क्रिप्टो करेन्सी’ : सचेत नभए अर्थतन्त्रको अवसान !

क्रिप्टो करेन्सी’ : सचेत नभए अर्थतन्त्रको अवसान !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

अवैध रूपमा ठूलो रकमको कारोबार हुने ‘क्रिप्टो करेन्सी’ नेपाल भित्रिएपछि यसले वैध मार्गबाट हुने आर्थिक कारोबारलाई चुनौति दिइरहेको छ । सेयर बजारजस्तो वालेटमार्फत कारोबार हुने यो क्रिप्टोग्राफी गरेर बनाइएको डिजिटल कम्युडिटी हो ।

क्रिप्टो करेन्सी नेपालमा २०७४ मा भित्रिएको मानिन्छ । त्यसपछि यसको कारोबार के-कति भइरहेको छ, त्यसको कुनै विवरण प्राप्त हुन सकेको छैन । प्रहरीले त्यसयता सङ्गठित रूपमा यसको कारोबार गर्ने व्यक्ति पक्राउ गरेर नौ वटा मुद्धा भने दर्ता गरेको छ ।

‘क्रिप्टो कम्प्युटरको विभिन्न प्रविधि प्रयोग गर्दै माइनिङबाट बनाइएको हुन्छ । यो तयार गर्दा माइनिङबाट आएकालाई प्रमाणित गर्छ । र, यो डिजिटल लेजरजस्तो हुन्छ र त्यसमै कनेक्ट हुन्छ । यसलाई विश्वका कुनै पनि देशले नियमन गर्दैनन्’- प्रहरीको साइबर ब्युरोका एसपी पशुपति रायले घटना र विचारलाई भने ।

यसको कुनै टेण्डर हुँदैन र, यसका लागि कुनै धितो पनि राखिएको हुँदैन । जस्तो नेपाल राष्ट्र बैंकले मुद्रा मुद्रण गर्दा त्यति मूल्य बराबरको सुन, चाँदी धितो राख्छ, तर क्रिप्टोको भने केही राख्नै पर्दैन । सेयर बजारमा जस्तो यसको मूल्य तल-माथि भइरहन्छ । क्रिप्टो सञ्चालकले एक आइडी दिने र त्यही आइडीमा कनेक्ट भएपछि क्रिप्टो खरिद गर्नेले कारोबार गर्छन् ।

एसपी रायका अनुसार विश्वका केही देशमा यसको कारोबार वैध पनि छ । नेपालमा भने नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै अवैध भनेको छ । क्रिप्टो कारोबारको लागि ‘वालेट’ सिर्जना गरिएको हुन्छ र, कारोबार गर्नेले त्यही वालेटमार्फत कारोबार गर्छन् । पछिल्लो समय नेपालमा लागुऔषध, अवैध सुनको कारोबारमा क्रिप्टोको प्रयोग हुन थालेपछि यो चिन्ताको विषय बन्दै गएको प्रहरी अधिकारीहरूको भनाइ छ । ‘क्रिप्टो अपराधिक क्रियाकलापमा प्रयोग भएको देखिन्छ र, यसले भविष्यमा नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने प्रष्ट छ’- एक प्रहरी अधिकारीले घटना र विचारसँग भने ।

क्रिप्टो अनलाइन भुक्तानीको एक विधि हो, जुन बस्तु र सेवाहरूको बदलामा दिइन्छ । वास्तवमा क्रिप्टो नेटवर्कमा आधारित डिजिटल मुद्रा हो । विश्वका केही कम्पनीले आफ्नै क्रिप्टो करेन्सी पनि जारी गरेका छन्, जसलाई टोकन भनिन्छ । यी टोकनहरू सामान्यतया कम्पनीको आफ्नै बस्तुहरू र सेवाहरू खरिद गर्न प्रयोग गरिन्छ ।

वास्तविक मुद्रा र क्रिप्टो करेन्सीबीचको आधारभूत भिन्नता भनेको तपाईंले बजारमा खर्च गर्ने पैसा देशको केन्द्रीय बैंकले जारी गर्दछ भने क्रिप्टो करेन्सी एक व्यक्तिको स्वामित्वमा हुन्छ ।

पछिल्लो चरणमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरू आफूले कमाएको रकम नेपाल पठाउनुभन्दा क्रिप्टोको विट क्वाइन खरिद गर्नतर्फ लागेका पाइन्छन्, जसले नेपाल सरकारलाई प्राप्त हुने राजश्वदेखि देश भित्रने रकम पनि उतै जाम हुन थालेको छ ।

क्रिप्टो कारोबारको जानकारी लिन वा कसले चलाउँदैछ भन्ने खोजी गर्ने कार्य चुनौतिपूर्ण छ । यसलाई पत्ता लगाउन प्रविधिको विकास पनि भइसकेको छ तर त्यस्ता उपकरण खरिद गर्न करोडौँ रकम लाग्छ । सरकारले चाहेमा त्यस्ता उपकरण गरिद गर्न सक्छ, निजी श्रोतबाट भने त्यो सम्भव नहुने सम्बद्ध प्रहरी अधिकारीहरू बताउँछन् ।

ज्ञातव्य छ, क्रिप्टो १ विटको ६५ हजार डलरसम्म कारोबार भएको पाइन्छ ।