सुर्य अङ्कल, चाँडै आउनुस् है !

सुर्य अङ्कल, चाँडै आउनुस् है !


ब्यंग्योक्ति
निकै अघि सिंगापुर भैसकेको भद्रपुर राष्ट्रियसभा निर्वाचनपछि कृष्णपुर हुने निश्चित छ ! त्यसपछि त भद्रपुर, झापाको त कुरै छोडौँ नेपाली सम्पुर्णको ‘दोनो हाथ घि में ! शिर कढाई में’ !!
✍ ज्ञानमणि भुर्तेल

आदरणीय सुर्य अङ्कल, जय नेपाल !!

नयन खुल्ने बित्तिकै झ्यालबाटै तपाईंलाई देखेपछि ओछ्यानबाटै जय नेपाल टक्र्याएँ ! तपाईंले खासै वास्ता गर्नुभएन ! अचम्म लाग्यो… पहिले त यस्तो हुनुहुन्थेन ! लाग्यो- तपाईं अब ठुलो मान्छे हुनुभएछ ! सांसद नै हुनुभएछ क्यारे ! महामन्त्री नै हुनुभएछ कि भन्ने पनि लाग्यो ! केहिबेर झुल्किनुभो, फेरि हराउनुभो ! हुस्सु अङ्कलको ताण्डव चल्दैथियो बाहिर !

टेन्सन भो ! आफूलाई कर्फोक पुग्नुपर्ने ! झापामा हुस्सु अङ्कल देख्नेबित्तिकै सुर्य अङ्कल फिक्कलतिर भाग्नुहुन्छ ! हुस्सु अङ्कल फिक्कल पुगे सुर्य अङ्कल झापा झर्नुहुन्छ भन्ने सुनेअनुसार कर्फोक फोन लाइयो- ‘ज्योति भाइ ! सुर्य अङ्कल केही बेरअघि यतै हुनुहुन्थ्यो अहिले हराउनुभो ! त्यता आइपुग्नु भो कि ?’ भाइले भिडियोकल देखाइदियो ! अङ्कल त चियाबारि भरि छरिएर वनबिहारमा मस्त !

बाध्यता थियो उकालो चढ्नैपर्ने ! ज्यानमाथि लुगा थोपर्न थालियो ! सेण्डोभेष्ट, थर्मकोट, हाइनेक, ऊनीसर्ट, चेष्टगार्डमाथि फेदर ज्याकेट गरी एउटा भलिबल टिमसहित पञ्जाटोपी हेल्मेट थोपरेर बीस किलोको ज्यानमा चालिस किलोको भ्रम बोकेर उकालो लागियो !

बाटोभरि हुस्सु अङ्कलको ताण्डव ब्याप्त ! हुस्सु अङ्कलका सन्तति सडकभरि छ्यालब्याल ! हुस्सु अङ्कलको ताण्डवबाट पश्चिमका गाडी पूर्वकासँग पूर्वका गाडी पश्चिमकासँग प्रीत लाउन ब्यस्त ! कति गाडी, बाइक त नालीलाई साइड हान्दै खेतमा उत्तानासन ! उपद्रो हुस्सु अङ्कलको अपजस जति सुर्य अङ्कलको थाप्लोमा ! ‘घाम लागेको भए यस्तो हुन्थेन’को जनगुनासो ब्याप्त !! बटुवा, कुटुवा, लुटुवा सबैको आक्रोश सुर्य अङ्कलसँगै !

उक्लिँदै गइयो ! हुस्सु अङ्कल लुक्दै अनि सुर्य अङ्कल फुक्दै देखिनुभो ! बिस्तारै हातखुट्टा टाउको हुँदै फिक्कल पुग्दा पूरै शरीर दर्शन भो ! कर्फोक पुग्दा त सुर्य अङ्कल चियाबारिबीचमा झापाली गफमा मस्त ! अचम्म लाग्यो- झापा हुस्सु अङ्कलको जिम्मा लाएर आफु इलाम यात्रामा ?

सुर्य अङ्कल ! कर्फोक पुगेपछि तपाईंको एउटा पोल खुल्यो- हुस्सु अङ्कल झापा हुँदा तपाई इलाम ! तपाईं झापा हुँदा हुस्सु अङ्कल इलामको रहस्य के ? सँगसँगै अर्को आरोप पनि सुनियो- तपाईं हुस्सु अङ्कलसँग डराउनुहुन्छ रे ! तपाईं उहाँको लँगौटीमा बेरिनुभएको छ रे ! हाम्रा डफेदार राष्ट्रिय भाउजुको फरियामा बेरिएझैँ ! सँगसँगै अर्को आरोप पनि सुनियो- तपाईं र हुस्सु अङ्कलबीच गठबन्धन समेत छ रे ! हाम्रो डफेदार र जंगली अङ्कलबीच भएझैँ ! म इलाम जान्छु तँ झापा लुट, म झापा झर्छु तँ इलाम उक्लेर लुट भन्ने ! यदि यो आरोप सही भए तपाईं बेलैमा सचेत रहनुहोला ! तपाईंको अनुपस्थितिको गलत फाइदा उठाउँदै हुस्सु अङ्कल आफ्ना सेसन्तर बाटोभरि छरेर गाडी एकअर्कामा जुधाएर आफ्नो स्वार्थ सिद्ध गर्दैहुनुहुन्छ अनि अपजसको भारी चैँ तपाईंलाई बोकाउँदैहुनुहुन्छ ! जंगली अङ्कलले रोजगार माग्ने युवा मारेर अपजस चैँ काङ्ग्रेसलाई बोकाएझैँ ! सुर्य अङ्कलको लाचार अनुपस्थितिले हुस्सुराज चलेको भन्ने हुस्सुपीडितको जनगुनासोमा म पनि एक मत थप्न बाध्य छु !

सुर्य अङ्कल !

तपाईंको यो ज्यानमारा हुस्सु अङ्कलसँगको गठबन्धन रहर कि बाध्यता ? डर त्रास या कुन स्वार्थ ? उहाँ आफू मात्रै आए त केही हदसम्म सहन सकिन्थ्यो होला तर आफ्ना भएभरका सन्तान समेतलाई नियुक्ति दिएर तराई-पहाडका सडकमा छाडा छोडेर अनेकौँ निर्दोषको ज्यान लिन उद्धत हुनुहुन्छ ! शितलहर, तुवाँलो, तुसारो सँगसँगै मुटुछेदक सिरेटो नामको हतियारले घोचिनु तपाईंको अनुपस्थिति हो भन्नेमा दुईमत रहेन !

त्यसैले अङ्कल ! तपाईं आईदिनुस् प्लिज ! तपाईंले निकै पहिले सोचेजस्तो देखेजस्तो छैन झापा ! त्यसमाथि सदरमुकाम भद्रपुर त निकैअघि नै सिंगापुर भैसकेकोछ ! ०४८ सालदेखि निरन्तर विकाशको बोरा बोकेर हिँड्नुभएका विकाशप्रेमी आदरणीय नेताको विशेष पहलमा निष्ठा काङ्ग्रेस प्लटिङ गरि बिष्टा काङ्ग्रेसको जगमा दर्जनौँ कलकारखाना खुलेका छन् ! निष्ठा पेलेर गुट उत्पादन हुने त्यस कारखानामा हजारौँ झापाली युवाले रोजगारी पाएका छन् ! कुनै युवाले खाडीमा बेल्चा हान्न जानुपरेको छैन ! हाम्रै घरआँगनको मण्डले नवराज घिमिरे त गणतन्त्र बदनाम गर्न रहरले मुण्टेको हो ! बाटोको त कुरै नगरौँ- चाकको पिलो निचोर्नु परेमा भद्रपुर-विर्तामोड बसयात्रा गरे पिलो आफैं ‘सेल्फ सर्भिस’का लागि सक्षम छ ! खानेपानी, लाउनेपानी, हावापानी सबै उपलब्ध ! मेचिपुल निर्माणले बजार गुल्जार छ ! एककिलो प्याज लिन पनि फुत्त पारि पुग्न सकिन्छ ! नगरपालिकाको नियमित बजार अनुगमनले ब्यापारिक जनजीवन चुस्तदुरुस्त छ ! काङ्ग्रेस मिटिङ हुने होटल एभरेटनजिकै भारतीय दानमा ठडिएको शितभण्डार चुनावी नाराअनुसार काङ्ग्रेस नगरप्रमुखको आगमनलगत्तै सञ्चालनमा आइ भद्रपुरको कृषिजन्य उत्पादन त्यहीँ अटाएको छ ! सडे-गलेर खेर जाला भन्ने चिन्ताबाट नगरबासी मुक्त छन् !

अझ महत्त्वपूर्ण विकास- झापाको बुर्जखलिफा भद्रपुरको प्रमुख आकर्षणको केन्द्र गिरिजाप्रसाद स्मृति भवन छ ! जसले भद्रपुरको सौन्दर्यमा स्वर्णगजुर थपिदिएको छ ! यसभित्र पाँचतारे होटलमा पाइने सम्पुर्ण सुख-सुविधा उपलब्ध छ ! यसको सिलान्यास सुशील कोइरालाले विकाशप्रेमी नेताकै पहलमा गरी सिलान्यासलगत्तै कुनै समय मुलुकको आधा बजेट झापा ल्याउन सक्ने हैसियत भएका नेता भद्रपुरमै उपलब्ध भएका कारण पर्याप्त बजेट अनि काङ्ग्रेस हौसलाका कारण समयअगावै निर्माण सम्पन्न भै अहिले युवायुवतीको सन्ध्याकालिन क्रीडास्थलसमेत भएको छ !

सुर्य अङ्कल !

यस्तो धर्तीमै स्वर्ग उपलब्ध हुँदाहुँदै तपाईं चैँ कहिले इलाम कहिले झापा भौंतारिने ? मंसिरदेखि माघ मसान्तसम्म चैँ तपाईं यतै बस्नेगरि आउनुहोला ! गिरिजा स्मृति भवनभित्रै तपाईंलाई पाँचतारे सुविधाको जिम्मेवारी मेरै भो ! खाने-पिउने सबै मुफ्त ! खानको लागि एमाले पूर्वमेयरकै मेसमा हामी पनि हसुर्दै छौँ ! तपाईंलाई दुई गाँस छुट्याउन कठिनाइ हुन्न !! खाने बस्ने ब्यवस्थापन जिम्मेवारी मेरो भन्दा ‘नापिस लिखे ! तँ B+ ले K+सँग कसरी कुरो मिलाउँछस् ?’ भनेर बाणिघोचो तेर्स्याउनु होला ! ‘खोरेतले तेरो कुरो मान्लान् त ?’ भन्ने अत्तो पनि थाप्नुहोला !

तर डोन्ट वरी सुर्य अङ्कल ! अब यहाँ B+ पनि छैन K+ पनि छैन अब केवल लसपस छ ! खोरेत पुरेत दुवै एउटै छोटाहात्ती चढेर काङ्ग्रेसको सवयात्रामा सामेल हुँदैछन् ! मैले आउने आग्रह गर्दैगर्दा ‘म एउटाले कता मात्र भ्याउनु ?’ भन्ने ओठे जवाफ तपाईंसँग पनि होला ! आउने सवालमा आलटाल गर्दै ‘मेरै चिन्हमा चुनाव लड्ने उखान अङ्कल उतै छन् उनैलाई पठाइदिन्छु चैँ नभन्नु होला ! उहाँ त यही हुस्सुलाई तातो डल्लो बनाएर भ्यु टावरको धुरिबाट जिल्लाभरि छर्नुपर्छ भन्ने चुट्किला तेर्स्याउन बेर लाउनुहुन्न ! उहाँले आफू प्रधानमन्त्री हुनेबित्तिकै दासढुङ्गा पर्दाफास र तुइन विस्थापन गरेबाटै उहाँप्रति हामी सबै नतमस्तक छौँ ! ‘म भ्याउँदिनँ, तिम्रै डफेदार पठाउँदा हुन्न र ?’ भन्ने वैकल्पिक उपाय पनि हुनसक्छ तपाईंको ! हाम्रा डफेदार नाम मात्रका डफेदार हुनुभएको छ अहिले ! डाडुपुन्यु सबै उहाँकी अर्धाङ्गिनीको हातमा छ ! अर्धाङ्गिनी अहिले मुलुककै पुराङ्गिनी हुनुभएको छ ! कमिसनलिप्त राष्ट्रिय भाउजूले पार्टी त सक्नुभयो नै हुस्सुसमेत बेच्न बेर लाउनुहुन्न !

आफू नभ्याएको खण्डमा गाउँघरतिर बिहे बटुलोमा छोराछोरी पठाउने चलनलाई कायम राख्दै सारै भ्याउनुभएन भने छोरोसम्म स्विकार्य हुनसक्छ तर तरुणको त नबुझेको छोरो तरुण केन्द्रिय सदस्य बनाएझैँ घामको ‘घ’समेत नबुझेको लण्ठु छोरो पठाएर मुलुक हँसाउने दुष्कर्म चैँ नगर्नुहोला !

सकेसम्म आफैं आउनुहोला ! निश्चिन्त भएर आउनुहोला ! निकै अघि सिंगापुर भैसकेको भद्रपुर राष्ट्रियसभा निर्वाचनपछि कृष्णपुर हुने निश्चित छ ! त्यसपछि त भद्रपुर, झापाको त कुरै छोडौँ नेपाली सम्पुर्णको ‘दोनो हाथ घि में ! शिर कढाई में’ !!

नेपाल स्वर्ग ! नेपाली स्वर्गवासी !!

मेलम्चीझैँ खेलाँची नगर्नुहोला ! झट्टै आउनुहोला ! ठण्डके मारे बदन काँप रहा है !!