आत्मनिर्भर सामाजिक तथा आर्थिक व्यवस्थालाई अनावश्यक हस्तक्षेपले चौपट पारेर विदेशको बिउ तथा मल नभए खेती नहुने, विदेशी सामान नभए किलकिले लाग्ने अवस्थामा मुलुकलाई पुऱ्याएपछि नेपाली आमाले विदेशको निमित्त श्रमिक नजन्माएर कसरी नेपाली जन्माउँछिन् ?
✍ स्वयम्भुनाथ कार्की
कवि भूपी शेरचनको कालजयी कविताका हरफहरू अझै उत्तिकै सान्दर्भिक छन् । उनका कविताले बदलिएको नेपालको नाराको खोक्रोपन उदाङ्ग पार्दछन् । उनै भूपीका कविता सङ्ग्रह ‘घुम्ने मेच माथिको अन्धो मान्छे’का केही हरफ हेरौँ-
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनु पर्ने
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
…
नेताहरू आफू विदेशीको निर्देशनमा चलेको कुरा प्रचार हुँदा गर्व गर्दछन् । विदेशी शक्तिकेन्द्रले गरेको काम आफ्नो स्वार्थअनुकुल भएमा सहयोग र प्रतिकुल भएमा देशको स्वतन्त्रता, आत्मसम्मानमा चोट भनेर डङ्का पिट्ने गरेको जगजाहेर नै छ । विदेशी आड, भरोसा, साधन तथा श्रोतबाट सञ्चालित संघ-संस्था बर्खे च्याउसरी पलाउँदै छन् । उनीहरूले गर्ने विभिन्न गोष्ठी तथा सेमिनारको बाढी लागेको छ । नेपाली जनताले आफूले आफ्नो संविधान लेख्ने भनिएकोमा विदेशीहरूको सदासयताको आवरणमा आएको आग्रहको कस्तो भूमिका थियो त्यो नेपालीको भोगाइ हो । संविधान जारी भइसकेपछिको अवास्तविक नाकाबन्दी यही श्रृङ्खलाको एक घटना थियो । अवास्तविक यस कारणले कि भारत सरकारले सो नाकाबन्दीको घोषणा गरेको थिएन, तैपनि सिमामा अवरोध भयो । आयातनिर्यात ठप्पप्रायः थियो । अन्य अर्थ नलागोस्, तर त्यसको केही समयपछि नेपालका र भारतका प्रधानमन्त्रीको जनकपुरमा भएको भव्य अभिनन्दन कार्यक्रम ऐतिहासिक नै हो ।
हाम्रा नेता, बुद्धिजीवी तथा नागरिकअगुवाहरूलाई विदेशी शक्तिकेन्द्रले मिलाइदिनु पर्छ, गठबन्धन ठिक नलागेमा फेरि उनिहरूले नै छुट्टयाइदिनु पर्छ । जुवामा नारिएका गोरुलाई जोतेझैँ उनीहरूले नै पछाडिबाट कोर्रा लगाएर अगाडि बढाउनु पर्दछ । दलहरूबीचको सम्बन्ध, दलहरूको एकीकरण, गठबन्धन वा दल विभाजन जस्ता नितान्त आन्तरिक कुरामा पनि विदेशी कुटनीतिज्ञहरूको सक्रियता देखिने गतिविधिका समाचारहरूले अब जनतालाई कुनै अचम्म लाग्न छोडेको छ ।
पछिल्ला आधा शताव्दिभन्दा धेर समयमा नेपाल नयाँ नेपाल बन्ने क्रममा आफ्ना अक्षमता लुकाउने र त्यसलाई मेट्ने प्रयत्न गर्नुको साटो अझ परनिर्भरता तथा परमुखापेक्षी नेतृत्वको विकास गर्न सक्रिय भयो । हाम्रा नेता तथा बुद्धिजीवीहरू नेपालमा दक्षिण छिमेकीको आशीर्वाद र सद्भावनाबेगर सरकार चल्न सक्दैन भनेर छाती ठोकेरै भन्छन् । अब त उत्तर छिमेकीको पनि यस्तै ‘सदायशता’ आवश्यक ठानिन थालेको छ ।
आत्मनिर्भर सामाजिक तथा आर्थिक व्यवस्थालाई अनावश्यक हस्तक्षेपले चौपट पारेर विदेशको बिउ तथा मल नभए खेती नहुने, विदेशी सामान नभए किलकिले लाग्ने अवस्थामा मुलुकलाई पुऱ्याएपछि नेपाली आमाले विदेशको निमित्त श्रमिक नजन्माएर कसरी नेपाली जन्माउँछिन् ? अष्ट्रेलिया, अमेरिका जस्ता पश्चिमा मुलुकहरूमा जान लागेकाको ताँती, भारतका महानगरहरूका दरवान वा खाडी मुलुकका तातो मरुभूमिमा रगत-पसिना चुहाउने दासहरू आज नेपाली आमाबाट पैदा हुने सन्तान हुन् । आफ्नो आत्मगौरव तथा आत्मसम्मानसहित दशनङ्ग्री खियाएर आफ्नो तथा देशको उन्नति-प्रगति गर्ने सपुत अब नेपाली आमाले कमै जन्माउँछिन् । देशभित्रै बसे पनि हमेशा विदेशीको चाकरी गर्न लालयित हुने र सो मौका नपाउँदा आफूलाई दुर्भाग्यशाली ठान्नेको जमातबाट नेपालको स्वतन्त्रताको रक्षा होला त ?
हामी वीर छौँ
तर बुद्धू छौँ
हामी बुद्धू छौँ
र, त हामी वीर छौँ
भूपी शेरचनको कविताका यी हरफहरू सबैले भोगेका तर स्विकार गर्न नचाहेको अर्को तितोसत्य हो । नेपाललीहरू भारतका गल्ली-गल्लीमा चौकीदारी गर्दछन् । उनीहरू ‘बहादूर’ भनिन्छन् । वीरको पर्यायवाची बहादूर हामीलाई कर्णप्रिय लाग्दछ । हामी मख्ख पर्दछौँ । विदेशीले हामीलाई वीर भन्दछ । हामी वीर हौँ, वीरका सन्तान हौँ तर हाम्रो बहादूरी आफ्ना निमित्त भएन । हाम्रो बहादूरीको उपभोग स्वदेशले गर्न पाउँदैन । म्यानमामा (वर्मा) बसेका नेपालीलाई नेपाल फर्काउने, आसाम तथा भाप्सुबाट नेपालीलाई मातृभूमि फर्काउने राजा महेन्द्रको नाम लिँदा पनि उग्र विरोध गर्नेहरू भेटिन्छन् । किनभने हाम्रा नेता तथा अगुवाहरूले हामीलाई त्यही सिकाएका छन्, त्यही पढाएका छन् । फुरुक्क पार्न हामीलाई ‘सर्वशक्तिमान’ विशेषण पनि दिइन्छ । सबै काम हाम्रा नाममा गरिन्छ । हाम्रो मर्जी होइन केवल नाम चाहिएको छ हाम्रा नेताहरूलाई । हामीलाई मुखले मान दिएर कामले मानमर्दन गर्दछन् । हामीले अस्विकार गरेका व्यक्तिहरू शासनसत्तामा नभइ हुँदैन । अझ हामीबाट अस्विकृतहरू नै हामीमाथि राज गर्दछन् । त्यसैले होला कवि शेरचन ‘म’ शीर्षक कवितामार्फत जनतालाई परिभाषित गर्दछन्-
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ !
…
प्रतिक्रिया