नागरिकको विदेश पलायन : शासकीय ज्यादतीको विद्रुप तस्बिर

नागरिकको विदेश पलायन : शासकीय ज्यादतीको विद्रुप तस्बिर


सत्ताको बागडोर सम्हालेका राजनीतिका नेतृत्वगण, स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रका उच्चपदस्थ, सरोकारवाला सबैले आ-आफ्नो इमान-जमान ठीक ठेगानमा नराख्ने हो भने भोलिका दिनमा तिनले ठूलै मूल्य चुकाउनुपर्ने निश्चित छ । यसतर्फ ध्यान-दृष्टि नपुऱ्याउने गतिछाडा र मतिभ्रष्ट नालायकहरू विरुद्ध अबका दिनहरू सहज हुने छैनन् नै ।
✍ राजबाबु शंकर

नेपाली नागरिकको विदेश पलायनको सार्वजनिक पछिल्लो आंकडा झस्काउने खालको छ । सन् २०२३ मा मात्रै १६ लाखभन्दा बढी नेपालीले देश छाडेको र सोही अवधिमा स्थायी बसोबास गर्नेगरी झण्डै ७१ हजार नेपाली विदेशिएको आँकडा पलायनको भयावह तस्बिर हो । स्वदेशमा रोजगारी र सुरक्षाको अवस्था जटिल बन्दै जाँदा विदेशिने क्रम बाक्लिएको छ । यस हिसाबमा समग्र नेपाल र नेपाली विदेशिएका तिनै नेपालीहरूले विप्रेषण गरेको रकमबाटै चलिरहेका छन् । विदेशमा गएकाहरूले कमाएर नेपाल रकम नपठाउने हो भने देशमा आजीविकामै ठूलो हाहाकार सिर्जना हुने अवस्था केही वर्षयता विद्यमान छ ।

पछिल्लो समय स्वदेशमा रोजगारी लगायतको वातावरण नहुँदा विदेशिने नेपालीको संख्या बढ्दो क्रममा छ । कोही रोजगारी त कोही अध्ययनका नाममा नेपाल छोडेर विदेश जानेहरूको अस्थायी र स्थायी बसोबास गरी दुई उद्देश्य रहने गरेको पाइन्छ । अध्यागमन विभागको प्रतिवेदन हेर्ने हो भने पछिल्लो ४ वर्षमा स्थायी रुपमा १ लाख ४६ हजार ९ सय ५१ जना नेपाली स्थायी बसोबास गर्न नेपाली नागरिकता त्यागेरै विदेश पलायन भएको तथ्यांकले बताउँछ । त्यसरी स्थायी बसोबासका लागि नेपालीहरू जाने गरेको मुलुकमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान र यूरोपका विभिन्न मुलुक छन् ।

त्यसैगरी, अस्थायी बसोबासका लागि ९२ हजारभन्दा बढीले नेपाल छाडेका छन् । रोजगारीका लागि चाहिँ पुरुष र महिला गरी सवा ७ लाख जति विदेशिएको अध्यागमन तथ्यांकमा सन् २०२३ मा अध्ययनका लागि मात्रै १ लाख ८ हजार ५ सय ४२ जना विदेशिनुको अर्थ पनि प्रकारान्तरले उतै बसोबास गर्ने पूर्वाधारको प्रारम्भिक चरण हो । नागरिक पलायनको यस्तो परिदृश्य देशका निम्ति घातक हो । नेपालमा जन्मी-हुर्की समाज र देशका लागि योगदान गर्ने बेला देश नै छोडेर भविष्यको खोजीमा विभिन्न पराई देशमा जानु पर्ने बाध्यता हो, रहर भने एकांश हुन सक्ला । तर, लगातार देशबाट पलायनको यस आंकडाले राम्रो संकेत गरेको छैन नै ।

त्यसो त विदेश जाने प्रचलन धेरै पहिलेदेखि नै विद्यमान थियो । परिवारको जीविका, बुढेसकालमा आराम र सुरक्षित भविष्यको सपनाले वैदेशिक रोजगारीमा जाने प्रचलन छँदैथ्यो । तर, अहिलेको जस्तो दिनहुँ र बाक्लो संख्यामा थिएन, त्यसमाथि पनि विदेशतिर नै कमाउने र उतै जीवन गुजार्ने चलन त निकै थोरै थियो । परिवारै विदेश पलायन हुने त झनै कम थियो । यही रफ्तार रहे, यो संख्या अझ विकराल हुँदै जाने र देश केवल अशक्त एवम् वृद्ध-वृद्धा बस्ने थलो मात्रमा सीमित हुने अवस्था अब टाढा हुने छैन ।

विदेश पलायनको मुख्य कारण भने मुलुकमा शासन व्यवस्थामा अस्थिरता, बेथिति, फोहोरी राजनीति, भ्रष्टाचार, अनाचार, दुराचार, माफियागिरी, तस्करी र नेताहरूको खुलेआम लूटतन्त्र नै हो । सत्ता र शक्तिमा भएकाहरूले जे पनि गर्न छुट अनि सर्वसाधारण, इमान्दार नागरिकले सधैं सकसपूर्ण जीवन व्यतीत गर्नुपर्ने विवशता यसको नेपथ्य कारण हो । यसमा अबचाहिं सत्ताको बागडोर सम्हालेका राजनीतिका नेतृत्वगण, स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रका उच्चपदस्थ, सरोकारवाला सबैले आ-आफ्नो इमान-जमान ठीक ठेगानमा नराख्ने हो भने भोलिका दिनमा तिनले ठूलै मूल्य चुकाउनुपर्ने निश्चित छ । यसतर्फ ध्यान-दृष्टि नपुऱ्याउने गतिछाडा र मतिभ्रष्ट नालायकहरू विरुद्ध अबका दिनहरू सहज हुने छैनन् नै । यसलाई चेतावनीका रूपमा बुझ्न नचाहे वा अटेर गरे नागरिकलाई निरन्तर तेजोहरण र जीविकाहरण गर्ने तिनले पनि पलायनको दिन कुर्न अब धेरै समय नबिताउनु पर्ला । चेतना भया !