बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि…

बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि…


बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का बासिन्दा त्रसित भएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने कालापानी, जुडालगायत क्षेत्रका नौ कुकुर र चार बाख्रालाई दुई दिनको अवधिमै बहुलाएको स्यालले टोकेको हो । स्यालले बाख्रा र कुकुरलाई टोक्न थालेपछि रेविजको सङ्क्रमण फैलिने खतरा बढेको वडाध्यक्ष प्रतापसिंह धामीले बताएका छन् ।

बहुलाएको स्याललाई मंगलबार दिउँसो जिउँदै समातेर निकुञ्जसमक्ष बुझाइएको जानकारी दिँदै उनले भनेका छन्- ‘स्यालले टोकेका जनावरबारे वडा क्षेत्रमा जानकारी लिने कार्य भइरहेको छ ।’

नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख रामप्रसाद भट्टले निकुञ्जको मध्यवर्ती क्षेत्र रेबिजको उच्च जोखिममा रहेको बताए । स्यालले टोकेका र अन्य जोखिमा रहेका घरपालुवा बाख्रा, कुकुरलगायत रेबिजविरुद्धको सुई दिनका लागि पशु प्राविधिकको टोलीलाई खटाइएको र केही दिनभित्रै सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रम सुरु हुन लागेको उनको भनाइ छ ।

symbolic image