जेलजीवन ब्यतीत गर्ने क्रममा नेपाली काङ्ग्रेसका नेताहरू ओमकार श्रेष्ठ, दुर्गानन्द झा, अरविन्द, श्रीभद्र शर्मा, प्रयागराज सिंह सुवाल, पेशलकुमार पोखरेल, भाउकाजी श्रेष्ठ लगायतसँग भेट भएपछि उनीहरूकै संगतबाट बुढाथोकी नेपाली काङ्ग्रेसको राजनीतिप्रति आकर्षित एवं सक्रिय हुनुभएको थियो ।
✍ कृष्ण हुमागाईं
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गत २२ गते निधन भएपछि झापाको राजनैतिक वृत्तभित्र एक प्रकारको शुन्यता छाएको छ । उच्च सम्भ्रान्त परिवारमा जन्मेर पनि संधै गरीब, दुःखी र निमुखा मानिसहरूको पक्षमा आवाज उठाइरहने बुढाथोकी झापाली जनताका बीचमा लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्थ्यो । जनताका काममा कहिल्यै जाति र पार्टी नहेर्ने उहाँ झापालीका साझा अभिभावक हुनुहुन्थ्यो । जो कोही पनि समस्या लिएर आफूकहाँ आएमा निःस्वार्थ भावले सहयोग गर्ने उहाँको बानी थियो । हक्की स्वभावको, हितैसीहरूका बीचमा हँसीमजाक पनि गरिहने र मानिसलाई आफूतर्फ आकर्षित गर्ने उहाँमा एक प्रकारको कला थियो ।
राजनैतिक विचार र आस्थामा संधै एकै ठाउँमा अडिग रहन नसके पनि आफूलाई सही लागेको कुरामा एक्लै पनि उभिनसक्ने उहाँमा बलियो साहस थियो । त्यसैले त २०३६ सालताकाका आफ्ना सहयोगी साथीभाइलाई छोडेर पनि उहाँ पञ्चायतमा केही सीमित मानिसमात्र लिएर पनि जान तयार हुनुभयो । पञ्चायतमा प्रवेश गरेता पनि उहाँले कहिल्यै प्रजातन्त्र पक्षधरलाई दमन गर्नुभएन । दुःख दिनुभएन । बरु राष्ट्रिय पञ्चायतभित्रै बहुदलको माग गर्न पछि पर्नुभएन ।
२०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा ‘घर’ चुनावचिन्हमा केशवकुमार बुढाथोकी र ‘घैला’ चुनावचिन्हमा द्रोण आचार्य उम्मेदवार हुनुभएको थियो । झापाली जनताले काङ्ग्रेसी पृष्ठभूमिका बुढाथोकी र बामपन्थी पृष्ठभूमिका आचार्यलाई अत्यधिक मतले रापंसमा विजयी गराएका थिए । बुढाथोकीलाई तत्कालिन प्रतिबन्धित नेपाली काङ्ग्रेससमर्थकहरूको सहानुभूति थियो भने द्रोणलाई बामपन्थी उम्मेदवारका रूपमा प्रचारित गरिएको यिो । राष्ट्रिय पञ्चायत सदस्यमा नरेन्द्र खनाल, मोहनलाल अग्रवाल गोपालचन्द्रसिंह राजवंशी लगायतका उम्मेदवारहरू पनि चुनावी मैदानमा खडा थिए, तर जनताले घर र घैला नै रोजे । अर्थात्, जनस्तरबाट मतदानमार्फत काङ्ग्रेस बामपन्थी गठबन्धन भएको थियो त्यसबेला ।
नेपाली काङ्ग्रेसका नेतृत्वमा सर्वमान्य नेता गणेशमानसिंहको कमाण्डमा संयुक्त बाममोर्चा सम्मिलित २०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा पञ्चायतले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका बहुदलवादीमाथि क्रुर दमन गरेको विषयमा बुढाथोकीले सार्वजनिक रूपमै विरोध जनाउनुभयो । ०४६ को चैत १४ गते काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्देशनमा नेविसंघले मेची क्याम्पसमा पञ्चातयी ब्यवस्थाविरुद्ध प्रदर्शन र पुतला जलाउने क्रममा विद्यार्थी राम थापालाई पञ्चायती सत्ताका समर्थक ‘मण्डले’हरूले छुरा प्रहार गरेर हत्या गरे । बुढाथोकीले मन्त्री पदमा रहेकै बेला त्यो आपराधिक घटनाको विरोध गर्नुभयो । सरकारमा बसेर बहुदलवादीको पक्षपोषण गरेको भन्दै तत्कालिन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले जलस्रोत सहायक मन्त्रीबाट केशवकुमार बुढाथोकीलाई चैत १८ गते बर्खास्त गरेका थिए ।
पञ्चायती सत्ताको मन्त्रीबाट हटेपछि झापा आउनुभएका नेता बुढाथोकीको अगुवाइमा २०४६ साल फागुन २१ गते प्रजातन्त्रवादीहरूले बिर्तामोडमा पञ्चायती ब्यवस्थाको विरोधमा नारा जुलूस लगाएर विशाल प्रर्दशन गरेका थिए । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै बुढाथोकीले मरिचमानको विरोध गर्नुभएको थियो । आफू जहाँ रहेपनि जनताको मान्छे भएकोले जनताकै पक्षमा बोलिरहने उद्घोष गर्नुभयो । पञ्चायती मन्त्री परिषद्बाट हटाइनुभएका बुढाथोकीले के बोल्नुहोला ? बहुदलको पक्षमा लाग्छन् कि लाग्दैनन् ? भनेर धेरै जिज्ञासुहरू उपस्थित थिए, त्यो सभामा ।
तर बुढाथोकीले मरिचमानका कारण राजालाई नै घाटा भइरहेको भन्दै आफू राजाको विरोधमा जान नसक्ने बताउनुभएपछि आन्दोलनकारीहरूको बुढाथोकी अब जन आन्दोलनमा आउँछन् भन्ने अनुमान सही हुन सकेन र, जुन उत्साहका साथ सभामा उपस्थित थिए मानिसहरू केही दिक्क मान्दै घर फर्किए । पञ्चायती प्रधानमन्त्री मरिचमान श्रेष्ठले मन्त्रिमण्डलबाट अपदस्त गरेर हटाएपछि सर्वाधिक चर्चामा रहेका र प्रजातन्त्रवादी जनताले आफ्नो नेता पाएको अनुभूति गर्दैगर्दा उहाँ २०४६ सालको जन आन्दोलनमा निरन्तर लाग्नुभएन । आन्दोलनको विरोधमा पनि लाग्नुभएन, सक्रिय पनि हुनुभएन । त्यसबेला सक्रिय भएर आन्दोलनकै क्रममा काङ्ग्रेसको झण्डा बोकेर संघर्षको मैदानमा उत्रिनुभएको भए अहिलेसम्म उहाँले राजनीतिमा प्राप्त गर्नुभएको उचाइभन्दा माथिल्लो उचाई अवश्य नै प्राप्त गर्नुहुन्थ्यो, आन्दोलनको नेता हुनुहुन्थ्यो भन्न सकिन्छ । तर, २०५१ सालपछिको नवप्रवेशी काङ्ग्रेसको दर्जा दिलाइदियो नियतिले उहाँलाई । त्यसबेला उहाँलाई पञ्चहरूको पार्टीमा लाग्न गलत सल्लाह दिनेहरूले उहाँको राजनैतिक उचाइ घटाइदिए ।
कहिले काङ्ग्रेस त कहिले पञ्च हुँदै राजनीतिको उकाली/ओराली गरिरहेका नेता बुढाथाकी २०४६ सालमा प्रजातन्त्र आएपछि भने काङ्ग्रेसको कित्तामा बस्न सक्नुभएन । उहाँ प्रजातन्त्रको नामै सुन्न नचाहने पूर्वपञ्चहरूले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सूर्यबहादुर थापासँग जोडिन पुग्नुभयो । उहाँले मानेको नेता गिरिजाबाबु, किसुनजी, गणेशमानहरूलाई पनि चटक्कै छोडिदिनुभयो । २०४८ को आम निर्वाचनमा राप्रपा गाई चुनावचिन्हमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्नुभयो । काङ्ग्रेसी पृष्ठभूमिका बुढाथोकीले मत काटिदिँदा नेपाली काङ्ग्रेसका उम्मेदवार समाजवादी चिन्तक सिके प्रसाई भरतबाबु झापाका लागि नयाँ मान्छे एमालेका देवी ओझासँग पराजित हुनुपऱ्यो । देवी ओझा २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रजातन्त्र ‘कू’ गरेपछि राजाको समर्थक बने भने कुमार बुढाथोकी र शाही ‘कू’को विरुद्ध नेपाली काङ्ग्रेसले सञ्चालन गरेको आन्दोलनमा सक्रिय हुनुभयो ।
चुनाव सकियो, कुमारबाबुको राप्रपा यात्रा पनि सकियो ! आफ्नै कारणले चुनाव हारेका भरतबाबुबाटै नेपाली काङ्ग्रेस पार्टीको सदस्यता लिएर २०५१ सालमा उहाँ आफ्नो पुरानो घरमा पुनः फर्कनुभयो । त्यसबेला पनि राप्रपाबाट फर्कंदा कतिपय समर्थकहरूलाई राप्रपामै छोडेर काङ्ग्रेसमा आउनुभयो । त्यतिमात्र होइन माओवादी विद्रोलाई तह लगाउन संकटकाल लगाउनुपर्छ भन्ने शेरबहादुर देउवा र संकटकाल लगाउनु हुन्न भन्ने मत राख्ने गिरिजाबाबुबीच संकटकाल लगाउने र नलगाउने विषयमा भएको मतभेद बढ्दै जाँदा पार्टीले भनेको नमानेपछि कारवाहीमा परेका देउवाले काङ्ग्रेसबाट विभाजित भएर खोलेको कलश चुनाव चिन्ह भएको नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)मा फेरि आवद्ध हुनुभयो । यस बेला पनि उहाँले नेपाली काङ्ग्रेसको मुलधारभित्र रहेका आफ्ना धेरै समर्थक, शुभचिन्तकलाई छोडेर प्रजातान्त्रिक काङ्ग्रेसमा जानुभयो । राजनीतिमा उहाँ सधै एकै ठाउँमा रहन सक्नुभएन ।
कुमार दाइको राजनैतिक जीवन
पिता रघुवीर बुढाथोकी र माता नन्दकुमारी भट्टराई बुढाथोकीका साइँला सुपुत्रकारूपमा इलामको सिन्फ्रिङमा जन्मनुभएका बुढाथोकीले आठ वर्षको उमेरदेखि भारत दार्जेलिङको चौरस्तास्थित वेधिनी स्कुलबाट शिक्षा प्रारम्भ गर्नुभएको थियो । त्यसपछि दार्जेलिङकै नर्थ पोइन्टस्थित सेन्ट जोसेफ स्कुलबाट सन् १९६२ बाट केम्ब्रिज उत्तीर्ण गर्नुभएको थियो । सेन्ट जोसेफ स्कुलमा अध्ययन गर्दा तत्कालीन युवराज श्री ५ वीरेन्द्र एवं राजकुमारहरू ज्ञानेन्द्र र धीरेन्द्र शाहलगायत बुढाथोकीका बाल्यकालका साथी थिए । बुढाथोकी सन् १९६३ मा त्रिचन्द्र कलेजमा उच्च शिक्षाका लागि भर्ना हुनुभएको थियो । सानैदेखि अरुको दबाब र यातना सहन नसक्ने बुढाथोकीले त्रिचन्द्र कलेजका एक शिक्षकलाई हात छोडेपछि उहाँलाई शान्तिसुरक्षाको कारण देखाएर नौ महिनासम्म जेल राखिएको थियो ।
जेलजीवन ब्यतीत गर्ने क्रममा नेपाली काङ्ग्रेसका नेताहरू ओमकार श्रेष्ठ, दुर्गानन्द झा, अरविन्द, श्रीभद्र शर्मा, प्रयागराज सिंह सुवाल, पेशलकुमार पोखरेल, भाउकाजी श्रेष्ठ लगायतसँग भेट भएपछि उनीहरूकै संगतबाट बुढाथोकी नेपाली काङ्ग्रेसको राजनीतिप्रति आकर्षित एवं सक्रिय हुनुभयो । विद्यार्थी आन्दोलनका क्रममा प्राध्यापकमाथि हात छोडेको निहुँमा जेल पर्नुभएका बुढाथोकी जेलबाट छुट्दासमेत ‘रेस्टिकेड’ फिर्ता नभएपछि उहाँको अध्ययन बीचैमा रोकियो र, उहाँ झापा फर्कनुभयो । त्यसबेलासम्म उहाँको परिवार इलाम छोडेर झापा बसाइ आइसकेको थियो । २०२५ सालमा विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०२७ सालमा नेपाल तरुण दलको सदस्य हुनुभएको थियो । २०२७ सालमै काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई घरैमा स्वागत गर्नुभएका नेता बुढाथोकी २०२८ सालमा बनारसमा भएको नेपाल तरुण दलको अधिवेशनमा सहभागी हुनुभयो । बनारसबाट फर्किएपछि शान्तिसुरक्षाको कारण देखाउँदै २०२८ सालमा तत्कालीन पञ्च सरकारले जेल हाल्यो । नौ महिनासम्म जेल जीवन बिताएर बाहिर निस्कनुभएका नेता बुढाथोकीले २०२९ सालमा दार्जेलिङमा नेपाली काङ्ग्रेसका तत्कालीन सभापति बीपीसँग भेट गर्नुभएको थियो ।
काङ्ग्रेसको राजनीतिमा सक्रिय हुनुभएका बुढाथोकी २०३२ सालमा शनिश्चरे गाउँपञ्चायतको प्रधानपञ्च नियुक्त हुनुभएको थियो । उहाँले २०३७ सालमा बहुदलको पक्षमा लाग्न प्रधानपञ्चबाट राजीनामा दिई बहुदलको पक्षमा जिल्लाब्यापी अभियानमा सक्रिय हुनुभयो । शनिश्चरे गाउँपञ्चायतको प्रधानपञ्च हुनुभएका उहाँ केही समयपछि जिल्ला पञ्चायतको सभापति नियुक्त हुनुभयो । २०३९ सालमा पचहत्तरै जिल्लाका सभापतिमध्ये झापा सभापति रहनुभएका बुढाथोकीले तत्कालीन काङ्ग्रेस सभापति बीपी कोइरालाको निधनमा शोक प्रस्ताव पारित गराउनुभएको थियो ।
२०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएका उहाँले राष्ट्रिय पञ्चायत सदस्य भएपछि सुकुम्बासी आयोगको अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभयो । २०४४ सालमा जलस्रोत सहायकमन्त्री बन्नुभएका उहाँ २०४६ सालको जनआन्दोलनको समर्थन गरेका कारण मरिचमान श्रेष्ठको मन्त्रिपरिषदबाट निस्कासित हुनुपऱ्यो । २०४६-०४७ को बृहत् जनआन्दोलनपश्चात २०४८ सालको निर्वाचनमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्नुभएका उहाँ पराजित हुनुभयो । २०५० सालमा नेपाली काङ्ग्रेसमा पुनः प्रवेश गरी केन्द्रीय सदस्य सि.के. प्रसाईंबाट सदस्यता प्राप्त गर्नुभएका उहाँ २०५१ सालमा पार्टीका तर्फबाट झापा क्षेत्र नं-६ (तत्कालीन) बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भएपनि पराजित हुनुभयो ।
२०५९ सालमा नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको झापा जिल्ला सभापति हुनुभएका उहाँ केही समयपछि केन्द्रीय सदस्यमा मनोनित हुनुभएको थियो । २०६४ सालमा नेपाली काङ्ग्रेसको तर्फबाट क्षेत्र नं. ४ देखि संविधानसभा सदस्यको उम्मेदवार हुनुभएका उहाँ मेची अञ्चलबाटै एकमात्र निर्वाचित सांसद हुनुभएको थियो भने २०७० सालमा पनि सोही क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकालमा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएका उहाँ पार्टीको १३औं र १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।
पार्टीका अग्रज, अनुभवी, जुझारु नेताको निधनले पार्टी एवं राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको नेपाली काङ्ग्रेस झापाले ठहर गरेको छ । जन्मपछि मृत्यु शास्वत सत्य भएपनि आफन्त एवं अग्रज नेतृत्वको वियोगले पीडामा रहनुभएका परिवारजनहरू श्रीमती गीता बुढाथोकी, छोराहरू आनन्द, शिसिर, छोरीहरू ममता बुढाथोकी खत्री, कविता बुढाथोकी गिरी, दाजुभाइहरू नरेन्द्र, मकरध्वज, प्रकाश, अरुण, सुदर्शन उत्तम एवं शोकाकुल सम्पूर्ण परिवारजन तथा पार्टीका नेता कार्यकर्तामा धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना ब्यक्त गर्दछु । साथै ब्रह्मलीन आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
(लेखक नेपाली कांग्रेस झापाका सचिव हुन् ।)
प्रतिक्रिया