पार्टीमा निरन्तर लागे अवसरबाट वञ्चित हुनुनपर्ने देउवाको जिकिर

पार्टीमा निरन्तर लागे अवसरबाट वञ्चित हुनुनपर्ने देउवाको जिकिर


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको तर्क अघिसारेका छन् । नेता तथा कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो हुने उनको भनाइ छ ।

नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्नेक्रममा सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको उल्लेख गर्दै ठूलो त्याग र बलिदानपछि आज नेपाली कांग्रेस मुलुकको पहिलो शक्ति बनेको र एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन नसक्ने अभिव्यक्ति दिए ।

ठूलो दलमा सबैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने तर्क गर्दै सभापति देउवाले भने, ‘निरन्तर लाग्ने नेताहरु अवसरबाट वञ्चित हुन पर्दैन ।’

‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबीच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको समस्यालाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ’, देउवाले बताए ।

कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको बताउँदै यो व्यवस्थाका कारण आदिवासी जनजाति, अपाङ्गता भएकाको प्रतिनिधित्व हुने अवस्था आएको उनको भनाइ थियो ।

सभापति देउवाले तत्कालका लागि गठबन्धनको विकल्प समेत नरहेको जिकिर गर्दै मुलुकको समस्या समाधानका लागि अहिले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेस सहभागी भएको वर्तमान सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए । मुलुकमा देखिएको भ्रष्टाचार र महँगीलाई हटाउँदै जनतालाई राहतको अनुभूति दिन सकेमात्र पार्टी बलियो हुँदै जाने धारणा उनको थियो ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूले अवसर नपाउँदैमा पार्टी कमजोर बनाउन नहुने बताए भने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, किरण पौडेल, शारदा पौडेललगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

  • photo: rss