भगवान् रामबारे नेपाली नेताहरू बेखबर !

भगवान् रामबारे नेपाली नेताहरू बेखबर !


भारतको अयोध्यामा राम मन्दिरको भब्य समारोहका बीच माघ ८ गते सोमबार उद्घाटन भयो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको गर्भगृहमा पुगेर रामको मुर्तिमा प्राणप्रतिष्ठा गर्न एघार दिनसम्म अन्न तथा फलफूल त्यागेर कठिन तपस्या गरे, तर नेपालका नेताहरूले थाहै नपाए झैँ गरिदिए ।

एक समय संवैधानिक रूपमै हिन्दु अधिराज्य भनेर चिनिने नेपालमा अहिले पनि असी प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बीको बसोबास रहेको छ र, त्यस आधारमा नेपाल अहिले पनि हिन्दुराष्ट्र नै मानिन्छ । त्यसैले राममन्दिर निर्माण भइ प्राणप्रतिष्ठा हुने सन्दर्भमा नेपालका नेताहरूबाट पनि कुनै उद्गार प्रकट हुने अपेक्षा गरिएको थियो । तर सत्तापक्ष र विपक्षी पार्टी नेताले प्राणप्रतिष्ठा समारोहलाई लिएर औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएनन्, बरू उनीहरूले थाहै नपाएजस्तो गरे ।

यसअघि २०७२ सालमा संविधान जारी गर्नुअघि पनि यिनै नेताले जनताबाट प्राप्त सुझावको पोका नै नखोली जनभावनाको उपेक्षा गरेका थिए । उनीहरूले त्यसबेला अधिकाङ्श मानिसले हिन्दुराष्ट्र बनाउन सुझाव दिएको सुइँको पाएपछि सुझावको पोको खोल्न नचाहेका थिए । अहिले भगवान् रामको जन्मस्थलमा रामको मन्दिर बनी मुर्तिमा प्राणप्रतिष्ठाको निम्ति भब्य समारोहको आयोजना हुँदा पनि थाहै नपाएझैँ बसे । अयोध्यामा राममन्दिर बन्नुलाई सम्पूर्ण विश्वले महत्वपूर्ण घटना मानेको छ । अमेरिका र युरोप मात्र नभइ साउदी अरब र युएई जस्ता इस्लामिक राष्ट्रहरूमा पनि प्राणप्रतिष्ठाका अवसरमा भब्य उत्सव मनाएको देखियो । यस सम्बन्धमा नेपाली नेताहरूको मौनतालाई आश्चर्यजनक मानिएको छ ।

ज्ञातब्य छ, सन् १५२६ मा भारतलाई अधीनस्थ गर्न आइपुगेका मुगलहरूले त्यहाँ रहेका मन्दिर भत्काइ मस्जिद निर्माण गराउने अभियान चलाएका थिए । उनीहरूको राज सुरु भएको करिव दुई वर्ष बित्दानबित्दै अयोध्याको राममन्दिर भत्काएर बाबरले मस्जिद बनाएका थिए । मुगल राज चलुन्जेलसम्म भारतका हिन्दुहरू चुपचाप बसेपनि अठारौँ शताब्दीपछि अङ्ग्रेजको शासन सुरु भएपश्चात् बाबरी मस्जिद हटाएर पुनः राममन्दिर बनाइनुपर्ने आवाज उठ्दै आएको थियो ।

शताब्दी पुरानो माग सम्बोधन गर्न भारतको तत्कालीन शासकहरूले नचाहेपछि आरएसएस, भाजपा कार्यकर्ता, सन्त–महन्त तथा सर्वसाधारण जनतासमेतको संयुक्त प्रयासमा सन् १९९२ को डिसेम्बर ६ तारेखमा बाबरी मस्जिद भत्काइएको थियो । त्यसक्रममा हजारौँले ज्यान गुमाएका थिए । हज्जारौँले ज्यान गुमाए पनि यो मुद्दाको अन्त्य भएको थिएन । मुद्दा अदालतसम्म पुग्यो । पुरातात्विक अन्वेषण तथा अन्य प्रमाणका आधारमा भारतको सर्वोच्च अदालतले ५ नोभेम्बर २०१९ का दिन ऐतिहासिक फैसला गर्दै उक्त स्थानमा राममन्दिर बनाउन पाइने निर्णय दिएको थियो । त्यसपछि इसाइ सन् २०२० को फेब्रुअरी ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्न राममन्दिर तीर्थक्षेत्र ट्रष्टको घोषणा गरेका थिए ।

मन्दिरको मुर्ति निर्माण गर्न भनी नेपालको कालीगण्डकीबाट ६ करोड वर्ष पुरानो भब्य शालिग्राम अयोध्या पु¥याइएको थियो । तर शालिग्राम तोडफोड गर्नु उचित नहुने राय धर्मगुरुहरूले दिएपछि उक्त शीला मन्दिरपरिसरमै सूरक्षित राखिएको छ । मिति २०८० साल माघ ६ गते सोमबार राममन्दिर निर्माण भइ रामलल्ला (बालस्वरुप राम)को मुर्तिमा प्राणप्रतिष्ठा गरिएपछि भारतको इतिहासमा नयाँ आयाम सुरु भएको मानिएको छ ।