैभन्दा त्रसित नेपाली काङ्ग्रेस नै देखिएको छ । देश-विदेशमा रहेका नेपाली काङ्ग्रेसका शुभचिन्तकहरू हरेक छलफल वा कुराकानीलाई राजाको पुनरागमनतर्फ लैजान थालेका छन् । पुनरागमन हुनुहुँदैन भनेर त्यस पक्षमा अनेकौँ तर्क गर्दछन् । राजाको गद्दी, श्रीपेच अनि राजदण्ड खोसेको डेढ दशक नाघ्न लाग्दा किन यस्ता चर्चा उठाइने गरेका छन्, अनौठो लाग्छ ।
हुँदा-हुँदा २०२७ सालमा बीपी स्वनिर्वासनमा रहँदा राजाले राहदानी नदिएको कुरा पनि चर्चामा ल्याउन थालिएको छ । बीपीले दिएको निवेदन र तात्कालिन युवराजका निजी सचिवको पत्रका प्रतिलिपिहरू सामाजिक सञ्जालमा आएका छन् । यो कुराको अन्तर्य बीपीको आत्मवृत्तान्तको परिच्छेद ६३ देखि परिच्छेद ६५ सम्ममा प्रष्ट गरिएका छन् । त्यसअनुसार बीपीले गर्न लागेको र भारतिय यात्रापत्रको आधारमा गरेको विदेश भ्रमण स्वस्थ्य परीक्षणको भन्दा ज्यादा हतियारको जोहो निमित्त भएको तथ्य सामुन्ने आउँछ । स्वभाविक रूपले नै कुनै पनि सत्ता आफूविरुद्ध प्रयोग गरिने हतियार संकलनमा सहायक हुँदैन ।
प्रतिक्रिया