कुल र मूललाई जोगाउने पूर्खालाई सम्झिँदा…

कुल र मूललाई जोगाउने पूर्खालाई सम्झिँदा…


राज्यको बागडोर सम्हालेर विदेशीको चाकडी गर्ने यस्तै कुलङ्गार र धर्मछाडा नेतृत्वले नै सनातन र सांस्कृतिक पहिचानलाई निस्तेज पार्दै इसाईकरणको मिसन भित्र्याएका हुन् । हाम्रो ध्यान, तन्त्र, योग-साधना, आयुर्वेद जस्ता पुराना तर अति महत्त्वपूर्ण ज्ञानलाई पश्चिमा मिशनको पछि लगेर पाखण्डवाद वा रुढीवाद भन्दै घृणा गर्ने र आफ्नो सांस्कृतिक पहिचानलाई कुल्चनेहरूलाई इतिहासले कहिल्यै माफी दिनेछैन ।
✍ चित्रबहादुर रसाइली

लिगलिगकोटमा राज गर्दादेखि नै द्रव्यशाहका साथमा थापा, रसाइली, भुसाल, मास्के र राना थरका सैनिकहरू धेरै थिए । द्रव्य शाहको उत्साहलाई बढाउनेमा गोरखामै बसोबास गरिरहेका भागिरथ पन्त, गणेश पाँडे, सर्वेश्वर खनाल, गंगाराम राना मगर, शुक्र रसाइली, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरू पनि थिए । यसैक्रममा द्रव्यशाहका सेनाले गोरखा दरबारलाई चारैतर्फबाट घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे । यसप्रकार वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए ।

द्रब्यशाहले राज गर्नुभन्दा केही वर्षअघिमात्र तिब्बतको ‘दु-कियाङ’ (तिब्बती भाषामा यस शब्दको ठेट अर्थ ‘वरिष्ठ रथकार वा सारथी’ भन्ने हुन्छ) भन्ने ठाउँदेखि गोरखा आएका रसाइली परिवारले नेपाल एकीकरणमा समेत महत्वपूर्ण भुमिका निभाएको देखिन्छ । पछि राम शाह राजा भएलगत्तै राजकाजको थिती बाँध्ने मनसाय बनाए । गोरखा राज्यभरमा धर्म-कर्म, नीति-नियम, वाक्शक्ती आदिको राम्रो ज्ञान भएको, दस्तावेज लेखनमा सिद्धहस्त धुरन्धर विद्वानको खोजी भयो, तर राजाको आवश्यकता बमोजिमका विद्वान् फेला पार्न सकिएन । यसपछि राजाले दरबारको नजिक रहेर काम गरिरहेका भाइभारदार, अर्दली, सुसारे तथा सेनाका जवानलगायत सबैलाई आफ्नो नजरमा कोही त्यस्तो मनले खाएको व्यक्तित्व भए दरबारमा सम्पर्क गराउन आदेश गरे ।

कामका सिलसिलामा धेरैपटक पश्चिम खसान प्रदेशतर्फ आवतजावत गरिरहेका सुर्जे रसाइलीले आफू अछामको बाइकोट गएका बेलामा ढकाल ज्योतिषहरूबारे चामत्कारिक कुरा सुनेको र त्यताका ढकालहरू कोट–किल्ला बाँध्न, लेखापढीसम्बन्धी कार्यहरू गर्न तथा धर्म र ज्योतिषका क्षेत्रमा समेत नीकै उत्कृष्ट भएको कुरा राजालाई बताए । सुर्जे रसाइलीकै सल्लाह बमोजिम राजा राम शाहले अछाम राज्यका धुरन्धर विद्वान् ज्योतिष मुक्त ढकाललाइ भेट्न भनी एक टोली पठाए । गोरखाली राजाको मनसाय बुझेपछि प्रभावित भएका ज्योतिष मुक्त ढकालले आफ्ना जेठा छोरा अनन्तलाई गोरखा दरबारतर्फ पठाइदिए । रसाइली वंशका पराक्रमी पुरुष सुर्जे रसाइलीका सन्तानमध्ये जेठा गोरखा दरबारनजिकै बसेका थिए । माहिला छोराको सन्तान पृथ्वीनारायण शाहको पालामा दुर्लव लामिछानेको आग्रहमा गोरखाकै तान्द्राङमा गइ बसेका थिए भने साईंलाचाहिँ राजा राम शाहले अछामबाट बोलाइ ल्याएका ज्योतिष अनन्त ढकालसँगै बोर्लाङ गएर बसेका थिए । बाबुसँगै गोरखामै बसेका कान्छाका सन्तान भने नेपाल एकीकरणपछि काठमाडौं पुगेको इतिहास छ ।

तिनका छोराहरू एकभाइ भक्तपुरको भादगाउँ, एकभाइ साँखु दरबार, अर्का पूर्वी नेपालतिर लागेका थिए भने अर्का एक भाइ भीमसेन थापाका कान्छाभाइ रणवीरसिंह थापा (स्वामी अभयानन्द) सँगै सिन्धुपाल्चोकको ऐंसेलुखर्क र हेलम्बुतिर लागे । पृथ्वीनारायण शाहलाई राज्य एकिकरणमा साथ सहयोग गर्ने रसाइली परिवारमध्येबाट निकै सहयोग पुगेको थियो । अहिले पनि जन-जनमा हिमाल रसाइली, कालखम्बे रसाइली र भादगाँउमा रहेका मिजारे रसाइलीको इतिहास सुन्न पाइन्छ । भादगाउँपछि साँखु दरबारको इतिहाससँग कालेबिर रसाइली जोडिएको पाइन्छ ।

कालेवीर रसाइलीका तीनभाइ छोरामध्ये एकभाइ काठमाडौं कालीमाटी मश्चेगेट भन्ने ठाउँमा र अर्कोभाई पूर्व झापा-मोरङतिर गएको भेटिन्छ । गोरखा बोर्लाङमा बसोबास गर्ने बुदे रसाइलीसित अत्यन्तै नजिकको सम्बन्ध रहेका रहेका भट्टु रसाइली भने स्वामी अभयानन्दले रणनैनेश्वर महादेव मन्दिरको स्थापना गर्दा उनीसँगै सिन्धुपाल्चोक ऐसेलुखर्क (हाल इन्द्रावती गाउँपालिका वडा नं. ५) मा गइ बसेका र पछि उनका सन्तानहरू हेलम्बु गाउँपालिका वडा नं. ४ र ६ मा समेत बसोबास गरेको भेटिन्छ । भट्टु रसाइलीका छोरा दलखम्बे, दलखम्बेका छोरा श्यामलाल र श्यामलालका छोरा तामलाल २०२३ सालसम्म हेलम्बु गाँउपालिकामा नै बसोबास गरेका थिए । वि.सं. २०२३ देखि भने डण्डेबाबाका भाइका सन्ततिहरू चित्रबहादुर रसाइली, उनका छोरा कञ्चन रसाइली, चिरञ्जीवी रसाइली, चक्रबहादुर रसाइली, राउतराज रसाइली तथा नातीहरू कपिल रसाइली, कुवेर रसाइलीलगायतका परिवारजनहरू काठमाडौंस्थित बौद्ध-जोरपाटीमा बसोबास गर्दै आएका छन् ।

गोरखामा आफ्नो शिल्पी पेशा गर्दै राज्यलाई सघाएका र नेपाल एकीकरणको क्रमसँगै देशभर फैलिएका सुर्जे रसाइलीको वंशमा स्वामी अभयानन्दसँगै सिन्धुपाल्चोकको रणनैनेश्वर महादेवको मन्दिर निर्माणका लागि त्यता पुगेका भट्टु रसाइलीका नाती (साने रसाइलीको छोरा)का रूपमा एक सिद्धमहापुरुष- ‘डण्डे बाबा’ अर्थात् बुद्धिबहादुर रसाइली जन्मिएका थिए । वि.सं. १८८७ सालको माघे पुर्णिमाका दिन जन्मेका डण्डेबाबा अर्थात् बुद्धिबहादुर रसाइली (विश्वकर्मा)ले ७ महिनाको उमेरमै आमा पुर्णकली रसाइलीलाई गुमाएका थिए । पछि घरमा बुबाले सानिआमा ल्याएपछि उनी मामा खम्बे लोहार (विश्वकर्मा) को घरमा हुर्केका थिए ।

पठनपाठनको व्यवस्था नभएको त्यतिबेलाको समयमा उनले सानै उमेरमा कुटो-कोदालो, हँसिया-बञ्चरो, डोका-नाम्लो, ढाकर-तोक्मा आदिमै बाल्यजीवन बिताएका थिए । मामाघरमा रहँदा आफ्नो पुर्ख्ययौली पेशा सिकेका बुद्धिबहादुर नाम जस्तै विवेकी र जिज्ञासु स्वाभावका थिए । १६ वर्षको उमेर पुगेपछि ज्ञानको खोजीमा संखुवासभाको चैनपुरबाट स्थानीय पुण्यप्रसाद अधिकारी ब्राह्मणको साथमा नेपाल (अहिलेको काठमाडौं) आएका बुद्धिबहादुरले त्यसपछि आफ्नो जीवन काठमाडौं उपत्यकामा नै ब्यतीत गरे ।

बुद्धिबहादुर गुह्येश्वरी, पाशुपत क्षेत्र, बज्रयोगिनी, दक्षिणकाली, बज्रबाराही लगायतका धार्मिक स्थलमा नै रहेर दीक्षित भए । कठिन साधनापश्चात् सिद्धिप्राप्त गरेका उनलाई पछि ‘डण्डेबाबा’को नामले चिनिन थाल्यो । ‘डण्डेबाबा’को बारेमा नेपालमा कुनै ग्रन्थ, लेख वा दस्तावेज नभेटिए पनि भारतीय विद्वानले ‘हैडखानी बाबा’को बारेमा लेखेका कैयौं ग्रन्थमा उल्लेख गरेको पाइन्छ । तिनै बाबासित ‘डण्डेबाबा’ भेटिन्छन् । डण्डेबाबा नेपालका दस्तावेजहरू भने नाश भएर हो वा कसैले उल्लेख गर्न आवश्यक नठानेकाले हो, बागमती किनारमा सानो कुटी बनाएर बसेका यी सिद्ध एक गुमनाम पात्रको रूपमा रहेका छन् ।

यिनको नाम ‘डण्डेबाबा’ रहनुका कारणबारेमा एउटा रोचक प्रसङ्ग रहेछ । एकताका राणा प्रधानमन्त्री रणोद्दिप सिंहका गुरु तथा महर्षि दयानन्दका समेत गुरु ‘कैलाश पर्वत’ पाशुपत क्षेत्रमा आएको अवसर रहेछ । गुरुको दर्शन गर्न भनी एकदिन तत्कालिन प्रधानमन्त्री रणोद्दिप सिंह जाँदा डण्डेबाबाले राष्ट्रको निम्ति केही खतरापूर्ण अवस्था आउँदैछ भन्ने जानकारी दिनका लागि प्रधानमन्त्रीको अगाडि जाँदा प्रधानमन्त्रीको सवारीमा बाधा पुर्याएको भनी सुरक्षाकर्मीले डण्डेबाबालाई कोर्रा लगाए । तर, डण्डेबाबा कुनै सङ्कोच वा पीडाबिना हाँसिमात्रै रहे । प्रधानमन्त्री भने लाठीको चोटबाट परेको पीडाका कारण भुइँमा पछारिएर बेहोस जस्तै भए । केही क्षणमा प्रधानमन्त्रीको होस आयो । तत्काल सुरक्षाप्रमुखले प्रधानमन्त्रीसँग बिन्ती बिसाउँदै- ‘मैले डण्डा ऊमाथि हानेको हो, तर चोट हजुरलाई लाग्यो…, यो के अचम्म भयो ?? यो जादुटुना गर्ने ढोंगीबाबा रहेछ क्यारे, यो जोगी (डण्डेबाबा) लाई सजाय हुनुपर्छ’ भनेछ । प्रधानमन्त्रीले बाबाको देदिप्यमान रूपलाई नियालेर हेरे । उनले ‘यिनी कुनै ज्ञानी र तान्त्रिक योगपुरुष हुनुपर्छ, यिनलाई नचलाउनु’ भन्ने आदेश दिएर गुरुदर्शनका लागि पाइला अगाडि बढाए । ठीक त्यसैबेला प्रधानमन्त्री रणोद्दिप राणाका गुरु कैलाश पनि त्यहीँ आइपुगे । त्यहाँको वस्तुस्थिति केही फरक र असहज भएको बुझी गुरु कैलाश ‘बज्रबाराही दर्शन गर्न जान्छु’ भनी हिँड्न लागे । डण्डेबाबाले मुस्कुराउँदै गुरु कैलाश पर्वतलाई ‘तिम्रो बज्रबाराही स्वयं यहीँ हुनुहुन्छ, यहीँ दर्शन गर’ भन्दै रोके । त्यसपछि बज्रबाराही साँच्चै गुरुकै अगाडि विराजमान भएको देखियो । कैलाश पर्वतले त्यहीँ बज्रबाराहीको दर्शन गरे, र त्यस उप्रान्त कैलाश गुरु नेपाल आउँदा ती सिद्धगुरुको दर्शन नगरी अन्य शक्तिपीठको दर्शन गर्न कहिल्यैपनि गएनन् । सोही घटनापछि ती बाबालाई ‘डण्डेबाबा’ भन्न थालिएको हो भनी भारतीय तान्त्रिकहरूले उल्लेख गरेको पाइन्छ ।

जीवनको उत्तरार्द्वतिर तन्त्र र साधनामा पोख्त डण्डेबाबालाई तत्कालीन समयका पण्डित, पुरोहित, लामाले उच्च सत्कार, पुजा र सम्मान गरेको इतिहास पाइन्छ । नेपालको अहिलेको राजनीतिक पृष्ठभूमिले इतिहासमा थप अन्वेषण गर्नुभन्दा पनि भएका दस्तावेजलाई विकृत र विनास गर्ने माहौल निर्माण गरेको छ । योगी नरहरिनाथले देश दौडाहा गर्दै संकलन गरेको दस्तावेज कुहाएर-जलाएर सकाइएको छ । यस्ता दस्तावेजहरू नष्ट गरिनु आफैंमा दुःखद छ । कतिपय अवस्थामा सामाजिक अगुवा, विभिन्न जातीय र धार्मिक नेतृत्व भनिनेहरूकै संलग्नतामा यस्ता कार्य हुनुले कतै राज्यस्तरबाटै त यस्तो काम भइरहेको पो हो कि भन्ने आशङ्का समेत जन्माएको छ ।

राज्यको बागडोर सम्हालेर विदेशीको चाकडी गर्ने यस्तै कुलङ्गार र धर्मछाडा नेतृत्वले नै सनातन र सांस्कृतिक पहिचानलाई निस्तेज पार्दै इसाईकरणको मिसन भित्र्याएका हुन् । संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरूले पाठ्यक्रममा येखाजंग विश्वकर्मा, बिसे नगर्ची, कालु सार्की, जसवीर कामी, मनिराम गाइने, हीरादेवी गाइने, मणिराम गाइने, बखतवीर बुढा, धार्ने कामी, कालू सार्की, बाङ्गे सार्कीसहित डण्डेबाबा (बुद्धिबहादुर रसाइली) आदिका बारेमा पाठ्यसामग्री राखेर पढाउनुपर्ने हो, तर यसो गर्नुको सट्टा राज्यले नै हाम्रा ऐतिहासिक गौरवलाई उपेक्षा, भ्रम र घृणा गर्ने आधार खडा गरेको छ । ओझेलमा पारिएका यिनै विषयवस्तुलाई समेटेर पुर्खाको इतिहास जानकारी दिनु अपरिहार्य आवश्यकता ठानेर यति लेख्ने जमर्को गरिएको पङ्क्तिकार यहाँ स्मरण गराउन चाहन्छ ।

भारतीय योगीहरू लहडी महाशय, युक्तेश्वर गिरि, महेन्द्र बाबा आदिजस्तै यी डण्डेबाबा पनि विश्वप्रसिद्ध हैडखानी बाबाका शिष्य थिए । तन्त्र साधना तथा हठयोग पद्धतिका प्रायः सबैले सम्मान गर्ने डण्डेबाबा पाशुपतक्षेत्रमै साधना गर्दैगर्दाको बखतमा भएको प्रत्यक्ष घटना भनी एउटा अर्को किंवदन्तीपनि पाइन्छ । एक किसानको एक्लो छोराको मृत्यु भएछ । मलामीले चितामा जलाउँदै गरेको बेला उसका बाबुआमाले गरेको करुण क्रन्दन र चित्कारका कारण यी बाबाको साधनामा व्यवधान पैदा भएछ । बाबाले त्यस बालकको आत्मासमेत चिच्याउँदै बागमती किनारमा दौडिएको देखेछन् । त्यसपछि बाबाले त्यस आत्मालाई ‘किन रोएको ?’ भनेर सोध्दा ‘मलाई अझै बाँच्ने रहर छ, यिनिहरूले जबर्जस्ती जलाउन लागे’ भनेपछि बाबाले लाशमा विभूती छर्केर ‘उठ् ! घर फर्की !’ भनेर आदेश दिएछन् । त्यसपछि चितामा सल्कँदै गरेको आगो आफैं निभेछ र मुर्दा उठेर मलामीसँगै हिँडेर घर गएछ । यिनै स्वामी डण्डेबाबाका एकभाइ मध्येका सन्तान हामी काठमाडौंका रसाइली परिवार हौँ । हाम्रा परिवारमा अझैपनि स्वामी डण्डेबाबाकै साधना परम्परा यथावत रहेको देख्न पाइन्छ । म र मेरा सन्तानमा समेत आजको दिनसम्म साधना र तन्त्रको प्रभाव जो सुकैले महसूस गर्न सक्छन् ।

चर्चित हैडखानी बाबासँग सम्बन्धित केही पुस्तकहरूमा पशुपति, बज्रबाराही, दक्षिणकाली, टेकुलगायत क्षेत्रतिर योग साधनामा तल्लिन रहने यी डण्डेबाबाका बारेमा उल्लेख गरेको भेटिन्छ । यस्ता साधक महापुरुषलाई नेपाली बौद्धिक तथा सनातन इतिहासले मात्र नभइ विभिन्न नाममा खडा गरिएका दलित अभियान/अभियन्ता, धार्मिक संगठन, र राज्य स्वयंले समेत उपेक्षा गर्नु दुःखद पक्ष हो । राज्यले तन्त्रविद्या, योग, ध्यान र साधनाको जगेर्ना तथा विकास गर्दै विश्वब्यापीकरणतर्फ लाग्नु अहिलेको प्रमुख आवश्यकता हो । हाम्रो ध्यान, तन्त्र, योग-साधना, आयुर्वेद जस्ता पुराना तर अति महत्त्वपूर्ण ज्ञानलाई पश्चिमा मिशनको पछि लगेर पाखण्डवाद वा रुढीवाद भन्दै घृणा गर्ने र आफ्नो सांस्कृतिक पहिचानलाई कुल्चनेहरूलाई इतिहासले कहिल्यै माफी दिनेछैन ।

(लेखक अध्यक्ष ‘शिल्पकार उत्पीडित मुक्ति समाज, नेपाल’का संस्थापक हुन् ।)