प्रकृति, पृथ्वी र धर्मशाला

प्रकृति, पृथ्वी र धर्मशाला


सबैको अस्तित्व भएन भने संसार कुरुप हुने छ । त्यसबेला मानिसको अस्तित्व पनि समाप्त हुने छ । यस्तो जान्दाजान्दै पनि किन मानिसले प्रकृतिले प्रदान गरेका सम्पदाहरूलाई जथाभावी नष्ट गरिरहेका छन् ?
✍ बंशीकुमार शर्मा

पृथ्वी धर्मशाला हो । धर्मशालामा यात्री, बटुवा, तीर्थालुलगायत सबलाई बस्ने अधिकार हुन्छ । धर्मशालामा प्रकृतिप्रदत्त सबै बस्न पाउने अधिकार हुन्छ । तपाईंहामी फगत यात्री हौँ । यात्रीको अर्थ आउने-जाने पात्र हो । यात्रा शुरु गर्दा सबै समान हुन्छन् । यात्री आउँदा-जाँदा, बस्दा गर्ने क्रियाकलापमा भर पर्दछ । यात्री कुनै न कुनै उद्देश्यमा प्रेरित हुन्छ । उद्देश्य, विचार, सोचाइ सबै यात्रीको समान नहुन सक्छ । यात्रीको उद्देश्य समान नभएकै कारण धर्मशालामा बास बस्न आएकाको चरित्र, सोचाइ, व्यवहार भिन्न-भिन्न भएको हो । यात्रालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा यात्री स्वयंमा भर पर्दछ । यात्रा अवधिभर आफ्नो यात्रालाई व्यवस्थापन गर्ने क्रममा यात्रीले आफ्नो कर्तव्यलाई बिर्सन हुँदैन । यात्रीले आउँदा जाँदा आफू बसोबास गर्ने धर्मशालाको संरक्षण गर्नु उसको दायित्व हो ।

यात्रीले आफ्नो कर्तव्यलाई भुलेर आफू बसोबास गरेकै धर्मशालाको पर्खाल, ढोका, छाना भत्काउँदै हिँड्ने यात्रीलाई कस्तो संज्ञा दिने ? त्यस्ता यात्रीलाई ‘मुर्ख’को संज्ञा दिन्छौँ । कतै तपाईं-हामी पनि मुर्ख त छैनौँ सोच्नुपर्ने भएको छ । बास बस्ने यात्रीले त विद्यमान रहेको संरचनालाई संरक्षण गर्दै सहयोग पुऱ्याउने हो, तर संरक्षण र सहयोग पुऱ्याउनेको सट्टा यात्रीले विध्वंश गरिरहेका छन् । यात्रीले आफ्नो यात्राभरि भोगेका व्यहोरिएका घटना, परिघटना तथा अनुभूतिहरूको सँगालो नै ज्ञान हो । ज्ञानलाई कुन रूपमा प्रयोग गर्ने भन्ने कुरा उसको विवेकमा भर पर्दछ उसले कस्तो ज्ञान प्राप्त गऱ्यो या गर्न चाहेको छ । यी सबै यात्रीमा नै निर्भर गर्दछ । यात्रीले आफ्नो यात्रालाई कुन रूपमा लैजाने उसको विवेकमा भर पर्दछ ।

प्रकृतिप्रदत्त बस्तु मान्छेका सृष्टि होइनन् । मान्छेले सूर्य पृथ्वी चन्द्रमा केही बनाएको छैन, बनाउन सकेको छैन, बनाउन पनि बनाउँदैन । मानिसलाई अत्यावश्यक पर्ने घाम, पानी, हावा केही नयाँ बनाउन सकेको छैन । मान्छेले प्रकृति हावा, पानी, घाम, ढुङ्गा, माटो, खनिज, हरियाली केही पनि बनाएको होइन । यीबिना मानिस जीवित रहन सक्दैनन् तर मान्छेबिना प्रकृति र सृष्टि रहिरहन्छन् । कस्तो विडम्बना ! जोबिना मानिस एकछिन पनि जीवित रहन सक्दैन त्यसैको विनास मानिस आफैले गरिरहेको छ । प्रकृतिले सृष्टि गरेका सबै प्राणीलाई बाँच्ने अधिकार छ । सबैको अस्तित्व आवश्यक छ ।

सबैको अस्तित्व भएन भने संसार कुरुप हुने छ । त्यसबेला मानिसको अस्तित्व पनि समाप्त हुने छ । यस्तो जान्दाजान्दै पनि किन मानिसले प्रकृतिले प्रदान गरेका सम्पदाहरूलाई जथाभावी नष्ट गरिरहेका छन् ? यसको वनोवट, संरचना र सन्तुलन बिगार्ने अधिकार कसैले पनि दिएको छैन, दिनु पनि हुँदैन । विकासको नाममा बिनास गर्दै जाने हो भने प्रकृतिले कतिसम्म पुऱ्याउने ?

प्राणी जगत्लाई प्राण दिने प्रकृतिप्रदत्त सम्पदालाई प्राणी जगत्कै सर्वश्रेष्ठ प्राणी मानवले विध्वंश गरिरहेका छन् । पशुपंक्षी, किटपतङ, हरियाली कसैले पनि आफ्नो कर्तब्य छोडेका छैनन् । कर्तब्य नै धर्म हो यी सबै धर्ममा अडेका छन् । केवल आफ्ने कर्तब्य र धर्म छोड्ने बुद्धि विवेक भएको मानिने मान्छे मात्र हो । मान्छेले आफ्नो कर्तब्य भुलेर आफ्नो आयु आफै छोट्याउँदै छ, आफ्नो भाग्य आफै गुमाउँदै छ । यति मात्र नभएर मानवले विश्वलाई प्रलयको संघारमा पुऱ्याएको छ, यसमा सबै सचेत हुनु जरुरी छ ।