प्रचण्डले काङ्ग्रेसलाई एमालेको भारी बोकाए -लक्ष्मणप्रसाद घिमिरे (नेका)

प्रचण्डले काङ्ग्रेसलाई एमालेको भारी बोकाए -लक्ष्मणप्रसाद घिमिरे (नेका)


० प्र्रधानमन्त्री माधव नेपालको आयु समाप्त हुन लाग्यो भन्छन्, कति बाँकी होला यो सरकारको आयु ?
– माधव नेपालको प्रधानमन्त्रीत्वको आयु एकीकृत नेकपा माओवादीको हातमा छ । जेठ १४ गते राति भएको तीनबुँदे सहमतिको पहिलो नम्बरको बुँदा माओवादीले पालना गरेको एक घन्टाभित्रै माधव नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिनुहुन्छ ।
० यसरी सर्त अघि सारेर तपाईंहरूलाई किन मुलुकको राजनीति ठप्प तुल्याउन चाहनुहुन्छ ?
– यसलाई हामीले सर्त तेर्स्याएको भन्न मिल्दैन । माओवादीले १२ बुँदे सहमतियताका कुनै पनि सहमति र सम्झौताहरूको पालनामा इमानदारी देखाएन । तर, नेपाली काङ्ग्रेसले के-के पालना गरेन – त्यो माओवादीले औंल्याइदेओस् । अनि कसरी हामीले राजनीति ठप्प तुल्याएको आरोप लगाउन मिल्छ –
० कसको कारण नेपालको राजनीति यति साह्रो अन्योलग्रस्त बनेको हो त ?
– त्यो कति भनिरहने – जो रातदिन सत्ताकब्जाको कुरा गरेर थाकेका छैनन्, यसरी ‘कब्जा’ भन्ने हिंसात्मक अभिव्यक्तिमा जो रमाइरहेछ, तिनीहरूकै कारण नेपाली राजनीति यसरी अन्योलग्रस्त बनेको हो, प्रदूषित भएको हो भन्ने त जगजाहेर नै छ नि !
० के माओवादी लोकतान्त्रिक प्रक्रियामा आएकै छैन भन्न खोज्नुभएको हो तपाईंले ?
– हतियार बोक्ने माओवादीको चिन्तनमा कत्ति पनि परिवर्तन आएको अनुभूति गर्न सकिएको छैन । उहाँहरू अहिले पनि हामीहरूलाई मौका परे खाल्डोमा हालेर पुरिदिने भाषण गर्नुहुन्छ । यस्तो शक्तिलाई लोकतान्त्रिक कसरी मान्ने ?
० मुलुकको राजनीति त अझै अन्योल र अस्तव्यस्त नै रहने भयो, होइन ?
– दुःखका साथ भन्नुपर्ने अवस्था छ अन्योलमै रहने भयो । किनकि, संविधानलेखनमा माओवादीको रुचि पटक्कै देखिएन, खालि प्रधानमन्त्रीको राजीनामाकै मात्र कुरा गर्छ ऊ ।
० संविधानसभाको म्याद थपिदिए प्रधानमन्त्रीको राजीनामा दिलाइदिने आश्वासन दिएर म्याद थपाएपछि अब एक नम्बर, दुई नम्बर भनेर झुलाउन मिल्छ त तपाईंहरूले ?
– माओवादी नेतृत्वले के संविधानसभाको म्याद थप्ने कुरा प्रधानमन्त्री पदसँग साटेकै हुन् त ? त्यो भन्न सक्नुहुन्छ उहाँहरूले ? संविधानसभाबाट संविधान बनाउन छोडेर किन प्रधानमन्त्री पदको एकोहोरो रट लगाइरहेको छ माओवादी नेतृत्व ? चाहिएको त संविधान हो नि यतिबेला, सरकार हो र ?
० माधव नेपालप्रति यति धेरै मोह जाग्नुपर्ने कारण के हो त तपाईंहरूमा ?
-यो हाम्रो कुनै मोह होइन बरु माओवादीले हामीमाथि बोकाइदिएको भारी पो हो । यदि प्रचण्डजीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएका भए यसरी एमालेको बोझ हामीले बोक्नुपर्ने थिएन होला । जे भए पनि भारी बोकिसकेका छौँ र हामी अरूजस्तो लकपकाएर होइन इमानदारी साथ बोकिरहेका छौँ यो भारी । यो भारी कहिलेसम्म बोकाउने हो त्योचाहिँ माओवादीकै निर्णयमा भर पर्छ । हामी चाहन्छौँ एक नम्बर बुँदा यथाशीघ्र माओवादीले व्यवहारमा उतारोस् र माधव नेपालको भारी बोक्ने कामबाट काङ्ग्रेसलाई मुक्ति दिलाओस् ।
० यो बोझबाट मुक्ति पाउन माओवादीले के-के गरिदिनुपर्‍यो त, एक-दुई तीनमा भन्दिनुहोस् त !
-एक- माओवादी लडाकाका विषयमा टुङ्गो लगाउनुपर्‍यो, यसको सङ्ख्याका कुराहरू, प्रक्रियाका कुराहरू स्पष्ट पारिदिनुपर्‍यो, दुई, वाईसीएलको अर्धसैनिक ब्यारेकीय संरचनाको अन्त्य हुनुपर्‍यो, तीन, माओवादीले कब्जा गरेका सम्पत्ति फिर्ता हुनुपर्‍यो । यसो भए वर्तमान समस्याको निकास खुल्छ र हामी पनि बोझमुक्त हुन्छौँ, माओवादी पनि अपजशबाट मुक्त हुन्छ ।
० लडाकुको सङ्ख्याचाहिँ कति हो त समायोजन गरिनुपर्ने ?
-प्रचण्डजीले गिरिजाबाबुसँग सहमति जनाउनुभएको त्यही तीन हजार-पैंतीस सयजति हो क्या रे !
० ए ! त्यसो भए तपाईंहरू तीन हजार-पैतीस सय माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्न तयार हुनुहुन्छ, होइन ?
– नेपाली सेनामै भन्ने होइन, उनीहरूको योग्यता र क्षमताका आधारमा कहाँ-कहाँ हुनसक्छ त्यहाँ-त्यहाँ बन्दोबस्त गरिदिने हो । एकैचोटि समूहका समूह नेपाली सेनामा जाने भन्ने होइन । सेना-प्रहरीहरूका आ-आफ्नै प्रक्रियाहरू छन्, त्यसअनुसार हुने हो, त्यत्तिकै कहाँ मिल्छ र ? एकथरी नेपाली आमाका छोराहरूलेचाहिँ अनेक भौतिक र बौद्धिक प्रक्रियाहरूबाट गुज्रनुपर्ने अनि अर्काथरीले चाहिँ ‘हामी त माओवादी हौं’ भनेर धम्क्याएकै भरमा, जङ्गलमा बसेर कथित जनयुद्धमा होमिएको भनिएकै भरमा त्यत्तिकै राष्ट्रको सेनाको हैसियत पाउने कुरा त न्यायोचित ठहरिन सक्दैन नि !
० काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने कुरामा चाहिँ किन त्यति चासो नदर्शाएको होला ?
– स्पष्ट छ- नेपाली काङ्ग्रेसले इतिहासको यो कालखण्डको संवेदनशीलता बुझेको छ, मुलुकलाई यतिखेर नयाँ र सर्वस्वीकार्य संविधानको आवश्यकता परेको छ भन्ने बुझेको छ । संविधान बनाउनका लागि सत्ता होइन संविधानसभामा सकारात्मक भूमिका खेल्नु आवश्यक छ भन्ने काङ्ग्रेसको ठहर छ । हामी त प्रतिपक्षमा बसेरै पनि देशका लागि केही गर्न सकिन्छ भन्ने मान्यतामा उभिएर काम गरिरहेका थियौँ, तर प्रचण्डजीले अचानक खुट्टा छोडिदिँदा एमाले नेतृत्वको सरकारलाई थेगिदिनुपर्ने भूमिकामा देखापर्नुपर्‍यो । तर्सथ, सरकारमा रहनैपर्ने या सरकारको नेतृत्व गनैजस्ता कुरा हाम्रो प्राथमिकतामा पर्दैन ।
० नेपाली काङ्ग्रेस त सत्ताबिना बस्नै सक्दैन भनेर भनिन्छ नि ?
– नसक्ने भए कसरी बस्यो त यसअघि नौ महिना ? बस्छ, सक्छ । सहमति पालना गरेर प्रचण्डजी आफ्नो आवश्यक मत जुटाएर सत्तामा जानुहोस्- हामी स्वागतमा ताली नै बजाइदिउँला । त्यति गर्न सक्नुभएन भने त बाध्य भएर काङ्ग्रेस नै अघि सर्नुपर्ला सरकारको नेतृत्व गर्न !
० भनेपछि, माओवादीले सहमतिको एक नम्बर बुँदा मानेपछि पनि सरकारचाहिँ काङ्ग्रेसको बन्नुपर्ने ?
– होइन ! माओवादी पनि फेल भइसकेको र एमाले पनि यदि असफल भएको मान्ने हो भने त स्वतः काङ्ग्रेस अघि र्सर्नुपर्ने हुन्छ पो भनेको त । हाम्रो पहिलो प्राथमिकता त संविधान र देशमा दिगो शान्ति स्थापना गर्नु नै हो । आवश्यक पर्दा सरकार बनाउने कामबाट काङ्ग्रेस पछि हट्दैन भन्नेचाहिँ सबैले बुझदा हुन्छ ।
० अब एक वर्षभित्र संविधान बनाएर देखाउनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ, होइन र ?
– एउटा कुरा गजव छ, संविधान निर्माण गर्नुपर्ने कुरासँग यो ‘राष्ट्रिय सहमतिको सरकार’ भन्ने फुँदा किन जोडिन्छ हँ ? मैले त बुझनै सकिनँ क्या ! संविधान बनाउन सरकारले कसरी छेक्न सक्छ, छेकेको छ ?
० राष्ट्रिय सहमतिको सरकार नभई कसरी बन्छ त संविधान ?
– ए बाबा ! के कुरा गरेको भन्या – सरकार बनाउन गरिने सहमति संविधान बनाउने कुरामा हुन मिल्दैन र भनेको ? सरकारको कुरा छोडेर खुरुखुरु संविधान बनाउन थाले के हुन्छ ?
० एक वर्षमा फेरि पनि संविधान बन्दैन कि कसो हो ?
– शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन माओवादीले इमानदार पहल गरिदिए एक वर्ष लाग्दै लाग्दैन नि ! राज्य पुनर्संरचना आयोग बनाउन माओवादी तयार भइदिए ६-८ महिनाभित्रै बन्छ संविधान । तर, जबर्जस्ती एकदलीय अधिनायकवादी संविधान बनाउने यस्तै प्रयत्न भइरहन्छ भने त कसरी बन्छ र संविधान ?
० नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए को होला प्रधानमन्त्री ?
-नेपाली काङ्ग्रेसभित्र अहिलेको परिवेशमा पनि १०-१५ जना नेताहरू सरकारको नेतृत्व गर्न सक्षम छन् । म आफैं पनि त्यो १५ भित्र पर्छु, यसरी बुझदा हुन्छ । नेपाली काङ्ग्रेसभित्रै प्रधानमन्त्री छान्नुपर्ने अवस्था आएछ भने त्यो काम बडो सहजताका साथ सम्पन्न हुन्छ भनी स्पष्ट पार्न चाहन्छु । यसका लागि कुनै समस्या पर्दैन ।
० काङ्ग्रेसबाट अबको प्रधानमन्त्री शेरबहादुर कि रामचन्द्र पौडेल ?
– यो प्रश्नअनुसार त जवाफ दिनैपर्छ- अबको प्रधानमन्त्री लक्ष्मण घिमिरे !
० नेपाली काङ्ग्रेसको महाधिवेशन तयारीचाहिँ के भइरहेको छ नि ?
– यो जेठ महिनाभित्रै क्रियाशील सदस्यताको टुङ्गो लागिसक्छ । असारको १५ भित्र गाउँ, नगर र जिल्ला अधिवेशन पनि सकिन्छ र निर्धारित समय भदौको १०-१४ सम्ममा नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशन सम्पन्न हुन्छ । यहीअनुसारको तयारी भइरहेको छ ।
० जिल्ला-जिल्लामा विवाद त प्रशस्तै छन् नि ?
– सबै विवादहरू मिल्दै र टुङ्गो लाग्दै आएका छन् । अब साता दिनभित्रै सबै विवाद समाप्त भइसक्छन् भन्ने मलाई लाग्छ ।
० काङ्ग्रेस महाधिवेशनको यसपटकको सन्देश के हो नि ?
– यही हो भन्ने त पार्टी केन्द्रीय समितिले तोक्ने कुरा भयो, तर व्यक्तिगत रूपमा मैले भन्नुपर्दा अबको महाधिवेशन एकताको महाधिवेशन भएकोले साठी-चालीसका कुरा छोडेर एकतामा जानुपर्छ । अर्थात्, पार्टी एकताको सन्देश दिनुपर्छ । अर्को कुरा, लोकतान्त्रिक मूल्य-मान्यता र मर्मअनुरूपको संविधान बनाउन लाग्नुपर्छ, शान्ति र अमनचैन कायम गर्न, विकासका काम अघि बढाउन काङ्ग्रेसले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । यही सन्देश बोकेर काङ्ग्रेस महाधिवेशनमा जाँदै छ ।
० गिरिजाबाबुको अभावले कत्तिको रिक्तता अनुभूति गराउला ?
-घरमूली अर्थात् बाबुको मृत्यु भएपछि छोरालाई त्यो रिक्तता त अवश्य महसुस हुन्छ । तर, ‘बाउ छैनन्’ भनी टाउको समातेर झोक्राएर मात्र बस्यो भने त न कुटो-कोदालो चल्छ न धान-मकै रोपिन्छ, सबै बर्बाद भइहाल्छ नि ! गिरिजाबाबुको अभाव खट्किएको छ, तर त्यही कुराको मात्र चिन्तन या चिन्ता गरिबस्ने समय होइन यो । बीपीको निधनपछिको रिक्तता अहिले पनि खट्किरहेको छ तर, चलिरहेकै पनि त छ । काङ्ग्रेस त अघि बढिरहेकै छ । अब गिरिजाप्रसाद कोइरालालाई सच्चा श्रद्धाञ्चली दिने हो भने पार्टीलाई एक गराएर लोकतान्त्रिक परिपाटीमा अगाडि बढाउनैपर्छ ।
– ऋषि धमला

त्यो बुँदा कार्यान्वयन गर्दैनौँ : महरा
एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरा अहिले पार्टीको विदेश विभाग प्रमुख हुनुहुन्छ । कम बोल्ने तर पुर्‍याएर बोल्ने नेताका रूपमा परिचित महरालाई पार्टीभित्र मध्यमार्गी नेताका रूपमा पनि हेर्ने गरिएको छ । नेता महराले घटना र विचारका लागि ऋषि धमलासँग कुरा गर्दै भन्नुभयो, प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा नआईकन केही पनि मिल्दैन ।
ध प्रधानमन्त्रीको राजीनामा त नआउनेभो । अब के गर्नुहुन्छ ?
– प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजीनामा दिनुपर्छ । जेठ १४ को जुन सहमति छ, त्यसको कार्यान्वयन गर्ने हो भने राजीनामाको विकल्प छैन ।
ध अहिलेसम्म त राजीनामा आएन नि ?
– अब हाम्रो पार्टी स्थायी समितिको बैठक बसेर भावी कार्ययोजना कसरी निर्माण गर्ने भन्ने निर्णय गर्छ । राजीनामा नआउँदा कस्तो रणनीति लिने भन्नेबारे हामी गम्भीर निर्णय गर्छौं ।
ध गम्भीर निर्णय भनेको के हो ?
– एकीकृत नेकपा माओवादीले अहिलेको परिस्थितिमा शान्ति र नयाँ संविधान निर्माणको महान् अभियानलाई केन्द्रबिन्दु बनाएको छ । काङ्ग्रेस र एमालेहरू सहमति गर्ने तर कार्यान्वयन नगर्ने बाटोमा गएको देखिन्छ । त्यसैले माओवादीले भोलि आन्दोलनमार्फ अगाडि बढ्नुपर्ने स्थिति पनि आउन सक्छ । त्यसबारे पनि हामी छलफल गरिरहेका छौँ ।
ध तपाईंहरूबीच भएको सहमतिचाहिँ के हो ?
– त्यो कुरा सबैलाई थाहा छ । तीन दलका शर्षि नेताहरू बसेर जुन तीनबुँदे सहमति गरियो । दोस्रो बुँदाअनुसार हामीले संविधानसभाको म्याद थप्न सहयोग गर्‍यौँ । तेस्रो बुँदा प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा दिने थियो । तर, आएन । काङ्ग्रेस-एमालेले बोलेका कुरा पालना गरेका छैनन् । यदि सहमतिमै जाने हो भने तेस्रो बुँदा तत्काल कार्यान्वयन गर्नुपर्छ ।
ध तेस्रो बुँदाभन्दा अगाडि त पहिलो बुँदा कार्यान्वयन गर्नुपर्ने कुरा आएको छ नि ?
– अब कसैलाई द्विविधा छ भने त्यो हस्ताक्षर गर्ने र सहमतिमा सहभागी नेताहरूलाई थाहा छ । हाम्रोतर्फबाट सबै काम गरेका छौँ । उहाँहरूले त्यतिबेलै भन्नुभएको थियो- पहिले संविधानसभाको म्याद थपौँ, बाँकी कुरा हामी गर्छौं । दोस्रो बुँदा पूरा भइसकेको छ । तेस्रो बुँदाअनुसार प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ राष्ट्रिय संयुक्त सरकार बनाउने काम नहुँदासम्म पहिलो बुँदा हामी कार्यान्वयन गर्दैनौँ ।
ध सहमति सरकारले तोडेको हो कि माओवादीले ?
– सहमति सरकारले नै तोडेको हो । काङ्ग्रेस र एमालेले नै तोडेका हुन् । माओवादीले तोडेको छैन । माओवादी आफ्नो वचनमा पक्का छ ।
ध प्रधानमन्त्रीले राजीनामा नदिए सरकार ढाल्न कस्तो बाटो लिनुहुन्छ ?
– यो सरकार ढाल्नै पर्दैन । आफैं ढलिसकेको छ । प्रधानमन्त्री माधवकुमार नेपालको सरकारलाई कसैले सरकारै मानेको छैन । यसलाई कसैले चलाइरहेको छ । त्यसकारण अलिकति पनि नैतिकता छ भने सरकारमा बस्नु हुँदैन ।
ध प्रधानमन्त्रीको राजीनामा नगराएर काङ्ग्रेस र एमालेले के चाहेका हुन् त ?
– प्रधानमन्त्री र सरकारमा सामेल काङ्ग्रेस र एमाले संविधान बनाउन चाहँदैनन् । मुलुकमा शान्ति भएको देख्न चाहँदैनन् । उनीहरू अझै पनि द्वन्द्व र असहमति बढाएर मुलुकलाई सङ्कटमा धकेल्न चाहन्छन् ।
ध सहमति नहुनुमा दोषी को हो ?
– प्रस्टै छ, काङ्ग्रेस र एमाले । अहिलेको समस्याको जड नै उनीहरू हुन् ।
ध माओवादीले प्रधानमन्त्रीमा प्रचण्डको विकल्प नदिएकाले सहमति हुन नसकेको र त्यसै कारण राजीनामा नआएको भनिन्छ नि ?
– हामी यसमा प्रस्ट छौँ । हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले नै संयुक्त सरकारको नेतृत्व गर्ने भन्ने निर्णय हामीले गरिसकेका छौँ । अहिले हामीले यसको विकल्प सोचेका छैनौँ ।
ध माओवादीभित्र प्रधानमन्त्रीको विवाद छ भन्छन् नि ?
– हाम्रो पार्टीभित्र त्यस्तो कुनै विवाद छैन । प्रधानमन्त्री प्रचण्ड हुनुपर्छ भन्ने सर्वसम्मत निर्णय हो । त्यस्तो परिस्थिति नबने विकल्प खुला छ पनि भनेका छौँ । तर, अहिले प्रचण्डको विकल्प छैन ।
ध तपाईं पनि प्रधानमन्त्रीको क्यान्डिडेट हो ?
– हाम्रो पार्टीमा एक से एक सक्षम नेता छन् । मैले आफूलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छैन । केन्द्रीय समितिको निर्णयअनुसार नै हामी अघि बढेका छौँ । अहिले प्रचण्डबाहेक अरूको नेतृत्वबारे कुनै छलफल गरेका छैनौँ ।