वीरको ‘ट्रमा सेन्टर’मा छानविन गर्न निर्देशन

वीरको ‘ट्रमा सेन्टर’मा छानविन गर्न निर्देशन


सेन्टरप्रमुख डा. रिजाल छानबिनको घेरामा

  • सुरेन्द्र सुवेदी, काठमाडौं

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मातहतमा सञ्चालित राष्ट्रिय ट्रमा सेन्टरमा भएका भ्रष्टाचार र अनियमितता छानविन सुरु भएको छ । सेन्टरका प्रमुख डा. बद्री रिजालले ठेकेदार, बिचौलिया र भ्रष्ट कर्मचारी प्रयोग गरेर करोडौँ रकम हिनामिना गरेको भन्दै प्रधानमन्त्रीको कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रसमेतमा उजुरी परेको थियो ।

वीर अस्पतालका कर्मचारी संगठन, संघहरूले सप्रमाण उजुर गरेपछि प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई पत्र लेख्दै ट्रमा सेन्टरमा भएको अनियमितताको छानविन गर्दै जानकारी गराउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘वीर अस्पताल इमर्जेन्सी तथा ट्रमा सेन्टर कर्मचारी परिवारले राष्ट्रिय ट्रमा सेन्टरमा मिलेमतोमा ल्याव रिएजेन्टको टेण्डर गरेकोले छानविन गरी सोलगायतका टेण्डर खारेज गरी पुनः आह्वान गरी ट्रमा सेन्टर प्रमुख डा. बद्री रिजाललाई कारवाही गर्न माग गरिएकोले छानविन गरी आवश्यक जानकारी गराउन निर्देशन गरिन्छ ।’

स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसँगको मिलेमतोमा सेन्टर प्रमुख डा. रिजालले अनियमितता गरिरहेका हुन् । वीरको मातहत यो सेन्टरका प्रमुख डा. रिजाल निजी अस्पतालका सञ्चालक पनि हुन् । उनको काठमाडौं सामाखुसीमा अल नेपाल अस्पताल छ । निजी अस्पताल सञ्चालकलाई देशकै एकमात्र सेन्टरमा प्रमुख जिम्मेवारी दिनु नै घातक भएको त्यहीँका कर्मचारीहरू बताउँछन् ।
सेन्टरले आकस्मिक विभाग र ओपिडीमा चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नसासम्बन्धीका गम्भीर बिरामीको उपचार गर्छ । तर, त्यस्ता बिरामीलाई बेडअभावको बहाना बनाएर इमर्जेन्सीमा राख्दै अन्ततः निजी अस्पतालमा जान बाध्य बनाउने गरेको स्वास्थ्यकर्मीहरूको आरोप छ । वीरमा कार्यरत कर्मचारीहरूका अनुसार सोर्सफोर्सबाट बेड पाएका बिरामीलाई अप्रेसन नगरी हप्तौँ राख्ने र अप्रेसन गर्दा आवश्यक औजार र उपकरणहरू नभएको भन्दै बाहिरका व्यापारी झिकाएर त्यस्ता सामान महंगोमा बिरामीलाई नै किन्न लगाउने गरिएको छ ।

‘उपचार र अपरेसनका लागि आउने बिरामीलाई ५/७ महिनापछि पालो आउने भन्दै अप्रेसनको २५ देखि ३० हजार र ओषधि तथा औजारको ४० देखि ५० हजार रुपैयाँमा बार्गेनिङ गर्ने चलन छ’, स्वास्थ्यकर्मीहरू भन्छन् । बिरामीलाई औषधि खरिद गर्न कमिसन दिने ट्रमा सेन्टर पछाडिको पसलमा पठाउने गरिएको छ ।

डा. रिजालले सेन्टरमा नियुक्ति पाएपछि सेन्टरबाट बिरामी रेफर गर्दै उनकै अस्पतालमा पठाउने गरेका छन् । उनले कार्यालय समयमा पनि आफ्नो अस्पताल गएर बिरामी परीक्षण गर्दै आएका छन् । रोग पत्ता लगाउन प्रयोग हुने किट र अन्य सामान बोलपत्र आहन र सूचिकृत नै नगरी कमिसन पाउने पसलहरूलाई दिने गरिएको छ । बेथिति मौलाएपछि कर्मचारीहरूले प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्री बस्नेतलाई सम्बोधन गरेर उजुरी गरेपनि सुनुवाइ भएको छैन ।