नेपालको ‘राष्ट्रिय रुख’ के ?

नेपालको ‘राष्ट्रिय रुख’ के ?


‘राष्ट्रिय रुख’विहीन नेपाल !

‘नेपालको वन हरियो धन भनेर’ घोक्रो सुकाएर नारामात्र लगाएर देश समुन्नत र समृद्ध हुन कदापि सक्दैन । दिनरात खटिएर वन जोगाउने उपभोक्ताहरू गरिबीमै रहने अनि काठ र फर्निचर जति थाइल्याण्ड, इन्डोनेशिया, मलेशिया, म्यानमार, भारत र चाइनाबाट ल्याउने हो भने हामीले जोगाएको वनको के काम ? यस्तो वनबाट देशको आर्थिक उन्नतिमा सुन्य नै योगदान रहन्छ ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’

रुख वा वनजङ्गलको कुरा आउने बित्तिकै हामी नेपाली बडा गर्व गर्छौं । नगर्नु पनि कसरी, नेपालमा यत्रो वनजङ्गल छ । झन् वन विभाग, वन तथा वातावरण मन्त्रालय, अनि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल त झन् गमक्क परेर चर्को स्वरमा रुखको बारेमा बोलेको सुनिन्छ । नसुनियोस् पनि कसरी, आखिर त्यत्रो बाइस हजार तीन सय सामुदायिक वन उपभोक्ता समुहहरू दिनरात नभनी वन ब्यवस्थापनमा निरन्तर लागिपरेका छन् । देशको जनसङ्ख्याको ३३ प्रतिशत भन्दा बढी जनता कुनै न कुनै सामुदायिक वनमा आवद्ध रहेका छन् ।

प्रसङ्ग बदलौँ । अहिले म बेलायतका विभिन्न ठाउँमा विगत चार महिनादेखि बरालिइरहेको छु । धेरै मान्छेसँग भेट हुन्छ । कलेजका विद्यार्थी र शिक्षकहरूसँग पनि विभिन्न विषयमा कुरा हुन्छन् । त्यसै क्रममा एकजना बेलायती शिक्षकसँग दुई देशबीचका रुख र वनजङ्गलको कुरा धेरैबेर चल्यो । नेपालको वनजङ्गल र जैविक विविधताबारे मैले गरेको कुरा उसलाई अति मनपऱ्यो रे ! सुनिरहन मन लाग्यो रे ! नलागोस् पनि कसरी, आखिर त्यस्तै प्रकृतिको भण्डारमय देश छ । अनि उसले मलाई सोध्यो- नेपालको ‘राष्ट्रिय रुख’ चाहिँ कुन हो ?

म एकछिन अकमक्क भएँ, के भन्ने के भन्ने दोधारमा परेँ, अनि भनेँ- नेपाल बेलायत भन्दा वनले ढाकेको प्रतिशतमा हेर्ने हो भने अति नै धेरै भएपनि सरकारले अहिलेसम्म ‘राष्ट्रिय रुख’ घोषणा भने गर्न सकेकोे छैन ।

अनि फेरि उसले भन्यो- तिमीले अघि नेपालमा ४५ प्रतिशत जङ्गल छ, ६० मिटरदेखि ८८४८.८६ मिटरको उचाईको विभिन्न किसिमका हावापानीमा प्रायः सबै प्रजातिका बोटबिरुवाहरू ११८ वटा पारिस्थितिकीय प्रणालीमा पाइन्छन् । विविधताले भरिपूर्ण छ । सामुदायिक वन त विश्वमा नै एउटा सफल र नमूनाको रूपमा प्रस्तुत भएको छ । जसले वैज्ञानिक सैद्धान्तिक अवधारणालाई व्यवहारिक पद्धतिसँग समिश्रण गरेर वन ब्यवस्थापन आज यो विन्दुमा पुऱ्याएको छ । तर यतिधेरै वनको धनी भएर पनि किन अहिलेसम्म ‘राष्ट्रिय रुख’ पहिचान गरेर घोषणा नगरेको त ? हाम्रो (बेलायतको) त राष्ट्रिय रुख ‘ओक’ हो । आयरल्याण्ड, जर्मनी, पोल्याड, अमेरिका, डेनमार्कलगायत अरु देशको पनि राष्ट्रिय रुख ‘ओक’ नै हो । विश्वास गर्छौ.., हाम्रो त राष्ट्रिय ‘पात’ पनि छ, जुन ‘ओक’कै पात हो । अनि ‘राष्ट्रिय विरुवा’ चैँ प्रतीकको रूपमा सरकारले ‘गुलाफ’को पूmलको बोटलाई मानेको छ ।

उसले फेरि भन्यो- तिमीले भनेझैँ नेपालको तुलनामा हाम्रो वन धेरै कम छ । इङ्ग्ल्याण्डको जम्मा १० प्रतिशत मात्र वन छ, अनि स्कटल्याण्डको १९, वेल्सको १५ र आयरल्याण्डको त मात्र ९ प्रतिशत । तरपनि हामीले आ-आफ्ना राज्यको ‘राष्ट्रिय रुख’ घोषणा गरेका छौँ ।

म एकछिन सोचमा रहेँ, विडम्बना ! अरु देशको राष्ट्रिय पात र बिरुवा हुँदा पनि, नेपालको ‘राष्ट्रिय रुख’ नै छैन । सायद यस्तै प्रश्नहरू वन मन्त्रालय, वन विभाग, सामुदायिक वन उपभोक्ता महासंघ र विभिन्न गैरसरकारी कार्यालयका पदाधिकारीहरू विभिन्न देशमा हुने सभा-सम्मेलनमा सहभागी हुनजाँदा यस्तै प्रश्न तेर्सिएको होला ? झन् अहिलेसम्म २८औँ कोपसम्म आइपुग्दा जलवायु परिवर्तन, वातावरण र वनको कुरा आउँदा, नेपालबाट गएका जन्तीले देशको ‘राष्ट्रिय रुख’बारे के जवाफ दिनुहुन्छ होला, अहिलेसम्म कसैको मुखारविन्दुबाट सुन्नमा आएको छैन ।

संसारका प्रायः देशहरूले पहिचान बोकेको रुखलाई ‘राष्ट्रिय रुख’ घोषणा गरिसकेका छन् । जस्तै भियतनामले ‘बाँस’, भारतले ‘बर’, बंगलादेशले ‘कटहर’, चाइनाको ‘गिन्कगो’, भुटानले ‘साइप्रेश’, क्यानाडाले ‘मापल’, चिलीले ‘मंकीपजल’, जापानले ‘चेरी/पैंयु’ अनि जैतुन र खस्रु त धेरै देशको ‘राष्ट्रिय रुख’ भएको पाइन्छ । अरु त अरु कतार जुन देशको वन लगभग सुन्य जस्तै हुँदा पनि उसले राष्ट्रिय पहिचानको रुख ‘सिद्रा’लाई गरेको छ ।

नेपाल जैविक विविधताको धनी देश भनेर चिनिन्छ, फूल फल्ने बिरुवामा नेपाल विश्वमा २७औँ र एशियामा १०औँ स्थानमा रहेको भएतापनि हालसम्म नेपालले ‘राष्ट्रिय रुख’ भने घोषणा गर्न सकेको छैन । वन विभाग र मन्त्रालयमा कैयौँ महानिर्देशक, सचिव र मन्त्रीहरू आए-गए, तरपनि कसैको मगजमा यो कुरा घुसेको देखिएन । भौगोलिक र जैविक विविधताका आधारमा विशिष्ट रूपमा रहेको नेपालमा पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म विभिन्न प्रजातिका वनस्पति पाइन्छन् । नेपालमा पाइने रुखमध्ये कुनै एकप्रजातिलाई ‘राष्ट्रिय रुख’ घोषणा गर्न सकिन्छ । तर यसको लागि रुखको बहुउपयोगिताको पहिचान, सांस्कृतिक महत्व, वातावरणीय गुण, अनि पूर्व मेचीदेखि पश्चिम कालापानी र तराईदेखि उच्च पहाडसम्मको फैलाओट आदि कुरालाई ध्यानमा राख्नु उचित हुन्छ ।

धेरै प्रजातिमध्ये गुराँस राष्ट्रिय रुख मान्न सकिने रुख हो, तर गुराँस नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा नै घोषणा भइसकेको छ । त्यस्तैगरि समी, रुद्राक्ष, लप्सी, नीम, उत्तीस, बेल, सिमल, साल जस्ता वहुउपयोगी वृक्षहरूले पनि राष्ट्रिय रुख हुने सम्भावना नबोकेका भने होइनन् । तर लप्सी, रुद्राक्ष, बेल, अमला आदिमध्ये कूनै एकलाई ‘राष्ट्रिय फल’ घोषणा गर्न सकिन्छ । अनि नेपालमा मात्र पाइने उत्तिस (अलनस नेपालेन्सीस) प्रजातिलाई पनि ‘राष्ट्रिय रुख’ घोषणा गर्न सकिन्छ । जनस्तरको चाहना र भनाइ पनि ध्यानमा राख्नु जरुरी हुन्छ ।

जहाँसम्म रुखको कुरा गर्दा त्यस्तो रुखलाई ‘राष्ट्रिय रुख’ घोषणा गरियोस् जसको वातावरणीय महत्व, सांस्कृतिक तथा जनमानसको धार्मिक आस्था, भौगोलिक उपलब्धता, आयआर्जन, औषधीय गुण र मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा राम्रो मानियोस् । यी सर्वसम्पन्न गुण भएको रुख यो पङ्क्तिकारलाई ‘पिपल’ नै लाग्यो । त्यसैले यसैलाई घोषणा गर्दा बढी उपयुक्त हुने देखिन्छ ।

हाल विश्वमा जलवायु परिवर्तन भइरहेको अबस्थामा नेपाल पनि अछुतो रहन सकेन । दुषित वातावरणको प्रभाव मानिसलगायत प्रत्येक प्राणी, बोटविरुवा, पानी, वायु र माटोमा परिरहेको छ । यो असरलाई न्यूनीकरण गर्नका लागि अन्य रुख र बिरुवाको तुलनात्मक रूपमा हेर्दा पिपलले नै बढी मात्रामा अक्सिजन प्रवाह गर्दछ र वायुमण्डलमा भएको कार्वनडाइअक्साइड सोस्दछ । बिहानीपख घाम उदाउनुअघि मिरमिरेमा नै वा प्रकाश संश्लेषणको पूर्वाद्र्धमै पिपलले अक्सिजन प्रवाह गर्न थाल्दछ । पिपल लामो अवधिसम्म बाँचिरहने वृक्ष त हो नै परापूर्वकालदेखि नेपालको मधेस, तराई, चुरे, पहाड एवम् पूर्व मेचीदेखि पश्चिम कालापानीसम्म फैलिएको यो रैथाने वृक्ष पनि हो । पिपलले अक्सिजन बढी प्रवाह गर्ने भएकाले परापूर्वकालदेखि नै विश्राम गरिने थलोहरूमा, बर सँगसँगै पिपललाई रोपेर चौतारो बनाउने प्रचलन धेरै पुरानो हो । गर्मीयाममा पिपलको रुखमुनि बस्दा पनि अवोध शीतलताको आभाष हुन्छ, नसा-नसा तरङ्गित हुन्छ, उमङ्ग छाउँछ र स्फुर्ति ल्याउँछ । फोक्सोभित्र स्वच्छ वायुले प्रवेश पाउँदा मानिस त्यहिँ बसेको ठाउँमै आनन्दले निदाउँछ । सार्थै अप्ठ्यारो नभइ पिपलको बोटलाई हत्तपत्त काटिँदैन पनि ।

संस्कृतमा पिपललाई अश्वत्थ, पवित्रक, पिप्पलीका नामले पनि चिनिन्छ । पिपललाई सबैभन्दा पुरानो रुख पनि मानिन्छ । यो रुखको उत्पत्ति इन्दस उपत्यकाको सभ्यतासँगै ३००० बिसी देखि १७०० बिसीमा भएको हो । कलकत्तामा रहेको बोटानिकल गार्डेनमा २५० वर्ष पुरानो बरको रुख छ र ५०० वर्षसम्म पनि बाँच्दछ भने पिपल २५०० वर्षसम्म बाँच्दछ, र सबैभन्दा पुरानो पिपल अनुराधापुरा, श्रीलंकामा रहेको बताइन्छ ।

वृक्ष राजयनमः, अर्थात् पिपल रुखको राजा भनेर पनि चिनिन्छ । भगवान् कृष्णले गीतामा भन्नुभएको छ ‘अश्वत्थ सर्ववृक्षाण’ अर्थात् सबै वृक्षमा म पिपलको वृक्ष हुँ । त्यसैगरी शास्त्रहरूमा भनिएको छ, ‘अश्वत्थ पूजितोयत्रपूजिताः सर्व देवताः’ अर्थात् पिपलको पुजा गर्नाले सबै देवताको पुजा गरेको फल प्राप्त हन्छ ।

नेपालको संविधान २०७२ अनुसार नेपाल धर्मनिरपेक्ष राज्य हो । तर राष्ट्र र देशको हकमा भने चैँ अहिले पनि विश्वले नेपाललाई एकमात्र हिन्दु राष्ट्रकै रूपमा हेर्दारहेछन् । संविधानमा धर्मनिरपेक्ष भनिएतापनि विदेशीहरूसँग कुरा गर्दा हिन्दु देशकै रूपमा चिनिँदोरहेछ, खुशी पनि लाग्यो । तसर्थ नेपाल धर्मनिरपेक्ष देश भनिएपनि पिपललाई ‘राष्ट्रिय रुख’ बनाउने सन्दर्भमा धार्मिक हिसाबले मात्र हेरिनु उचित हुँदैन भन्ने मलाई लाग्छ । सबै राजनैतिक दलहरू एकैठाउँ उभिएर यसलाई सबै नेपालीको साझा र सरोकारको विषयको रूपमा लिनुपर्ने हुन्छ । यसले आफ्नै मौलिक पहिचान बोकेको छ । हिन्दु बौद्ध र जैन धर्मालम्बीहरू सबै पिपलको रुखप्रति आस्था राख्दछन् ।

माथिका तीनै धर्मालवम्बीहरूको जनसंख्यालाई हेर्ने हो भने नेपालको कुल जनसंख्याको ९१ प्रतिशत हुन आउँछ । हिन्दु वा सनातन धर्ममा ब्रह्मा, विष्णु र शिवको बास यही रुखमा छ भन्ने मान्यता रहेको छ । हिन्दु धर्ममा पिपललाई विष्णुको अवतार मानिने हुनाले यसलाई हिन्दुले पवित्र रुखको रूपमा पुजाअर्चना गर्दछन् । पिपलको रुखमा शनीदेवको पनि बास हुने हुँदा शनिबारको दिन जल चढाउँदा वा छुँदामात्र पनि राम्रो हुने धर्मशास्त्रमा उल्लेख छ । गौतम बुद्धले पनि ध्यान गरेको अनि बुद्धत्व प्राप्त गरेकाले यस वृक्षको ठूलो महत्व रहेको छ । पिपललाई ‘बोधी’ रुख पनि भनिन्छ, जहाँ गौतमबुद्धले ज्ञान प्राप्त गरेका थिए । त्यसैले पिपलको रुखको आफ्नै सङ्केतात्मक पहिचान छ, जसलाई ‘ज्ञानोदय र शान्ति’ भनिन्छ ।

यसले धार्मिक मान्यताबाहेक आफ्नै पर्याप्त वैज्ञानिक एवम् मौलिक बहुउपयोगी पहिचान बोकेको छ । पिपलको पातको आकार हृदयको जस्तै भएको कारणले मायाको चिन्ह र बात्सल्यताको बोध गराउँदछ । यसलाई प्रेमको प्रतीक मानिन्छ । आममानिसमा पिपलको रुख काट्न हुँदैन भन्ने भावना छ र काटिँदैन । वैज्ञानिक दृष्टिकोणले पनि पिपलको निकै ठूलो महत्व रहेको छ । यो यस्तो रुख हो, जसले गर्मीमा शीतलता र जाडोमा उष्णता प्रदान गर्छ ।

पिपलको आफ्नै अलौकिक औषधीय गुणहरू छन् । पिपलको जरा, बोक्रा, पात तथा साना फल वा बीउहरूमा कुनै न कुनै औषधिजन्य गुण रहेको हुन्छ । जसले विभिन्न कडा प्रवृत्तिका रोगहरूको उपचारसमेत सम्भव हुन्छ । आयुर्वेदमा पचासभन्दा बढी रोगहरूको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ । यसमा भिटामिनजन्य गुण पनि रहेको हुन्छ । पिपलको रुखमा झण्डै ६० किसिमका रासायनिक तत्व पाइन्छन् जुन औषधीय उपयोगिताका लागि महत्वपूर्ण मानिएको छ ।

लावोस, रसिया, ब्राजिल, नर्वे, स्वेडन, फिनल्याण्ड, भुटान जस्ता देशहरूमा अहिले पनि ७० प्रतिशत भन्दा बढी वनले ओगटेको क्षेत्र छ । त्यस्तै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, चाइना, कंगो पेरु पनि धेरै क्षेत्र वनले ढाकिएकोमा चिनिन्छन् । दक्षिण एशियामा भुटानको ७० प्रतिशत, भारतको २५, बंगलादेश १८, पाकिस्तान ५, माल्दिब्स ३ र श्रीलंकाको ३० प्रतिशत वन हुँदा, नेपालको ४५ प्रतिशत वनलाई राम्रो मान्न सकिन्छ । वन जोगाउनु मात्र ठूलो कुरा होइन, उपभोक्ताले यसको उपभोग पनि गरेर यथेष्ट फाइदा पनि लिन सक्नुपर्छ । यता दिनरात खटिएर वन जोगाउने उपभोक्ताहरू गरिबीमै रहने अनि काठ र फर्निचर जति थाइल्याण्ड, इन्डोनेशिया, मलेशिया, म्यानमार, भारत र चाइनाबाट ल्याउने हो भने हामीले जोगाएको वनको के काम ? यस्तो वनबाट देशको आर्थिक उन्नतिमा सुन्य नै योगदान रहन्छ । ‘नेपालको वन हरियो धन भनेर’ घोक्रो सुकाएर नारामात्र लगाएर देश समुन्नत र समृद्ध हुन कदापि सक्दैन ।

त्यसैले वन तथा वातावरण मन्त्रालय र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अनि वनसँग सरोकार राख्ने अन्य संघ-संस्थाले नेपालको ‘राष्ट्रिय रुखको’ पहिचान गर्नको लागि पहल गरुन् । साथै सरकारले जनचाहना वा जनमतको आधारमा कुनै एकरुख पहिचान गरि चाँडोभन्दा चाँडो ‘राष्ट्रिय रुखको’ घोषणा गरोस् । विश्वमा हामी पनि नेपालको ‘राष्ट्रिय रुख’ यो हो भनेर गर्वका साथ भन्न सकौँ । हुनसक्छ भने अन्य कुनै अर्को प्रजातिलाई एउटा ‘प्रतीकको’ रूपमा ‘राष्ट्रिय विरुवा’ पनि घोषणा गरियोस् । अस्तु ।

(लेखक वातावरण तथा संरक्षणविज्ञ हुन् ।)