देश चाहिँदो रैछ

देश चाहिँदो रैछ


✍ उपेन्द्र त्रिपाठी

जब गाजाको हस्पिटलमा छटपटाइरहेको घाइते बालकलाई देख्छु
जब काश्मिरको सडकमा ढुंगा फ्याँकिरहेको किशोरलाई देख्छु
तब लाग्छ, आफ्नै देश चाहिँदो रैछ
जब बलुचिस्तानमा युध्द लडिरहेको युवकलाई सुन्छु
जब तिब्बतबाट भागिरहेको शरणार्थीलाई सुन्छु
तब लाग्छ,आफ्नै देश चाहिँदो रैछ ।

हुन त
भोको पेट च्यापेर,अर्ध नग्न शरीर बोकेर
बालबालिका जब स्कुल धाउँछन्
पराया भूमिमा कुनै नेपाली जब दुश्मनको गोलीले ढल्छ
सुन्निएको भुँडी लिएर कुनै युवती पिलपिलाउँदै
जब एयरपोर्ट ओर्लिन्छिन्
बेरोजगारीले थिचेको युवक रुँदै जब खाडीको जहाज चढ्छ
उपचारको बिल तिर्न नसकी जब कोही हस्पिटलमै आत्महत्या गर्छ
म नै हुँ देशलाई धारे हात लाउने
म नै हुँ बरु देश चाहिँदैन भन्ने ।

म नै हुँ पृथ्वीनारायणलाई दानव मान्ने
म नै हुँ नेपाल एकिकरणलाई गोर्खा बिस्तार ठान्ने
देवत्वकरण र दानवीयकरण भन्दा पर
इतिहासलाई वर्तमानको तराजुमा जोख्नु भन्दा पर
तर जब म यथार्थको चट्टानमा टेकेर उभिन्छु
अनि सोच्न पुग्छु
यदि नेपाल देश नहुँदो हो त
म कुनै वनपाखामा स्वतन्त्र देशको माग गर्दै
छापामार युध्द लडिरहेको हुन्थें
मेरो छोरो दुश्मन सेनालाई ढुंगा फ्याँक्दै गर्दा
गोलीले मुटु छेडेर शहीद हुने थियोे
घरमा लुकिरहेकी मेरी छोरी सामुहिक बलात्कारमा परेर
मृत्युवरण गर्ने थिई
मेरा बुढा बाआमा अपमानित छाती बोकेर
पराया भूममा शरण खोजिरहेका हुन्थे ।