पृथ्वीचोकमा जसरी पनि पृथ्वीनारायण शाहको शालिक राख्ने घोषणा

पृथ्वीचोकमा जसरी पनि पृथ्वीनारायण शाहको शालिक राख्ने घोषणा


पोखराको पृथ्वीचोकमा लखन थापाको नभइ पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने अडान एकथरी पोखरेलीको छ । अर्को एउटा पक्ष त्यहाँ शहीद लखन थापाकै शालिक यथावत हुनुपर्ने पक्षमा छ । पृथ्वीनारायण शाह वा लखन थापा कसको शालिक राख्ने भन्नेमा पोखरा विभाजित देखिन्छ ।

राष्ट्र गौरव अभियानले पोखरामा शुक्रबार पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राख्नु जनभावनाको कदर हुने जिकिर गरेका छन् । राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले पृथ्वीचोकमा जनताको भावना रहेकाले लखन थापाको शालिक लामो समय रहन नसक्ने बताए । ‘बीचमा सहीद लखन थापाको शालिक छ । आसपास बजारका पसलको ब्यानरमा पृथ्वीचोक लेखिएको छ,’ उनले थपे, ‘जनताको भावना पृथ्वीचोकमा छ, लखनचोक कहिलेसम्म रहला ? जबर्जस्ति शालिक राखेर, जबर्जस्ति शासन गरेर हुँदैन ।’

पृथ्वीनारायण शाह भौगोलिक एकीकरणकर्ता मात्र भएको दाबी गर्नु गलत भएको उनले बताए । भौगोलिक एकीकरणसँग भावनात्मक एकीकरण जोडिने र त्यसैले देश एकजुट हुने मिश्रको भनाइ थियो । पृथ्वीनारायण शाहलाई गाली गरेर माक्र्स र लेनिनलाई माला लगाउनेले देश बनाउन नसक्ने मिश्रको दाबी थियो । देशले पृथ्वीनारायण शाह मात्र नभएर देश बनाउने हुटहुटी भएका राजा महेन्द्रको योगदान बिर्सिन थालेको उनको गुनासो थियो । उनले राजा महेन्द्रको तुलना आधुनिक सिंगापुरका जन्मदाता मानिने ली क्युआन युसँग गरे । राजा महेन्द्र १० वर्ष बढी बाँचेको भए ली क्युआनभन्दा सक्षम प्रमाणीत गर्न सक्ने उनले दाबी गरे ।

राजनीतिक विश्लेषक सौरभले शहीद लखन थापाभन्दा नेपाल एकीकरण गरेर ठूलो योगदान पृथ्वीनारायण शाहको रहेको दाबी गरे । ‘लखन थापालाई सम्मान गर्नुपर्छ । निरंकुश संस्कारविरुद्ध लड्ने जनजातिको छोरा शहीद भयो,’ उनले थपे, ‘लखन थापाभन्दा पृथ्वीनारायण शाहको योगदान ठूलो छ । राज्य एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई जातिको हिसाबले हामी किन हेर्छौं ?’ उनले पृथ्वीनारायण शाहलाई कास्कीले न्याय गर्नुपर्ने आवश्यकता औंल्याए ।

इतिहासविद् हरिप्रसाद सोडारीले नेपाल एकीकरण गरेर पृथ्वीनारायण शाहले देश दिएपनि सशस्त्र युद्द गर्नेले केही दिन नसकेको टिप्पणी गरे ।

राष्ट्र गौरव अभियानले पृथ्वीचोकमा जसरी पनि पृथ्वीनारायण शाहको शालिक राख्ने घोषणा गरेको छ । अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको शालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने घोषणा गरेका हुन् । उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे ।