पशुपतिनाथ परिसरका हराएका ९ पोखरीमध्ये तीन वटा भेटिए

पशुपतिनाथ परिसरका हराएका ९ पोखरीमध्ये तीन वटा भेटिए


६ वटाको खोजीमा कोष, जग्गाको मूल्य ५ अर्ब ७६ करोड

  • सुरेन्द्र सुवेदी, काठमाडौं

पशुपतिनाथ क्षेत्रमा रहेका पोखरी राजनीतिक आडमा संगठित रुपले अतिक्रमण गरेर भवन बनाइएपछि त्यो क्षेत्रमा परापूर्वकालदेखिका पोखरीको अस्तित्व नै समाप्त भयो । यसरी अतिक्रमण गर्दा ९ वटा पोखरीको अस्तित्व सकियो । पशुपति क्षेत्र विकास कोषमा राजुकुमार खत्री सदस्य सचिवसहित नयाँ नेतृत्व आएपछि हराएका पोखरीको खोजी सुरु भएको छ ।

खोजिका क्रममा लाम पोखरी, गाचा पोखरी र दोचा पोखरी फेलापरेका छन् । यी पोखरीको औषत क्षेत्रफल १२ रोपनी रहेको कोषका सदस्य सचिव खत्रीले घटना र विचारलाई बताए ।

उक्त पोखरी रहेको जग्गाको हालको मूल्य १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी हुन आउँछ । यो क्षेत्रमा जग्गा आनाको १ करोड रुपैयाँ हाराहारीमा किनबेच हुने गरेको बताइन्छ । यी नौ वटै पोखरीले ओगटेको जग्गाको हालको मूल्याङ्कन गर्दा करिव ५ अर्ब ७६ करोड रुपैयाँ हुन आउँछ । जुन जग्गामा अतिक्रमण गरेर भवनहरु बनाइएको कोषको दाबी छ ।

फेला परेका यी पोखरीमा अतिक्रमण गरेर भवन बनाइएको छ । पोखरी भएका स्थानमा बनाइएका ती भवन हटाएर कोषले पोखरी नै स्थापना गर्ने अभियान शुरु गरेको जनाइएको छ ।

कोषका सदस्यसचिव खत्रीका अनुसार वनकाली, धर्मशाला, हंसमण्डप, भण्डारखाल क्षेत्रका अतिक्रमणका कारण नाममात्रमा सीमित रहेका पोखरीलाई पुुरानै ढाँचामा बनाउन कोष लागिरहेको छ ।

हराएका ६ वटा पोखरीको खोजी पनि तीव्र बनाएको सदस्यसचिव खत्रीले बताए । उनले भने, ‘हामी हराएका पोखरी खोजिरहेका छौँ, फेला पारेरैछोड्ने विश्वास छ ।’

कोषले पशुपतिनाथक्षेत्रमा पूर्खाले पशुपतिनाथ मन्दिर सञ्चालनका लागि दिएका गुठीका जग्गाको पनि खोजी सुरु गरेको छ । साली गुठी, माकोवा गुठी, घडियाल गुठीसमेतका गुठीका जग्गा पनि खोजी सुरु भएको छ ।

कोषले बागमति खोलापारि तिलगंगाको बस्ती सार्ने भएको छ । त्यहाँ ३६-३७ परिवार बस्दै आएका छन् । ती परिवारलाई गोठाटारमा रहेको कोषको जग्गामा सार्ने तयारी भइरहेको सदस्यसचिव खत्रीको भनाइ छ ।

कोषले पशुपति क्षेत्रमा केही सुधारका काम पनि थालेको छ । मन्दिर परिसरका फुल पसललाई व्यवस्थित गर्न गुरु योजनाअनुसार पसल कवल बनाउने तयारी छ । पुरातात्विक महत्वअनुसार काठको प्रयोग गरेर कवल बन्नेछन् ।

यस्तै, भारतीय धार्मिक पर्यटकको पनि गणना गर्ने तयारी छ । हाल नेपाली र भारतीयबाहेकका पर्यटकको मात्र गणना हुने गरेको छ । अब भारतीय नागरिक पशुपतिनाथ मन्दिर जाँदा अलग्गै मार्गबाट प्रवेश गराउने र तिनीहरूको संख्या रेकर्ड राख्ने तयारी रहेको सदस्यसचिव खत्रीले घटना र विचारलाई बताए ।

पशुपति पुग्ने पर्यटकका लागि ५ वटा शौचालय पनि बनाउने तयारीमा कोष लागेको छ । विश्व सम्पदा सूचीमा रहेका कारण प्रक्रिया मिलाएर काम गर्नुपर्दा केही ढिला भएको कोषको भनाइ छ ।