‘देशको शत्रु चिनौँ’ अभियानमा नागरिक शक्ति पार्टी

‘देशको शत्रु चिनौँ’ अभियानमा नागरिक शक्ति पार्टी


३०२औँ पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘नागरिक शक्ति नेपाल’ले ‘देशको शत्रु चिनौंँ’ अभियान आरम्भ गरेको छ । काठमाडौंमा ‘देशको शत्रु चिनौंँ’ विषयक अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरी सो पार्टीले अभियान आरम्भ गरेको हो ।

राजधानीको प्रज्ञा भवनमा शुक्रबार आयोजित कार्यक्रममा समाजका प्रतिष्ठित र निर्णायक तहसम्म पुगेका व्यक्तिहरूलाई सहभागी गराएर देशमा भइरहेका बेथिति र विसंगतिविरुद्ध एक भएर अघि बढ्ने संकल्प पनि गरिएको छ ।

खुल्ला छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सांसद शंकर भण्डारीले देशको मूल समस्या भनेको देश सञ्चालनको जिम्मेवारीमा रहेकाहरूमा जवाफदेहिताको खडेरी परेकोले तिनीहरू नै देशका शत्रु भएको धारणा राखे । उनले ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले के गर्‍यो ?’ भन्ने प्रश्न गर्दै भारत पुगेर नेपाली नेताहरूले माहात्मा गान्धीको समाधिमा माला चढाउँछन् तर नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई चाहिँ सम्झन कन्जुस्याइँ गर्छन् भन्दै असन्तुष्टि प्रकट गरे ।

चर्चित राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालको हकमा पृथ्वीनारायण शाह नै पहिलो समाजशास्त्री भएको भन्दै कर्तव्यबाट च्युत भएर पनि सधैं ठूलो भइरहनेहरू नै देशको शत्रु भएको दाबी गरे । उनले ‘कर्म गर फलको आशा नगर’ भन्ने गीताको सार चल्तीमा रहेपनि ‘गलत कामको परिणाम कहिल्यै पनि सही हुँदैन’ भन्नेचाहिँ गीताको सारका रूपमा मनन गर्नु अझ व्यवहारिक हुने बताए । १४ प्रतिशत दलित र ५१ प्रतिशत महिलालाई बाहिर राखेर अघि बढ्नेहरू देशको प्रमुख शत्रुमध्येका एक शत्रु भएको उनको धारणा थियो ।

पूर्वसचिव देवेन्द्र सिटौलाले यतिबेला देशको शत्रु बग्रेल्ती रहेको उल्लेख गर्दै अध्यात्मिक ज्ञानविनाका व्यक्तिबाट मुलुकको शासन सञ्चालन हुन नसक्ने बताए । राजनीतिमार्फत् देश सञ्चालन तथा मुलुकको सेवा गर्छु भन्ने हरेक पात्रमा अध्यात्मको चेत हुनु अपरिहार्य र सोअनुरूपको व्यवहारलाई निष्ठा र इमानका साथ कर्मक्षेत्रमा उतारे देशले सकारात्मक दिशा लिनसक्ने उनको धारणा थियो ।

नागरिक शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीले २ सय ४० वर्षको राजसंस्थाले देश बिगारेको आरोप लगायौँ तर त्यो समयमा ७० वर्ष नेपाल एकीकरणमा बित्यो, १ सय ४ वर्ष राणाकालमा बित्यो, ४५ वर्ष प्रजातान्त्रिक ब्यवस्थामा बितायौँ अनि राजसंस्थाले मात्र देश बिगारेको भन्नु कति उपयुक्त होला भन्ने सवाल उठाए । उनले वर्तमानको शिक्षा ज्यानकेन्द्रीत भएको भन्दै ज्ञानकेन्द्रीत शिक्षा नहुनाले अनेक विकृति र समस्या पैदा भएको जिकिर गरे । राजनीतिक दल र नेतृत्वले चाहेमा देश ठीक ठाउँमा जाने उनको तर्क थियो ।

कार्यक्रममा सामाजिक अभियन्ता एवम् धर्म-संस्कृतिका अन्वेषक मोहन लामा रुम्बाले ‘बुढा मरे भाषा सरे’ भनेअनुसार नेपाल एकीकरणताका कृश्चियनहरू नेपाल आएका र तिनलाई पृथ्वीनारायण शाहले सोचविचार गरेर नै खेदेको धारणा राखे । नेपालमा त्यो बेला क्रिश्चियन आएको दस्तावेश प्रज्ञा भवनमा रहेको जानकारी उनले दिए ।

अन्तरक्रियामा सो पार्टीका नेताहरू शम्भुमान सिंह, जेबी रिजाल, बिन्दु बुढाथोकी, रुपा पौडेललगायतले देशको शत्रु नचिनिकन देशलाई सुधारको बाटोमा लैजान नसकिने भन्दै ‘देशको शत्रु चिनौँ’ अभियानलाई निरन्तरता दिएर देशका ७७ वटै जिल्लामा सञ्चालन गर्दै लगिने जानकारी दिए ।