संविधानसभाको निर्वाचनपछि तत्कालीन अन्तरिम संविधानअनुसार आफूलाई प्रधानमन्त्री हुन नदिएको, सहमतिको सरकारको अवधारणा र दुईतिहाइले मात्र प्रधानमन्त्री हटाउन सक्ने संविधानमा व्यवस्था हुँदाहुँदै सरकार बन्नै नदिएर चार महिनासम्म अलमल्याएको गुनासो पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पनि बेलाबेलामा पोख्ने गर्नुहुन्छ । तत्कालीन अवस्थामा संविधानबमोजिम चार महिनासम्म सरकार नबनेको अवस्थामा संविधानको मर्मअनुसार बन्नुपर्ने सहमतिको सरकार र प्रधानमन्त्री हटाउने दुईतिहाइ सभासद्को आवश्यकतालाई चटक्कै छाडेर विपक्षीको र्सत मान्दै संविधान नै संशोधन गरेर बहुमतको फोहोरी खेलमा प्रधानमन्त्री बन्न प्रचण्डले हतार गर्नु महाभूल थियो । हो, राजनीतिमा लाग्ने सबै आफैं मालिक बन्न खोज्छन्, यो एक किसिमको राजनीतिक धर्म नै हो । तर, चार महिना पर्खनेले अरू दुई महिना पर्खेको भए के हुन्थ्यो ? भोक लाग्यो भन्दैमा जसरी पायो उसरी जे पायो यही खाँदा पेट दुखेको परिणति यतिबेला प्रचण्ड भोग्दै छन् । जतिबेला संविधान संशोधन गरेर बहुमतको खेल खेल्ने प्रधानमन्त्री बने त्यतिबेलै उनले आफैंलाई पछि पारे ।
यदि संविधानसभाको निर्वाचनको अवस्थाको अन्तरिम संविधानबमोजिम प्रचण्ड प्रधानमन्त्री भएको भए उनलाई दुईतिहाइबाट हटाउने तागत माधव नेपालको केही गरी हुने थिएन । त्यस्तो अवस्थामा प्रचण्डले आफूले चाहेझैं सेना समायोजन र संविधान निर्माण गर्न सक्थे, दुई वर्षमा बन्ने भनेको संविधान एकै वर्षमा बनाउन पनि उनी सफल हुन्थे । अझ सत्ताकब्जा गर्ने मनस्थिति बोकेका नेताले राष्ट्रपति बन्नुपथ्र्यो, सेनाको परमाधिपति छाडेर त्यसमा पनि बहुमतको प्रधानमन्त्री बन्न संविधान नै संशोधन गर्न कस्सिनु प्रचण्डको महाभूल थियो । त्यस्तो भूल गर्न प्रचण्ड किन अग्रसर भए आश्चर्य छ ।
आफू प्रधानमन्त्री हुँदा फेरि उनले अर्को गल्ती गरे, त्यो थियो प्रधानसेनापति बदल्न खोज्नु । संवैधानिक परिभाषा नबुझ्नु अनि यसको बल कहाँ छ भनेर विचार नगर्नु प्रचण्डको अर्को गल्ती थियो । राष्ट्राध्यक्ष, राष्ट्रपति र परमाधिपति सेनाधिपतिको अड्कल नगर्नु अनि आफ्नैपछाडि राजनीतिक दलहरू कसरी लागिरहेछन् भन्ने नबुझीकन अड्कलबाजी गर्दाको परिणाम भोग्दै प्रचण्ड आफैं प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएको क्षण पक्कै यतिबेला उनले सम्झना गरेका होलान् । यस्तै, चुनाव हारेर चुपचाप बसेका माधवकुमार नेपाललाई करबलले संविधानसभाको सदस्य बनाउनु पनि प्रचण्डको भूल होइन भन्न मिल्दैन । त्यसरी आफैंले मेसो मिलाएर सभासद् बनाएका माधव नेपाल प्रधानमन्त्री बन्दा आफैंले हरूवा भन्नु पनि सुहाउँदो थिएन । आफैं उनको घर गएर प्रस्ताव गरेका व्यक्ति प्रधानमन्त्री बन्दा भित्रीमनमार् इष्र्या भए पनि देखावटी बधाई दिनैपर्ने थियो, खुसी व्यक्ति गर्नैपर्ने थियो । नगर्दाखेरि त्यहाँ पनि प्रचण्ड नचुकेका होइनन् फेरि पनि माधवलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्ने आन्दोलनलाई त्यत्रो उत्कर्षमा पुगिसक्क्दा पनि पूर्णता दिन नसक्नु पनि उनको कम भूल थिएन ।
माधव नेपालको राजीनामापश्चात् रामचन्द्र पौडेलसँगको प्रधानमन्त्रीय लडाइँ छाडेर बाहिरिनु अनि संविधानसभा नियमावली संशोधन गरेर झलनाथलाई प्रधानमन्त्री बनाउनु पनि प्रचण्डको लागि अर्को नकारात्मक पक्ष थियो । झलनाथपछि बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनु भनेको झन् एउटै जङ्गलमा दुईवटा सिंह रहन सक्दैन भनेजस्तै हो । समयले देखाइसक्यो कि यतिबेला संविधान बने पनि नबने पनि जशजति बाबुराम भट्टराईलाई र अपजशजति प्रचण्डलाई जाने निश्चित छ । दुब्लाउँदै दुब्लाउँदै यतिबेला प्रचण्ड साहै्र दुब्ला भइसके । एकातिर मोहन वैद्य पक्ष अर्कोतिर बाबुराम पक्ष, दुवै पक्ष दिनदिनै बलिया बन्दै गएका छन् जसको कारण प्रचण्ड कमजोर हुँदै छन् ।
पछिल्लो अर्को गल्ती भयो सगरमाथा चढ्न छोराका लागि दुई करोड सरकारबाट माग्नु पनि । प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषीले आफूलाई नियुक्त गर्दा विवाद बढेको जानकारी पाएर तत्काल आफैंले अस्वीकार गरेझैैं प्रचण्डले पनि प्रकाशलाई सम्झाएर ‘म सरकारी सहयोग प्राप्त गरेर हिमाल चढ्दिनँ, बरु शान्तिका लागि सरकारलाई रोयल्टी तिरेर चढ्छु’ भन्दै प्रकाशलाई विज्ञप्ति निकाल्न लगाएका भए आरोप खेप्नुबाट प्रचण्ड बच्ने थिए । वर्तमानका यस्ता विभिन्न कमजोरीबाट उम्कन सकेनन् भने प्रचण्ड राजनीतिमा पूरै असफल बन्न बेर लाग्ने छैन । आफ्नै कारणले प्रचण्ड सफल हुनमा शङ्का बढ्न थाले पनि जसरी हुन्छ मुलुकचाहिँ सफल हुनैपर्छ ।
प्रतिक्रिया