… राजाले पत्याइहाले !

… राजाले पत्याइहाले !


ब्यङ्ग्योक्ति

आफ्नै काका नदेख्नेले अरु भुत्रो देख्छन् त ? धनुर्धारी अर्जुनले माछाको आँखा मात्रै देखेजस्तै केवल माल्दाइमात्रै देखे ! गणतन्त्रका राजाले पनि माल्दाइलाई नै पत्याए ! रेडियोमा फेरि माल्दाइको नाम आयो !
✍ ज्ञानमणि भुर्तेल

पञ्चायतकालिन कुरो ! हाम्रो खेतिपाती रहेको झापा हल्दिबारीमा एक सँधियार थिए । गाउँमा ‘माल्दाइ’ नामले चिनिने शान्त शालिन देखिने उनको भित्री आवरण त्यसको ठिक विपरीत थियो ! ठुटे पञ्चनेतामा दरिएका उनी आफूलाई अब्बल नेता ठान्थे ! छुस्क्याइँमा लगभग ‘विद्यावारिधि’ गरेका पुराना छिमेकी सबैलाई खेदो खन्न माहिर भएकाले धेरैले उनलाई खोरेत माल्दाइ समेत भन्ने गर्थे । एकाध खोरेत उनको स्वरमा स्वर मिलाउँदै भजन गाउन मस्त ! खोरेत माल्दाइकै कृपाले उनीहरूको सन्ध्याकालिन आरतिको प्रसाद प्राप्त हुने ! खोरेत माल्दाइ चुनाव लड्न अनिच्छुक हुँदासमेत ‘तपाईं नलडे त मुलुक लड्छ’ जस्ता बकम्फुसे कुराले उचाल्दै पछार्न माहिर ! दाइले चुनाव लड्नु र केटाकेटीलाई तिहार आउनु एकै हुन्थ्यो । बलीराजाले पठाएको भन्दै तिहारमा देउसी खेलेझैँ दाइले पठाएको भनेर चन्दा हसुर्न पाइने !

खोरेत माल्दाइको छुस्क्याइँ कतिसम्म भने छिमेकीको रोपाइँका बेला मौनब्रत बस्ने अनि बाली काट्ने बेला अमिन ल्याएर बाली सप्रेको छिमेकीको खेत आफ्नो कित्तामा पारिहाल्ने ! नपरोस् पनि कसरी ? खोरेत माल्दाइको भान्सामा लोकल कुखुराको झोलसँग कालो नुनियाँ चामलको भात हसुरेपछि जसोजसो माल्दाइ उसो-उसो अमिन भैहाल्ने ! कुखुराको झोल र नुनियाँ चामलको धर्म निर्वाहमा अमिन माहिर ! बालि काटिसकेपछि वर्ष दिन माल्दाइ चुप ! अर्को वर्ष फेरि अमिन आगमन, सिमा नपाइ, सिमा घुमाइ, बालिकटाइ !! खोरेत माल्दाइको सकुनी चालबाट सबै गाउँले आजित । धेरै गाउँले बसाइँ सर्न बाध्य !!

खोरेत माल्दाइको अर्को रोचक विषेशता- नेताको चाकडीमा माहिर ! षड्यन्त्रमा खप्पिस भएका कारण बेलाबेला गाउँलेबीच झगडा लाउन अनि आफैं मिलाउन पनि सिपालु ! हरेक चुनाव लड्नैपर्ने ! जित्नुभन्दा हार्नु बढी भएतापनि निर्वाचित होस् कि मनोनित होस् पद अनिवार्य आवश्यकता ! गाउँमा खोरेत माल्दाइको एकलौटी शासन ! गाउँले आजित ! उपाय नास्ति !!

अर्का छिमेकी थिए खोरेत माल्दाइको सकुनी चालबाट झनै पीडित ! होचो कदका भएकाले खोरेत खेमाले पुड्केकान्छा भनेर खिसिट्युरी गरेतापनि बंशानुगत राजनैतिक संस्कार बोकेका अग्रजलाई सम्मान र अनुजलाई स्नेह दिन सिपालु मिठो बोलिबचन र भाषणकलामा पोख्त मायालु स्वभावका भएकाले कसै-कसैले छोटे पुरेतसमेत भन्ने गर्थे ! चुनाव त छोटेपुरेत पनि लड्ने तर खोरेत माल्दाइ आफू जित्न भन्दा पनि छोटेपुरेत हराउन तल्लिन भएका कारण छोटेपुरेत हरेक पटक चुनावी शहीद ! छोटेपुरेत कतिसम्म नरम भने, उम्मेदवारी दर्तापछि चुनावी रणनीतिमा भन्दा विपक्षीलाई माला पहिऱ्याउनमा ध्यान केन्द्रित ! आफैं माला उनेर लाइदिने ! गान्धीको अर्को अवतार !

एकदिन रमाइलो भो- रेडियो नेपालको जिल्ला समाचारमा खोरेत माल्दाइको नाम आयो ! राजाको जन्मोत्सव समारोहको स्थानीय समितिको सदस्य चुनिएछन् माल्दाइ ! कुन्ताका माल्दाइ त्यसमाथि रेडियोमा नाम आएको ! माल्दाइ पूरै असनको साँढे ! चौतारामा बसेर सालको पात बेरेको चुर तान्दै डिङ हान्न थाले- तिमेरु छौंडाहरूले नपत्याए के भो त ? राजाले पत्याइहाले !

जनताले लत्याएपनि राजाले पत्याउने क्रम बढ्दै गयो ! उता छोटे पुरेत पनि आफ्नै बलबुता र कार्यकर्ताको स्नेह अनि अग्रजको आशीर्वादबाट उकालो चढ्दै गए ! चुनाव आयो ! छोटे पुरेतलाई हारको ह्याट्रिकबाट जोगाउन सबै गाउँले लागिपरे ! उनको राजनैतिक प्रगतिमा खोरेत माल्दाइको निरन्तर खेदाइले जनसहानुभुति बटुल्न ठुलो मद्दत गऱ्यो ! गाउँलेले यो पार्टी त्यो पार्टी हेरेनन ! कल्पना भन्दा बाहिरको स्नेह छोटे पुरेतलाई प्राप्त भो ! सधैं विपक्षीलाई माला पहिऱ्याउने छोटे पुरेतले यसपटक आफैं माला ग्रहण गर्ने सौभाग्य प्राप्त गरे ! उनी सिंहदरबार छिरे !

गाउँलेले अपार हर्षका साथ आशा मात्र हैन विश्वाससमेत गरे कि अब गाउँबासीले न्याय पाउँछन् ! सम्मान पाउँछन् ! खोरेत युगको अन्त र संस्कारी पुरेतयुग उदयको आशाको नजर छोटे पुरेततर्फ दौडियो !

तर ….

बिस्तारै आशा निराशामा बदलिँदै गएको जनगुनासो बढ्दै गएको सुनिन्छ ! माल्दाइले खै कस्तो आश्वासनको बुटी सुँघाए कुन्नि ? पुरेतजी पनि खोरेतभजनमै मस्त हुन थाले ! उकालो लाग्नुपर्ने पुरेत बाजे आदरणीय दाइ भन्दै दाइकै पदचिन्हमा हिँड्न थालेपछि पुरेत बिग्रिने हुन् कि भन्ने त्रासले शुभचिन्तक चिन्तित हुनु स्वभाविकै थियोे र छ पनि ! आशलाग्दो केटो जेठाजु पऱ्यो भनेझैँ भो राष्ट्रियसभाको छनौट नाटकमा ! आशा र भरोसाका केन्द्र छोटेपुरेतले आफ्नो गाउँमा कुनै बुज्रुक देखेनन् ! कुनै महिला देखेनन् ! आदिवासी देखेनन् ! जनजाति देखेनन् ! सन्थाल, राजवंशी कोहि देखेनन् ! दलित देखेनन्, मुस्लिम देखेनन् ! यतिसम्म कि पञ्चायती पुलिसले पिटेर मऱ्यो भनेर छोडेको मेचिपुल आन्दोलनका क्रममा चार वर्ष जेल जीवन बिताएको चार घरपर्तिरको आफ्नै काकासमेत देखेनन् ! आफ्नै काका नदेख्नेले अरु भुत्रो देख्छन् त ? धनुर्धारी अर्जुनले माछाको आँखा मात्रै देखेजस्तै केवल माल्दाइमात्रै देखे ! गणतन्त्रका राजाले पनि माल्दाइलाई नै पत्याए ! रेडियोमा फेरि माल्दाइको नाम आयो !

अब चौतारी डिंग चल्ने होला- तिमेरु छौँडाहरूले नपत्यार के नापियो त ? राजाले पत्याइहाले !!

राजाले खोरेत पत्याए नि पुरेत पत्याए नि नेता उनिहरूनै हुन् क्यारे ! आफ्ना थान्कामा बसेर मर्यादित भएर बसिदिउन् ! गाउँलेको विश्वास नतोडुन्, भरोसा कायम राखुन् भन्ने आग्रह मात्र हो ! गाउँ जोगियोस् भन्ने इच्छा हो ! गाउँका बुज्रुकले अकाल मृत्युवरण नगरुन् भन्ने कामना हो !

आज गाउँको मेलामा ‘खोरेत पुरेत एक हौं’ गीत गुन्जिदैछ ! हामी पुरेतछाप लागेका गाउँलेलाई मेलामा भेटिएका खोरेत जँड्याहाले’ तेरो पुरेत बिग्ऱ्यो’ भन्दै गिज्याउँदा चैँ मुटु चसक्क हुँदो रैछ ! आफुले नरिबल ठानेको जन्तु गणेश सुपारी त्यो पनि खोरेतग्रस्त निस्केपछि ‘के सोचें मैले, के भयो ऐले…’ गीत गुन्गुनाउनु नियति बनेको छ !! तर चसक्क मसक्क जेसुकै भएपनि तक्मे बुढाले ‘मायाले संसार थाम्दैन’ भन्दै लेग्रो तानेझैँ लेग्रो तान्नुको विकल्प देखिएन तत्काललाई !!

पुरेत खोरेतमुक्त रहुन् भन्ने कामना !!