सुकिला-मुकिलाको कब्जामा काङ्ग्रेस, ‘गुमनाम’ बने यी सच्चा काङ्ग्रेस-सिपाही !

सुकिला-मुकिलाको कब्जामा काङ्ग्रेस, ‘गुमनाम’ बने यी सच्चा काङ्ग्रेस-सिपाही !


एकदिन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई सोधे- ‘त्यो नियुक्ति पत्र किन नबुझेको ? तलब भत्ता किन नलिने ?’ उनले जवाफ दिए- ‘म राजनीतिमा सर्वस्व गुमाएको मान्छे हुँ । त्यो नियुक्ति पत्र र तलब भत्ता मेरा लागि ५० लाख हारेको जुवाडेले रातभरि जुवाको खालमा बसेर ५०० जितौरी लिए जस्तो मात्र हो, अनि नलिएको ।’ सुशील कोइराला उनका कुरा सुनेर हासेँ ।
✍ नवराज भट्टराई

रामोन मेगसेसे पुरस्कारद्वारा विभूषित वैज्ञानिक महावीर पुन तीन महिनामा चौबीस हजार प्रति बिक्री भइसकेको हालै प्रकाशित आफ्नो आत्मकथामा लेख्छन्- ‘… पञ्चायती व्यवस्थाको जमाना थियो । सिडियोहरू निकै नै शक्तिशाली हुन्थे ।’ त्यस्तो पञ्चायतकालको शक्तिशाली पदमा बसेको चितवन जिल्लाको तत्कालिन सिडियोसित झगडा परेको कारणले उनले चितवनको खैरहनी स्कूलमा विज्ञान शिक्षक भएर पढाइरहेको जागीर छोडेका थिए । भएको के रहेछ भने, एसएलसी परीक्षा चलिरहेको बेला सिडियो परीक्षा निरीक्षण गर्न पुगेछन् । परीक्षा मर्यादित रूपमै भइरहेको रहेछ । तर सिडियोले आफ्नो मपाइँत्व प्रदर्शन गर्न परीक्षामा गार्ड बसिरहेका शिक्षकलाई अनाहकमा हप्काएछन् । विद्यार्थीका अगाडि शिक्षकलाई हप्कीदप्की गरेको महावीर पुनले सहन सकेनछन् र, सिडियोसित शिक्षकको के गल्ति थियो र हप्काउनुभएको ? भनेर सोधेछन् । आफूसित मुखमुखै लागेको भनेर ती सिडियोले महावीर बाटामा हिँडिरहेका बेला अर्को दिन उनलाई समातेर गाडीमा हाल्न लगाएछन् र पुलिस अफिस पुऱ्याएर साता दिनसम्म कुनै अभियोग र कानूनी प्रक्रियाविना थुनेछन् । सिडियोको अत्याचार असह्य भएर नै उनले थुनामुक्त भएकै दिनदेखि जागीर छोडिदिएको र पछि अमेरिका पढ्न जाने प्रयासमा लागेको आत्मकथामा लेखेका छन् ।

साँच्चै नै पञ्चायतकालमा सिडियोहरू कुनै कालखण्डका बाइसे, चौबिसे राजा जस्तै जिल्लाका भुरे-टाकुरे राजासरह थिए । सत्तासीन पञ्च नेतालाई रिझाएपछि उनीहरू पक्का राजावादी र व्यवस्थावादी प्रशासकमा दरिन्थे र खुँखार भएर निस्किन्थे । पाँचथर निर्दलीय व्यवस्था शुरु भएदेखि पञ्चायतको अन्त्य नभएसम्म पञ्चनेता पद्मसुन्दर लावतीले अकन्टक राज गरेको जिल्ला थियो । लावती पटक-पटक मन्त्री भइरहने प्रभावशाली पञ्च मात्र होइन, घाघडान महापञ्च थिए । उनी पञ्चायतकालमा धेरै पटक गरेर सूचना तथा सञ्चार, सामान्य प्रशासन, जलस्रोत, स्वास्थ्य र गृहमन्त्री भएका थिए । उल्लेख्य संख्यामा बहुदलवादीहरू रहेको इलाम, झापामा काङ्ग्रेस भएर बाँच्न जति सजिलो थियो, महापञ्चको एकछत्र रजगज चलेको पाँचथरमा काङ्ग्रेस भनेर चिनिनु मात्र पनि सहज थिएन । लावतीले आँखा सन्काएको भरमा काङ्ग्रेसीहरू थुनिन्थे, कुटिन्थे । अझ लावतीलाई खुशी पारेर ‘सुयोग्य प्रशासक’को तक्मा भिर्न प्रशासकहरूमा आन्तरिक प्रतिस्पर्धा जस्तो हुन्थ्यो । त्यो समयमा जिल्लाको सिडियोसित ठाडठाडै बाझ्न सक्ने काङ्ग्रेस थिए- सुरेन्द्र तिमल्सिना । काङ्ग्रेस भनेर बक्रदृष्टि राख्ने र काङ्ग्रेसलाई निर्मम दमन गरेर पञ्चको प्यारो हुन खोज्ने तत्कालिन सिडियो टीकादत्त निरौलासित मखमुखै लागेबापत उनी महावीर जस्तो थुनामा मात्र परेनन्, सिडियोकै हातबाट निर्घात कुटिए पनि । पञ्चायतकालका खुँखार सिडियोहरू दानबहादुर शाही, सूर्यबहादुर सेन ओली, भगवान सिंहकै लहरका सिडियो थिए टीकादत्त निरौला ।

राजाले प्रतिबद्धताअनुसार पञ्चायतमा अपेक्षित सुधार नगरेकाले त्यतिबेलाको प्रतिबन्धित नेपाली काङ्ग्रेसले जनमत संग्रहपछिको राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिएन तर २०३९ सालको स्थानीय चुनावलाई भने उपयोग गर्ने र जनतासित नजिकिने नीति लिएको थियो । पाँचथर बहुदलका पक्षमा नगण्य मात्र भोट आएको जिल्लामा पर्थ्यो । जनमत संग्रहमा पञ्चायतको जीत भएको खुशीमा पञ्चहरूको चुरीफूरी र उन्माद बढेको थियो । देशभरि नै डामेर छाडेको साँढे जस्तो मैमत्त भएका थिए । जिल्लामा बहुदलबादी भनेर चिनिने मान्छे सारै थोरै थिए । सर्वसाधारण मान्छेहरू काङ्ग्रेस भनेपछि पुलीस प्रशासनको कोपभाजनमा परिन्छ कि भनेर बहुत डराउँथे र टाढैबाट तर्किन्थे । यस्तो समयमा तिमल्सिना भने जिल्ला पञ्चायतको सभापतिमा बहुदलबादीको तर्फबाट उठेका पूर्ण कुमार शेर्मा (पछि स्थानीय विकास मन्त्री) र उपसभापतिमा उठेका दीपक प्रकाश बाँसकोटा (पछि गृह राज्यमन्त्री)को पक्षमा भोट माग्दै उत्तर, पूर्व च्याङथापूदेखि दक्षिण, पश्चिम दुर्दिम्बासम्म दुर्दान्त मण्डलेहरूबाट सांघातिक आक्रमण हुन सक्ने खतरा मोलेर ५ लिटरको इनामेलको बट्टा साथमा बोकी वालपेन्टिङ गरेर हिँडेका थिए । यो कुरा प्रहरी, प्रशासनले थाह नपाउने कुरै थिएन तर चुनावको मुखमा चुनाव प्रचार गरेको मात्र कारण देखाएर पक्राउ गर्न प्रशासनलाई अलिक असहज भएर हुनसक्छ, तत्काल प्रशासनले कुनै एक्सन लिएन ।

त्यतिबेला क्याम्पस इलामपछि तेह्रथुम, आठराइको चुहानडाँडामा मात्र थियो । तेह्रथुम सदरमुकाम म्याङलुङ, ताप्लेजुङ् सदरमुकाम फूङलिङ र पाँचथर सदरमुकाम फिदिममा समेत क्याम्पस थिएन । सुभाङ, पञ्चमीतिरको मदन संग्रौला भन्ने व्यक्ति चुहानडाँडा क्याम्पसको ने. वि. संघ एकाइ कमिटीको नाममा सहयोग संकलन गर्ने भन्दै रसीद बोकेर आएछ । सुरेन्द्रलाई उसले २० रुपैयाँको रसिद कटाएछ । फिदिम बजारमा सहयोग उठाउँदै हिँडेको बेला संग्रौलालाई पुलीसले पक्राउ गरेछ । संग्रौलाको साथबाट पुलीसले फेला पारेको रसीदको अर्धकट्टीमा सुरेन्द्र तिमल्सिनाको पनि नाम भेटिएछ । बस्, निहुँ खोजिरहेको प्रशासनलाई अब के चाहियो ? संग्रौलालाई छोडेर पुलीसले सिडियो टिकादत्त निरौलाको आदेशमा तिमल्सिनालाई पक्राउ गरेर सिडियो कार्यालय पुऱ्यायो । सिडियो निरौलाले ‘व्यवस्थाविरोधी गतिविधि गर्न चन्दा दिँदै हिँड्ने तँ को होस् ? तँलाई साले बहुदल चाहिने ! व्यवस्था विरोधी अराष्ट्रिय तत्व तँ ! तँलाई राजकाज मुद्दा लगाएर जेलमा कोच्छु…’ भनेर नराम्ररी गाली गर्दै तथानाम बक्न थाल्यो । चन्दा सहयोग जस्तो सामान्य कुरामा सिडियोले राजकाज मुद्दा लगाएर जेल हाल्ने धम्की दिएर भन्नु/नभन्नु गाली गर्न थालेपछि उनले पनि सिडियोलाई ललकार्दै भने- ‘यो देशमा मजस्ता बहुदलवादी पचासौँ लाख छन् । सिडियो भएर जसलाई पायो, त्यसलाई जेल हाल्न तपाईंका बाबुको बाख्राको खोर हो र जेल ? तपाईंले आफूलाई के ठान्नुभएको छ ?’ सिडियो रिसले आगो भयो । त्यसबेला प्रशासनको भाषामा काङ्ग्रेसलाई ‘अ.त.’ (अराष्ट्रिय तत्व) भनिन्थ्यो । अ.त. तह लगाउन त्यसबेला ‘शान्ति सुरक्षा’ भन्ने एउटा कानून थियो । त्यसअनुसार सिडियो चाहेमा जसलाई पनि समातेर ६ महिनासम्म कुनै किसिमको अदालती कारवाहीबिना सीधै जेल हाल्न सक्थ्यो र, ६ महिना नाघेपछि फेरि अर्को ६ महिना पूर्जी दिएर थुनिराख्न सक्थ्यो । सिडियोले तत्काल राजकाज मुद्दा त लगाउन सकेन तर तुरुन्तै ‘समाजमा अशान्ति फैलाएको र पञ्चायती व्यवस्थाप्रति आँच आउने गतिविधि गरेको’ भनेर शान्तिसुरक्षाको थुनुवा पुर्जी दिएर ‘ख’ श्रेणीको सिदा खान पाउने गरी तिमल्सिनालाई कारागार चलान गऱ्यो । यो चालीस साल कार्तिकको घटना हो ।

त्यसबेला कारागारको जनाना सेलमा महिला कैदी, बन्दी कोही नभएकाले त्यो खालि थियो । अरु सबैबाट एक्ल्याएर सुरेन्द्रलाई जनाना सेलको एउटा कोठामा एक्लै राखियो । सेलको ताला बेलुका ५ बजे लगाएर बिहान ८ बजे मात्र खोलिन्थ्यो । अरु कैदीबन्दी १२ घन्टा कोठाबाहिर बस्न पाउने भए पनि उनलाई ९ घन्टा मात्र कोठा बाहिर निकालिन्थ्यो । अरु १५ घन्टा कोठाभित्रै थुनिएर बस्नु पर्थ्यो । दिशा–पिसाब गर्नलाई मुख काटेको एउटा टिन थियो । त्यो १५ घन्टा दुर्गन्ध र एकलासपनले अलिक गारो पर्थ्यो । कोठाबाट निस्केपछि भने ‘ममात्र यहाँ राजबन्दी हुँ’ भन्ने भावनाले उनलाई गर्वबोध हुन्थ्यो ।

जनमत संग्रहताका छत्तीस सालमा पद्मसुन्दर लावतीको निर्देशनमा ठाउँ–ठाउँमा ‘बीपी चोर, देश छोड्’ भन्ने भित्ते लेखन गरिएको थियो । सुरेन्द्र जहाँ जहाँ त्यो लेखिएको भेट्थे, त्यसलाई काउन्टर दिँदै त्यसकै मुन्तिर ‘पञ्चे चोर, देश छोड्’ लेख्दै हिड्थे । कतै कतै ‘पञ्चे चोर…’ को ठाउँमा ‘पद्मे चोर…’ पनि लेख्थे । जनमत संग्रहको चुनावपछि २०३८ सालमा राष्ट्रिय पञ्चायतको आमचुनाव भयो । त्यो सकिएपछि लगत्तै २०३९ सालमा स्थानीय चुनाव भएको थियो । पञ्चायतको आमचुनावका बेला मतदाता प्रभावित पार्न पञ्चनेता पद्म सुन्दर लावतीले काफलबोटे, लुम्फाबुङमा राँगा, सुँगुर ढालेर ठूलो भोजको आयोजना गरेका थिए । सुरेन्द्रले ठट्टै ठट्टामा फिदिम बजारमा ‘त्यो भोजमा कुकुरको मासु मिसाइँदैछ अरे । आज राति बजारका कुकुर समातेर लैजाने काम गरेछन् !’ भन्दै हिडेछन् । साँच्चै नै लावतीको भोजमा मान्छेको उपस्थिति घटेछ ।

सबै किसिमका चुनाव सकिएपछि पद्मसुन्दर लावती र लावतीका दाहिनाहात मानिने तत्कालिन जिल्ला पञ्चायत सभापति अइन्द्र विक्रम थाम्सुहाङ आफ्ना विरोधीलाई कसरी तह लगाउन सकिन्छ भन्ने दाउमा थिए । त्यसबेलाका जल्दाबल्दा पञ्च नेतालाई खुशी पार्न सकिए आफ्नो सरुवा बढुवा अनुकूल सुइँको पाएर सिडियो टीकादत्त निरौलाले सुरेन्द्रलाई जेल मात्र हालेनन्, उनी सुरक्षा निकायका प्रमुखहरूको बैठकमा सुरेन्द्रलाई ‘सिध्याइदिने’, ‘तह लगाउने’, ‘साइजमा ल्याउने’ उपायबारे छलफल चलाउँथे । त्यतिबेला पाँचथरमा जिल्ला प्रहरी कार्यालयको प्रमुख इन्सपेक्टर दीपेन्द्र विस्ट र सेनाको गुल्मका प्रमुख मेजर स्वर्णसिं गुरुङ थिए । जिल्लापञ्चायत सभापति अइन्द्रले ‘यो सुरेन्द्रलाई प्रहरी हिरासतमा राखेर के कसरी हुन्छ, यातना दिएर काबू गराउनु पर्छ, यसले पञ्चायतको खिल्ली उडाएको धेरै भयो’ भनेका रहेछन् । सिडियोले त्यो कुरा उठाउँदा इन्सपेक्टरले भनेछन्- ‘त्यसरी हुँदैन, अंगभंग भयो भने भोलि अरु समस्या आउन सक्छ ।’ सेनातिर सिडियोको ठाडो हुकुम नचल्ने भएर मेजरले चाहिँ मुख फोरेरै भनेछन्- ‘एउटा सुरेन्द्र तिम्सिनालाई सिध्याएर यो देशका बहुदलबादी सकिन्छन् भन्ने सिडियोसाबको सोच गलत भयो !’ इन्सपेक्टरले पनि मेजरको आड पाएर थपेछन्- ‘सानो निहुँमा लामो समय थुनेर राख्दा सुरेन्द्र नै पछि ठूलो नेता भएर निस्किने हुन् !’ सिडियोको विचारमा सहमति जनाउने सुरक्षा प्रमुखहरू भएको भए, त्यतिबेलै सुरेन्द्रलाई सिध्याउने वा बेपत्ता पार्ने सिडियोको योजना रहेछ । पछि थाह भयो, यसरी सिडियोसित कूटनीतिक कुरा गरेर सुरेन्द्रलाई जोगाउने इन्सपेक्टर र मेजर दुवै काङ्ग्रेसप्रति सहानुभूति राख्ने सुरक्षा अधिकृत रहेछन् ।

२०६२–६३ को आन्दोलनमा पक्राउ परेर महेन्द्र पुलीस क्लबमा सुरेन्द्र थुनिएका बेला त्यसबखत डिआइजी भइसकेका दीपेन्द्र विस्टले सुरेन्द्रलाई त्यहाँ देखेर सबैका अगाडि भने– ‘पञ्चायतकालमा यी सुरेन्द्रलाई सिडियोदेखि जोगाउन मलाई बहुत गाह्रो भएको थियो । त्यसबेलादेखि अहिलेसम्म थुनिने ठेक्का काङ्ग्रेसमा यिनले मात्र पाएका छन् कि क्याहो ? त्यत्रो वर्ष काङ्ग्रेस सरकारमा हुँदा पनि यिनले कुनै अवसर पाएनन् । प्रजातन्त्र आएपछि सुख पाउलान् भनेको अहिलेसम्म पनि थुनिने, कुटिनेमा यिनै अगाडि रहेछन् !’ यो कुरा सुन्नेमा काङ्ग्रेसका रामशरण महत पनि सँगै थिए ।

त्यसपछि आफूले सकेको जति आफैंले गर्ने र सुरेन्द्रलाई काबू पारेँ भनेर लावती रिझाउने उद्देश्यले जेलमा हालेको एक महिनापछि सिडियोले कागज गराएर छोडिदिने बहानामा जेलबाट सिडियो अफिसमा झिकायो । सिडियोले ‘पञ्चायतको खिलाफमा अबदेखि लाग्दिनँ, अब उप्रान्त लावतीको भक्ति गर्छु भन्ने कागजमा सहिछाप गरे छोडिदिन्छु’ भन्यो । त्यस्तो असंभव शर्त सुरेन्द्रले मान्दैनन् र कुटीकुटी तह लगाउने निहुँ पाउँछु भन्ने सिडियोको सोच थियो । नभन्दै सुरेन्द्रले सिडियोको शर्तनामा ठाडै अस्वीकार गरे । सिडियोले फेरि गाली गरेर ‘तँ अराष्ट्रिय तत्व, तँ विदेशीको तलुवा चाट्ने र तँ बीपी को भोटे कुकुर !’ आदि, इत्यादि भन्न थाल्यो । भर्खरै पुलिसको राशन ठेक्कामा सिडियोले ठेकेदार पूर्ण थापाका भाइ डम्बर थापाबाट दश हजार घुस खाएको सुरेन्द्रलाई थाह थियो । उनले रिसको झ्वाँकमा पनि ‘रासन ठेक्कामा दश हजार घुस खानेले मलाई राष्ट्रवाद सिकाउनु पर्दैन….’ भनिदिए । आफूलाई घुस्याहा भनेको सुनेर सिडियो रिसले तिरीमिरी झ्याइँ भयो । सिडियो कार्यालय त्यतिबेला रुद्र नेम्ब्वाङको झिँगटीको छानो भएको घरमा भाडामा बसेको थियो । माथ्लो तलाको सिडियोको कार्यकक्षको भूइँमा काठको पटाइ र काठकै बलो, निदालहरू थिए । आप्mनो कार्यकक्षका सबै झ्यालढोका बन्द गर्न लगाएर ‘आज तँलाई स्वाद चखाउँछु’ भनेर सुरेन्द्रलाई खाँबामा बाध्न लगायो । सुरेन्द्रकै चिनजानका मान्छे थाक्लेका बेदनिधी खनाल त्यो बेला सिडियो अफिसमा पियन थिए । अरु ३-४ जनाले सुरेन्द्रलाई च्यापचुप पारेर समाते, बेदनिधीले रुँदैरुँदै सुरेन्द्रलाई बाँधे । सिडियोले लठ्टी ल्याउन अरायो । आँगनमा नस्पातिका रुख थिए । कसैले त्यही नस्पातिका हरिया हाँगा ४-५ ओटा काटेर ल्याइदियो । लगभग एक घन्टासम्म थकाइ मारीमारी क्रूर सिडियो टीकादत्तले आप्mनै हातले ती छडी धुजाधुजा हुन्जेलसम्म मरणासन्न हुने गरी सार्वजनिक रुपमै सुरेन्द्रलाई कुट्यो । कुट्दा शुरुमा त सुरेन्द्रले अलिअलि दुखेको थाह पाउँदै थिए, तर अलिकबेर पछि शरीरभरि सुम्ला उठिसकेकोले तातोतातो मात्र हुनथाल्यो । थाह पाउँदासम्म सिडियोलाई एक लात्ती उनले पनि फर्काउन भ्याए । त्यसपछि थाह हुन छोड्यो ।

कुटिसकेर पनि राति एघार बजेसम्म सिडियोले छोडेन । रात चकमन्न भएपछि त्यतिबेला जिल्लामा सोझो र भलाद्मी हाकिम भनेर चिनिने नरम बोलीबचनका सहकारी कार्यालयका प्रमुख देवीप्रसाद ओझालाई बोलाएर ‘सिडियोसापसित मुख लाग्नु हुँदैन बाबू !’ भन्न लगाउँदै बाँधेको डोरी फुकाल्न लगायो । उहिले राणाहरूले फाँसी दिएपछि शहीदका छातीमा ‘श्री ३ को खिलाफमा गाथगादी ताक्नेको यस्तै गति हुन्छ’ भन्ने कागज लेखेर टाँस्न लगाइ दुनियाँमा त्रास सिर्जना गर्न शहीदको लाशलाई सार्वजनिक रुपमा दिनभरि झुण्याएका थिए । रिसले चूर भएको सिडियोले थाकुञ्जेल कुटेपछि त्यही राणाशासनको शैलीमा ‘पञ्चायती व्यवस्थाको विरोध गर्ने अराष्ट्रिय तत्वहरूको यस्तै हालत हुन्छ भनेर दुनियाँदारलाई देखाउन यसलाई लगेर त्यसका घर अगाडि फ्याँकिदेओ’ भनेर अह्रायो ।

सुरेन्द्र थुनाबाट मुक्त त भए त झण्डै अङ्गभङ्गको हालतमा । हिँड्न सक्ने भएपछि सिडियो टीकादत्त निरौलाविरुद्ध कुटपिटको फौज्दारी मुद्दा दर्ता गर्न अदालत गए । कुटपिट मुद्दाका लागि पुलिसको रोहबरमा नील-घा चाँज गरेको रिपोर्ट चाहिन्थ्यो । सिडियोकै मातहतको प्रहरीबाट सिडियोकै बिरुद्ध प्रमाण लाग्ने नील-घा जाँचको रिपोर्ट पाउन सम्भव भएन । प्रहरीले नील-घा चाँजमा साथ नदिए सो कुरा खोली जनप्रतिनिधिले पनि रिपोर्ट प्रमाणित गर्न पाउने कानूनमा रहेछ । यसैबमोजिम काङ्ग्रेसबाटै उठेका तत्कालिन प्रधानपञ्च हरिश्चन्द्र नेम्वाङले नील-घा जाँच प्रमाणित गरिदिए । तर जिल्ला अदालत सिडियो विरुद्धको नालिस लिन डरायो ।

त्यसपछि उनी माथ्लो तहको अदालतमा अपिल गर्न अञ्चल अदालत इलाम गए । त्यतिबेला जिल्ला, अञ्चल, क्षेत्रीय र सर्वोच्च गरी चार तहका अदालत थिए । अञ्चल अदालत समेत बहालवाला सिडियोको विरुद्ध मुद्दा लिन हच्कियो र बहालवाला सिडियोलाई कुटपिट मुद्दा लगाउन तालुक मन्त्रालयको स्वीकृति चाहिन्छ भनेर फर्कायो । सिडियोको तालुक मन्त्रालय त्यो बेला पनि गृह मन्त्रालय हुन्थ्यो । सुरेन्द्र अञ्चल अदालतको बहानाबाजीमा चित्त नबुझाएर क्षेत्रीय अदालत धनकुटा पुगे र भने ‘ठीक छ, म त आज अन्याय सहेर बाचूँला श्रीमान् तर भोलि न्यायधिशकी छोरीलाई सिडियोले बलात्कार ग¥यो भने सिडियोलाई मुद्दा चलाउन गृह मन्त्रालयबाट सिफारिस ल्याउन सम्भव हुन्छ ?’

बल्ल क्षेत्रीय अदालतले जिल्ला अदालतका नाममा मुद्दा दर्ता गर्न निर्देशनात्मक आदेश दियो । यो आदेशपछि जिल्ला अदालतमा मुद्दा त दर्ता भयो । इलामबाट छापिने ‘मेची प्रवाह साप्ताहिक’ले समाचार लेख्यो- ‘बहालवाला सिडियोलाई नेवि संघका नेताले हाले अदालतमा मुद्दा’ । त्यसबेला जिल्लाका न्यायाधिश थिए, नन्द प्रसाद पौडेल । त्यतिबेला यस्तो मुद्दा दुई वर्षभित्रमा छिनीसक्नु पर्ने कानूनी व्यवस्था रहेछ । सात दिन लगाएर साक्षीहरूको बकपत्र पनि भइसकेको थियो । तर सिडियोका बिरुद्ध फैसला गर्न न्यायाधिश पौडेल डराए । पौडेलले सुरेन्द्रलाई बोलाएर मिलापत्र गर्न ठूलो दबाब दिए । सुरेन्द्र व्यपारी पनि थिए । ‘मिलापत्र गरेर मुद्दा फिर्ता नलिए तँलाई कालो बजारी मुद्दामा फँसाउँछु’ भनेर सिडियो धम्की पनि दियो । तर उनी मुद्दा चलाउने कुरामा अडिग रहे । ४२ सालको बमकाण्डमा सिडियोले फँसाउन पनि प्रयास गऱ्यो तर बमकाण्डको बाछिटा पनि नपरेको पाँचथरमा सुरेन्द्रलाई त्यसमा सफल भएन । पर्याप्त प्रमाण, नील-घा जाँचको कागज, आठ जना देखिजान्ने साक्षीको बकपत्र हुँदँहुँदै पनि सिडियोले न्यायाधिलाई प्रभावमा पारेर जिल्ला अदालतमा मुद्दा हरायो । उनी जिल्लाको आदेशविरुद्ध अञ्चल अदालत भए । अञ्चल अदालतले प्रमाण हेरेर फैसला गर्नेमा उनी विश्वस्त थिए तर तारेख भ्याउन वारेसलाई जिम्मा दिएकोमा भूलवश वारेसले तारेख गुजारी दियो । त्यसपछि बादीले नै तारेख गुजारेको भनी मुद्दा डिसमिस भयो र न्याय पाउनबाट उनी बञ्चित रहे ।

त्योभन्दा अगाडि पाँचथरबाट पञ्चायत विरुद्ध सशस्त्र क्रान्तिको बिगुल फुक्ने देवान दोर्जे, मच्छिन्द्र केरुङ, गणेश थाम्सुहाङ, भवानी विक्रम नेम्बाङ, कृष्ण विक्रम नेम्वाङ जस्ता अघिल्लो पुस्ताहरू थिए । यस क्रममा कृष्ण विक्रम नेम्बाङ, गौरीलाल बाँस्तोला, दधिराम घिमिरे, ध्रुवहाङ नेम्वाङ प्रहरीको हातहतियार लुटपाट गरेको आरोपमा पक्राउ परेका पनि थिए । भारततिर भागेर पक्राउ पर्नबाट जोगिएकाहरूको टाउकामा राजकाज, हातहतियार तथा खरखजनाको मुद्दा थियो । तर जनमत संग्रहमा बहुदललाई हराइएपछि र वीपी को पनि निभन भएपछि काङ्ग्रेस सुस्ताउँदै गएको थियो । जनमत संग्रहताका बीपीले नै बहुदलको जित भए प्रधानमन्त्री हुने व्यक्ति भनेर सार्वजनिक घोषणा गरेका नेपाली काङ्ग्रेसका तत्कालिन महामन्त्री परशु नारायण चौधरी दलबल सहित पञ्चायत प्रवेश गरेका थिए । त्यसैको सिको गर्दै इलामका वेनुपराज प्रसाई, झापाका केशव कुमार बुढाथोकी लगायत काङ्ग्रेसका कयौँ नेता, कार्यकर्ता पञ्चायततिर पलायन भए । यस्तो प्रतिकूल समयमा खुँखार पञ्चायती प्रशासकसित बहुदलबादी कुरा गरेर एक किसिमले निरस्त्र क्रान्ति नै गरे बापत प्रशासनद्वारा चरम यातना दिएर सताइएका पछिल्लो पुस्ताका सुरेन्द्र तिमल्सिना पाँचथरमा एक जना मात्र थिए ।

इमान भएको बहादुरको प्रशंसा शत्रुले पनि गर्छ । इतिहासमा अंगे्रजहरूसित बहादुरीपूर्वक लडेका बलभद्र कुँवर, भक्ति थापाको सम्मानमा युद्धपछि अंग्रेजहरूले शिलालेख छोडेर उनीहरूको बहादुरीको प्रशंसा गरेको पढ्न पाइन्छ । पञ्चायतकालभरि सताउने पाँचथरका जल्दाबल्दा पञ्च नेताले जीवनका अन्तिम कालखण्डमा आएर भए पनि सुरेन्द्रको बहादुरीको प्रशंसा गरे तर त्यसपछि लावती र थाम्सुहाङ दुवै जना धेरै समय बाँचेनन् ।

पद्मसुन्दर लावती र अइन्द्रविक्रम थाम्सुहाङसित घनिष्ठता बढ्नुका कारणहरू रोचक छन् । २०६२-६३ को आन्दोलन गणतन्त्रतर्फ नै लक्षित भइरहेको थियो । माओवादी समेत सम्विधान सभाको चुनाव गर्ने शर्तमा संसदीय गणतन्त्रमा आउने गरी सडक आन्दोलनमा सम्लग्न हुन थालेपछि आन्दोलनले गति लियो । राजावादी पञ्चहरूले पनि आन्दोलनको उभार अनुभव गर्न थालेका थिए र काँगे्रस, एमालेलाई माओवादीका मतियार भनेर सत्तोसराप गर्न थालेका थिए । यसै क्रममा ललितपुरको ग्वार्कोमा आन्दोलन हुँदै गर्दा आक्रोशित आन्दोलनकारी अघिल्लो दिन मात्र टिभीमा आन्दोलनकारीलाई गाली गरेका पद्मसुन्दर लावतीको घर ध्वस्त पार्न अघि बढ्यो । यो थाह पाएर सुरेन्द्रले ‘यो घरमा लावतीका आमा, छोरा मात्र बस्छन्, लावती बस्ने घर त तीखे देवलतिर अर्कै छ’ भनेर आन्दोलनकारीसित भिडेर त्यो घरमा आगो लगाउन दिएनन् । आफ्नो घर जोगाइदिएको थाह पाएर लावतीले केही मान्छेसित ‘सुरेन्द्रलाई मैले धेरै अन्याय गरेँ, तर यो सबै बिर्सिएर मेरो घर जोगाएदिएछ, मान्छे त धर्मात्मा रहेछ’ भनेछन् । अलिक पछि लावतीले सुरेन्द्रलाई फोन गरेरै धन्यवाद दिए र तपाईं जस्तो इमान्दार छोरा जन्माउने बाबुआमालाई भेट्न जान्छु भनेर थर्पुबाट हिडेरै त्यस बेला च्याङथापु पुग्नुभएका बुबाआमालाई भेट्न गए ।

यसैगरी पञ्चायतकालमा सुरेन्द्रलाई प्रहरी हिरासतमा चरम यातना दिएर कायल गराउन खोज्ने अइन्द्रविक्रम थाम्सुहाङ्ले २०६४ सालको संविधानसभाको चुनाव आउँदै गर्दा सुरेन्द्रलाई अनामनगरस्थित आफ्नो डेरामा बोलाएर भने- ‘तपाइँ जस्तो मुटु नै नभएको बाहुन पाँचथरमा मैले अर्को देखेको छैन । तर तपाइँलाई दाजु र दीपक बाँस्कोटाले भोटे कुकुर मात्र बनाए, प्रयोग मात्र गरे…! तपाइँमाथि हामीबाट विगतमा केही नराम्रो भएकै हो । त्यसबेला गलत सोचिएछ । अब हामी मिलौँ…..! जातिवाद विरोधी पाँचथरका सबै मतदाताले तपाइँलाई भोट दिने देख्छु । ’ उनले सम्विधान सभाको चुनावमा अब पार्टीबाट टिकट लिएर उठ्नुहोस्, म पनि सघाउँछु भनेर वचन मात्र दिएनन्, चुनाव खर्च वापत पाँच लाख दिने प्रतिवद्धता समेत जनाएका थिए । यो सबै कुरा अएन्द्रका साढुभाइ दीपक भण्डारीकै अगाडि उनले भनेका हुन् ।

२०४६ साल फागुन ७ गतेदेखि पञ्चायतको विरुद्ध जनआन्दोलन हुने भएको थियो । माघ अन्तिम हप्ता नै काङ्ग्रेसको जिल्ला कार्य समितिमा रहेका सबैजसो नेतालाई प्रशासनले पक्राउ गरेर जेल हाल्यो । फागुन २० गते सुरेन्द्रको बिहे थियो । त्यसका लागि पत्र लगाउने काम पनि भइसकेको थियो तर पुलीसले फागुन ७ गते नै समातेर प्रहरी हिरासतमा थुन्यो । अरु सबैलाई पक्राउ गरेर सिधै जेलमा राखिएको थियो । त्यो बेला काङ्ग्रेसको कार्य समितिमा रहेका बाहेक उनी मात्र पक्राउ परेका थिए । साँगुरो कोठामा जँड्याहाहरूसितै उनलाई ७ दिनसम्म थुनेर राखियो । फागुन १५ गते पत्र लागिसकेको बिहे रोक्नु हुँदैन भन्ने मान्यता भएकाले बल्ल बिहे गर्नका लागि भनेर तत्कालीन प्रधानपञ्च भीम ओझाको जमानीमा उनलाई छोडियो । बिहे सकिने बित्तिकै पुलीसले पक्राउ गर्न खोजेको थियो तर चैत्र २४ गते राति राजाबाट पञ्चायत अन्त्यको घोषणा नभएसम्म उनी पुलीसबाट लुक्दै छिप्दै आन्दोलनमा सरिक भएका थिए ।

२०५३ सालमा दीपकप्रकाश बाँस्कोटा गृह राज्यमन्त्री भएका बेला सुरेन्द्र लगायत पाँचथर जिल्लावासी धेरै जना मन्त्री निवासमा बसिरहेका थिए । २०४० सालमा सुरेन्द्रलाई बर्बर तरिकाले कुटेर महापञ्च लावतीलाई पराक्रम देखाएर बक्सिस थाप्ने सिडियो टीकादत्त त्यसबेलासम्म खाँटि काङ्ग्रेस भइवरी काङ्ग्रेसकै सिफारिसमा राजश्व अनुसन्धान विभागको महानिर्देशक भइसकेको थियो । मन्त्री भेट्न आएको टीकादत्तको मन्त्रीसितै रहेका सुरेन्द्रसित जम्काभेट भयो । टीकालाई देख्ने बित्तिकै सुरेन्द्रले ‘ए केटा हो, यो भ्रष्ट मण्डले कहाँबाट यहाँ आइपुग्यो ? लौ समात यसलाई !’ भनेर झम्टेका के थिए, मन्त्रीको सुरक्षा गार्ड र अरुले सुरेन्द्रलाई समाते । त्यही मौकामा टीकादत्त छाड्तोस कसेर भाग्यो । अर्को पटक ऊ गृहसचिव भएका बेला प्रधानमन्त्री सूर्यबहादुर थापाकोमा सुरेन्द्र माआवादीपीडितको तर्फबाट डेलिगेसन गएका थिए, टीकादत्त प्रधानमन्त्री भेट्न त्यहाँ आइपुग्यो । टीकालाई देख्नासाथ सुरेन्द्रले सूर्यबहादुर थापासित भने- ‘यो टीकादत्त भ्रष्टाचारी हो प्रधानमन्त्रीज्यू ! पाँचथरमा सिडियो भएका बेला यसले धेरै घुस खायो, रेकक्रसको मण्डी चोऱ्यो । यसको चोरी र घुसको विरोध गर्दा मलाई बहुदलवादी भनेर जेलमा हाल्यो !’ प्रधानमन्त्री सूर्यबहादुर थापा ट्वाँ परे । टीकादत्त नीलोकालो भयो तर चूपचाप रह्यो ।

प्रजातन्त्र आइसकेपछि धेरै काङ्ग्रेसका कार्यकर्ता सुकिलामुकिला भएर शहर पसे र सत्ताको तर मार्नतिर लागेर मोटाघाटा भए । पार्टीमा चैते, कात्तिके काङ्ग्रेसहरू हाबी भए । सुरेन्द्र भने २०५० सालमा आफ्नै जन्मथलो पाँचथरको सुदूरपूर्व भारतसित सीमाना जोडिएको गाउँ च्याङथापु फर्किए । च्याङथापुमा मोटरबाटो पुगेको थिएन । मेची राजमार्गको गोपेटारबाट १० घन्टा कस्सिएर हिँड्दा मात्र गाउँमा पुगिन्थ्यो । दुर्गम गाउँमा बसेर उनी स्वास्थ्य, शिक्षा, कृषि, रोजगारीका क्षेत्रमा विभिन्न अभियान चलाउन थाले । गाउँलेहरूलाई भात र तरकारी बराबरी खान सिकाए । केटाकेटीका अगाडि जाँडलाई ‘खाजा’ भन्न नपाइने, ‘विष’ भन्नुपर्ने नियम बनाए । छोराछोरीलाई अनिवार्य विद्यालय पठाउनुपर्ने चलन चलाए । २०५१ सालमा मासिक पढाइ शुल्क रु. ३० तिरे पुग्ने सस्तो अंग्रेजी स्कूल खोलेर भारतको सिक्किम, दार्जिलिङबाट शिक्षक ल्याएर कक्षा १ देखि ५ सम्मको कक्षा चलाउन थाले । ‘इभर ग्रीन’ नामको यो स्कूलमा भर्ना लगायतका अरु कुनै शुल्क लाग्दैनथ्यो । धान कुट्ने, मकै पिस्ने, तोरी पेल्ने तीनै किसिमका मिल स्थापना गरे । ६० ओटा अंगोरा खरायो पालेका थिए । ५०० बोट लप्सीको विरुवा लगाए । क्यान्सरको औषधि लोठ सल्लको खेती शुरु गरे । माछा पालन, चिराइतो खेती, अलैँची खेती गर्दै हाते कागज उद्योग खोले । गाउँलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर गाई, बाख्रा, परेवा, हाँस, कुखुरा, मौरी पाले । सिक्किमको रिम्बिकबाट उन्नत जातको अम्लिसो ल्याएर रोपे । सुन्तलाको बगान लगाए । रसायनिक मलमाथिको निर्भरता हटाउन सबैले आफ्नो खेतबारीमा पुग्ने गरी गाइबस्तुको सोत्तरबाटै प्रांगारिक मल बनाएर प्रयोग गर्नुपर्ने थिति बसाए । गाउँमा सबैले दैनिक ८ घन्टा काम गर्नु पर्ने र वर्षको २ दिन विपन्न वर्गका लागि वा सामाजिक कामका लागि समय दिनु पर्ने अभियान चलाए । आफ्नै पहलबाट गाउँमा सोलार र ४ लाइन टेलिफोन पुऱ्याए । ५० हजार पूँजीको सामूहिक ऐँचोपैँचो कोष स्थापना गरे । त्यो पैसाले युवा वर्गले जोरपोखरीबाट उन्नत जातका बंगूरका पाठा वा आलुको बिउ ल्याएर आय आर्जनको काम गर्नु पर्ने, त्यो पनि नसक्नेले रिम्बिकबाट चियापत्ती ल्याएर बेच्ने वा सुन्तलाको व्यपार गर्नु पर्ने नियम थियो । गाउँलाई हरेक किसिमले नमूनाको रुपमा स्थापित गर्न उनी दत्तचित्त भएर खटिरहेका थिए । यस्तैमा २०५८ सालमा माओवादीहरू गाउँमा आइपुगे । पुलीस चौकी पहिले नै उठेर गइसकेको थियो । सुरेन्द्र त्यसबेला नेपाली काङ्ग्रेसको महासमिति सदस्य थिए र प्रशासनले पनि गाउँमा नबस्न सल्लाह दिएको थियो । तर मैले कसको के बिगारेको छु र ? भन्दै उनी गाउँमा बसिरहेका थिए ।

एक दिन माओवादीहरू दलबलसहित उनलाई भेट्न आए । माओवादीका नेता रहेछन्, कुमार चुँडाल । तिनले सबैभन्दा पहिला टेलिफोनको चाबी खोसे अनि ‘हामीलाई ५० हजार दिएर तपाइँ पनि हामीसितै हिड्नुहोस् अब’ भने ।

उनले भने- ‘मसित त्यत्रो पैसा छैन । मेरा सबै काम सेवामुलक हुन्, नाफामुखी होइनन् । बोर्डिङ स्कूलका मास्टरलाई पैसा नभएर तलब दिन सकेको छैन, कहाँबाट ल्याएर ५०,००० दिनु ? म पनि पञ्चायती व्यवस्था विरुद्ध लडेर जेलनेल भोगेको मान्छे हुँ । गाउँमा बसेर सबैलाई सक्दो सहयोग नै गरेको छु, गाउँलेलाई सोधे हुन्छ, मैले के बिराएको छु र ?’

तर माओवादी नेता रिसायो र धम्कीको भाषामा भन्यो- ‘त्यसो भनेर कहाँ हुन्छ ? तपाईंको नेता शेरबहादुरले मेरा बाबुलाई मारेको छ । शेरबहादुरको नून खानेहरूलाई हामीले किन जिउँदै छोड्ने ? खुरुक्क हामीले भनेको मान्नुस् !’

माओवादीहरूले चन्दा नदिएको निहुँमा, सुराकीको निहुँमा र सामन्ती शोषक भन्ने बिल्ला भिराएर धमाधम मान्छे मारिरहेको समय थियो त्यो । प्रष्ट शब्दमा माओवादी नेताले नै ज्यानको धम्की दिएपछि ज्यान जोगाउने उपाय त खोज्नै पऱ्यो । उनले भने- ‘मसित अहिले ५० हजार छैन । पैसा नदिइ नहुने हो भने खोजेर पर्सिसम्ममा ७,००० जति दिन सक्छु ।’

चुँडालले भन्यो- ‘धेरै लोलोपोतो नगर्नुहोस्, हामीसित गलफत्ती गरेर बस्ने समय छैन । तपाईंसित कुरा गर्न हाम्रा लालसेना आउँछन् अब । बाँकी कुरा उनीहरूसितै गर्नुस् ।’ यति भनेर माओवादीहरू खालि भएको नजिकैको प्रहरी चौकीमा आगो लगाउन थाले ।

अब गाउँमा बसिरहनु खतरा हुने प्रस्ट थियो । त्यहि बेलुका सुरेन्द्र ८ वर्षदेखि अनेक दुःख गरेर र दिनरात पसिना बगाएर जोडेको उद्यम र सारा सम्पत्ति त्यत्तिकै छोडी जीउमा लगाएको एकसरो लुगामै ४ वर्षकी छोरी च्यापेर श्रीमतीसहित दाजु राजेन्द्र, दाइकी छोरीसमेत सपरिवार घर छोडेर निस्किए । चप्पलकै भरमा हिउँ परेको बाटो जंगलै जंगल छिचोली पुसको जाडोमा रातारात सिक्किम निस्केर ३ दिनपछि झापा आइपुगे । घर छोडेर हिँडेपछि माओवादीले उनको घरमा लुटपाट गरे । सारा उद्यम, खेतिपाती तहसनहस भयो । कुखुराको सुली, बाख्राको बड्कौँला र पीना मिसाएर बनाएको मल मात्र प्रयोग गरेर अर्गानिक तरकारी र फलफूल उत्पादन गरी च्याङथापु, फलैँचालाई कृषि नमूना गाविस बनाउने सुरेन्द्रको सपना उजाडियो । उनी काठमाडौंमा आई आन्तरिक शरणार्थी भएर बस्न बाध्य भए ।

राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन शुरु गरेपछि दलहरू आन्दोलनमा गए । नेपाली काङ्ग्रेसले सुरेन्द्रलाई आन्दोलनको पाँचथर-काठमाडौं संयोजक तोक्यो । उनको काम थियो- काठमाडौंमा बसेका पाँचथरेहरूलाई भेला गरेर आन्दोलनमा उतार्नु । उनी सबैभन्दा ठूलो र अग्लो झण्डा बोकेर सधैँ आन्दोलनमा सरिक हुन्थे र टाडैबाट चिनिन्थे । एकदिन श्रीमतीलाई पनि लिएर आन्दोलनमा गएका थिए । न्यूरोड गेट नजिक पुलीसले लाठीमुङ्ग्री गर्दा दुबै जना लडेर घाइते भए । घाइते अवस्थामै पुलीसले गिरफ्तार गरेर हल्चोक लगी खाना, पानी बिना भोकै थुनेर बल्ल राति १२ बजे छोडिदियो । घरमा छोराछोरी साना थिए । बल्लतल्ल राति ३ बजे डेरामा आइपुग्दा छोरी भोकले रुँदारुँदै नीलो ओठ भएर त्यत्तिकै निधाएकी थिइन् ।

राजाको शासनविरुद्ध ४२ महिनासम्म आन्दोलन हुँदा उनी ३१ पटक पक्राउ परे । आन्दोलनका क्रममा महेन्द्र पुलीस क्लबदेखि स्टाफ कलेज जावलाखेलसम्म र १ दिन, २ दिनदेखि महिना दिनसम्म पनि थुनिए । कयौँपटक प्रहरीसित भिडन्त हुँदा प्रहरीले हानेको अस्रुग्याँसको सेल टिपेर प्रहरीतिरै फ्याँक्ने गर्दा हातमै पड्किएर अस्रुग्याँसको पीरोले नाकमा घाउ भएर पटक-पटक रगत बग्यो । आर्थिक संकट पनि थियो त्यो बेला र राम्रो उपचार गराउनेतिर ध्यान गएन । सामान्य रुपमा डाक्टरलाई देखाउँदा पिनास भएको भने । तर जति उपचार गरे पनि निको भएन । झन पछि गएर नाकबाट निरन्तर रगत बग्ने भयो । अनि मात्र थाह भयो नाकभित्र क्यान्सर शुरु भइसकेको रहेछ । द्वन्द्व पीडित र जन आन्दोलनका घाइते भएर पनि उपचारमा राज्यकोषबाट एक सुको सहयोग भएन, राज्यले पनि ‘ला’ भनेर दिएन, उनले पनि हात थापेर मागेनन् । आफ्नै खर्चमा उपचार गराएर क्यान्सरलाई पराजित गरे । तर नाकको क्यान्सर भएकाले अपरेशन गर्दा मुखमा पनि असर परेर अचेल बोली स्पस्ट छैन ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा कोइरालाले सुरेन्द्रलाई प्रधानमन्त्री निवास, बालुवाटारको सचिवालयमा जनसम्पर्क संयोजकको जिम्मा दिएका थिए । ३ नम्बर गेटनजिकै एउटा हल र कोठा थिए । त्यहि कोठामा एउटा कुर्सी थियो । त्यहाँ बसेर उनको जिम्मा त्यहाँ आएका मान्छेलाई चिया खुवाउने, तिनीहरूको गुनासा, समस्या सुन्ने, के गर्दा र कहाँ सम्पर्क गरेर उनीहरूको समस्या हल हुन्छ, त्यो उपाय निकाल्ने, जेष्ठ नागरिकलाई प्रधानमन्त्रीसित भेट गर्ने व्यवस्था मिलाइदिनुपर्ने थियो । आएका जति सबैका कुरा उनी सुन्थे र के गर्दा हुने हो, त्यो गर्न लगाउँथे । उनको कार्यालयमा बढी नै भीडभाड हुन थाल्यो । यहाँ बढी भीड भयो, भीड घटाउ प्रधानमन्त्रीलाई सङ्क्रमण हुन्छ भन्न थालियो । तर प्रधानमन्त्रीलाई भेट्न आएका कार्यकर्तालाई धपाउनु हुँदैन भनेर आउने जति सबैलाई उनले प्रवेश दिइरहे । मुख्य स्वकिय सचिव वसन्त गौतम थिए । उनलाई पनि गौतमले नियुक्ति पत्र थमाए । तर म तलब भत्ता लिन्न भनेर उनले नियुक्ति पत्र बुझ्न मानेनन् । एक दिन सुशीलले उनलाई सोधे- ‘त्यो नियुक्ति पत्र किन नबुझेको ? तलब भत्ता किन नलिने ?’ उनले जवाफ दिए- ‘म राजनीतिमा सर्वस्व गुमाएको मान्छे हुँ । त्यो नियुक्ति पत्र र तलब भत्ता मेरा लागि ५० लाख हारेको जुवाडेले रातभरि जुवाको खालमा बसेर ५०० जितौरी लिए जस्तो मात्र हो, अनि नलिएको ।’ सुशील कोइराला उनका कुरा सुनेर हासेँ । उनले पनि तलब, भत्ता बुझ्नू भनेर दबाबचाहिँ दिएनन् । उनले त्यहाँ ६ महिना प्रधानमन्त्रीको विश्वासपात्र भएर काम गरे, तर एक रुपैयाँ तलब लिएनन् । सरकारी गाडिको सुविधा पनि दुई दिन किन फुर्ति देखाउनु ? भनेर लिन मानेनन् ।

तर यस्तो निष्ठा र इमानको भरमा राजनीति गरेका सुरेन्द्र पार्टीको बाह्रौँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उठ्दा कतैबाट सहयोग पाएनन् । अचेल उनी जीवनभर आफूले संघर्ष गरेर जोगाएको पार्टीमा त्यागी र इमान्दार कार्यकर्ता पछाडि परेको र पार्टी सुकिलामुकिलाहरूको कब्जामा गइसकेको देखेर विरक्त छन् ।