वर्तमानमा हामीहरूले पनि पश्चिमाहरूले अपनाएको समग्र व्यहोरालाई सर्वथा उचित ठान्दै हंसन्याय नै नगरी अवलम्बन गरिरहेका छौँ । परिणामतः हामी आफ्ना नौजवान छोरा-छोरीलाई अध्ययन वा रोजगारीका सिलसिलामा विदेशिँदा इज्जतिलो महसूस गर्दै आफ्नो देशलाई ‘वृद्धाश्रम’ जस्तै बनाउन थालेका छौँ । के पश्चिमाहरूको जीवनशैली हाम्रो परिवेशमा साँच्चै नै अनुकरणीय हो त ?
✍ तिलक पौडेल

कुनैपनि हिसाबले अरूको व्यहोरालाई आफूले पनि लागू गर्नुलाई अनुकरण भनिन्छ । नेपाली बृहत् शब्दकोशमा ‘अनुकरण’ भन्नाले (सं.) ना. –
१. कुनै विषय, विचार वा कामको अनुसरण; कसैले केही गरेको देखी त्यसको नक्कल गर्ने काम; देखासिकी; नक्कल; अनुकृति ।
२. ग्रिसेली विद्वान् एरिस्टोटलद्वारा प्रतिपादित सम्पूर्ण कलालाई प्रकृतिको वस्तुगत पुनःसृजन मान्ने साहित्य सिद्धान्त ।
३. प्रकृति वा जीवनजगत्को कलात्मक पुनःसृजन । उल्लेख गरेको पाइन्छ । यस मानेमा अर्काको प्रसङ्ग ठीक वा बेठीकको ख्यालै नगरी अनुसरण गरियो भने त्यो अन्धानुकरण भयो । संयोग उल्लिखित शब्दकोशमा ‘अन्धानुकरण’लाई (अन्ध+अनुकरण) ना. विनाविचार कसैको अनुसरण वा अनुकरण गर्ने काम; एकोहोरो देखासिकी । भनेर अर्थ्याएको देखिन्छ ।
सके सपारौँ, नसके नबिगारौँ भन्नाले भैरहेको अवस्थाभन्दा सके राम्रो गरौँ नभए त्यत्तिकै रहन दिऔँ तर नराम्रो अवस्थातिर नलगौँ भन्नु हो । हामी भरतवर्षको केदारखण्डमा रहेका पूर्वीय संस्कारधारी हौँ, जसले-
‘अयं निजः परो वेति, गणना लघु चेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।’
भन्नाले ‘यो मेरो हो, यो उसको हो; यस्तो सोच सङ्कुचित चित्तवाला व्यक्तिहरूको हुन्छ; यसको विपरीत उदारचरित भएका व्यक्तिहरूका लागि त यो सम्पूर्ण धरती नै एक परिवार हो …’ भन्ने मूलमन्त्र आत्मसात् गरेका हुन्छौँ । यो मानेमा जो-कोहीले पनि राम्रो गरेका छन् भने त्यसको अनुकरण गरी आफूलाई पनि राम्रोतर्फ अघि बढाउनु हाम्रो धर्म नै हो, चाहे त्यो हिन्दू होस् वा बौद्ध, मुस्लिम होस् वा क्रिस्चियन … ! तर प्रयास भने सकारात्मकतातिरै हुनचाहिँ पर्दछ । व्यहोराउपर हंसन्याय (दूधको दूध पानीको पानी छुट्याउने हाँसको खुबी) गरी राम्रो ठहरेको व्यहोरा अवलम्बन गरियो भने निःसन्देह परिस्थिति सप्रन्छ पनि ।
वर्तमानमा हामीहरूले पनि पश्चिमाहरूले अपनाएको समग्र व्यहोरालाई सर्वथा उचित ठान्दै हंसन्याय नै नगरी अवलम्बन गरिरहेका छौँ । परिणामतः हामी आफ्ना नौजवान छोरा-छोरीलाई अध्ययन वा रोजगारीका सिलसिलामा विदेशिँदा इज्जतिलो महसूस गर्दै आफ्नो देशलाई ‘वृद्धाश्रम’ जस्तै बनाउन थालेका छौँ । के पश्चिमाहरूको जीवनशैली हाम्रो परिवेशमा साँच्चै नै अनुकरणीय हो त ? कि त्यसउपर पनि हामीले सोचविचार गरी केवल अनुकरणीय व्यहोराहरूको मात्र नक्कल/अनुसरण गर्नु पर्ने हो भन्ने विषयमा यस अलेखमा संक्षिप्त प्रकाश पार्ने जमर्को गरिएको छ । यसतर्फ उत्प्रेरित गर्ने स्व. राजीव दीक्षितका अभिव्यक्ति, बागभट ऋषिका सूत्रहरू, खप्तड स्वामीका कृतिहरूलाई हृदयङ्गम गरी वहाँहरूप्रति नतमस्तकतापूर्वक हार्दिक श्रद्धासुमन अर्पण गर्नु आफ्नो परम कर्तव्य ठान्दछु । यहाँ मूलतः हाम्रा राम्रा पूर्वीय संस्कारलाई वास्ता नगरी पश्चिमी शैलीका भाषा, भेषभुषा, खानपान, आनिबानी आदिमा गरिएको अन्धानुकरण उपर प्रकाश पार्ने चेष्टा गरिएको छ ।
भाषामा अन्धानुकरण :
हाम्रो पूर्वीय आदि भाषा संस्कृत रहेछ । भनिन्छ जर्मनमा पनि संस्कृत विश्वविद्यालय छ र त्यसमा अध्ययन गर्न अरूभन्दा महँगो छ । हामीले सनातनी रूपमा गुरुकुल आश्रममा अध्ययन गर्ने गर्दथ्यौँ । बीस-पच्चीस वर्षसम्म ब्रह्मचर्यमा रहेर गरिने सो अध्ययनले हामीलाई संस्कारी बनाउँथ्यो, त्यसैबाट हाम्रो संस्कृतिको विकास भएको थियो । आफूभन्दा ठूलाको आदर गर, आफूभन्दा सानाको माया गर भन्ने मूल मन्त्र हुन्थ्यो । सामाजिक कुसंस्कारको कल्पनासम्म हुँदैनथ्यो ।
‘अष्टोदश पुराणेषु, व्यसस्य वचन् द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडम् ।।’
अर्थात् ‘अठार पुराणको रचनाको सारमा व्यासले अर्काको उपकार गर्नु धर्म/पुण्य हो र अरूलाई दुःख/पीडा दिनु अधर्म/पाप हो’ भन्ने आदर्श वाक्यबाट सबै सानैदेखि अनुप्राणित थियौँ । समाजमा शान्ति, सुव्यवस्थाका लागि यो नै काफी रहेछ ।
तत्कालीन नेपाली शासकहरू सन् १७६७ तिर इष्ट इण्डिया कम्पनीका अङ्ग्रेजीभाषीहरूको सम्पर्कमा रहेको बताइन्छ । यो मानेमा साढेपाँचसय वर्षदेखि हामीहरूबीच पनि ‘अङ्ग्रेजी’ले भाषाको रूपमा प्रवेश गरेको रहेछ । अचेल त यो बोल्न नजान्ने हो भने पाखे, अपठित जस्तो बनिन्छ । सञ्चारका माध्यमहरूमा पनि प्रायः सबैले दिनमा एकपटक भएपनि समाचारलाई अङ्ग्रेजीमा प्रसारण गर्ने गरेका छन् । कतिपय निजी क्षेत्रहरूमा त निवेदनादि पनि अङ्ग्रेजीमै दिनुपर्ने हुन्छ । आवाशीय होस् वा नहोस् अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयहरूलाई ‘बोर्डिङ स्कुल’ भन्ने गरिएको छ । जहाँ शिक्षिकाहरूले केटाकेटीहरूलाई आफूहरूलाई ‘मेडम’ भनेर सम्बोधन गर्न लगाइन्छ । जबकि अङ्ग्रेजीमा मेडमको अर्थ वेश्यालयकी मालिक्नी भन्ने पनि हुन्छ । यस्ता द्वयार्थी शब्दको प्रयोग किन पो गर्नु जरुरी छ र ! हाम्रो चलनको ‘गुरुआमा’ शब्द कति पवित्र छ, कति श्रवणनीय छ, कति सार्थक छ ! यस्तो सम्बोधन गर्न छाडेर हामी ‘अन्धानुकरण’ गरिरहेका छौँ ।
एकपटक सपत्नी घुमिरहेका साथीसँग शहरको मुटुमा जम्काभेट हुनपुग्यो । मित्रले आफ्नी ‘जीवनसङ्गिनी’सँग परिचय गराउँदै भने- सि इज माइ मिसेज !, मैले भनेँ- ‘रियल्ली’ ! वास्तवमा पश्चिमाहरू यौनिक क्रियाकलापहरूमा उदार देखिन्छन् । त्यसैले अव्यक्त रहरको न्यूनापूर्तिको परिणाम बेला-बेलामा पारपाछुके भैरहन्छ । यो मानेमा ‘एक रातको सहबसाइकी सहेलीलाई वास्तवमा ‘मिसेज’ भनिने गरिन्छ । यस्तो अर्थ लाग्ने शब्दावलीको प्रयोगले जीवनसङ्गिनीको सार हलुङ्गो मात्र बनाएन, अनर्थको भाव पो प्रकट गऱ्यो त ! काका, पुसाजू/फुपाजू, मामा सबैलाई ‘अङ्कल’ अनि दाजू, भाइ, साथी सबैजना ‘ब्रदर = ब्रो’ । फेरि साला, भिनाजू, सोल्टा जसलाई बोलाउनु परेपनि ‘ब्रदर इन ल’ ! भनिन्छ- जुन भाषामा नातागोताको स्पष्ट पहिचान हुने गरी सहज सम्बोधन हुने प्रावधान छैन, त्यो कमसल भाषा हो । हुन त अचेल आएर हामीकहाँ पनि बह्वर्थी शब्दावलीहरू प्रयोग गर्ने गर्न थालेका छौँ । उदाहरणका लागि दाइकी श्रीमती, साथीकी श्रीमती, जेठानकी श्रीमती, सोल्टाकी श्रीमती सबैलाई ‘भाउजू’ भन्ने गर्दछौँ । परिणामतः भाउजू सम्बोधन गरिएकी महिला वास्तवमा कसकी श्रीमती हुन् थाहा पाउन सङ्कोच नमान्ने हो भने सोधनी गर्नुपर्दछ । जबकि सोल्टिनी, जेठानी दिदी, भाउजू भनी सम्बोधन गर्ने हो भने को, के भनेर सोधिरहनु पर्दैन । अङ्ग्रेजहरूसँग शब्दको कमीले ‘इन ल’, अङ्कल, अण्टीको प्रयोग धेरै नाताहरूमा उपयोग गर्न बाध्य भएको व्यहोराको अन्धानुकरण !
वास्तवमा विश्वका १९५ मुलुकहरूमध्ये अङ्ग्रेजी भाषालाई कामकाजको भाषाका रूपमा ४५ देश र अन्य १९ देशमा मातृभाषाको रूपमा प्रयोग गर्ने गरिन्छ । यसमा जम्मा १२० मूल शब्द (धातु) रहेका छन् भने तत्सम/तद्भव समेत गरेर करिब दश लाख शब्दहरू मात्र छन् भनिन्छ । त्यसैले माथिल्लो अनुच्छेदको अवस्था अर्थात् बह्वर्थी शब्दको प्रयोग गर्न बाध्य भएका छन् अङ्ग्रेजी भाषीहरू । जबकि, हाम्रो आदि भाषा संस्कृतमा २२०० मूल शब्द (धातु) र कुल शब्द १०२७.८ अर्ब शब्दहरू रहेका छन् रे ! त्यही भएर पानीलाई सम्बोधन गर्ने संस्कृतमा झण्डै १०० शब्दहरू छन्, भनिन्छ । हुनपनि ‘जल’ सम्बोधनले कहिल्यै पनि ‘फोहोर पानी’ भन्ने जनाउँदैन । छहराको, जरुवाको, कुवाको, नदीको, इनारको, पोखरीको, कुलाको जस्ता सबै प्रकारका पानीहरूको छुट्टाछुट्टै शब्दहरू प्रयोग भएको पाइन्छ । त्यसैबाट पन्पेको नेपालीभाषालाई समेत हामीले छोरीले पनि बुवा, बुहारीले पनि बुवा, सोल्टिनीले पनि बुवा, सालीले पनि बुवा सम्बोधन गरेर ‘को बुवा ?’ भनी स्पष्टताको लागि पुनः प्रश्न गर्नुपर्ने स्थिति सिर्जना गराएका छौँ एकातिर भने अर्कोतिर ‘ड्याडी’ भनेर ‘बुवा’लाई ‘मरेको’ भन्ने अर्थ समेत लाग्ने शब्द प्रयोग गर्ने गरेका छौँ । अनि जन्मदातृ, जननी, आमालाई ‘ममी’ अर्थात् ‘शव’ (इजिप्सियन भाषामा) भन्ने अर्थ लाग्ने शब्दले सम्बोधन गर्दा गर्विलो महसूस गरेर भाषामा ‘अन्धानुकरण’ गरेका छौँ । भनिन्छ, भाषा बदल्नेले जन्मदिने आमा समेत फेर्न सक्छ अनि अङ्ग्रेजहरूमा आमाबाको सम्मान गर्ने संस्कार छैन, आफ्नो अनुकूलताका खातिर ममी/पापा पनि इम्पोर्टेड खोज्नेछन् !
अङग्रेजहरूले छाडेर गएपछि भारतमा टोलैपिच्छे धमाधम कन्भेन्ट स्कूल खुले । जहाँ टाइसुट लगाएर अङ्ग्रेजी भाषामा पढ्न पाइन्छ । वास्तवमा कन्भेन्ट स्कूल भन्नाले वेवारिसे बालकहरूलाई पढाउने स्कूल भन्ने अर्थ लाग्छ र त्यहाँको प्रमुखलाई ‘फादर’ भन्ने गरिन्छ । यसको कारण ‘मिसेज’ले पनि बच्चा जन्माउने हुनु र त्यस्तोलाई चर्च, अनाथालय आदिमा कोही, केही नभएका केटाकेटीका रूपमा छाडिदिनु अनि ती बच्चाहरू पढाउन त्यहाँका सरकारले आफ्नो दायित्व सम्झनुले त्यस्ता कन्भेन्ट स्कूलहरू खोलिए र त्यहाँका प्रमुख व्यक्तिलाई तिनै वेवारिसे केटाकेटीका बाउका रूपमा ‘फादर’ भन्ने गरिएको हो । नत्र त आफ्नी जीवनसङ्गिनीसँग जन्मेका केटाकेटीहरूको त स्वयं आफैँ फादर भैहाल्छ नि ! हुनपनि कुनै बच्चाको पिता भन्नु त एकमात्र हुन्छ । हामीहरू यसरी कुनै व्यहोरा उपर हंसन्याय गर्न नसक्ने हैसियतको प्रदर्शन गर्दै अन्धानुकरण गरिरहेका छौँ ।
मातृभाषामा भन्दा अर्को भाषामा उही कुरा बुझ्न छ गुना बढी समय लाग्छ भन्ने सर्भेक्षणका नतिजाहरूले प्रमाणित गरेको पाइन्छ । अब्दुल कलामले आफ्नै मातृभाषामै पढे, उत्तरार्धमा संक्षिप्तमा अङ्ग्रेजी सिकेथे रे ! आइन्स्टाइनले जर्मन भाषामै अध्ययन गरेका थिए । त्यस्तै म्याक्स प्लेनले फ्रेन्च मात्र जान्दथे रपनि विश्वविख्यात बनेका छन् । हामीकहाँ त अङ्ग्रेजीलाई अनिवार्य विषयमा समावेश गरी कतिपय विद्यार्थीहरूलाई त त्यही विषयमा असफल भएर वर्षौंपछि परिरहेको अवस्था समेत विद्यामान छ- भाषिक अन्धानुकरण !
भेषभूषामा अन्धानुकरण :
हालसम्म विश्वमा १४ प्रकारको जलवायु रहेको बताइन्छ । जसमध्ये समुद्र तटीय, अति ठण्डी, अति गर्मी, अति वर्षा जस्ता जलवायु बाहेकको सबै किसिमको जलवायु हामीकहाँ पाइन्छ । त्यसैले हाम्रो जलवायुलाई ‘समशीतोष्णवर्षा’ भनिन्छ । मूलतः ध्रुवीय प्रदेशहरू, युरोप, अमेरिका, क्यानडा, स्केन्डेनेभियन मुलुकहरूमा ठण्डी र अति ठण्डी गरी दुई प्रकारका जलवायुहरू मात्र पाइने हुनाले उनीहरूकहाँ सूर्यको दर्शन पाउन दुर्लभप्रायः हुन्छ । परिणाम भिटामिन ‘डि’ (सूर्यको कलिलो प्रकाशबाट पाइने) को कमी हुँदा छुट्टै ट्याब्लेट वा क्याप्सुल बनाएर खाने/खुवाइने गरिन्छ । बाहिर बरफ भएपनि भित्र एयरकण्डिसनद्वारा न्यानो परेर बस्ने हुँदा तिनीहरूको छाला गोरो हुनपुग्यो । बढी घाममा डढेर अफ्रिकनहरू काला ‘हब्सी’ बने ।
चिसो वातावरणमा नाक चुहुने हुन्छ अर्थात् रूघाको सिकायतले पानी बगिरहने हुन्छ । यसलाई पटक-पटक टिस्युपेपर वा रुमाल निकालेर पुछिरहन असहज लागेपछि पश्चिमा मुलुकहरूमा ‘टाई’ लगाउने करिब फेसनै बन्यो । भनिन्छ एकदिन लगाएको टाई अर्को पटक लगाउन अनिवार्य धोएको हुनुपर्दछ, अन्यथा त आज्जसोको सिँगाने टालोको पुनः प्रयोग हुने भयो । अचेल हामीकहाँ माथि भनिएबमोजिम आफ्ना कलिला केटाकेटीहरूलाई टाई-सुटको पोशाकमा बोक्नै गाह्रो हुने झोला बोकाई ‘बोर्डिङ्’ स्कुलहरूमा अङ्ग्रेजी भाषा पढाउनमा आफ्नो इज्जत र प्रतिष्ठा गाँसिएको छ । साना केटाकेटीहरूलाई टाई लगाउनाले गर्धनको हड्डीमा प्रतिकूल असर पर्ने हुँदा अन्ततः ‘स्पोडिलाइटिस्’बाट पीडित हुने बताइन्छ । गृहकार्यले दौडने, खेल्ने समयको अभावले स्वास्थ्य प्रतिकूलताको बीजाङ्कुरण भैरहेछ । तर यसको ख्यालै नगरी हामी अन्धानुकरण गरिरहेका छौँ ।
फेरि, हामीकहाँ दौरा-सुरुवाल, चौबन्दी चोली-फरिया जस्ता चिसो मौसममा पनि छातीमा दुईपत्र हुने गरी तयार पारिने पोशाक ऐतिहासिक बन्न थाले । पश्चिमाहरूले सरकारी कामको सिलसिलामा पनि युनिफर्मका रूपमा टाइ, सुटलाई तोके- जाडो झेल्न सजिलो होस् भनेर । अदालतहरूमा पनि वकिलहरूले वकालत गर्द ‘मुटु नकामोस्’ पनि भन्ने आशयले सबै रङ्हरू सोसेर तातो बनाउने कालो कोटलाई अनिवार्य गरियो । तर हाम्रा ४०-४५ डिग्री सेल्सियसको तापक्रम हुने जिल्लाका अदालतहरूमा समेत अहिलेसम्म वकालती पोशाकमा ‘कालो कोट’ अनिवार्यै छ चाहे त्यो कपडा स्वदेशी उत्पादन नभए नहोस् । के यो व्यहोरा हाम्रा सरकारहरूले आफ्नै स्वदेशी उत्पादनमा आधारित पोशाक निर्धारण गर्न नसकिने विषय हो र ? बरु अन्तर्राष्ट्रिय अदालतमा वकालत गर्नुपर्दाको हकमा कालै कोट लगाउने व्यवस्था गरी ‘ग्लोबलाइजेशन’लाई समर्थन गर्दा भइहाल्थ्यो । सायद यो पनि पोशाकीय अन्धानुकरणको अनुपम उदाहरण मान्न सकिन्छ ।
खानपानमा अन्धानुकरण :
हाम्रै हिमाली क्षेत्रमा पनि वर्षको एकवाली पाक्छ, त्यो पनि जौ, गहुँ, उवा वर्गका खेतीको अलावा फापर, चिनु, कागुनो मात्रैको उत्पादन हुन्छ । अनि खेतीमा मेसिनरी प्रयोग गरिएपनि; ठण्डी जलवायुलाई बदल्ने चेष्टा ‘ग्रीनहाउस’बाट गरिएपनि; प्रकृतिसँगको पौँठाजोरीको परिणाम ‘ओजोन सतह’ पातलिन जाँदा पृथ्वीकै वातावरण प्रतिकूल बनाउन उद्धत् छन्- आधुनिक प्रयासहरू ।
करिब आठ-नौ महिनासम्म हिउँको चौघेराभित्र ‘एयरकण्डिसन’ चलाएर बस्न बाध्य पश्चिमाहरूले गहुँको आटा/पीठो मुछ्न सक्दैनन् । परिणाम रोटी, चपाती पाक्ने कुरै भएन । त्यसैले ठूला ट्याङ्मा पीठो/मैदा मुछेर क्वीननक्रिया ‘फर्मेन्टेसन’बाट पाउरोटीहरू बनाउन बाध्य छन् । उनीहरूलाई गहुँबाट पुरी, चपाती, फुरौला, ढावा/तावे रोटी, ढिँडो, पुवा आदि बनाउन सकिन्छ भन्ने ज्ञानै छैन । त्यसैले पाउरोटीमा विभिन्न चिज राखेर पिज्जा, बर्गर, हटडग आदि नाम दिएर खान बाध्य छन् । अचेल हामीहरूले पनि जाम, बटर, पाउरोटीको प्रातःकालीन नास्तालाई इज्जतिलो मान्न थाल्यौँ ।
आयुर्वेद भन्छ- सूर्यको प्रकाशसँग हाम्रो पेटको जठराग्निको अनुक्रमानुपातिक सम्बन्ध छ अर्थात् सूर्योदयको समयमा हाम्रो पेटमा ‘हाइड्रोक्लोरिक एसिड’को निःशृति वा जठराग्निको प्रदीप्ति हुन्छ । त्यसैले बिहानको खाना मन लागेसम्म ‘राजाले खाए झैँ’ खानु, दिउँसोको खाना अड्कलिएर ‘राजकुमारले खाए झैँ’ खानु र साँझको खाना मगन्तेले ‘भए त खान हुन्थ्यो नि !’ जस्तो खानु, रातमा केही पनि नखानु, खाना खाएको ३/४ घण्टापछि मात्र सुत्नु भनिएको छ । तर पश्चिमाहरूको प्रत्यक्ष संसर्ग सूर्यसँग नहुँदा उनीहरूको जठराग्नि बल्न सक्ने भएन अनि दिन-रातको सरोकार पनि भएन रपनि खाएको खाना पचाउन ‘हाइड्रोक्लोरिक एसिड’ त चाहियो नै । त्यसैको आपूर्तिका लागि खानापूर्व र खानापश्चात् ‘अल्कोहल- जुन अम्लीय/एसिडिक हुन्छ’ खाने स्थित बसाले । हामी पनि त्यसैलाई सम्पन्नता र स्तरीयताको परिभाषा गरेर पुगिसरी हुनेहरू रातिसम्म बसेर ’दारूपान’ गरी खाना खाने गर्न थाल्यौँ ।
हाम्रा पुर्खाहरूले खाना खाँदा उड्केलो बस्थे, परिणाम उनीहरू कहिल्यै मोटो हुने रोगको शिकार हुन परेन, भुँडे पनि भएनन् । पश्चिमा मुलुकहरूमा ठण्डी जलवायुको परिणाम अररो शरीरलाई टुक्रुक्क बसाउन सक्ने कुरै भएन । फलस्वरूप खाना खान डाइनिङ् टेबुलको आविष्कार (?) गरे । भनिन्छ नि ‘आवश्यकता नै आविष्कारको जननी हो’ ! अनि भोज खान ‘बुफेट’ प्रणाली अवलम्बन गरे र उठेर खाने गरे । वास्तवमा उठेर खाने त पशुहरूले मात्र हो । तर अचेल हामीकहाँ पनि ‘डाइनिङ् रूम’मा टेबुल, कुर्चीको व्यवस्था गरेर शरीरहितको उड्केलो बसाइको खानाखाने चलनलाई प्रतिस्थापन गर्यौँ, यसैलाई प्रतिष्ठाको विषय बनाउँदा डेरामा बस्नेहरूले समेत अन्धानुकरण गरिरहेका छौँ ।
गुलियोले चिल्लो काट्छ । त्यही भएर पाहुनापाछा आउँदा घिउ हालेर पकाइएको खाना खाएर हात धुने बेलामा चिनी दिइन्थ्यो । म सानो हुँदाको अनुभव- त्यति मीठो गुलियो चिनीले हात धोएर किन खेर फालेका होलान् जस्तो लाग्दथ्यो । खानपछि डवकोमा राम्ररी पकाएर गुलियो पारिएको गाईको दूध अथवा मिस्री, मह राखेर गुलियो बनाइएको दूध खान दिने चलन थियो । गुलियोको यो व्यहोरा त अचेल र पश्चिमाहरूमा पनि लागु हुने भयो । त्यसैले खानापछि मिठाइँ खानु स्वास्थ्यप्रद मानिन्छ । हामीकहाँ त षटरसको प्राकृतिक उपलब्धता छ । पश्चिमाहरूसँग भने मिठाइँमा केक, आइसक्रिम मात्रै हुनाले त्यही खाने गरे । ठण्डी मौसमको परिणाम चिसो आइसक्रिम पाच्य नै हुने भयो । अचेल हामीहरूले पनि भोजभतेरहरूमा खानापछि गाजरको हलुवा, अन्यान्य मिठाइहरूका साथ विभिन्न ‘ब्राण्ड’का आइसक्रिम खान थाल्यौँ । तातो खानापछि लगत्तै चिसो आइसक्रिमले पाचनप्रणालीलाई नराम्रो असर गर्ने तर्फ वास्ताहीन बनिरहेका छौँ । खवाइ शैलीको अन्धानुकरण !
आनीबानीमा अन्धानुकरण-
पश्चिमाहरूले मैदालाई पनि ‘फर्मेन्टेशन’ गरेर बनाइएका पाउरोटी वर्गको खाना सहजै राम्रो पाचन नहुँदा कब्जियतको शिकार भए । भनिन्छ- कब्जियत सबै रोगको जरो हो । दिसा खलास नहुँदा शौचालय बस्ने समय लामो हुने नै भयो । त्यसैले पत्रपत्रिका पढ्ने काम शौचालयमै गर्न बाध्य हुँदा शौचागारमै पुस्तकालय राख्न थालियो, बाथरुम रिडर बने । चिसो वातावरणको अररो शरीरका घुँडा राम्रोसँग खुम्चिँदा भएनन् एकातिर भने लामो समयसम्म प्यानमा टुक्रुक्क बस्न असम्भवप्रायः हुँदा कमोटको व्यवस्था अनिवार्य भयो । कमोटको अर्धबसाइले कुर्ची बनाउने जुक्ति निकाल्न बाध्य भए । कुर्चीमा बसेर खाना खाँदा थाली राख्न ‘डाइनिङ टेबल’ आवश्यक भएर त्यसलाई ‘डाइनिङ सेट’ भनेर सजाए । हामी पनि आजकल शौचालयमा कमोट, बाथरुम रिडिङ, डाइनिङ सेट सजाएर आधुनिक बन्न थाल्यौँ- स्वास्थ्यप्रति अनदेखो गरी स्वीकारिएको अन्धानुकरण !
हामीले प्रयोग गर्ने तोरीको पुराना काठेकोलमा होस् वा आधुनिक तेल पेल्ने मेशिनमा होस् पेलेर निकालेको तेल हातमा राखेर नाकले सुँघ्दा आँखाबाट आँसु झर्दथे । तेलमा चिप्लोपना हुन्थ्यो । वास्तवमा आँसु झार्ने रागमा ‘कार्बोहाइड्रेट’, ‘प्रोटिन’ हुँदोरहेछ र चिप्लोपनामा ‘फ्याट्टिएसिड’ ! यी तत्त्वहरू हाम्रो स्वास्थ्य अनुकूलका रहेछन् । तर त्यो तेलको उत्तम प्रयोग अवधि ‘बेष्ट बिफोर पिरियड’ भनेको ३/४ महिनाको हुँदोरहेछ । पश्चिमाहरूको जिब्रोमा पनि तेलीय स्वाद प्रिय नै हुने भयो । अब त्यही तेल आयात गर्ने हो भने ३/४ महिना त ढुवानी ‘सिपिङ् टाइम’ मै बित्ने भयो । परिणाम उनीहरूले तेललाई रिफाइण्ड/डबल रिफाइण्ड गरेर राग र चिप्लोपन हटाएर सादा पानी जस्तो रूप दिन लगाए । त्यसो गरेपछि उत्तम प्रयोग अवधि भनेको १८ महिनाको हुने हुँदा सहज हिसाबले आपूर्ति हुने भयो । अनि त्यो विधिलाई अनिवार्य गराइदिए । अचेल त हाम्रा चिकित्सकहरूको पहिलो सिफारिस नै रिफाइण्ड/डबल रिफाइण्ड तेल खाने गर्नुहोस् भन्ने हुन्छ ।
कब्जियत भएपछि मुख गन्हाउने हुन्छ, परिणाम उनीहरू ‘लिन्स्ट्रिन’- माउथवास, पटक-पटक मुखमा छरिरहन्छन् । हामी व्यहोरा नबुझी मुखमा ‘स्प्रे’ गर्न थाल्यौँ । पसिना पनि गन्हाउने हुन्छ, परिणाम ‘डियोड्रेन्ट’ छरिरहन्छन् । हामी व्यहोरा मनन नगरी ‘सेन्ट’ भन्दै काखीमा, शरीरमा छर्न थाल्यौँ ।
उनीहरूको छाला कडा हुन्छ । कडा छालालाई धुन, सफा गर्न ’काष्टिक सोडा’ आवश्यक पर्यो, तातोपानी जाति हुने भयो अनि साबुनहरू बनाएर ‘हट सावर’ प्रयोग गर्न बाध्य भए । जसले छालामा प्रकृतितः निस्केको तेलीय पदार्थलाई पखाल्ने भयो । परिणाम उनीहरू विभिन्न प्रकृतिका ‘लोसन’ हात, मुखमा घसिरहन्छन् । उनीहरूले प्रयोग गर्ने साबुनको प्रयोगमा हामीले पनि इज्जत देख्न थाल्यौँ । त्यसैले दूधस्नान र शीतल जलस्नानबाट हुने फुर्तिलो शरीरलाई सावुन प्रयोग गरेर प्राकृतिक हिसाबले चिल्लो त्वाचालाई फुस्रो बनाउने भयौँ र ‘क्रिम’हरू दलिरहन्छौँ । उनीहरूको कपाल पनि जर्रो हुन्छ, परिणाम विभिन्न नामका ‘सेम्पु’हरूको प्रयोग गर्न थाले । हामीले पैते, तोरीको पीना, कण्टकारी जस्ता प्रकृतिका उपहारहरूको प्रयोगबाट भैरहेको कपालको नरमपनालाई घृणा गर्दै तिनैबाट बनेका ‘सेम्पु’हरू प्रयोग गर्न थाल्यौँ र सभ्य अनि सम्भ्रान्त टोपलिन थाल्यौँ- अन्धानुकरणको पराकाष्टा !!!
हामी केटाकटी हुँदाको कुरा हो- पर्यटनका लागि घुम्न आउने सेतो छाला भएकाहरू हाम्रा लागि ‘अम्रिकाने गोरा’ ठहर्थे । नजिक पर्दा ‘नमस्ते’ भनेपछि चक्लेट दिन्थे । यिनीहरूले त गाईको मासु खान्छन् रे ! अनि त हाम्रै गाउँका ’सार्की’ जस्तै भए नि ! भन्ने चर्चासँगै दिएको चक्लेट खाने/नखाने बारेमा छलफल हुँदा ‘तिम्रो त बर्तुन भएको छैन, खाए हुन्छ’ भनी व्रतबन्ध भएकाहरूले आफूले पाएका चक्लेट व्रतबन्ध नभएका साथीलाई दिएको सम्झना अहिलेसम्म ताजै छ । कतै चिया खाए भने लोग्ने-स्वास्नी भएपनि आफूले खाएको आफैँले तिर्ने गरेको सुनिन्थ्यो र त्यस्तो विधिलाई ‘अमेरिकन सिस्टम’ भनिन्थ्यो । यसरी पश्चिमा शैलीलाई एकलकाटे ‘न्युक्लियर’ परिवारका रूपमा बुझिन्थ्यो, जहाँ इष्टमित्र, परपाहुनाको आवागमनको कल्पना गर्न कठिन लाग्दथ्यो । अचेल त्यही प्रवृत्तिको अनुकरण हुँदा घरमा पाहुनाहरूको आवतजावत हुन छोड्यो । एकलासे घरमा शान्ति, सुव्यवस्था, प्रसन्नता अनि खुसी कम हुँदै गयो । सत्य व्यहोरा प्रकटिन छाड्यो, झुटो देखासिकी बढोत्तरी हुँदै गयो । सामाजिक मर्यादा, शिष्टता र सभ्यता पलायन हुँदै गए । परिवार नियोजनका नाउँमा थोरै बच्चाहरू जन्माउने क्रमले परिवारको आकार घट्दै गयो । प्रत्यक्ष भेटघाट एवम् सम्पर्क पनि कम हुँदै गयो परिणाम आपसी माया, मोह, मान, मर्यादा अनि आपसी सम्बन्धहरू टुट्दै गए ।
नारीपूजनको पूर्वीय संस्कार पश्चिममा नारी समानताको रूपमा पन्प्यो । परिणाम, अचेल हाम्रा छोराले टुप्पी पाल्न छाडे, छोरीहरूले कपाल काट्न थाले । ‘फेसन सो’ का सिरियल परिवारबिच नै हेर्न थाल्दा कपडाहरू घट्दै गए, लाज घट्दै गए । पश्चिमाहरू त दिनभर समान काममा लोग्ने-स्वास्नी व्यस्त हुँदा ‘टाइमर’ भएका कुकरहरूको प्रयोग गर्न थाले, अनि हामीकहाँ त्यसैको नक्कल हुँदा ‘राइस कुकर, प्रेशर कुकर, माइक्रो ओभन…’ जस्ता वर्तनहरू भित्रिँदा चरेस, तामा, पितल, फलाम, माटाका भाँडाहरू लोप हुँदै गए । उनीहरूले खाना पकाउने समय निकाल्न नसक्दा बाहिर खाने गरे, हामीले पनि त्यसैको अनुकरण गर्दा घरमा खाना खाने क्रम कम हुँदै गयो । दूध, दही, घ्यू, मोही जस्ता घरपालुवा वस्तुका अर्ग्यानिक चिज खान छाडियो । उनीहरूकहाँ रोजगारी पाएपछि किस्तामा सवारी साधन लिन अनिवार्यै गरिदिँदा पैदल हिँड्ने क्रम रोकियो, हामी त्यसैको नक्कल गर्दा हिँडेर गन्तव्यमा पुग्ने स्वास्थप्रद प्रचलन लोप हुँदै गए, बरू ‘सुगर’ लाग्यो भनेर डाक्टरले भनिदिएपछि ‘मर्निङ्वाक’ गरेर पसिना निकाल्न थालियो । पुस्तकलाई काठको आसनमा राखेर हरेकदिन पाठ गर्ने चलन गुगलमै सबै प्रकारका पुस्तक उपलब्ध हुनु अनि युट्युबमा सबैको वाचन सुन्न पाइने हुँदा किताब पढ्ने बानी कम हुँदै गयो, सामाजिक सञ्जालमा योग्यायोग्य सामग्रीको हेक्कै नराखी सुन्न, हेर्नमा समय बढी दिन थालियो । फलस्वरूप निन्द्रा कम हुँदै गयो, रोग-व्याधि जाग्दै गयो । तथाकथित आधुनिकताको अन्धानुकरण !
हुन त यसका दोषभागी हामीहरू नै हौँ । पूर्व अनुच्छेदमा उल्लेख भए बमोजिम छोराछोरीलाई ‘इङ्ग्लिस मिडियम’मा पढाएर अङ्ग्रेजी बोल्न सिकाउँदै आमा-बुबालाई ‘ममी’ र ‘ड्याडी’ भन्न लगाउँदा प्रतिष्ठित भएको सन्देश प्रवाह गरेको परिणाम दूरदराजमा पनि ‘ममी-ड्याडी कल्चर’ मौलाउँदै गएको छ । जन्मदिनलाइ ‘बर्थडे’ र वैवाहिक वर्षगाँठलाई ‘एनिभर्सरी’ भन्दै दियो बालेर अष्टचिरञ्जीवीको पूजा गर्ने परम्पपरालाई मैनबत्ती निभाएर मनाउन थाल्यौँ । पहिलै वार्षिकोत्सवमै समृद्ध नेपाली धरोहर हस्तान्तरण गर्नुको सट्टा ‘केक’ कसरी काटिन्छ ? भनेर सिकाउन थाल्यौँ । हवनकुण्डमा आहुती कसरी हालिन्छ ? मन्दिरमा मन्त्र, पूजा–पाठ कसरी गरिन्छ ? आफूभन्दा ठूलालाई आदर, सानालाई माया दिने संस्कार कस्तो हो ? भनेर सिकाउनुलाई ‘पाखे, कोर्काली’ को संज्ञा दिँदै खर्र अङ्ग्रेजी बोल्न सक्नुलाई आफ्नो ‘इज्जत र प्रतिष्ठा’को रूपमा लिन थाल्यौँ । छोराछोरी पहिलोपटक घरबाट बाहिर निस्कँदा ‘ढोग, नमस्कार’ गर्दै आशीर्वाद लिने संस्कारलाई ‘हाइ, बाइ-बाइ’ भनेर हात हल्लाउन सिकायौँ । छोराछोरीलाई परीक्षा दिन जाँदा इष्टदेव, सरस्वती, आफ्नै वृद्ध बाजे-बजैको पाउ ढोगेर जाऊ भनेर सिकाउनुको सट्टा परीक्षा भवनमा पुर्याएर ‘बेष्ट अप लक’ भनेर छुट्न थाल्यौँ । परीक्षामा सफल हुँदा घरमा परिवारको साथमा बसेर खुसीयाली मनाउनुको सट्टा होटल/रेष्टुरेण्टमा गएर ‘पार्टी’ मनाउने प्रथालाई प्रश्रय दिन थाल्यौँ । छोराछोरीको बिहेपछि कुल देवता/भगवानको दर्शन गर्नुको सट्टा ‘हनिमुन’को लागि काठमाडौँ, पोखरा, सौराहा जस्ता ठाउँमा पठाउन थाल्यौँ । अझ पैसा भए त विदेश घुम्न पठाउन थाल्यौँ ।
तसर्थ, पूर्वीय संस्कार, मान्यताका कुप्रथाहरूको के-के हुन् ? अनुकरणीय पश्चिमा सभ्यताहरू कुन-कुन हुन् ? भन्ने ख्याल गरी अन्धानुकरणको बानीलाई छाडिदिनु सर्वथा उचित देखिएकाले समयमै ख्याल गराउने तर्फ सरकारी तवरबाट पनि प्रयासको थालनी गरौँ ।
…सके सपारौँ, नसके नबिगारौँ… !
प्रतिक्रिया