प्राधिकरणका कर्मचारी पनि छोडेन एनआईसी एसिया बैंकले !

प्राधिकरणका कर्मचारी पनि छोडेन एनआईसी एसिया बैंकले !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

एनआईसी एसिया बैंकले नेपाल विद्युत प्राधिकरणका कर्मचारी ठगेको आरोप लागेको छ । प्राधिकरण र बैंकबीच २०७९ साउन २९ गते पे-रोल व्यवस्थापनसम्बन्धी सम्झौता र सम्झौतामा उल्लेख भएका सामुहिक दुर्घटना तथा औषधिउपचार वीमा सुविधा (कडा रोगसमेत) बैंकले पालना नगरेको प्राधिकरणले आरोप लगाएको हो ।

यसमा प्राधिकरणका कर्मचारी सन्तोष श्रेष्ठले ६६ हजार बीमा दाबी गरेकोमा उनले २५ हजार रुपैयाँमात्र पाएको सामाजिक सञ्जालमा लेखेका छन् । यस्तै अधिकांश कर्मचारीले उपचार बीमा माग गर्दा ८५ प्रतिशतसम्म कटौती गरेर लामो समयपछिमात्र भूक्तानी दिने गरेको कर्मचारीहरूले घटना र विचारलाई बताए ।

प्राधिकरणले त्यहाँ कार्यरत कर्मचारीको दुर्घटना र उपचार बीमा एनआईसी एसियामा गर्ने सम्झौता भएको भए पनि बैंकबाट एकपक्षीय रुपमा सम्झौता पालना नभएको जनाएको हो ।

जनसाधन विभागका निर्देशक शिवकुमार अधिकारीले यही माघ १६ गते बैंकलाई पत्र लेख्दै जम्मा बीमा दाबी संख्या ५ सय १३ भएको तर भूक्तानी ५३ मात्र भएको, आँखासम्बन्धी उपचारको फायल फिर्ता पठाएको र यथाशीघ्र बीमा दाबी फस्र्याैट गर्न लिखित पत्राचार गर्दासमेत कार्यप्रगतिमा कुनै सुधार नदेखिएको उल्लेख गरेका छन् ।

यस्तै भूक्तानी भएका बीमा दाबीहरू तोकिएको समयमा प्राप्त नभएको, बीमा दाबीहरूमा अस्वभाविक रुपमा रकम कटौती भएको र सोको कारण पनि उल्लेख नगरेको र, भर्ना भएर उपचार गराउँदासमेत ओपिडी तथा इमर्जेन्सी टिकट माग गर्दै दाबीयोग्य नहुने भन्दै फायल फिर्ता पठाएको प्राधिकरणले लेखेको पत्रमा उल्लेख छ ।

सुमन दाहालले आफूले दाबी गरेको रकममध्ये १५ प्रतिशतमात्र पाएको बताएका छन् । यस्तै, एनआइसी बैंकको स्लोगन ‘बैंक पनि साथी पनि’लाई यामकुमार महतोले ‘साथी पनि र बैंक पनि चोर हो’ भनी फेसबुकमा लेखेका छन् । केही कर्मचारीले सरकारी सम्पत्ति निजी बैंकलाई जिम्मा लगाउनु नै गैरजिम्मेवारी काम हो भन्दै यसमा सोच्नैपर्ने बताएका छन् ।