यो आयोजना अब इतिहासकै असफलमात्र होइन बालुवामा पानी हालेजस्तो निरर्थक सावित हुँदैछ, काठमाडौंबासीको प्यास मेटाइदिने सन्तनेता स्वर्गीय केपी भट्टराईको सुन्दर सपनासमेत निकम्मा नेताहरूका कारण बदनाम बन्न पुगेको छ ।

तीन दशक समय खर्चिएर अर्बौं लगानी खन्याइएको मेलम्ची खानेपानी आयोजनाको गत सोमबार पुनः उद्घाटन गरियो, प्रधानमन्त्री प्रचण्डको हातबाट । राष्ट्रिय गौरवको आयोजना भनिएको यस आयोजनाको पछिल्लो अढाइ-तीन वर्ष अवधिबीच आठ पटक उद्घाटन भइसकेको छ । वर्तमान प्रधानमन्त्रीकै बुहारी तथा तत्कालिन खानेपानी मन्त्री वीना मगरबाट २०७७ असार २१ मा शुरु गरिएको उद्घाटनको श्रृङ्खला प्रधानमन्त्री प्रचण्डसम्म आइपुग्दा आठौँ गणना हुन पुगेको छ । वीना मगरपछिका खानेपानी मन्त्रीहरू मणि थापा, उमाकान्त चौधरीदेखि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसम्मले पनि कुनै कुनै तवरले मेलम्ची पानीको ‘उद्घाटन’ गर्ने अवसर पाएका छन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीदेखि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत बडो उत्साहका साथ मेलम्चीको पानी झर्ने धाराको टुटी खोलेर उद्घाटन-धर्म निर्वाह भइसकेको छ । तर, यसरी विभिन्न मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसमेतबाट उद्घाटन भइसकेको मेलम्चीले काठमाडौं उपत्यकावासीको पानीको प्यास मेट्न सक्नेमा भने अझै ढुक्क हुन नसकिएको अवस्था छ ।
पछिल्लो उद्घाटनका अवसरमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दीगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको भन्दै खानेपानीको दीर्घकालिन व्यवस्थाका लागि दोस्रो चरणको याङ्ग्री र लार्के नदी डाइभर्सनको कार्य निश्चित कार्ययोजना बनाइ अगाडि बढाइने अनि काठमाडौंवासीको खोनेपानीको प्यास सधैंका लागि मेटिने आशयको अभिव्यक्ति दिए । उद्घाटन गरिएको कति दिन या सातापछि फेरि मुहान बन्द हुने हो- सम्बन्धित विज्ञ भनिएकाहरूले समेत यकीन गर्न सकेका छैनन्, तर प्रधानमन्त्री/मन्त्रीहरू ढुक्कैले आश्वासन बाँडिदिन्छन्- अब काठमाडौंवासीको धारामा अटुट पानी झर्छ ! मेलम्चीको अप्ठ्यारो बाँध, कुलो या सुरुङ भन्दा पनि जटिल हाम्रा नेताजनको यस्तै मानसिकताको कारण नै मेलम्ची आयोजना झन्-झन् दुरुह वा विकट बन्दै गइरहेको बुझ्न अब धेरै माथापच्ची गरिरहनु नपर्ला ।
एउटै आयोजनाको उद्घाटन पटक-पटक गरिरहनुपर्ने आवश्यकता के छ ? यस प्रश्नको चित्तबुझ्दो जवाफ फर्काउन सम्भवतः शासकीय तहका कुनै पनि नेताले सक्दैनन् । आजका नेताहरू कुनै उपलब्धिमूलक काम पूर्ण गरेर नागरिकलाई सेवा दिनभन्दा ‘काम देखाएर’ जनतामा भ्रम बाँड्न उद्यत् देखिन्छन् । वास्तविकतामा देशको विकास र समृद्धि गरेर गौरवानुभूति गर्ने/गराउनेमा भन्दा यिनको अभीष्ट विकास र समृद्धिको सपना देखाएर वाहवाही लुट्नुमा केन्द्रीत रहेको प्रतीत भइआएकै कुरा हो । यिनका कर्म चुनावकेन्द्रीत हुने हुँदा कुनै पनि ठूला र महँगा आयोजना समयमै सम्पन्न गर्ने भन्दा पनि काम गरेझैँ देखाउँदै अल्झाइरहने, त्यसबाट अपारदर्शी तवरले अनुचित आर्थिक असुल गरिरहने अनि कामको ‘जश’ लिन होडबाजी गर्ने नेताहरूको प्रवृत्ति बनेको छ । यसैको एक ज्वलन्त उदाहरण हो मेलम्ची खानेपानी आयोजना । अन्यथा तीन वर्षको लक्ष्य लिएर शुरु भएको परियोजना तीन दशक बित्दासमेत यसरी दुर्दर्शाको शिकार अवश्य बन्ने थिएन ।
तितो यथार्थ हो कि मेलम्चीले काकाकुल जनताको पानीको प्यास नमेटेपनि शासकहरूको धनको प्यास मेटाइदिने गरेको छ । एक दुहुनो गाइ नै बनेको छ शासकहरूका लागि मेलम्ची । उद्घाटन गरेर ताम्रपत्रमा नाम खोपाउने शासकहरूको अभीष्ट यसले पूर्ति गरिदिएकै छ । यसैमा उनीहरू मग्न छन्, दास मानसिकताका कार्यकर्ताले ताली बजाइदिएपछि त नेताले शर्म महसूस गरिरहनु पनि परेन, आयोजना अधुरो रहे पनि !
वास्तवमा असारे भेलले गेग्रान थुप्रिएर मेलम्चीको मुहान थुनिएको र सोही बहानामा अलपत्र छोडिएको आयोजनाको काम एक-दुई महिनामै गेग्रान हटाएर बढीमा असोज-कात्तिकसम्ममा धारामा पानी झरिसक्नुपर्ने थियो । तर जनतालाई पानी खुवाउन भन्दा पनि शासकका लागि नगद सोहोर्न रसिलो मुहान सावित हुन पुगेको मेलम्ची आयोजना यतिका दिन असरल्लै रह्यो । कति वटा प्रधानमन्त्रीले उद्घाटन गरेपछि पानी अटुट हुने हो, अनि निरन्तर पानी दिन नसक्ने धाराको टुटी खोलेर उद्घाटनको प्यास मेटाउन किन उद्यत् हुन्छन् नेताजीहरू ?- यस्ता सवाल यतिबेला विष्मयकै विषय बनेका छन् ।
दुःखका साथ भन्नैपर्ने भएको छ कि कहिल्यै काम सम्पन्न नहुने यो आयोजना अब इतिहासकै असफलमात्र होइन बालुवामा पानी हालेजस्तो निरर्थक सावित हुँदैछ, काठमाडौंबासीको प्यास मेटाइदिने सन्तनेता स्वर्गीय केपी भट्टराईको सुन्दर सपनासमेत निकम्मा नेताहरूका कारण बदनाम बन्न पुगेको छ ।
प्रतिक्रिया